सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
विद्युत् आपूर्ति

माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालन, औद्योगिक लोडसेडिङ भने यथावत्

सोमबार, ०७ माघ २०८१, १७ : ००
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । असोज ११, १२ गतेको बाढी पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार साँझ (आजदेखि) आयोजनालाई विद्युत्को माग उच्च हुने समय (पिक आवर)मा चलाउने बताएको छ । 

पुस ९ गतेदेखि माथिल्लो तामाकोशी नदी प्रवाहमा आधारित (आरओआर) मोडलमा आंशिक रूपमा सञ्चालनमा आएको थियो । आजदेखि यो पूर्णरुपमा सञ्चालनमा आएको छ । पूर्णरूपमा सञ्चालन गर्नका लागि आइतबार र आज सोमबार साँझसम्म आयोजना बन्द गरिएको थियो । 

नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफर दिन रिभर (आरओआर)मा आधारित छन् । मुलुकको कुल विद्युत् जडित क्षमता ३२०० मेगावाट पुगे पनि हिउँद याममा पानीको सतह घटेका कारण आधाभन्दा बढी उत्पादन घटेको छ । माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको हो । प्राधिकरणका अनुसार हाल करिब १५ सय मेगावाट हाराहारी विद्युत् मात्रै नेपालमा उत्पादन भइरहेको छ । तर पिक आवरमा माग भने २१ सय मेगावाटभन्दा बढी छ । यही बेला भारतबाट विद्युत् आपूर्ति हुँदैन । अरू समयमा भने ५०० मेगावाट हाराहारी विद्युत् दैनिक रूपमा भारतबाट आइरहेको छ । तर पिक आवरमा भारतबाट पनि बिजुली आयात नहुने र आन्तरिक उत्पादनले पनि नधान्ने हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ यथावत् छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ औद्योगिक करिडोरमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको बताउँछन् ।  ‘उद्योगहरूलाई कम्तीमा पनि २१/२२ घण्टा बिजुली आपूर्ति दिन सक्नु पर्छ,’ उनले भने, ‘औद्योगिक करिडोरहरूमा साँझ २–३ घण्टा बाहेक बिहान, दिउँसो, रातिको समयमा निर्बाध विद्युत् उपलब्ध हुनुपर्ने हो । तर अहिले त्यो अवस्था छैन ।’ स्वदेशी उद्योगलाई विद्युत् नदिएर निर्यातको लक्ष्य राख्नु उचित नहुने उनको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणले भने तामाकोशी पूर्ण क्षमतामा चलेसँगै औद्योगिक क्षेत्रमा आपूर्ति बढी हुने बताएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि लोड व्यवस्थापनमा धेरै सहज हुने बताए । उनले भने, ‘माथिल्लो तामाकोशी पिक आवरमा चलाउँदा लोड व्यवस्थापनमा धेरै सहज हुन्छ । उद्योग क्षेत्रमा अझै पूरा विद्युत् दिन भने सकिने अवस्था बनेको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप