नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गरेका छन् ।
नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए ।
“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौँ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौँ,” उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौ । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरुपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।”
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररुपमा आफूलाई प्रस्तुत गर्ने बताए ।
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसद्लाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिए ।
कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदलिँदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
-
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक
-
निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : मन्त्री भट्टराई
-
स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना बनाउने प्रक्रिया सुरु
-
मुख्यमन्त्री कँडेलले बेइमानी गरेको प्रतिपक्षको आरोप
-
ढुङ्गागिटी र बालुवा उत्खननमा सर्वोच्चको कडाइ