सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

विचार र वैज्ञानिक आविष्कार : भ्रम र यथार्थ

सोमबार, ०७ माघ २०८१, १५ : ५९
सोमबार, ०७ माघ २०८१

कुनै बस्तु तथा घटनालाई  हेरेर, बुझेर, विश्लेषण र संश्लेषणबाट  प्राप्त नतिजा पश्चात् उक्त बस्तु वा घटनाप्रति मानव मस्तिष्कमा  आउने   सोच, अवधारणा र चिन्तनबाट  बन्ने मानसिक दृष्टिकोण  वा आउने निष्कर्षलाई बिचार भनिन्छ । बिचारलाई सकारात्मक, नकारात्मक र आलोचनात्मक गरी तीन किसिममा  बाँडिएको छ । कुनै बस्तु र घटनाका सम्बन्धमा राम्रा, सकारात्मक पक्षहरूलाई लिएर हेर्नु  सकारात्मक बिचार हो भने नकारात्मक पक्षहरूलाई मात्र लिएर हेर्नु नकारात्मक बिचार हो ।  तर सकारात्मक र नकारात्मक  दुवै  पक्षलाई वैज्ञानिक र व्यवहारवादी ढङ्गले तर्क सङ्गत विश्लेषण गर्नु आलोचनात्मक बिचार हो । मानिसको जीवनवृत्तिको क्रममा सकारात्मक बिचारले व्यक्तिलाई  आशावादी बनाउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने नकारात्मक बिचारले व्यक्तिलाई निराशावादी बनाउँछ ।  तर आलोचनात्मक बिचारले व्यक्तिलाई सचेत र संघर्षशील बनाउँछ । सोच्न सक्ने तरिका र गर्न सक्ने विचार फरक भए पनि  मानव जीवनमा आइपर्ने समस्या र मुद्दाहरू समान हुन्छन् । जस्तोसुकै भौगोलिक वातावरणमा  बसोबास गरे पनि बाँच्नलाई चाहिने सेवा सुविधा र सर्तहरू गाँस, बास, कपास, शिक्षा स्वास्थ्य, रोजगार, यातायात सञ्चार आदि  सबै  नभई नहुने मानवीय  आवश्यकताहरू हुन । मानिसलाई चाहिने अति आवश्यक वस्तु वा सेवाहरूको उत्पादन विभिन्न गाउँ, सहर र देशमा हुन्छन् र भइरहेका छन् ।

आजको २१औँ सताब्दीको समयमा सूचना प्रविधिको अत्यधिक विकासले राष्ट्रिय र अन्तर्राष्ट्रिय सीमापार गरेर  विश्व नै एउटा ग्लोबल भिलेज बनाइ दिएको वर्तमान परिवेशमा बस्तु वा सेवाहरूका आयात निर्यात देशविदेश मा भइरहेका छन् । आयातित बस्तुहरूमा उत्पादित र उपभोग योग्य मिति उल्लेख गरी ठाउँ र ठेगानको लोगो लागेको हुन्छ ती  स्वदेशी र विदेशी बस्तुहरू  हुन्छन् ।  तर मानिसको   सोच्न सक्ने बिचार  र  दिमागमा बन्न सक्ने मानसिक दृष्टिकोण  स्वदेशी र विदेशी भन्ने हुन्छ त ? के मालसामानमा लोगो लागे झैँ बिचारमा पनि कुनै देश वा राज्यको  लोगो लगाइन्छ त ? त्यस्तै वैज्ञानिक आविष्कारहरू पनि स्वदेशी र विदेशी भन्ने हुन्छन् त?   

के राइट दाजुभाइले बनाएको जहाजको   सूत्र र प्रयोग आज एउटा देशमा मात्र सीमित छ त ? बाष्प इन्जिन र पानीमाथि तैरने डुङ्गा बनाउने जेम्सवाट र रोबर्ट फुल्सनका  आविष्कारहरू उनीहरूकै देशका सीमा भित्र सीमित छन् त? ? टेलिफोनका आविष्कारक एलेक्जेन्डर ग्राहम बेलको आविष्कारले संन्चारको क्षेत्रमा गरेको क्रान्तिकारी परिवर्तनले विश्वको सबै देश, राज्य र आम नागरिकहरूको पहुँचमा सर्वसुलभ बनाइ दियो । भूगोल, राज्य, क्षेत्र, देशहरूको सीमा र पर्खाल भत्काइ दियो ।  यिनीहरू केही उदाहरणहरू मात्र  हुन्-  विश्वले वैज्ञानिक आविष्कारहरूको क्षेत्रमा युगान्तकारी परिवर्तन गरिसक्दा बिचारमा स्वदेशी र विदेशी ट्याग लाउने सामन्ती सत्ताच्युत वर्ग र त्यसका पैरवीकर्ताहरू दरबारभित्रको  घर झगडा  र सत्ताको खेल बाहेक कहाँ चिर निद्रामा सुते भन्ने हो । यतिमात्र होइन दैनिक बोलिचाली र सञ्चारको सामान्य माध्यममा प्रयोग हुने  अक्षर र गणना गर्ने अङ्कहरूको आविष्कारमा  तत्कालीन नेपाली शासकहरूको भूमिका के छ ? रोमन, अङ्ग्रेजी र देवनागरिक अक्षर र अंक बाहेक अरू भाषा र लिपिको  विकल्प थिएन त ? किन उनीहरूले आफ्नै स्वदेशी अक्षर र अंकहरु सम्म  बनाएर प्रचलनमा ल्याउन सकेनन्   ? आगोको आविष्कार पनि   अफ्रिकी क्षेत्रमा होमो इरेक्टर्स नामक मानिसको प्रजातिले गरेको थियो भने आगोमा पनि  विदेशी लोगो लगाइ दिने त ?   स्वदेशमा  सियोसम्म उत्पादन गरेर  प्रयोग गर्न नसक्ने नेपालीको हैसियत विगत २४० वर्षले बनाएको होइन  त ? विगत र बर्तमानको भौतिकवादी ढङ्गले अध्ययन गरौँ नेपाललाई बहुराष्ट्रिय कम्पनीहरूका सडेगलेका सामानहरू बेच्ने बजारको  रूपमा मात्र  स्थापित  कसले  बनाइरहेको थियो र छ  ?  

माथि उल्लेखित उदाहरण र प्रमाणबाट  यो सिद्ध हुन्छ कि  वैज्ञानिक आविष्कारहरू  कुनै एक देश वा राज्यमा उत्पादन र प्रतिपादन भएर बने पनि  ती बस्तु र सेवा आविष्कार गर्ने वैज्ञानिकहरू विश्वका सबै देश तथा सिङ्गो मानव समाज र सभ्यताका धरोहर हुन्छन् ती नवीन बस्तु र सेवा विश्वका साझा सम्पत्ति हुन्छन् र सबैले प्रयोग गर्छन् ।

 त्यस्तै वैज्ञानिक आविष्कारहरूको प्रयोग आम मानव समुदायले  गर्न पाए झैँ विज्ञान संवत् सही र अकाट्य बिचार पनि सबैले बोक्न अनुसरण गर्न किन नपाउने ?  बिचार जो महान्, वैज्ञानिक र सत्य छ जसले बहुमत, शोषित, पीडित, अन्याय अत्याचार, दमन, उत्पीडनमा परेका र पारिएका मानव समाजको लागि हित गर्ने, मुक्ति दिने सही बिचार र  दार्शनिक हतियार  मात्र  मार्क्सवाद हो । त्यति मात्र होइन पूरा  मार्क्सवादी शिक्षाबाट साक्षर व्यक्ति  समाजमा  भएका विकृति र बिसंगतिहरुलाई पन्छाएर हरेक भ्रमहरूलाई चिर्दै  सहिलाई सही र गलतलाई  गलत सामाजिक न्याय र  समाज रूपान्तरणको   सच्चा सिपाही बन्दछ । यस महान् बिचार  मार्क्सवादका प्रणेता कार्लमार्क्स हुन् । 

जोन इलर भेनले आविष्कार गरेको भेन चित्र, पाइथागोरसले प्रतिपादन गरेको पाइथागोरस  साध्य नेपाललगायत संसारभरिका विद्यालयहरूमा आधारभूत तहदेखि विश्व विद्यालयसम्म   पढाइ हुन्छन् यिनीहरू जस्ता कैयौँ  उदाहरण अरू पनि छन् । तर  यी जस्तै एउटा पृथक् उदाहरण मार्क्सवाद  पनि हो । जुन गतिशील र वैज्ञानिक बिचार हो भने  मार्क्सवादी  बिचारलाई मात्र विदेशी बिचारको ट्याग  वा लोगो  लगाउनु भनेको बौद्धिक दरिद्रता र कृत्रिम बौद्धिकता हो कि होइन ? सत्ताच्युत सामन्ती वर्गको नुनको सोझो हो कि होइन ? मार्क्सवादले विज्ञानको प्रयोगशालामा परीक्षण गरिएको लेटेस्ट  परिणामलाई मात्र मान्यता दिन्छ ।  कुनै जात र धर्मको विभेदलाई स्वीकार गर्दैन ।  विषय र प्रसङ्ग अनुसार कुरो गर्दा आज बहुमत नेपालीले मान्ने गरेको हिन्दु धर्म के साँच्चिकै नेपालको सनातन र मौलिक धर्म हो त ? उसो भए ती देवत्वकरण गरिएका  राम, कृष्णहरू  नेपालको कुन गाउँ र ठाउँमा जन्मिएका हुन् ! के अयोध्या र मथुरा नेपाली ठाउँ गाउँका नामहरू  हुन ? बेदब्यासद्वारा लेखिएको  वेदमा नेपाल भन्ने राज्यको  स्वतन्त्र पहिचान कहाँ छ ? किन भारत खण्डे लेखिएको छ ? सोझासाझा जनताहरू  माझ भ्रम छर्न र झुटको खेती गर्न  शब्दमा मात्र हरेक चिज आफ्नो नेपाली र स्वदेशी खोज्ने र मार्क्सवादलाई विदेशी बिचार देख्नेले वेदमा लेखिएको भारतखण्डे लाई संशोधन गरेर नेपाल खण्डे किन बनाउन सकेनन् ? नेपाली माटोमा जन्मिएका सिद्धार्थ गौतम एसियाका तारा भएर चम्की  रहँदा नेपालको सनातन धर्म बौद्ध किन हुन सकेन ? विडम्बना  बुद्धका   गाउँले  राज्यका राजासहित   अधिकांश रैतीहरू हिन्दु कसरी भए त ? यहाँ हिन्दु धर्मको विरोध र बौद्ध धर्मको सपोर्ट गरिएको होइन  तथ्यको कुरा मात्र गर्न खोजिएको हो ! त्यस कारण शाह उपाधि  धारण गर्ने कुल मण्डल खान र  छलबलले गोर्खाको लिगलिगकोटको दौड जिती राज्य हत्याउने द्रब्यशाह, कीर्तिपुरे जनताका नाक कान काटी तत्कालीन नेपाल उपत्यका हत्याउने  पृथ्वीनारायण शाह र दशैं मनाउन खस सेनाहरू घर बिदामा बसेको मौका छोपी सिञ्जा साम्राज्य  कब्जा गर्ने र ततपश्चात्   जनक्रान्तिको डरले प्रत्येक जनताहरूका घर घर र बस्ती बस्ती पुगी लुकीछिपी १० वर्ष माथिका हरेक पुरुषको टाउको काट्न लगाई विशाल सिञ्जा राज्यको  संस्कृति, सभ्यता र पहिचानलाई नामेट पार्ने  कथित बहादुर शाह  एउटा क्रूर शासक मात्र भएको रैथाने भूमि पुत्र नभएको  पक्का प्रमाण हो ! नेपालका आदिवासी जनजातिहरू कोचे, मेचे, राजी, माझी, दनुवार, सुनुवार, राई, लिम्बू, गुरुङ, मगर, थारु, धिमाल, राजवंशी आदिहरू बाहेक क्रूर शासक नै सत्तामा हुने उनीहरूको  वंश परम्परामा  निरन्तरता दिने,  योग्यता, क्षमता  केही नभएपनि जन्मको आधारमा आफूलाई बडामहाराजाधिराज स्वघोषित र जनतालाई रैती बनाइ चार जात र छत्तीस वर्णको नाममा दलित र फलितमा  विभाजित गरी समाजमा  जातीय विभेद, छुवाछूत निम्त्याउने र जनताका सांस्कृतिक,  सामाजिक मूल्यमान्यता, रहनसहन, भेषभुषालाई धर्म सँग जोडेर, धर्मलाई मानिसको  दिल र दिमाग अर्थात् आत्मासँग जोडेर ती राजा महाराजाहरूले  आफूलाई विष्णु अवतार स्वघोषणा गरे । 

आज १० बर्से जनयुद्ध र त्यसको जगमा १९ दिने जनआन्दोलनले  नेपाली जनताहरूले मिल्काएर रछानमा थन्किएको   राजमुकुट  र  सामन्ती शासन व्यवस्था  इतिहासको पानामा सीमित भइसकेकाले बौरी उठ्ने सम्भावना छैन । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको झन्डै दुई दशक  र समाजवाद उन्मुख संविधान निर्माण भएको एक दशक पुगिसक्दा  पनि आफ्नो गुमेको स्वर्ग पुनः स्थापना गर्न अन्तिम शक्ति प्रयोग गर्नु जुरमुराउनु   स्वाभाविक हो । सताब्दिऔं सम्म शासक वर्गको रूपमा स्थापित व्यवस्था  पुनः  फर्काउने दिवा सपना र मनको लड्डु घिउसँग खाने  परिकल्पना बाहेक अरू  केही  हो भन्न सकिँदैन !  काम गरी खाने श्रमजीवी वर्गको, सामाजिक, सांस्कृतिक, आर्थिक  रूपान्तरण गर्ने र राजनैतिक सचेतनाको मार्ग देखाउने वैज्ञानिक र व्यवहारिक बिचार सर्वहाराको  बलशाली दार्शनिक  हतियार  मार्क्सवादको शक्तिलाई नजरअन्दाज सामन्तका कठपुतलीले  मात्र गर्न सक्छन् ।  त्यसर्थ मार्क्सवादलाई पुरानो र विदेशी विचार हो भनी अपव्याख्या गर्नु नकारात्मक  बिचार र विषाक्त मानसिकताको  पराकाष्ठा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जेएस धिताल
जेएस धिताल
लेखकबाट थप