नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य, कप्तान पूजाको ब्याटिङले राहत
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि ७३ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले २७ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४३ बलको सामना गरी तीन चौका पनि हिकाइन् । ओपनर सावित्री धामीले पनि ११ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् ।
अर्की ओपनर साना प्रविण भने एक रनमै पेभेलियन फर्किएकी थिइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी ज्योत्सनिका मरासिनी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् । पाँचौँ नम्बरकी ब्याटर किरण कुँवर पनि चार रन बनाउँदै पेभेलियन फर्किइन् ।
करिष्मा गुरुङले टोलीको खातामा केवल दुई रन थपिन् । सिमान केसी पनि एक रन बनाउँदै आउट भइन् । विकेटकिपर ब्याटर एलिसा यादव पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । अनु कडायतले अविजित पाँच रन जोडिन् । रचना चौधरी खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । रिया शर्मा दुई रन बनाउँदै आउट भइन् ।
नेपालले १७ औँ ओभरमा लगातार तीन विकेट गुमाएको थियो । ती तीनवटै विकेट स्कटल्यान्डकी बलर माइसी मासिराले लिएकी थिइन् । उनले समग्रमा पाँच विकेट कुम्ल्याइन् । उनले ३.५ ओभरमा १५ रन खर्चिइन् । नायमा शेख र एमी बल्डीले पनि दुई–दुई विकेट हात पारे । क्रिस्टी म्याकोलले एक विकेट लिइन् । नेपालले अतिरिक्त रुपमा पनि १४ रन पायो ।
जारी विश्वकपमा नेपाल र स्कटल्यान्डले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा यी दुबै टोली पराजित भएका थिए । नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो । त्यसैले सोमबारको खेल नेपाल र स्कटल्यान्ड दुबैका लागि निकै महत्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोलीको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
समूह ‘डी’ तालिकामा दुई जितबाट चार अंक हात पारेको अस्ट्रेलिया पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपाल तेस्रो र समान खेल खेलेको स्कटल्यान्ड अंकविहीन रहँदै चौथो स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा जीवन शाहीको आक्रोश : भौतिक मन्त्रीलाई बर्खास्त गर्न माग
-
रातभर वाईफाई खुलै राख्दा स्वास्थ्यमा कस्तो पर्छ प्रभाव ?
-
विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
-
माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालन, औद्योगिक लोडसेडिङ भने यथावत्
-
शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : प्रचण्ड
-
माछापुच्छ्रे क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न