सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकामा सत्ता हस्तान्तरण गर्न किन लाग्छ ७५ दिन ?

सोमबार, ०७ माघ २०८१, १३ : ३८
सोमबार, ०७ माघ २०८१

वासिङ्टन डीसी । हरेक देशमा सत्ता हस्तान्तरण गर्ने आ–आफ्नै प्रक्रिया छन् । बेलायतमा चुनावी नतिजा आएपछि हार्ने प्रधानमन्त्रीले देशको राजा वा रानीकहाँ गएर राजीनामा दिन्छन् । त्यसलगत्तै, विजयी उम्मेदवारले सोही दिन राजपरिवारको प्रमुखलाई भेटेर प्रधानमन्त्रीको रूपमा शपथ लिन्छन् । यो काम केही घण्टामा नै सम्पन्न हुन्छ ।

भारतमा पनि नतिजा घोषणा भएपछि बहुमत प्राप्त गर्ने दल वा गठबन्धनको नेतालाई प्रधानमन्त्री बन्न आमन्त्रित गरिन्छ । प्रधानमन्त्रीलाई भारतका राष्ट्रपतिले शपथ खुवाउँछन् । यसपछि शक्ति हस्तान्तरणको प्रक्रिया पूरा भएको मानिन्छ र नयाँ सरकारले काम गर्न थाल्छ । तर अमेरिकामा यस्तो हुँदैन । त्यहाँ शक्ति हस्तान्तरणको प्रक्रिया पूरा हुन ७२ देखि ७८ दिन लाग्छ । यस पटक अमेरिकामा सत्ता हस्तान्तरण गर्न ७५ दिन लागेको छ । यति धेरै दिन लाग्नु पछाडिको सबैभन्दा ठुलो कारण चाहिँ अमेरिका एक विशाल देश भएकोले हो ।

अमेरिका १७७६ मा स्वतन्त्र भयो । त्यतिबेला अधिकांश जनसङ्ख्या दुर्गम क्षेत्रमा बसोबास गर्थे । यातायातका साधन खासै थिएनन् । बाटाघाटा पनि साह्रै दुर्गम थिए । चुनाव पछि मतगणना, मतदाताहरूको बैठक र कांग्रेससम्म मत पुग्न धेरै समय लाग्थ्यो । त्यसैले मतदान र शपथ ग्रहणबिच लामो अन्तर राखियो । सुरुवाती दिनहरूमा यो अन्तर ४ महिना अर्थात् १२० दिनको थियो ।

अघिल्लो वर्षको नोभेम्बरमा चुनाव सम्पन्न भएपछि अमेरिकामा पहिलो राष्ट्रपतिको कार्यकाल १७८९ मा अप्रिल ३० मा सुरु भएको थियो । दोस्रो राष्ट्रपतिको कार्यकाल १७९३ को मार्च ४ मा सुरु भयो र यो त्यतिबेलाको अभ्यास बन्यो । १९३३ मा राष्ट्रपति फ्रयाङ्कलिन डी. रुजवेल्टको शपथ ग्रहण अघि, संविधानको २० औँ संशोधनले प्रत्येक कार्यकालका लागि जनवरी २० लाई सुरुवात मितिको रूपमा स्थापित गरेका थिए ।

नयाँ राष्ट्रपतिले ४ हजारभन्दा बढी राजनीतिक नियुक्ति गर्नुपर्नेछ । यीमध्ये लगभग हजार जनाको नियुक्तिका लागि सिनेटको अनुमोदन चाहिन्छ । नयाँ कर्मचारीहरूका लागि कार्यालय र इमेल आइडी बनाउनुपर्छ । उनीहरूलाई नयाँ जिम्मेवारीबारे जानकारी दिइन्छ । राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा नीतिको बारेमा जानकारी गराइन्छ । यो सबै काम पूरा हुन समय लाग्छ, त्यसैले शक्ति हस्तान्तरणका लागि २ महिनाको समयावधि तोकिएको हो ।

सामान्यतः चुनावपछि नोभेम्बरदेखि नै सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुन्छ । तर २०२० मा यो भएन । ट्रम्पले चुनाव भएको ३ हप्तापछिसम्म सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुन दिएनन् । 

तर यसो गर्ने ट्रम्प पहिलो राष्ट्रपति थिएनन् । १९३३ मा पनि यस्तै भएको थियो । अघिल्लो वर्ष नोभेम्बरमा भएको चुनावमा डेमोक्रेटिक पार्टीका फ्र्याङ्कलिन रुजवेल्टले रिपब्लिकन पार्टीका हर्बर्ट हूवरलाई पराजित गरे । त्यतिबेला अमेरिकामा आर्थिक मन्दी चलिरहेको थियो । मन्दीसँग जुध्न रुजवेल्टले केही घोषणाहरू गरेका थिए । तर हूवरले ती घोषणालाई मन पराएनन् ।

रुजवेल्टलाई उनका योजनामा ​​काम गर्नबाट रोक्न हूवरले शक्ति हस्तान्तरणमा ढिलाइ गरिरहे । त्यतिबेला सत्ता हस्तान्तरणको समय पनि ४ महिना थियो । यो घटनापछि शक्ति हस्तान्तरण गर्ने समय अवधि घटाएर साढे दुई महिनामा झारियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप