सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारीमा भावी नेतृत्वका लागि नेताहरूको दौडधुप, को–को छन् आकांक्षी ?

सोमबार, ०७ माघ २०८१, २० : १५
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदैछ । भावी नेतृत्वका लागि ३२ वर्ष उमेर हद नलागेका निवर्तमान पदाधिकारी सबैले अध्यक्षको दाबेदार बन्न पाउने छन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबार जारी गरेको उम्मेदवारसम्बन्धी निर्देशका २०८१ जारी भएपछि उम्मेदवार बन्ने बाटो खुलेको हो । नयाँ निर्देशिका अनुसार अध्यक्ष पदको हकमा आयोजक समितिका पदाधिकारीले मात्र दाबी गर्न पाउने व्यवस्था राखिएको छ ।

यस्तै केन्द्रीय समितिका अन्य पदाधिकारी र आयोगका पदाधिकारीको हकमा आयोजक समिति सदस्य सबैले उम्मेदवारी दिन पाउने उल्लेख छ । क्रान्तिकारीका १७९ सदस्य पदाधिकारीमध्ये उमेर हदका कारण ४१ जना निवर्तमान पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउने देखिन्छ ।  

अब अध्यक्षका उम्मेदवार उपमहासचिव तहबाट हुने सम्भावना बढी रहेको विद्यार्थी नेताहरूले बताएका छन् । अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन् ।  

निर्देशिका अनुसार तीबाहेक सचिवहरूमा शिवम कुमार शाह, सञ्जय कुमार महतो, इन्दिरा पुरी, अशोक देवकोटा, प्रज्जवल खत्री, बिनु खड्का, रोशन थापा मगर, सुरज भण्डारी, श्याम मिजार, पदम नेपाली, ज्ञानु खड्का, उपदेश यादव, गोविन्द बानिया, पदम काफ्ले, प्रदीप शर्मा, रविन खड्का र समीर बुढाथोकी पनि अध्यक्षको दाबेदार बन्न सक्नेछन् ।

यसैगरी मनिषा आचार्य, उचित दास, मुना काप्री, भीष्म राज चौलागाई, रञ्जित आचार्य, सञ्जीव फुयाँल, सुष्मा रेग्मी, सम्झना घिमिरे, सुशान्त ताम्राकार, आर. के. भट्ट, सपना आर.सी., अटल आचार्य, बैजन्ती कुँवर, नवीन उपाध्याय र कोषाध्यक्ष देवकी कार्की समेत उम्मेदवार बन्न सक्नेछन् । यद्यपि उपमहासचिवभन्दा तलबाट अध्यक्षमा आउने सम्भावना नरहेको निवर्तमान उपाध्यक्ष केशव रावल बताउँछन् ।

‘उम्मेदवारसम्बन्धी नयाँ निर्देशिका अनुसार आयोजक समितिका पदाधिकारी सबै अध्यक्षका उम्मेदवार बन्न पाउनेछन् तर उपमहासचिवभन्दा तलबाट अध्यक्ष बन्ने सम्भावना देखिँदैन । उमेर हद नलागेका १० जना उपमहासचिव मध्येबाट अध्यक्ष आउने बढी सम्भावना छ,’ रातोपाटीसँग उनले भने ।

  • आफ्नो पक्षमा माहौल बनाउन नेताहरूको दौडधुप

भातृ संगठनलाई स्वायत्तता दिएको भनिएपछि विद्यार्थी नेताहरू माहौल आफ्नो पक्षमा पार्न पार्टीका शीर्ष नेताहरूलाई भेट्ने क्रम तीव्र पारेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत लगायत नेताहरूसँग भेटेर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । 

अध्यक्ष पदका दाबेदार मात्र नभई उमेर हदका कारण प्रतिस्पर्धाबाट आउट भएका निवर्तमान पदाधिकारीहरू समेत शीर्ष नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । कसलाई नेतृत्वमा ल्याउने सम्बन्धमा अध्यक्ष प्रचण्ड कतै पनि नखुलेको नेताहरूले दाबी गरेका छन् ।

‘अध्यक्ष प्रचण्ड कतै पनि खुल्नुभएको छैन । बाहिर गलत सन्देश जान्छ भनेर होला । हामीसँगको भेटमा तपाईँहरू आफै सहमतिमा नेतृत्व छान्नोस् । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याउनोस् भन्नुभएको छ’, प्रचण्डलाई भेटेर फर्किएका एक विद्यार्थी नेताले भने ।

  • को–को छन् दाबेदार ?

अर्का एक नेताका अनुसार विद्यार्थीको नेतृत्व सहजीकरण गर्नका लागि प्रचण्डले उपाध्यक्ष, महासचिव र उपमहासचिवहरूलाई जिम्मा दिएको बुझिएको छ ।

सहमतिमै नेतृत्व छनोट भएपनि वा निर्वाचन प्रक्रियामा गएपनि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष भुसाल, महासचिव गुरुङ र उपमहासचिवहरू पुन बस्नेत एक ठाउँमा आउने निवर्तमान एक पदाधिकारीले दाबी गरे । 

अध्यक्षका दाबेदारमध्ये हेडक्वार्टरको नजिक विजयप्रकाश सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, विश्वमणि थापा रहेको बुझिएको छ । पुन निकट सुदिन पौडेल पनि अध्यक्षका बलिया दाबेदार मानिएका छन् । सहमति भएमा पौडेल, सापकोटामध्ये एक जना साझा उम्मेदवार बन्ने सम्भावना रहेको ती नेताले रातोपाटीसँग भने ।

‘हेडक्वार्टरसँग विजयप्रकाश सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, विश्वमणि थापा नजिक देखिएका छन् । यीमध्ये एक जनालाई अध्यक्षले उम्मेदवारका रूपमा अगाडि बढाउने सम्भावना छ,’ ती नेताले भने, ‘वर्षमानको तर्फबाट सुदिन पौडेल पनि बलिया दाबेदार हुन् । सहमति भएमा प्रचण्डले चाहेको उम्मेदवारलाई वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव वर्षमानले समर्थन गर्ने सम्भावना पनि उत्तिकै छ ।

यस्तै अर्का उपमहासचिव जनार्दन शर्मा निकट देखिएका हेमन्त किराँती अध्यक्षका बलिया दाबेदार हुन् । भोजपुरका किराँतीलाई संघीय सांसद सुदन किराँतीको बलियो समर्थन रहेको बुझिएको छ ।

यदि चुनावी प्रतिस्पर्धा भएमा उपमहासचिव पुन पक्षबाट पौडेल अध्यक्षका उम्मेदवार बन्नेछन् । महासचिवमा श्याम मिजार रोकालाई अगाडि बढाउने बुझिएको छ ।

यता शर्मा पक्षबाट अध्यक्षमा किराँती, महासचिवमा रोशन थापामगर र अटल आचार्यमध्ये एक जना आउने देखिएको छ ।

हेडक्वार्टरबाट सापकोटा बलिया दाबेदार देखिएका छन् । उनीबाहेक तिर्सना हमाल, योगेन्द्र बुढा, विश्वमणि थापामध्ये एक जना अध्यक्षको उम्मेदवार बनाउन सक्ने बुझिएको छ । सुदूरपश्चिमकी पार्वती नेगी उपाध्यक्ष बन्ने लगभग निश्चित भएको नेताहरूले दाबी गरेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पक्षबाट उपदेश यादव दाबेदार देखिएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अघिसम्म सहमतिको प्रयास जारी रहने नेताहरूले बताएका छन् ।

नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १६२ केन्द्रीय सदस्यहरू गरी २४३ जनाको निर्वाचनका लागि निर्वाचन समितिले मंगलबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका  सार्वजनिक गरिसकेको छ । सोही दिन उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गर्ने, ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध उपर छानबिन गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

 १० गते  बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने र सोही दिन दिउँसो २ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप