सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
विद्यार्थी राजनीति

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदको तरङ्ग : १३८ जना पदाधिकारी ‘आउट’ !

सोमबार, ०७ माघ २०८१, १५ : ३०
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को निवर्तमान कार्यसमितिमा रहेका उपाध्यक्षदेखि महासचिवसम्मका सबै पदाधिकारी विद्यार्थी राजनीतिबाट बाहिरिने भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट ३२ वर्ष उमेर हद लागु भएपछि उनीहरू बाहिरिने भएका हुन् ।

शुक्रबार बसेको निर्वाचन समितिको बैठकले ३२ वर्ष  उमेर हदका लागि २०४९ साल माघ ७ गते यता जन्मेको हुनुपर्ने प्रावधान राखेपछि उपाध्यक्षदेखि महासचिवसम्म सबै पदाधिकारी विद्यार्थी राजनीतिबाट बहिर्गमनमा पर्ने भएका हुन् ।

पुस १३ गते भएको उमेर हदसम्बन्धी मतदानमा खुला पक्षधर पराजित भएपछि निवर्तमान उपाध्यक्ष प्रविना अधिकारीमात्र अध्यक्षको उम्मेदवार बन्न पाउने अनुमान गरिएको थियो । तर निर्वाचन समितिले २०४९ साल माघ ७ गते यता जन्मेको हुनुपर्ने प्रावधान राखेपछि अधिकारी पनि उम्मेदवार बन्नबाट वञ्चित भएको एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल र महासचिव दिपेश पुन उमेर हदका कारण अब विद्यार्थी राजनीतिबाट बाहिरिने भएका छन् ।

संशोधित विधान अनुसार ३३ जना पदाधिकारीसहित २४३ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । अब अध्यक्षका उम्मेदवार निवर्तमान कार्यसमितिको उपमहासचिव तहबाट आउने सम्भावना बढेको निवर्तमान उपाध्यक्ष केशव रावलले जानकारी दिए ।

रावलका अनुसार निवर्तमान उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन सक्नेछ ।

यसैगरी निवर्तमान कार्यसमितिका सचिवहरू शिवम कुमार शाह, संजय कुमार महतो, ईन्दिरा पुरी, अशोक देवकोटा, प्रज्ज्वल खत्री, बिनु खड्का, रोशन थापा मगर, सुरज भण्डारी, श्याम मिजार, पदम नेपाली, ज्ञानु खड्का, उपदेश यादव, गोविन्द बानिया, पदम काफ्ले, प्रदिप शर्मा, रविन खड्का र समिर बुढाथोकी पनि नेतृत्वका लागि भिड्न सक्छन् ।

मनिषा आचार्य, उचित दास, मुना काप्री, भिष्मराज चौलागाई, रञ्जित आचार्य, सञ्जीव फुयाल, सुष्मा रेग्मी, सम्झना घिमिरे, सुशान्त ताम्राकार, आर. के. भट्ट, सपना आर.सी., अटल आचार्य, बैजन्ती कुँवर, नविन उपाध्याय र कोषाध्यक्ष देवकी कार्कीसमेत उम्मेदवार बन्ने सम्भावना रहेको निवर्तमान उपाध्यक्ष रावलले बताए । १७९ जना पदाधिकारी रहेको संगठनमा १३८ जना उमेर हदका कारण बाहिरिने सम्भावना रहेको उनले जानकारी दिए ।

यसअघि २०७८ को विधान अनुसार महासचिवसम्मले मात्र उम्मेदवार बन्न पाउने थिए । तर ३२ वर्ष उमेर हद लागु भएपछि आयोजक कमिटीका पदाधिकारी सबैले उम्मेदवार बन्न पाउने वा उपमहासचिवसम्म राख्ने वा सबैलाई खुला गर्ने भन्नेमा सहमति हुन बाँकी रहेको अर्का निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए । त्यसका लागि सोमबारसम्ममा सहमति हुन सक्ने उनले बताए ।

केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले निर्धारित समयमै लागु हुनेगरी माघ ८ गतेदेखि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । यद्यपि तोकिएकै समयमा मतदान हुनेमा केही आशंका बाँकी नै छन् ।

  • यस्तो छ निर्वाचन कार्यतालिका-

१. मिति २०८१ साल माघ ८ गते बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्नु पर्ने छ ।

२. मिति २०८१ साल माघ ८ गते उम्मेदवारी मनोनयनको समय समाप्तपछि सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।

३. मिति २०८१ साल माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्नु पर्ने छ ।

४. मिति २०८१ साल माघ ९ गते बिहान ११ः०० बजे पछि दाबी विरोधको छानबिन र नामावली प्रकाशन गरिने छ ।

५. मिति २०८१ साल माघ १० गते बिहान ११ः०० बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने छ ।

६. मिति २०८१ साल माघ १० गते दिउँसो २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

७. मिति २०८१ साल माघ १२ गते बिहान ९ः ०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म मतदान हुनेछ ।

८. प्रत्येक प्रदेशमा मतदान केन्द्र रहनेछन् ।

९. ३२ वर्ष उमेर हदका लागि २०४९ माघ ७ गते तदअनुसार २० जनवरी १९९३ वा त्यसपछि जन्ममिति भएका प्रतिनिधिले मात्र मनोनयन दर्ता गर्न सक्नेछन् । उम्मेदवारी मनोनयन दर्ता गर्दा नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचयपत्रमध्ये कुनै १ परिचय पत्र अनिवार्य अपलोड गर्नुपर्नेछ ।

  • यस्तो छ पदाधिकारीको रोस्टर:

अध्यक्ष १ खुला

उपाध्यक्ष ९– खुला: ४, समावेशी: ५ (छात्रा: १, जनजाति: १, दलित: १, खस आर्य: १)

महासचिव १ खुला

उपमहासचिव ९: एक प्रदेश: एक उपमहासचिव

सचिव १२ –(खुला: ४, छात्रा: २, जनजाति: १, दलित: १, मधेसी: १, मुस्लिम: १, खस आर्य: १, सहिद सन्तति÷अल्पसंख्यक: १ जना)

कोषाध्यक्ष १ खुला गरी जम्मा ३३ जना । 

  • कार्यदलले देला समाधान ?

संगठनका अवकाशप्राप्त नेताहरूको व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेत नेतृत्वमा बनाइएको तीन सदस्यीय कार्यदलले माघ ८ गते प्रतिवेदन बुझाउने तयारी छ ।

उमेर हदसम्बन्धी विवाद समाधानका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको तीन सदस्यीय छानबिन समितिले एक महिनामा प्रतिवेदन बुझाउने कार्यादेश तोकेको छ । पार्टीको पदाधिकारी बैठक पनि सोही दिन बस्न सक्ने केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए । यस्तो अवस्थामा फेरि मतदान प्रक्रिया प्रभावित हुने आशंकालाई बढावा दिएको हो । तर पार्टीको बैठकका कारण निर्वाचन प्रभावित नहुने सचिव पौडेलले दाबी गरे ।

‘विद्यार्थीको निर्वाचन आफ्नै ढंगले हुँदै जान्छ । पार्टीको बैठक नबसेकै कारण प्रभावित हुँदैन । निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले कार्यतालिका अनुसार नै काम हुन्छ । यसमा पार्टीको हस्तक्षेप हुँदैन’, रातोपाटीसँग उनले भने ।

यस्तै इन्चार्ज हिमाल शर्माले पनि निर्वाचन प्रक्रिया नरोकिने विश्वास दिलाए । विद्यार्थीले माग गरे बमोजिम छानबिन समिति गठन भएको र अवकाशप्राप्त नेताहरूको व्यवस्थापन गर्न बनेको कार्यदलले ८ गते प्रतिवेदन बुझाउने तयारी गरेकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा उनी विश्वस्त देखिन्छन् ।

‘अब निर्वाचन प्रक्रिया प्रभावित हुने अवस्था छैन । विद्यार्थी साथीहरूले भनेबमोजिम छानबिन समिति पनि गठन भइसकेको छ । अवकाशप्राप्त नेताहरूको व्यवस्थापनको काम पनि भइराखेको छ’, शर्माले भने ।

यस्तै खुला पक्षधर नेताहरूले पनि मतदान प्रक्रियालाई आफूले सहयोग गर्ने बताएका छन् । आइतबार रातोपाटीसँग कुराकानी गर्दै निवर्तमान उपाध्यक्ष पवन कार्की र केशव रावलले आफूहरूको माग पार्टीले सम्बोधन गरेकाले अब व्यवस्थापनको काम हेरेरमात्र अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय  कीर्तिपुरमा भएको सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि खुला राख्ने विषयमा विवाद हुँदा सम्मेलन स्थगित भएको थियो । दोस्रोपटक मंसिर २३ र २४ गते प्रत्येक प्रदेशमा दुई चरणमा मतदान हुनेगरी निर्वाचन मिति तोकिएको थियो । तेस्रोपटक पुस १३ र १७ गते निर्वाचन गर्ने मिति तोकिएको थियो । तर मतदानमा खुला पक्षधर पराजित भएपछि दोस्रो चरणको निर्वाचन तालिका प्रभावित हुँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप