सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

प्रशिक्षार्थी डाक्टर हत्या प्रकरण : दोषी सञ्जय रोयलाई आजीवन कारावास कि फाँसी ?

सोमबार, ०७ माघ २०८१, ११ : ३९
सोमबार, ०७ माघ २०८१

नयाँ दिल्ली । पश्चिम बङ्गालको राजधानी कोलकाताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार अनि हत्या प्रकरणका दोषीलाई सोमबार सजाय सुनाइँदैछ । कोलकाताको एक अदालतले आज दिउँसो अस्पतालकी महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सजाय सुनाउने भएको हो । 

रोयलाई जुन धाराहरू अन्तर्गत दोषी ठहराइएको छ, त्यस अन्तर्गत उनलाई न्यूनतम पनि आजीवन कारावासको सजाय हुन सक्नेछ । अधिकतम सजाय भने मृत्युदण्ड हुन सक्नेछ । सियालदह अदालतका अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश अनिर्बान दासले शनिवार सञ्जय रोयलाई गत वर्ष अगस्ट ९ मा अस्पतालमा स्नातकोत्तर प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरेका थिए ।

यो जघन्य अपराधले भारतभर आक्रोश उत्पन्न भएको थियो भने लामो समयसम्म विरोध प्रदर्शन भएको थियो ।

अस्पतालको सेमिनार कक्षमा ३१ वर्षीय डाक्टरको शव भेटिएको एक दिनपछि अर्थात् २०२४ को अगस्ट १० मा सञ्जयलाई पक्राउ गरिएको थियो । न्यायाधीशले उनलाई भारतीय दण्ड संहिता (आईपीसी) को धारा ६४, ६६ र १०३ (१) अन्तर्गत दोषी ठहर गरेका थिए ।

आईसीपीको धारा ६४ (बलात्कार) मा न्यूनतम १० वर्षको सजाय छ, जुन आजीवन कारावाससम्म हुनसक्छ । धारा ६६ अन्तर्गत, तोकिएको सजाय न्यूनतम २० वर्ष हो भने आजीवन कारावाससम्म हुनसक्छ । त्यस्तै, आईपीसीको धारा १०३() अर्थात् हत्याको आरोपमा दोषी ठहरिएको व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप