बजारमा किन अभाव भयो नेपाल ग्यास ?
काठमाडौँ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासमध्ये पछिल्लो समय बजारमा नेपाल ग्यासको अभाव देखिएको छ । लामो समयदेखि उक्त कम्पनीको ग्यास अभाव भएको गुनासो उपभोक्ताको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास अभावको गुनासो निगममा नआएको बताए । तर जाडो सिजनमा खपत बढ्ने भएकाले मागअनुसार ढुवानी नहुँदा अभाव भएको हुनसक्ने बताए ।
‘हामीकहाँ ग्यास अभाव भएको गुनासो आएको छैन । कहीँकतै ढुवानीको समस्याका कारण अभाव भएको होला,’ प्रवक्ता ठाकुरले भने, ‘जाडो सिजनमा अरु बेलाको तुलनामा ग्यास खपत बढ्छ ।’ माग बढेको समयमा ग्यास ढुवानी गर्ने साधन सीमित भएकाले मागअनुसार कतै समयमा पुग्न नसकेको हुन सक्ने तर अभाव नै सिर्जना हुने गरी अन्य कुनै कारण नरहेको उनको भनाइ छ ।
तर अहिले ग्यास अभाव हुनुमा ढुवानीमा समस्या नभएको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे बताउँछन् ।
‘ग्यास अभाव हुनुमा ढुवानीको समस्या होइन, मुख्य समस्या कोटाको हो,’ घिमिरेले भने, ‘ढुवानीका साधन जति भए पनि रिफाइनरीमा माल नभएपछि कहाँबाट ग्यास आउँछ ? निगमले सिलिण्डर बेसको कोटा निर्धारण (वृद्धि) गर्नुपर्ने हो तर त्यो गरेको छैन । रिफाइनरीको समस्याले बजारमा ग्यास अभाव भएको छ ।’
निगमले पछिल्लो समय भारतका बरौनी, पारादीप, दुर्गापुर र कर्नाल रिफाइनरीबाट दैनिक सरदर ८० देखि ११२ बुलेटबाट ग्यास आयात हुँदै आएको जनाएको छ ।
‘कोटा निर्धारण नहुँदा समस्या’
अध्यक्ष घिमिरेका अनुसार वार्षिक रूपमा कुन उद्योगले कति सिलिण्डर थप ग¥यो भन्ने आधारमा त्यसको तीन भागको एक भाग कोटा थप गर्ने व्यवस्था छ । तर तीन वर्षदेखि निगमले कोटा निर्धारण कार्य रोकिरहेको उनको भनाइ छ ।
‘हिजो सवा करोड सिलिण्डर थियो । भोलि सिलिण्डरको संख्या डेढ करोड पुग्दा सवा करोड सिलिण्डर बराबर ग्यास दिएर त पुग्दैन नि,’ घिमिरेले भने, ‘निगमले सिलिण्डर बेसको कोटा निर्धारण नगरेर समस्या निम्त्याएको छ ।’
नेपाली ग्यास उद्योगले भारतका ६ रिफाइनरीमध्ये ५ रिफाइनरीबाट आयात गर्दै आएका छन् । तर पछिल्लो समय ती रिफाइनरीमा मर्मत गर्नुपर्नेलगायतका समस्या देखिने र ग्यास लोड गर्न जाँदा लोड नहुने गरेको घिमिरेको भनाइ छ ।
पछिल्लो समय ग्यासको खपत बढ्दो छ । त्यसमाथि गर्मी सिजनको तुलनामा जाडोमा करिब ३० प्रतिशतले ग्यास खपत बढ्छ । तर समयसमयमा विभिन्न रिफाइनरीमा समस्या आएका कारण ठिक ढङ्गले वितरण हुन नसकेको अध्यक्ष घिमिरे बताउँछन् ।
देशभरमा ५९ वटा ग्यास उद्योग छन् । काठमाडौँ उपत्यका र काभ्रे जिल्लामासहित २६ उद्योगले एलपी ग्यास वितरण (सप्लाई) गर्छन् । त्यसमध्ये केही उद्योग जस्तैः नेपाल ग्यास, एभरेस्ट ग्यासलगायतका ग्यासको बजारको हिस्सा ठुलो छ । ती उद्योगले वितरण गर्ने ग्यासमा समस्या देखिएको घिमिरेको भनाइ छ ।
हाल देशभरिमा मागअनुसार ग्यास पर्याप्त नभएको अध्यक्ष घिमिरे बताउँछन् ।
कति छ ग्यास खपत ?
वार्षिक एलपीजी ग्यास साढे ४ लाख मेट्रिक टनदेखि ५ लाख मेट्रिक टनसम्म खपत हुने गरेको निगमले जनाएको छ ।
स्रोतःनेपाल आयाल निगम
आयात र खपत बढ्दो
पछिल्लो समय एलपीजी ग्यासको खपत बढेसँगै आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६÷०७७ मा ४४९०६३ मेट्रिक टन ग्यास आयात भएको थियो । २०७७÷०७८ मा ६.४ प्रतिशतले आयात वृद्धि भएको छ । २०७७÷०७८ को तुलनामा २०७८÷०७९ मा १२.२ प्रतिशतले आयात र खपत बढेको छ । यस्तै २०७९÷०८० मा २०७८÷७९ को तुलनामा ४ प्रतिशतले आयात घटेको थियो । २०८०÷०८१ मा १.९ प्रतिशतले आयात वृद्धि भएको देखिन्छ ।
पाँच वर्षमा ग्यास आयात र खपतको अवस्था
स्रोतः नेपाल आयल निगम
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म (५ महिना) को अवधिमा २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपैयाँको २१७७७४.४३ मेट्रिक टन ग्यास आयात भएको छ । मंसिर महिनामा मात्रै ५ अर्ब ३६ करोड ९७ लाख ८४ हजार रुपैयाँको ४५२९१.६० मेट्रिक टन ग्यास आयात भएको छ । कार्तिकमा ४ अर्ब ७९ करोड ४९ लाख ३१ हजार रुपैयाँको ४२१७७.११ मेट्रिक टन ग्यास आयात भएको छ ।
यसअनुसार कार्तिकको तुलनामा मंसिरमा ३११४.४९ मेट्रिक टन बढी ग्यास आयात भएको । यसका बाबजुद बजारमा ग्यास अभाव देखिएको छ ।