कांग्रेसको क्रियाशील सदस्यता नवीकरण शुल्कमा मनपरी
विराटनगर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण धमाधम गरिरहेको छ । तर नवीकरण शुल्क भने मनपरी उठाएको पाइएको छ ।
यही माघ ३ गते कांग्रेस महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परिपत्र जारी गरेका थिए । परिपत्रमा माघ १५ गतेदेखि फागुन १ गतेसम्ममा क्रियाशील सदस्यता नवीकरण गर्ने र नवीकरण शुल्क दुई सय रुपैयाँमात्र लिने भनिएको छ ।
आगामी चैत २९ गतेसम्ममा क्रियाशील सदस्यहरूको नवीकरणको अद्यावधिक विवरण, सदस्यता शुल्क लगायतका कागजात केन्द्रीय कार्यालयमा बुझाइसक्न परिपत्रमा निर्देशन गरिएको छ ।
कांग्रेसको नियमावली २०७६ को नियम ५ (४), (३) बमोजिम वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समितिले आफूभन्दा माथिल्लो निकायमा नवीकरण फारम बुझाउँदा आफ्नो समितिले प्राप्त गर्ने प्रतिक्रियाशील सदस्यता बापत रु.१० (दश) का दरले हुने रकम कट्टा गरी बाँकी रकम माथिल्लो तहमा बुझाउने व्यवस्था छ । जिल्ला कार्यसमितिले समेत मातहतका तहहरूबाट प्राप्त भएका क्रियाशील सदस्यहरूको नवीकरण फारम संख्याका आधारमा प्रतिफारम रु.१० जिल्ला कार्यसमितिमा राखी बाँकी रहेको प्रतिफारम रु. १५० (प्रदेश कार्यसमितिले प्राप्त गर्ने प्रतिफारम रु.१० समेत गरी) का दरले एकमुष्ट रकम केन्द्रीय कार्यालयमा पठाउन परिपत्रले निर्देशन गरेको छ ।
तर, कांग्रेस झापाले भने केन्द्रको उक्त परिपत्र विपरीत औपचारिक निर्णय गरेरै प्रतिसदस्य ७ सय रुपैयाँ नवीकरण शुल्क लिएको छ । मोरङ र सुनसरीले प्रतिक्रियाशील सदस्य २ सय रुपैयाँ लिएको जनाएको छ ।
झापामा नवीकरण शुल्क बढी लिएको भन्दै विरोध सुरु भएको छ । ‘क्रियाशील सदस्यको नाममा केन्द्रले तोकेभन्दा उठाइएको बढी पैसा तुरुन्त फिर्ता हुनुपर्छ,’ झापाका एक कांग्रेस कार्यकर्ताले भने, ‘बढी पैसा लिएर जिल्ला सभापति नै केन्द्रको परिपत्रविरुद्ध गए ।’
झापाका कतिपय क्रियाशील सदस्यले भने साढे ५ सय रुपैयाँ तिरेको बताएका छन् भने कसैले ७ सय रुपैयाँ तिरेको बताएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले भने नवीकरण शुल्क ७ सय रुपैयाँ लिएको स्वीकार गरे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको गत असार ७ गतेको बैठकले क्रियाशील सदस्यता नवीकरण फारम भर्नका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ लिने निर्णय गरेको थियो । सो रकममध्ये वडा समितिमा १ सय, गाउँ नगर समितिमा ५० रुपैयाँ, प्रदेश सभा क्षेत्रीय समितिमा ३० रुपैयाँ, संसदीय निर्वाचन क्षेत्रीय समितिमा ४० रुपैयाँ र अरु रकम जिल्ला समिति, कोशी प्रदेश समिति र केन्द्रीय समितिमा बाँडफाँट गर्ने जनाइएको छ । हालसम्म नवीकरणको काम ७० प्रतिशतजति सकिएको थेबेले बताए । उनका अनुसार झापामा ३४ हजार हाराहारीमा क्रियाशील सदस्य छन् ।
क्रियाशील सदस्यता नवीकरण गर्दा ७ सय रुपैयाँ लिने निर्णय भने जिल्ला सम्मेलनले गरेको थेबेको दाबी छ । ‘धेरैले जिल्ला समितिले गरेको निर्णय भनेका छन् । हामीले जिल्ला सम्मेलनबाट यो शुल्क निर्धारण गरेका हौँ,’ उनले भने, ‘२ सय रुपैयाँ केन्द्रमा पठाउने भनेको हो । ७ सय रुपैयाँ लिने भनेको ५ वर्षको हो । ७ सय रुपैयाँ जिल्लाले लिने भनेको विषय अरु पनि छन् । यो भनेको गत वर्षको जिल्ला सम्मेलनले गरेको निर्णय हो । त्यो जिल्ला समितिले ब्रेक डाउनमात्रै गरेको हो ।’
केन्द्रले भनेअनुसार लेबी उठाउँदा केही गर्न नसक्ने भएकाले बढी उठाएको उनको भनाइ छ । ‘केन्द्रले त १० रुपैयाँ वडालाई दिने भनेको छ । १० रुपैयाँले एउटा चुरोट पनि आउँदैन, के गर्ने ? महिनामा ३ वटा समवेदना लिएर जानुपर्छ । त्यसकारण हामीले बढाएर वडालाई १ सय रुपैयाँ दिने भनेका छौँ,’ उनले भने ।
७ सय रुपैयाँ शुल्क लिएको विषयमा आलोचना भएकोबारे टिप्पणी गर्दै उनले विधान अनुसार शुल्क फिर्ता लिने भनेर निवेदन दिए फिर्ता दिने बताए । ‘एमालेको वा अन्य पार्टीको ५ वर्षमा ७ सयमात्रै लिन्छ होला ? रास्वपाले त १ हजार रुपैयाँ काटेर सदस्य बनाइरहेको छ । हामीले विधानले तोकेको, जिल्ला सम्मेलनले तोकेको शुल्क लिएको हो । त्यसलाई मिडियाबाजी गर्ने हो भने त्यो पार्टीमा रहन्छ होला र ? यो हिसाबकिताब चाहियो भने हामी जहाँ पनि देखाउन तयार छौँ,’ थेबेले भने ।
मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता नवीकरणका लागि २ सय रुपैयाँ लिने गरेको बताए । यस्तै सुनसरीका सभापति केदार भण्डारीले पनि क्रियाशील सदस्यता नवीकरण शुल्क २ सयमात्रै लिने गरिएको बताए । ‘क्रियाशील सदस्यताका लागि प्रत्येक वडामा फारम पठाइसकिएको छ । कडाइका साथ २ सय रुपैयाँमात्रै उठाउन भनिएको छ,’ भण्डारीले भने ।
मोरङमा कांग्रेसका क्रियाशील सदस्य ४० हजारभन्दा बढी रहेको कांग्रेस नेताहरू बताउँछन् । उनीहरूबाट २ सय रुपैयाँको दरले रकम उठाउँदा पनि नवीकरण शुल्क ८० लाख रुपैयाँ उठ्ने देखिन्छ । यस्तै सुनसरीमा ३१ हजार क्रियाशील सदस्यहरूको नवीकरण शुल्क २ सय रुपैयाँ उठाउँदा ६२ लाखभन्दा भन्दा बढी रकम संकलन हुने देखिएको छ ।
मोरङ र सुनसरीका ८१ हजार क्रियाशील सदस्यको नवीकरण शुल्क १ करोड ४२ लाख हुँदा झापामा ३४ हजारको मात्रै ७ सयको दरले उठाउँदा नवीकरण शुल्क २ करोड ३८ लाख हुने अनुमान छ । झापा, मोरङ र सुनसरीबाट मात्रै कांग्रेसले सोही आधारमा रकम उठाउँदा ३ करोड ८० लाख जम्मा गर्ने देखिएको छ ।