टेनिसकी प्रशिक्षकसँग वैवाहिक बन्धनमा बाँधिए ओलम्पिक पदक विजेता एथलेटिक्स खेलाडी
काठमाडौँ । ओलम्पिक पदक विजेता भारतीय एथलेटिक्स खेलाडी निरज चोपडा टेनिसकी पूर्वखेलाडीसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आफ्नो विवाहको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
निरज पूर्वटेनिस खेलाडी हिमानी मोरसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । गोप्य राखिएको वैवाहिक कार्यक्रममा उनका परिवारका सदस्यहरुमात्र उपस्थित रहेको बताइएको छ । अचानक विवाहको तस्बिर सार्वजनिक भएपछि उनका समर्थकहरू पनि आश्चर्यमा परेका छन् ।
२७ वर्षीय निरजकी पत्नि हिमानी मोर पहिले व्यवसायिक टेनिस खेलाडी थिइन् । उनले सन् २०१७ मा ताइपेईमा सम्पन्न वर्ल्ड युनिभर्सिटी गेम्समा भारतका लागि स्वर्ण पदक पनि जितेकी थिइन् । उनले अमेरिकाका लागि पनि टेनिस खेलेकी थिइन् ।
२५ वर्षीया हिमानी मोरले फ्रान्कलिन पियर्स विश्वविद्यालयमा टेनिसको स्वयंसेवक प्रशिक्षकका रूपमा पनि काम गरेकी थिइन् । उनी हाल खेलकुद प्रशासन तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गरिरहेकी छन् ।
हिमानी मोरको पुर्ख्यौली घर भने भारतको हरियाणा हो । ज्याभलिन थ्रो खेलाडी निरज भने ओलम्पिक पदक विजेता खेलाडी हुन् । उनले ओलम्पिकमा स्वर्ण पदक पनि जितिसकेका छन् । यसका अतिरिक्त उनले वर्ल्ड च्याम्पियनसिप र राष्ट्रमण्डलीय खेलकुदमा पनि स्वर्ण पदक जितेका छन् ।