सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

माघमा ७ फिल्म प्रदर्शन हुँदै ः निर्माण बढ्नुको प्रभाव मात्र कि व्यावसायिक आस पनि ?

सोमबार, ०७ माघ २०८१, ०७ : ३०
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । गत पुस महिनामा रिलिज हुने फिल्मको अभाव देखियो । ४ वटा शुक्रबार रहेको पुसमा जम्मा २ शुक्रबार नयाँ फिल्म रिलिज भयो । पुसमा जम्मा ३ वटा फिल्ममात्र रिलिज भएका थिए ।

पुसको पहिलो साता ‘बमबहादुर’ र ‘देववाणी’ आएको थियो भने अन्तिम साता ‘कार्साङ’ रिलिज भएका थियो । दोस्रो र तेस्रो साता नयाँ फिल्म रिलिज फिल्म नहुँदा पुरानै फिल्मले निरन्तरता पाए ।

पुस नेपाली फिल्म रिलिजका हिसाबले सुनसानजस्तै रहे पनि माघ महिनामा भने भरिभराउ हुने देखिएको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा माघमा ७ फिल्म रिलिजको तयारीमा छन् ।

नयाँ नेपाली फिल्म चाडपर्व विशेष बाहेकको समय हरेक शुक्रबार रिलिज हुने परम्परा छ । सोही अनुसार ४ शुक्रबार रहेको माघमा कुनै साता एक, कुनै साता दुई र कुनै साता तीन फिल्मसमेत रिलिजको तयारीमा छन् ।

माघको पहिलो शुक्रबार अर्थात् गत ४ गते दुई फिल्म ‘फिरफिरे फिरिरि’ र ‘एक्टर’ रिलिज भए । जसको प्रदर्शन अहिले पनि जारी छ । माघको दोस्रो साता ११ गते एकमात्र फिल्म ‘मिसिङ ः केटी हराएको सूचना’ रिलिज हुँदैछ । तेस्रो साता १८ गते पनि एकमात्र फिल्म ‘एक्टरः टेक वन’ रिलिजको तयारीमा छ ।

माघको चौथो साता २५ गते ‘ममी’, ‘जुना’ र ‘सारङ्ग’ गरेर ३ फिल्म फिल्मको तयारीमा छन् । सरसर्ती हेर्दा माघमा कुनै साता कुनै फिल्मले सिङ्गल रिलिज पाउँदैछ भने कुनै साता तीन वटा फिल्म भिड्ने भएका छन् ।

एकै महिना ७ फिल्म रिलिज हुनुलाई कतिपयले निर्माण बढेको प्रभावका रूपमा लिएका छन् भने कतिपयले माघ फिल्म व्यवसायका लागि राम्रो महिना भएको बताउँछन् । माघमा धेरै फिल्म प्रदर्शनमा आउनुलाई निर्माण बढ्नुको प्रभावका रूपमा लिन सकिने निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ बताउँछन् ।

‘अहिले फिल्म निर्माण बढेको छ । त्यसले फिल्म रिलिजका लागि डेट पाउन पनि गाह्रो छ’, श्रेष्ठले भने, ‘पहिलेदेखि नै पुसभन्दा माघ महिना फिल्म रिलिजका लागि राम्रो मानिँदै आएको छ ।’

निर्माता तथा प्रदर्शक गोपाल काजी कायस्थ पनि फिल्म निर्माण बढ्नुको प्रभावस्वरुप माघमा धेरै फिल्म प्रदर्शन हुन लागेको बताउँछन् । ‘अहिले फिल्म निर्माण एकदमै बढेको छ । फिल्म रिलिजका लागि डेट पाउन मुस्किल छ’, कायस्थले भने, ‘जुन मितिमा खाली छ, त्यसमा राख्ने हो ।’

अबको केही महिना फिल्म रिलिजका लागि भरिभराउ देखिने कायस्थ सुनाउँछन् ।

  • कस्ता फिल्म आउँदै छन् ?

माघमा ७ फिल्ममध्ये दुई फिल्म ‘फिरफिरे फिरिरि’ र ‘एक्टर’ गत शुक्रबार रिलिज भइसकेका छन् । तर दुवै फिल्मले हलमा सोचेजस्तो दर्शक पाउन सकिरहेका छैनन् ।

‘फिरफिरे फिरिरि’ हरर र कमेडी मिश्रित फिल्म हो । मनोज कुमार अधिकारी निर्माता रहेको फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर सेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय छ । फिल्म नवीन भट्टले निर्देशन गरेका हुन् ।

‘एक्टर’ युवा पुस्तालाई हौसला प्रदान गर्ने कथावस्तु समेटेर निर्माण भएको फिल्म हो । टेलिभिजन पत्रकार मनोहरी थापाको निर्माण रहेको फिल्ममा प्रिन्स थापा मगर, शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिवु शाह लगायतको अभिनय छ । फिल्मका निर्देशक मदन घिमिरे हुन् ।

त्यस्तै, आगामी ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रेम कथामा बनेको हो । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

१८ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ त्रिकोणात्मक प्रेमकथा र द्वन्द्वमा बनेको छ । फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको मुख्य अभिनय छ । राजन भुसाल निर्देशित फिल्म थमन कुमार भण्डारीले निर्माण गरेका हुन् ।

यस्तै २५ गते प्रदर्शनमा आउने फिल्ममा ‘सारङ्ग’ अभिभावकको विषयमा निर्माण भएको हो । ‘ममी’ आमाको जीवनसंघर्षमा आधारित रहेको बताइन्छ । त्यस्तै ‘जुना’ले भने बालविवाहको कथा उठाएको छ ।

जीवन सेञ्चुरी निर्देशित ‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायको अभिनय छ । फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ ।

‘सारङ्ग’ प्रशान्त तामाङले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको अभिनय छ । फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् ।

समर निरौलाको निर्देशन रहेको ‘ममी’मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप