बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

सोमबार, ०७ माघ २०८१, ०६ : ०६
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । सामान्यतया: ३७ हप्ता गर्भमा रहेर जन्मेको बच्चालाई राम्रो मानिन्छ । यस्तो बच्चालाई समय पुगेर जन्मेको अर्थात् ‘टर्म पुगेको’ बच्चा भनिन्छ ।

यस्तै कुनै बच्चा समय नपुगीकन पनि जन्मिरहेका हुन्छन् । यस्तो बच्चालाई ‘प्रिटर्म’ अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ । जन्मिएदेखि ३० दिनसम्मको बच्चालाई नियोनेट (नवजात) भनिँदै आएको छ ।

बच्चा जन्मने सामान्य समय भनेको गर्भमा रहेको ३७ हप्ता हो । सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेला पनि बच्चा जन्मन सक्ने हुन्छ । नवजात शिशु (भर्खरै जन्मेको बच्चा)लाई विभिन्न रोग देखिने गर्दछ । भर्खरै जन्मेका बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजोलगायतमा समस्या देखिने गरेको पाइन्छ ।

सो बाहेक बच्चाहरूमा इन्फेक्सनसमेत बढी मात्रामा हुने गरेको छ । अस्पतालमा जन्मेका बच्चालाई नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गरिँदै आए पनि कहिलेकाहीँ बाहिर जन्मेका बच्चामा पनि इन्फेक्सन भएर अस्पतालमा आउने गरेका छन् ।

नवजात बच्चाहरूमा निमोनिया, पिसाब, मेनेन्जाइटिस (दिमागको इन्फेक्सन) लगायतको समस्या पनि उत्तिकै देखिने गरेको छ । यस्तै, जन्मिनेबित्तिकै जन्डिस भएर पनि उपचारका लागि ल्याउने गरिएको छ ।

भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई (इन्कोभेटर) भन्ने गरिन्छ ।

रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरू बढी मात्रामा अस्पतालमा आउने गरेका छन् । कुनै पनि बच्चा बिरामी भएपछि सुरुमा मेडिकलमा लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभावी रूपमा एन्टोबायोटिक औषधि दिने गर्दछ । यसरी सुरुमै एन्टोबायोटिक औषधि प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ ।

धेरैजसो  बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आफैँ निको हुन्छ । मेडिकलले जथाभावी एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरू परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ ।

(डा. रमिता श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीकी बालरोग विशेषज्ञ हुन् । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.रमिता श्रेष्ठ
डा.रमिता श्रेष्ठ
लेखकबाट थप