१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. प्रहरीमा स्टाफ कलेज
प्रहरीमा स्टाफ कलेजका लागी १ सय ३१ जना प्रहरी अधिकृतहरू छनोट भएका छन् । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागी हुन् अन्तिम सूचीमा १३१ जना छनोट भएका हुन् । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स अन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपिएस) र प्रोफेसनल लिडरसिप कोर्ससहित दुई वटा कोर्सको पाठ्यक्रम स्वीकृत भैसकेको छ । स्टाफ कलेज २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागू गर्ने निर्णय गरिएको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् ।
२. तालाबन्दीप्रति मन्त्रालयको ध्यानाकर्षण
विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा भइरहेको तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ । त्रिभुवन विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको नाममा तालाबन्दी भइरहेको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो ।प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना गर्न नहुने बताए ।
३. एमालेका नेताहरूमाथि धमाधम कारबाही
नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएको छ । एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेतालाई कारबाही गरेको छ । कारबाहीले पार्टीका नेता कार्यकर्ता तरङ्गित बन्न पुगेका छन् ।
४. वामदेव गौतम एमालेमै फर्किने
नेता वामदेव गौतम नेकपा एमालेमा फर्किने भएका छन् । केही दिन यता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको ‘च्याप्टर क्लोज’ भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।
५. अर्थतन्त्र र बैंक डुब्न नदिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक डुब्न नदिने प्रतिबद्धता जनाएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बैंक र अर्थतन्त्र डुब्दै गएको अफवाह फैलाउन थालिएको भन्दै सरकारले अर्थतन्त्र र बैंक डुब्न नदिने प्रतिबद्धता जनाए ।
६. रविसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनासम्बन्धमा उनीहरूविरुद्ध पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो ।
७. वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि अर्का एक जना सोही आरोपमा पक्राउ परेका थिए ।
८. सिक्टा सिँचाइ आयोजना २० वर्षमा ४१ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति निकै निराशाजनक छ । २० वर्षमा जम्मा भौतिक प्रगति ४१ प्रतिशतमात्र छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
९. भारतीय सेनाको ‘गोर्खा रेजिमेन्ट’मा सैनिक अभाव
नेपालले भारतको ‘अग्निपथ’ योजनाप्रति असहमति जनाउँदै गोर्खा भर्ती रोकेपछि भारतीय सैनिकको गोर्खा रेजिमेन्टमा सेनाको अभाव खट्किएको छ । नेपालबाट सुरुमा कोभिड–१९ का कारण सन् २०२० देखि भर्ना रोकिएको थियो । भारतले त्यसलगत्तै सन् २०२२ मा अग्निपथ योजना अघि सारेपछि त्यो क्रम लम्बिएको हो ।
१०. राष्ट्रिय परिचयपत्र सम्बन्धी रिट खारेज
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।
११. क्रियाशील सदस्यता विवाद चैतभित्र समाधान गर्ने कांग्रेसको लक्ष्य
सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद नौलो होइन । लामो समयदेखि समाधान हुन नसकेको विवादलाई कांग्रेसले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ ।
१२. विद्यार्थी नेताको व्यवस्थापन सम्बन्धी सुझाव ७ दिनभित्र दिन माओवादीको निर्देशन
नेकपा माओवादी केन्द्रले अनेरास्ववियू (क्रान्तिकारी) बाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि एक हप्ताभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदललाई एक हप्तामा सुझाव पेस गर्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलबाट विपिन सकुशल घर फर्किने आशामा परिवार
-
हमासले १५ महिनादेखि बन्धक बनाएका तीन तन्नेरी इजरायल फर्किए, युद्धविरामको अन्तिम घडीमा १९ मारिए
-
शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड
-
प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
-
६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण
-
१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म