पर्यटक बोलाउन पोखरामा गरियो माघमा दाइँ

पोखरा । सामान्यतः मङ्सिरभित्रै नेपालीहरूले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन व्यवसायीहरूले पर्यटक बोलाउन भन्दै माघमा दाइँ गरे । पोखरा पर्यटन परिषद्ले पोखरा–२३ फेवा फाँट, मार्गी (पामे) मा दाइँ महोत्सव गरेका हुन् । तर दाइँ गर्ने समय नमिलेको भन्दै आयोजकहरूको आलोचना भइरहेको छ ।
‘माघ महिनामा दाइँ महोत्सव गरेर पोखरा पर्यटन परिषद्ले के सन्देश दिन खोजेको हो ?,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर आलोचना गरे । यद्यपि पर्यटन व्यवसायीहरूले पर्यटकलाई मात्रै लक्षित गरेर महोत्सव गरिएको जनाएको छ । हरेक असार १५ गते रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले यो वर्षदेखि दाइँ महोत्सव पनि गर्न थालेको हो । महोत्सवमा १० वटा गोरु लगाएर दाइँ गरिएको हो ।
महोत्सवमा धान चुट्ने, धानको रास बनाउने, धान बत्ताउने गरिएको थियो । दाइँमा सहभागी हुनेहरूलाई परम्परागत झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको थियो । महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी भए । पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ गरिएको महोत्सवले कृषि पर्यटनको विकास हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सवको गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । उनले यस प्रकारका कार्यक्रमले कृषि सहित पर्यटनको विकासमा सघाउ पुग्ने बताए ।
परिषद् अध्यक्ष पहारीले असारमा लगाएको खेती परम्परागत शैलीमा दाइँ गरी भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकका लागि चिनारी दिन महोत्सव सुरु गरिएको बताए । आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिने बताए ।
पोखरामा यसअघि होटल सङ्घले समेत दाइँ महोत्सव गरेको थियो । तर निरन्तरता दिन सकेको थिएन । परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सव १९ औ संस्करण पूरा भइसकेको छ । नयाँ पुस्तालाई धान बोरामा होइन, खेतमा फल्छ भन्ने सिकाउन महोत्सवले टेवा दिने अपेक्षा रहेको परिषद्का सहकोषाध्यक्ष एवं महोत्सव संयोजक बाबुराम पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली
-
तीन गजल
-
एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल
-
आरतीले ‘अपमान र अन्याय’ भन्दा एकीकृत समाजवादीको बैठकमा होहल्ला