विप्लव भन्छन्– ‘केही काम नपाएपछि पार्टी खोल्ने र चन्दा माग्ने प्रवृत्ति हाबी भयो’
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केही काम नपाएपछि पार्टी खोल्ने र चन्दा माग्ने प्रवृत्ति हाबी भएको बताएका छन् । सोचमा परिवर्तन र आर्थिक दृष्टिकोण निर्माण नै आजको मूल आवश्यकता रहेको उनको भनाइ छ ।
‘हामी तीन वर्षमा चन्दामुक्त पार्टी र नेता, कार्यकर्ताका परिवारलाई समेत पुग्ने गरी उत्पादन कार्यनीति बनाउने योजनामा छौँ,’ विप्लवले आइतबार वीरेन्द्रनगरमा आयोजित ‘बुद्धिजीवीसँग विप्लव’ कार्यक्रमअन्तर्गत ‘नेपालको अर्थ राजनीतिक संकट र निकास’ विषयक अन्तर्क्रियामा भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपालको नारा बिनारणनीति र उद्देश्य नभई गफ मात्र भएको तर्क गरे । ‘उहाँसँग एउटा उद्योग छैन । उत्पादनमा अग्रसर हुन कार्यक्रम छैन । पैसा लुकाउन ठिक्क छ जस्तो छ,’ विप्लवले भने, ‘खालि गफमा मात्र समृद्धि भन्ने ? आर्थिक समृद्धितर्फ अघि बढ्नुभन्दा पहिला त नागरिकहरू आत्मनिर्भर हुनुपर्यो नि !’
‘पहिला बाबुरामले पढेर काम छैन भनेपछि हामी पनि नपढेर उनकै पछि लाग्यौँ । तर, अहिले कम्युनिस्टको काम छैन भन्दै हिँड्नुभएको छ ।’
उनका अनुसार नेकपाले १७ सय क्विन्टल धान उत्पादन गरेकाले खान समस्या छैन । उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्ने सन्देश दिन खोजिएको उनले सुनाए । नेकपा तीन वर्षभित्र आत्मनिर्भर बन्ने दाबी पनि उनको छ ।
विप्लवले दलहरूको कमजोर पाटो भनेकै आर्थिक कार्यनीति भएको उल्लेख गरे । राजनीतिक परिवर्तनसँगै आर्थिक पाटोलाई मजबुत गर्ने विषयमा नसोच्दा माओवादीका कतिपय नेता भ्रष्टाचारमा लागेको र इमानदार नेता तथा कार्यकर्ता विदेश पलायन भइरहेको उनले बताए । भने, ‘नेता, कार्यकर्ताहरू आत्मनिर्भर भएनन्, उत्पादनका लागेनन् ।’
आफ्नो पार्टीमा मागेर खाने प्रवृत्ति हट्दै गएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिका लागि नयाँ सोच र मार्ग आवश्यक रहेको बताए । ‘आर्थिक दृष्टिकोणको विषयमा सोच्नै पर्ने रहेछ । त्यो विषयमा बहस गर्नुपर्छ,’ उनले भने, ‘बुद्धिजीवीहरूले पनि यो विषयमा चिन्ता गर्नुपर्छ । हामीले पहिला आफैँबाट रूपान्तरण गर्नुपर्छ भनेर उत्पादनमा लागेका छौँ ।’
उनका अनुसार हिजो आन्दोलनका क्रममा राजनीतिक परिवर्तन गरेपछि सबै समृद्ध भइहाल्ने सोच हुन्थ्यो । ‘पहिला बाबुरामले पढेर काम छैन भनेपछि हामी पनि नपढेर उनकै पछि लाग्यौँ । तर, अहिले कम्युनिस्टको काम छैन भन्दै हिँड्नुभएको छ,’ विप्लवले भने । अहिले नयाँ तरिकाले सोचेर आर्थिक पाटोमा संघर्ष आवश्यक रहेको उनले बताए ।
अखिल (समाजवादी) कर्णाली प्रदेश कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको सुरुमा कर्णालीका बुद्धिजीवी बोलेका थिए । सुर्खेत (शिक्षा) बहुमुखी क्याम्पसका प्रमुख माधव खनालले नेकपाले चलाइरहेको उत्पादन अभियानको प्रशंसा गरे । ‘तपाईंहरूले ल्याएको उत्पादनसँग जोड्ने कुरालाई हाम्रो समर्थन छ,’ उनले भने, ‘जताततै निराशा मात्र छ । यसलाई चिर्न विभिन्न उत्पादनमूलक अभियान ल्याउनुपर्छ । आत्मनिर्भर बन्न यस्ता अभियानले सहयोग पुर्याउँछन् ।’
अन्य राजनीतिक दलले पनि यस्ता कार्यक्रम ल्याउन आवश्यक रहेको खनालको भनाइ थियो । उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनले बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले युवाहरू विदेश पलायन हुँदा गाउँ खाली रहेको र हिजो धान, मकै लगाउने बारीमा अहिले घाँस जन्मेको बताए । त्यसैले देश अब आर्थिक क्रान्तिमा अगाडि नबढ्ने हो भने केही समयमा ठूलो संकट पैदा हुने उनको भनाइ थियो ।
‘युवाहरू फ्रस्टेड भए । उनीहरूमा आशा जगाउनुपर्ने चुनौती छ,’ उनले भने, ‘विप्लवज्यू तपाईंको कमान्डमा यो क्रान्ति अगाडि बढ्नुपर्छ ।’
सामुदायिक विद्यालयका तर्फबाट जनज्योति मावि बड्डीचौरका प्रधानाध्यापक नारायण सिग्देलले ‘मान्छे बेच्ने राजनीति हैन वस्तु बेच्ने’ कार्यक्रम ल्याएर देशलाई आर्थिक समृद्धिको बाटोमा लिनुपर्ने बताए । दलहरूले खेलिरहेको फोहोरी खेलले देश ध्वस्त बनिरहेको उनको भनाइ थियो ।
‘क्याम्पस पढ्नेहरू टाइम पासका लागि आउन थाले । १२ कक्षापछि बाबुआमाको कमाइ खाने विद्यार्थी भविष्यमा काम लाग्दैन,’ उनले भने, ‘जनताको पैसा लुटेर राजनीति गर्नेहरूको पनि अर्थ छैन । त्यसैले पढ्न लाएर मात्र हैन गर्न लगाउनुपर्छ ।’
मध्यपश्चिम विश्वविद्यालयका शिक्षा संकायका डिन यामलाल कार्कीले देश अप्ठ्यारो स्थितिमा रहेको बताए । आर्थिक रूपमा कमजोर रहेको देशमा श्रमसँग जोडेर नेकपाले गरेको अभियान उदाहरणीय रहेको उनको भनाइ थियो ।
विश्वविद्यालयका रजिस्ट्र«ार शोभाकर कँडेलले देशको अर्थतन्त्रलाई मजबुत बनाउन राष्ट्रिय एकता आवश्यक रहेको बताए । हिजो माओवादी आन्दोलनबाट आएका नेताहरू कमाउ धन्दामा लाग्दा इमानदार कार्यकर्ता आज अमेरिकामा रोजीरोटीका लागि गएको उनको भनाइ थियो उनले भने, ‘राजनीति गर्नेहरू पनि उत्पादनमा लाग्नुपर्ने हुन्छ । आत्मनिर्भर बन्नुपर्छ । शिक्षा, स्वास्थ्य र यातायातमा सरकारको नियन्त्रण हुनुपर्छ ।’