आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड अभिनेता बनेर साढे ११ करोड रुपैयाँ ठगी

आइतबार, ०६ माघ २०८१, १६ : ३७
आइतबार, ०६ माघ २०८१

पेरिस । हलिउड अभिनेता ब्राड पिट बनेर एक जना व्यक्तिले एक ५३ वर्षीय महिलासँग लाखौँ डलर ठगी गरेको समाचार छ । ब्राड पिट बनेर ती व्यक्तिले डिभोर्सपछि आफूसँग उपचारका लागि पैसा नभएको भन्दै सो रकम ठगी गरेका हुन् ।

एनी नाम गरेकी फ्रेन्च इन्टेरियर डेकोरेटर एक वर्षसम्म आफू ब्राड पिटसँग लामो दुरीको प्रेम सम्बन्धमा रहेको भ्रममा थिइन् । यसको सुरुवात सन् २०२३ को फेब्रुअरीमा भएको थियो जब उनले इन्सटाग्राममा फ्रेन्च आल्पसमा छुट्टी मनाएको भिडियो पोस्ट गरेकी थिइन् ।

त्यस लगत्तै उनलाई सामाजिक सञ्जालमा चर्चित अभिनेता ब्राड पिटकी आमा दाबी गर्ने जेन पिटले मेसेज गरेकी थिइन् । जेनले एनी आफ्नो छोराका लागि सही जोडी भएको बताएकी थिइन् ।

यसको केही समयपछि आफूलाई ब्राड पिट बताउने व्यक्ति एनीसँग इन्सटाग्राममा कुरा गर्न आए । दुवै जना हरेक दिन च्याट गर्न थाले । केही समयपछि उनी नक्कली ब्राड पिटको प्रेममा परिन् ।

एनीका अनुसार उनले ब्राड पिट ठानेको व्यक्तिले सामाजिक सञ्जालमा उनको बारेमा धेरै चासो दिने गरेका थिए । ती व्यक्तिले उनका लागि गीत, कविता र सेल्फीहरुसमेत पठाउने गरेका थिए । ती सेल्फीहरु कतै पनि अनलाइनमा उपलब्ध थिइनन् । तर, पछि त्यो एआईबाट तयार गरिएको फोटो रहेको पत्ता लाग्यो ।

‘म च्याट गरिरहेको मानिसको प्रेममा परेकी थिएँ,’ उनी फ्रेन्च पत्रिकासँग भनिन्, ‘उनलाई महिलासँग कसरी कुरा गर्नुपर्ने थाहा थियो ।’

कुराकानीकै क्रममा ती व्यक्तिले एनीले एक धनी व्यवसायीसँग सम्बन्ध विच्छेद गरेको र त्यसबापत ठुलो रकम प्राप्त गरेको थाहा पाए । त्यसपछि ती व्यक्तिले आफूलाई मिर्गौलासम्बन्धी समस्या रहेको र अस्पतालमा भर्ना भएको बताए । उनले एआईबाट अस्पतालको शय्यामा रहेको तस्बिरसमेत पठाए ।

त्यसपछि आफूलाई ब्राड पिट बताउने ती व्यक्तिले आफ्नो नायिका एन्जेलिना जोलीसँग डिभोर्सको प्रक्रियामा रहेका कारण उपचारका लागि पैसा नभएको बहाना बनाए । यता, प्रेममा परेकी एनीले उनले भनेको कुरा सजिलै पत्याइन् । हेर्दाहेर्दै, केही महिनाको अन्तरालमा उनले किस्तामा ८ लाख ५० हजार डलर ९करिब ११ करोड ७७ लाख रुपैयाँ० पठाइसकेकी थिइन् ।

यसैबिच उनले टिभीमा सक्कली ब्राड पिट इन्स डे रमोनसँग प्रेम सम्बन्धमा रहेको समाचार देखिन् । त्यसपछि मात्र उनी आफू ठगिएको थाहा पाइन् । यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

५३ वर्षीय महिलाले यसबारे प्रहरीमा उजुरी पनि दिएकी छिन् । तर, प्रहरीले यसबारे के प्रगति गर्‍यो भन्ने स्पष्ट छैन । यता, ब्राड पिट जस्तो स्टारसँग प्रेममा परेको कसरी पत्याइन् भन्दै सामाजिक सञ्जालमा उनको मजाक उडाइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप