आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु (क्रान्तिकारी)को आगामी कार्यभार

आइतबार, ०६ माघ २०८१, १६ : ०१
आइतबार, ०६ माघ २०८१

 
नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण इतिहास बोकेको गौरवशाली विद्यार्थी संगठन हो, अनेरास्ववियु (क्रान्तिकारी) । नेपालको शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आन्दोलन र परिवर्तनमा यस संगठनको विशेष योगदान र भूमिका रहँदै आएको छ । २०५० सालको हेटौँडा सम्मेलनले संगठनको पछाडि (क्रान्तिकारी) थपेदेखि आजका दिनसम्म यस संगठनसँग जोडिएका धेरै कमरेड पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पुगिसक्नुभएको छ । 

यद्यपि आज विद्यार्थी आन्दोलनको अस्तित्वका सन्दर्भमा अनेकौँ प्रश्न उठिरहेका छन् । विशेषतः आजको दिनसम्म यस संगठनले आफ्नो शैक्षिक (वैज्ञानिक र व्यावहारिक शिक्षा) एजेन्डालाई स्थापित गर्न सकेको छैन भन्ने अस्वीकार गर्न मिल्दैन ।

यस्तो बेला हाम्रो संगठनले अघि सार्ने भावी कार्यभार के र कस्तो हुने ? यो प्रश्न विशेष महत्त्वको छ । संगठनले उठाउनुपर्ने शैक्षिक मुद्दाका बारेमा आसन्न सम्मेलनले अवश्य बोल्नेछ । संगठनको पदाधिकारीका आकांक्षीले आफ्नो विचार, एजेन्डा र कार्ययोजना अघि सार्ने नै छन् । 

अवैध र अघोषित गुट–उपगुटले हाम्रो संगठन र मातृपार्टी ग्रसित रहेको कुरा लुकाउन मिल्दैन । संगठनको जीवनलाई सकारात्मक गति दिन रचनात्मक बहस, विचार, विमर्श हुनु र विचार उत्पादनकै लागि समूहहरु बन्नुलाई अन्यथा मान्न सकिँदैन तर अघोषित गुट र ग्याङले संगठनको जीवनलाई फाइदा पुर्‍याउँदैन ।

कुनै पनि संगठनको आन्तरिक चुनावी प्रतिस्पर्धाले संगठनभित्रको लोकतन्त्रलाई बलियो बनाउनुका साथै विचारको उत्पादन र पुनरोत्पादनको काममा पुनर्ताजगी गर्ने मेरो विश्वास छ । अवैध र अघोषित गुट–उपगुटले हाम्रो संगठन र मातृपार्टी ग्रसित रहेको कुरा लुकाउन मिल्दैन । संगठनको जीवनलाई सकारात्मक गति दिन रचनात्मक बहस, विचार, विमर्श हुनु र विचार उत्पादनकै लागि समूहहरु बन्नुलाई अन्यथा मान्न सकिँदैन तर अघोषित गुट र ग्याङले संगठनको जीवनलाई फाइदा पुर्‍याउँदैन । 

माथि भनिएझैँ अखिल क्रान्तिकारीले स्थापनाका कालदेखि नै उठाउँदै आएको शैक्षिक एजेन्डा भनेको वैज्ञानिक र व्यावहारिक शिक्षा हो । आज मुलुकमा दुई प्रकार (निजी र सरकारी)का शिक्षा छन् । जसका विरुद्धमा हामी बोल्छौँ, तर केही गर्दैनौँ, केही गर्न सकिरहेका छैनौँ । शिक्षामा निजीकरण र व्यापारीकरण भइरहेको छ । यसकारण अखिल क्रान्तिकारीले अबको महत्त्वपूर्ण कार्यभारका रूपमा ‘शिक्षामा निजीकरणको अन्त्य’को एजेन्डा लिनुपर्छ । शिक्षा क्षेत्रमा भइरहेका विकृति र विसंगतिको अन्त्यका निम्ति अखिल क्रान्तिकारी निर्मम बन्नुपर्छ । सीमाहीन बनिरहेको शैक्षिक क्षेत्रको व्यापारीकरणलाई टुलुटुल हेरेर बस्न मिल्दैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान विकृतिको अन्त्यका निम्ति अखिल क्रान्तिकारीले नीतिगत सुधारका मार्गचित्र खडा गर्नुपर्छ ।

  • उमेर–हद 

संगठनले आफ्नो नाम परिवर्तन गर्नेदेखि उमेर–हदलाई समेत सीमा बनाएको छ । संगठनको नाम परिवर्तन गर्नेदेखि, महिला नेतृत्व र उमेर हदको विषय निरन्तरतामा क्रमभंगता हो । यस विषय (उमेरहद) का सन्दर्भमा कमरेडका बिचमा केही मन र मत बाझिएको देखिन्छ । ती बाझिएका मनलाई वर्गीय प्रेमपूर्वक माझामाझ गरेर अघि बढ्नुको विकल्प छैन । 

अग्रजहरूको सुझाव र गाइडलाइनलाई पछ्याउँदै ३२ वर्षमुनिका क्रान्तिकारी योद्धाले अबको विद्यार्थी आन्दोलन हाँक्नुपर्ने चुनौती र अवसर दुवै छ । उमेर–हदले संगठनमा हुने नेताहरूको जामलाई हटाउने विश्वास छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तामाथि राजनीति गर्ने जडवादको अन्त्य भएको संगठनले महसुस गर्नेछ । हामीले आफूलाई हेरेर मात्रै सिक्न सकिने अवस्था हुँदैन । अरूलाई हेर्नुपर्नेछ र हामी अरूभन्दा फरक देखिनुपर्नेछ । टाढैबाट यिनीहरू असली विद्यार्थी नेता, क्रान्तिकारी सिपाही र विद्रोही हुन् भन्ने परिचय दिनुछ । त्यो कसरी सम्भव छ ? व्यक्तिगत रूपमा जसले जे बोले पनि त्यसको अर्थ गौण हुनेछ, त्यसैले सम्मेलनबाट पारित हुने दस्ताबेजले बोल्नुपर्छ । त्यो नै हाम्रो पुँजी हुनेछ । 

पार्टीको राजनीति गर्ने उमेरका नेताले विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन सकेनन् र ३२ वर्ष मुनिकाले सक्छन् भन्ने ग्यारेन्टी के हो ? त्यो पनि २३औँ राष्ट्रिय सम्मेलनले मार्ग देखाउनुपर्छ ।
  • आचरण

हाम्रा व्यवहार र हाम्रो उठ–बसको शैली बदल्नुपर्नेछ । हाम्रा खानपिन र हाम्रा बसाइ निकै महँगा छन् । वर्गीय पक्षधरताको गीत गाउने हामीले आफ्नो वर्ग परिवर्तन भएको हेक्का कहिले गर्ने ? यो गम्भीर सवाल हो । अरूले हामीबाट के सिक्छन् ? यी र यस्ता सवालमाथि वस्तुनिष्ठ विश्लेषण गरेर संगठनलाई अगाडि बढाउन हामीले उमेर–हदको मुद्दालाई जिताएका हौँ भन्ने लाग्छ । 

अन्य केही विद्यार्थी संगठनले पनि उमेर–हदको अभ्यास गरिरहेका छन् । खासमा उनीहरूको उमेर–हदको व्यावहारिक पक्ष निकै कमजोर देखिन्छ । हामीले त्यो गल्ती गर्नुहुँदैन । उमेर पार भएका साथीलाई पार्टीको जिम्मेवारीमा पठाउने र उमेर समूहका साथीले समयमै सम्मेलन, संगठनका आवश्यक कार्य गर्ने हो भने हामीले पास गरेको उमेर–हदको मुद्दाले सही दिशा लिनेछ । उमेर–हद त भन्ने व्यवहारमा कुनै काम नगर्ने; समयमा सम्मेलन नगर्ने; पार्टीका नेताहरूको स्वार्थमा चल्ने; शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाका बारेमा सिन्को नभाँच्ने हो भने हाम्रो उमेर–हदले केही लछारपाटो लाउनेछैन । 

पार्टीको राजनीति गर्ने उमेरका नेताले विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउन सकेनन् र ३२ वर्ष मुनिकाले सक्छन् भन्ने ग्यारेन्टी के हो ? त्यो पनि २३औँ राष्ट्रिय सम्मेलनले मार्ग देखाउनुपर्छ । भनिन्छ, राजनीति वर्गीय दृष्टिकोण हो । वर्ष दृष्टिकोणलाई प्रगतिशील मान्न सकिँदैन । 

  • हाम्रा चुनौती 

विद्यार्थी आन्दोलन पछिल्लो समय लोकप्रियताको भूतबाट तर्सिएको देखिन्छ । यस आन्दोलनलाई पहिलेकै गतिमा उभ्याउनु हाम्रो प्रमुख चुनौती र अवसर हो । आज लोकतन्त्र कमजोर बनिरहेको टिप्पणी भइरहेका छन् । लोकप्रियतावादले समाजलाई गलत दिशामा लैजान खोजिरहेको छ । शिक्षित र जान्ने भनिएकै व्यक्तिबाट अराजकता, भ्रम र असत्य कुराको बजारीकरण भइरहेको हामीले देखिरहेका छौँ । 

मार्क ट्वेनको भनाइ छ, ‘सत्यले जुत्ता लगाउन नपाउँदै भ्रमले विश्व परिक्रमा गरिसक्छ ।’ खासमा आज यो भनाइ नेपाली समाजमा लागु भइरहेको छ । नेपाली समाजले सत्यलाई पत्याउन छोडेको देखिन्छ । भ्रम र सतही कुराको पछि आँखा चिम्लेर हाम फालिरहेको समाज पानीमा चोपलिएपछि मात्रै आँखा खोल्छ भन्ने लाग्छ । जुन बेला धेरै थोक हाम्रो काबुभन्दा बाहिर गइसकेको हुनेछ । 

समाजलाई सही दिशामा हिँडाउनु हाम्रो कर्तव्य हो । मैले मात्रै बोलेर, लेखेर, गाली खाएर के हुन्छ भन्ने सोच्नु हुँदैन । सत्य अर्थात् वैज्ञानिक विचारको पक्षमा, अन्यायका विरुद्धमा नबोल्ने पनि कम्युनिस्ट हुन्छ ? कदापि पनि हुन सक्दैन । 

शिक्षा र स्वास्थ्य सबैका निम्ति निःशुल्क नभएसम्म हामीले उठाउँदै आएको शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण सम्भव हुँदैन । एक दशकभित्र हामीले स्वास्थ्य र शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न सकेनौँ भने इतिहासले सुम्पेको ऐतिहासिक कार्यभार अर्को कित्तामा पुग्ने निश्चित छ । साथै डरलाग्दो ढंगले विद्यार्थी पलायन भइरहेको अवस्था छ । विद्यार्थी पढ्न जाने नाममा राज्यको ठुलो धनराशि बाहिरिन थालेको छ । बाहिर गएको जनशक्ति देशमा फर्किने निश्चित पनि छैन । यस्ता कहालीलाग्दा पक्ष संगठनका चुनौती हुन् । 

अन्त्यमा खासगरी लोकतन्त्र, संघीय समाजवादी व्यवस्था, समानुपातिकता, धर्मनिरपेक्षता जस्ता उपलब्धिको रक्षा र विकास गर्दै अगाडि बढ्नुपर्नेछ । साथै जनजीविका, भ्रष्टाचार, बेतिथि, विसंगति, विकृति, अन्याय अत्याचार, विभेद, शोषण, उत्पीडनका अवशेषको अन्त्यका निम्ति संगठनले जोडले बोल्नुपर्नेछ । समाज भ्रमका पछि दौडिरहेको छ, यही बेला अराजकता र अनुशासनहीनतालाई प्रश्रय दिन खोज्नेहरूले टाउको उठाइरहेका छन् । यसका विरुद्ध सतिसालझैँ उभिन सक्ने अखिल क्रान्तिकारी निर्माणमा जुट्नु हाम्रो वर्तमान कार्यभार हो । विगतबाट शिक्षा लिँदै समाजवादी शासन व्यवस्थाका निम्ति जिम्मेवार भएर अखिल क्रान्तिकारी उभिनुपर्छ । यो नै असली अखिलहरूको सफलता हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ममता अधिकारी
ममता अधिकारी
लेखकबाट थप