भारतको अटो मेलामा विद्युतीय गाडीको वर्चस्व, नेपाली बजारमा चीनलाई पछि पार्ने आकलन
काठमाडौँ । नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त मेलाको मुख्य आकर्षण भारतीय बजारमै उत्पादित विद्युतीय सवारी साधन (ईभी) रहेका छन् । मेलामा टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई, टोयटा जस्ता स्थानीय उत्पादनका ईभीलाई बढी प्राथमिकता दिइएको छ । यही मेलालाई लक्षित गरेर विभिन्न ब्रान्डका ५० भन्दा बढी गाडी सार्वजनिक भएका छन् ।
सुजुकी पहिलो पटक पूर्णरुपमा विद्युतीय सवारीको बजारमा प्रवेश गरेको छ । यसअघि भिटारा ब्रिजा हाइब्रिड भर्सनमा सार्वजनिक भएको थियो । यो एक्सपोमा सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ । जसको मूल्य भारतीय बजारमा १७ लाखदेखि २२ लाख ५० हजारसम्म तोकिएको छ ।
टाटाले ह्यारियर, कर्भ र अभिन्या ईभीका नयाँ मोडल सार्वजनिक गरेको छ । ह्यारियरको सुरुवाती मूल्य २४ लाख, कर्भको १७ लाख ४९ हजार र अभिन्याको ३० लाख रहेको छ ।
महिन्द्राले बीई–६ ई, एक्सयूभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । बीई–६ ई को सुरुवाती मूल्य भारतीय बजारमा १८ लाख ९० हजार छ । त्यस्तै एक्सयूभी–९ ई को मूल्य १ लाख ९० हजारदेखि ३० लाखसम्म तोकिएको छ ।
टोयटाले अर्बन क्रुजर ईभी मोबिलिटी एक्सपोमै सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्इ २० लाख छ । मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । प्रिमियम यो गाडीको मूल्य भारतमै करोड माथि छ ।
मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ । जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य १७ लाख ९९ हजारदेखि २३ लाखसम्म तोकिएको छ ।
मोबिलिटी एक्स्पोमै भियतनामी गाडी भिनफाष्टले भी फाइभ र भी सेभेन कार सार्वजनिक गरेको छ ।
नेपाली बजारमा चिनियाँ गाडीलाई पछि पार्ने आकलन
भारतीय बजारमा सार्वजनिक भएका यी विद्युतीय गाडीहरू नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको व्यवसायीहरूले बताएका छन् । नेपाली बजारमा आउने पेट्रोल, डिजेलबाट चल्ने गाडीहरू अधिकांश भारतीय बजारमै उत्पादन भएका हुन् । पछिल्ला केही वर्षदेखि भने विद्युतीय गाडीको बजार हिस्सा बढ्न थालेपछि चिनियाँ गाडीको नेपालमा बहार नै आएको छ । बीवाईडी, एमजी, डिपल, सेरेस, चाङ्गन, ग्रेटवाल, नेटा भी लगायत ब्राण्ड नेपाली बजारमा सर्वाधिक रुचाइएका छन् ।
अहिलेसम्म भारतमा उत्पादित टाटाका ईभीले भने नेपाली बजारमा चिनियाँ गाडीसँग एक्लै प्रतिस्पर्धा गरिरहेको छ भन्दा फरक पर्दैन । टाटाको नेक्सन ईभी भारतका साथै नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ । यसको टियागो ईभी पनि पछिल्लो समय निकै रुचाइएको गाडी हो । यसपटक टाटाले थप तीनवटा ईभीका मोडल सार्वजनिक गरेको छ ।
यो एक्सपोलाई हेर्दा चीनसँग प्रतिस्पर्धा गर्नैकै लागि भारतले पनि ईभी उत्पादनलाई प्राथमकिता दिएको देखिन्छ । यसमा टाटा शीर्ष स्थानमा छ । यो पटक मोबिलिटी एक्स्पोमा सार्वजनिक भएका टाटाका गाडीहरू दुई महिनाभित्र नेपाली बजारमा उपलब्ध हुने वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । सन् २०२४ मा भारतमा टाटा सर्वाधिक प्यासेन्जर कार बेच्ने गाडीमा पहिलो नम्बरमा परेको छ । यसअघि उक्त स्थानमा सुजुकी थियो ।
सुजुकीको ईभीको प्रवेशलाई पनि निकै रोचकसाथ हेरिएको छ । सुजुकीले भिटारा ईभी मोबिलिटी एक्सपोमै सार्वजनिक गरेको मोडल हो । सुजुकी नेपाली बजारमा निकै रुचाइएको ब्राण्ड हो । नेपाली बजारमा सुजुकी भिटारा ईभीको प्रतिस्पर्धा बीवाईडी, डिपल जस्ता गाडीसँग हुनेछ ।
भारतीय बजारमा सार्वजनिक भएको हुन्डाई क्रेटा ईभीको नेपालमा पनि उत्तिकै चासोका साथ हेरिएको छ । क्रेटा नेपालमा रुचाइएको मोडल हो । यसको बीवाईडी, डिपलजस्ता प्रिमियम फिचर भएका चिनियाँ गाडीसँग प्रतिस्पर्धा हुनेछ । क्रेटा ईभी अबको एक महिनामा नेपाल आइपुग्ने हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।