आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
संसद्

संघमा ढिलाइ, प्रदेशहरूमा धमाधम हिउँदे अधिवेशन

आइतबार, ०६ माघ २०८१, १७ : ००
आइतबार, ०६ माघ २०८१

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको विपक्षी दलले आरोप लगाइरहेका बेला सरकारले माघको तेस्रो साताबाट बस्नेगरी अधिवेशन बोलाउने तयारी गरेको छ ।

‘माघको १५ गतेदेखि २० गतेभित्र संसद् अधिवेशन बोलाउनेबारे छलफल भइरहेको छ’, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘माघ १५ देखि २० भित्रै बैठक बस्नेगरी सरकारले तयारी गरेको बुझिएको छ ।’

अव बस्ने मन्त्रिपरिषद्को बैठकले अधिवेशनसम्बन्धी निर्णय गरेर राष्ट्रपतिसमक्ष प्रस्ताव पठाउने बर्तौलाको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा गत भदौ ३१ गते राति १२ बजेबाट लागु हुनेगरी संघीय संसदको दुवै सदनको बर्से अधिवेशन अन्त्य गरेका थिए ।

  • प्रदेशमा धमाधम अधिवेशन

प्रदेशहरूमा धमाधम बैठक बोलाउन थालिएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेश अधिवेशन बोलाइएको छ भने बागमती र गण्डकीमा बोलाउने तयारी भएको छ । कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ८ गते सोमबारबाट सुरु हुँदैछ । कोशी प्रदेश सभाले हिउँदे अधिवेशनमार्फत १० वटा विधेयक पास गर्ने तयारी गरेको छ ।

सत्तारुढ दल नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले सोमबारबाट सुरु हुने प्रदेश सभाको हिउँदे तथा छैटौँ अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने तयारी गरेको बताए । ६ वटा नयाँ र ४ वटा संशोधन विधेयक तयार रहेकाले दुई महिनालाई संसदमा बिजनेस समेत अभाव नहुने लिङ्थेपको भनाइ छ ।

मधेस प्रदेशको हिउँदे अधिवेशन पुस २३ गतेबाटै सुरु भैसकेको छ । मधेस प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेर अन्त्य भएको थियो ।

यता बागमती प्रदेश सभाको बैठक पनि बोलाउन तयारी छ । बागमती प्रदेश सरकारले माघ १५,१६ भित्र बस्नेगरी बैठक बोलाउने तयारी गरेको जनाएको छ । तर बागमतीमा सत्तापक्ष र प्रतिपक्षबिच बजेटमाथिको विवाद विवाद मिलाएर मात्रै अधिवेशन बोलाउने सरकारको तयारी छ । बागमतीको बर्से अधिवेशनको अन्तिम बैठक असोज सात गते बसेको थियो । अधिवेशनको अन्त्य भने असोज १६ गते भएको थियो । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन पनि माघ दोस्रो सातामा बस्नेगरी बोलाउने तयारी रहेको गण्डकी प्रदेश सभाका सूचना अधिकारी प्रेस सुवेदीले जानकारी दिए । गण्डकीको बर्से अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।  

उता लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ गतेबाट सुरु भैसकेको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन असोज अन्तिममा बसेर अन्त्य गरिएको थियो । कर्णाली प्रदेश सभाको अधिवेशन माघ ७ बाट सुरु हुँदैछ ।

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन भने अन्त्य नै भएको छैन । चार महिनापछि रोकिएको प्रदेश सभाको बैठक आइतबारबाट पुन सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप