अखिल क्रान्तिकारीको चुनावको मुखमा माओवादीको सर्कुलर
काठमाडौँ । अखिल क्रान्तिकारीको माघ १२ गते तय भएको निर्वाचनको मुखमै माओवादी केन्द्रले यसअघि उमेर हदको टुङ्गो लगाउन सम्पन्न निर्वाचनमा धाँधली भएको भनिएको विषयमा छानबिन गर्न समिति बनाएको छ । पार्टीले निर्वाचनको मुखमा अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएसँगै निर्धारित मितिमा चुनाव हुने नहुनेमा अन्यौलता देखिएको नेताहरूको भनाइ छ ।
यसबारे माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार मातहतका कमिटीलाई सर्कुलर नै पठाएर छानबिन अघि बढाएको जानकारी दिएका हुन् ।
यद्यपि आफूले दिएको धाँधलीको विषयमा छानबिन समिति बनेर सर्कुलर आएपनि अखिल क्रान्तिकारीकै असन्तुष्ट पक्षले अझैपनि निर्वाचनलाई सहयोग गर्न आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।
निवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले आफूहरू निर्वाचनको विरोधी नभइ बताए । उनले भविष्यमा हुने पार्टीको महाधिवेशनमा गलत नजिर नबसोस् भनेर मात्रै छानबिन समितिको माग गरेको दाबी गरे ।
‘हामी निर्वाचनको विरोधी होइन । खुला पक्षधरलाई हराउनका लागि जुन किसिमको धाँधली भयो त्यसको छानबिन गर्न निर्वाचन समितिमा उजुरी दिएका थियौँ । तर निर्वाचन समितिले उजुरी उपर छानबिन नै नगरी चुनावी परिणाम घोषणा गर्यो’, उनले भने, ‘यस्तो गलत नजिर नेतृत्व छनोटको विषय वा पार्टीका अन्य कुनै सङ्गठन वा राष्ट्रिय महाधिवेशनमा नहोस् भन्नका लागि छानबिन समिति गठन गर्न माग गरेका हौँ । पार्टीले हाम्रो माग सुनुवाइ भएको छ । धाँधली गर्ने नेतामाथि छानबिन हुनुपर्छ । पार्टीले कम्तीमा पनि स्पष्टीकरण सोधोस् ।’
उनले उमेर हद लागेका नेताहरूको व्यवस्थापन कसरी हुन्छ त्यसका आधारमा अगाडि बढ्ने उनले बताए । चित्तबुझ्दो पार्टीको निर्णय आएमा निर्वाचन प्रक्रियालाई सहयोग गर्ने रावले स्पष्ट पारे । तर समानान्तर समिति बनाएर असहयोग गर्ने वा संगठनलाई कमजोर बनाउने नीति आफ्नो नभएको उनले बताए ।
अर्का निवर्तमान उपाध्यक्ष पवन कार्कीले पनि छानबिन समितिले व्यवस्थापनको प्रस्ट खाका ल्याएमा निर्वाचन प्रक्रियालाई सहयोग गर्ने बताए ।
‘पार्टी जीवनभित्र आन्तरिक जनवाद, लोकतन्त्रको हस्तक्षेप गर्ने हो भने किन निर्वाचन गर्ने ? आगामी निर्वाचनमा यस्तै नहोस् भन्नका लागि छानबिन गर्न माग गरेका हौँ’, कार्कीले भने, ‘अनुशासन आयोगका अध्यक्षको नेतृत्वमा छानविन समिति बनेको छ यो सकारात्मक कदम हो । यस्तै नेताहरूको व्यवस्थापन कार्यदल बनेको छ । उसको प्रस्ट खाका आउनुपर्यो । माघ ८ गतेबाट मनोनयनमा जानोस् भन्ने हाम्रो चाहना छ ।’
तर उनले आफूहरूमाथि उमेरहदको सम्बन्धमा गलत भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्ट पोखे । यो समस्या हल गर्नका लागि चार/पाँचवटा सम्मेलनदेखि नै उठाउँदै आएको दाबी गर्दै अहिले पनि आफूहरू तयार नभएको भए लागु नहुने उनको भनाइ छ ।
३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा पुस १३ गते भएको निर्वाचनमा उमेर हद पक्षधर पराजित भएपछि उनी असन्तुष्ट देखिएका थिए । मतदानमा खुला पक्षधर जम्मा २१ मतले पराजित भएका थियो । त्यसपछि मतदानमा धाँधली भएको आरोप लगाउँदै उनीहरूले धाँधली भएको जिल्लामा छानबिन गरी पुनः निर्वाचन गराउन निर्वाचन समितिसमक्ष उजुरी दिएका थिए । उजुरी उपर छानबिन नगरी निर्वाचन समितिले चुनावी परिणाम घोषणा गरेपछि खुला पक्षधरले निर्वाचन प्रक्रियामा भाग नलिने चेतावनी समेत दिँदै आएको थियो ।
बाजुरा, बैतडी, मोरङ, गुल्मी लगायत जिल्लामा धाँधली भएको भन्दै पार्टीले छानबिन गर्नुपर्ने माग उनीहरूको थियो । असोज १० देखि १५ गतेसम्म भएको २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदा सम्मेलन स्थगित भएको थियो । पछि फेरि पार्टीले नयाँ प्रक्रिया सुरु गरेको हो ।
उसो त पुस २३ मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अवकासप्राप्त नेताहरूलाई व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेतको संयोजकत्वमा सङ्गठन इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंह सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदललाई सुझाव प्रतिवेदन पेस गर्न ८ गतेसम्मको समय सीमा दिएकाले तेस्रोपटक पनि कार्यतालिका प्रभावित हुने देखिएको छ ।
यस्तै धाँधलीको सम्बन्धमा छानबिन गर्न टंक राईको नेतृत्वमा समिति बनेपनि नेतृत्व छनोटको निर्वाचन कार्यतालिकामा यथावत् राखिएको हो ।
संगठनका इन्चार्ज शर्माले विद्यार्थीको कार्यक्षमता र कार्यक्षेत्रका आधारमा व्यवस्थापन गर्नेगरी अध्ययन भइरहेको बताए । पार्टीले दिएको निर्देशन मितिमै प्रतिवेदन बुझाउने र निर्धारित समयमा मतदान सम्पन्न हुने उनको जिकिर छ ।
‘निर्धारित समयमै निर्वाचन सम्पन्न हुनेछ । विद्यार्थीको माग अनुसार नै पार्टीले छानबिन समिति पनि बनाएको छ । अवकाशप्राप्त नेताहरूलाई व्यवस्थापन गर्नका लागि कार्यदलले अध्ययन गरिराखेको छ । साथीहरूको योग्यता, क्षमता र कार्यक्षेत्र हेरेर जिम्मेवारी दिने तयारी भइरहेको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गममा महिला पत्रकारका पीडा
-
सार्वजनिक संस्थानको कोषमा सरकारको आँखा, दुरुपयोगको आशंकामा अर्थ मन्त्रालयको ‘डिफेन्सिभ’
-
सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैन : अर्थमन्त्री पौडेल
-
नेपाल निर्माण व्यवसायी महासंघले मोरङद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
-
'सोफा हब काठमाडौँले' बिर्तामोडमा खोल्यो आठौँ शाखा
-
रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता