एमालेका नेताहरूमाथि एकपछि अर्को कारबाहीको डन्डा
काठमाडौँ । नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएको छ । एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीले पार्टीका नेता कार्यकर्ताहरू तरङ्गित बन्न पुगेका छन् ।
पार्टी केन्द्रीय सचिवालयले गत पुस १० गतेबाट सुरु गरेको कारबाही कोशी प्रदेश हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ । ‘पछिल्ला दिनमा एमालेभित्र भइरहेका कारबाहीलाई हेर्दा बोल्न र लेख्नै नहुनेजस्तो देखियो’, एमालेका एक केन्द्रीय सदस्यले भने, ‘यो क्रम रोकिने पनि देखिँदैन । यसले पार्टीका नेता कार्यकर्ताहरूलाई अनुशासनमा बाँध्ने भन्दा पनि थप असन्तुष्टि बढ्दै जाने देखिन्छ, जुन समग्र पार्टीका लागि प्रत्युत्पादक बन्न सक्छ ।’
तर, एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल पार्टी अनुशासन नमान्ने जो कसैलाई पनि कारबाही गरिने बताउँछन् । ‘पार्टी अनुशासन नमान्ने जो कोही पनि कारबाहीको भागीदार बन्नु स्वाभाविक हो’, बडालले भने, ‘पार्टीभित्र अनुशासनको व्यवस्था छ । त्यो सबैले मान्नुपर्छ ।’
पार्टी सदस्यता प्राप्त गरिसकेपछि पार्टीको घोषित नीतिलाई सबै सदस्यहरूले मान्नुपर्ने भन्दै बडालले पार्टी विधानको धारा २४ र ७५ देखि ८० ले गरेको व्यवस्था पालना गरे समस्या नआउने बताए ।
उनले आफूलाई लागेको कुरा बोल्न पार्टी कमिटीहरूमा छुट भएपनि जथाभाबी बोल्नुलाई अनुशासनभित्र बसेको मान्न नसकिने बताए ।
एमाले केन्द्रीय सचिवालयले पुस १० गते पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको थियो । रावललाई पार्टी सदस्यताबाटै हटाएको एमालेले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
एमालेबाट पार्टी सदस्यता नै नरहने गरी निष्कासनमा परेका रावलले मातृभूमि जागरण अभियान नेपाल घोषणा गरेर सोही मार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।
- सुवेदीद्वयलाई कारबाही सिफारिस
शनिबारमात्रै नेकपा एमाले जिल्ला कमिटी कैलालीले प्रदेश सदस्य कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
एमाले कैलालीका सचिव ममता प्रसाद चौधरीका अनुसार माघ ५ गते शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
कृष्णराज प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् । पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराजलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव चौधरीले जानकारी दिए ।
उनीहरूलाई कारबाहीमा परेका नेता भीम रावलको गतिविधिमा सामेल भएकाले कारबाही गर्नुपरेको चौधरीको भनाइ छ ।
एमालेले कारबाही सिफारिस गरेका पूर्व सामाजिक विकासमन्त्री कृष्णराजले भीम रावललाई भेट्दैमा कारबाही गरिएको भए त्यो खेदजनक भएको प्रतिक्रिया दिए ।
‘भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन वा निकालिन्छ भने, त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तनाशाही प्रवृत्ति हो’ सुवेदीले रातोपाटीसँग भने, ‘यदि त्यो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु ।’ उनले आफू अहिलेसम्म एमालेमै रहेको भन्दै कारबाहीबारे औपचारिक जनाकारी आइतबार बिहान सम्म कसैले जानकारी नगराएको बताए ।
उदयपुरका कार्कीलाई ६ महिना निलम्बन
यसअघि (एमाले)ले कोशी प्रदेश सभाका पूर्व सांसद एव उदयपुरका नेता विमल कार्कीलाई फेसबुकमा पार्टीविरुद्ध लेखेको भन्दै ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
कार्कीलाई मंसिर १६ गते एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएका थिए ।
‘उहाँलाई हामीले स्पष्टीकरण माग गरेका थियौँ । चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन । स्पष्टीकरण बुझाएपछि फेरि खतरनाक ढङ्गले फेसबुकमा लेखिहाल्नु भयो,’ एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘स्पष्टीकरण पनि रेला गरेर लेख्नु भयो । मेरो फेसबुक ह्याक भएछ । ह्याक भएको थाहै होला भनेर उडाउने गरी लेख्नु भएको थियो ।’ कार्कीलाई प्रदेश समितिले कारबाही भन्दा पनि कारबाहीको सिफारिस गरेको उनले जानकारी दिए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएपछि कार्कीले खरो आलोचना गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । त्यही विषयमा स्पष्टीकरण माग गर्दै एमाले कोशी प्रदेश समितिले गत मंसिर १६ गते पत्र पठाएको थियो । पत्रको जवाफ दिँदै कार्कीले मंसिर २१ गते स्पष्टीकरण दिँदै आफूले पत्रमा भनिएजस्तो पार्टीलाई अहित हुने वा पार्टीको विधान, पद्धति विपरीत पार्टी नीति निर्णय र नेतृत्वको विरुद्धमा कहिल्यै पनि र कुनै पनि प्रकारको स्ट्याटस नलेखेको जिकिर गरेका छन् । बरु उनले आफ्नो फेसबुक ह्याक भएको हुनसक्ने सङ्केत गरेका छन् । ‘फेसबुक एकाउन्टको सन्दर्भमा बेलाबेलामा अवाञ्छित तत्त्वहरूले धेरैको एकाउन्ट ह्याक गरिरहेका हुन्छन् । यो अवस्था धेरै फेसबुक प्रयोगकर्ताहरूले भोगिरहेको समस्या हो र मैले पनि बेलाबेलामा यो समस्या भोगीरहेको छु,’ कार्कीले स्पष्टीकरण पत्रमा भनेका छन्, ‘त्यही ह्याक भएको अवस्थामा ह्याक गर्ने अवाञ्छित तत्त्वहरूले कुनै बदमासी गरेको भए मेरो जानकारीमा नभएको ब्यहोरा अनुरोध गर्दछु ।’
- रावललाई पार्टीबाट निष्कासन, बिन्दा र उषालाई निलम्बन
यसअघि एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जना केन्द्रीय नेतालाई कारबाही गरेको थियो ।
पुस १० गते बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता नै नरहने गरी निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको हो ।
व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिने भन्दै भवन शिलान्यास गरेपछि कम्युनिस्ट पार्टीको आचरण विपरीत दान लिन नहुने भन्दै उनीहरू तीनै जनाले विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सोफा हब काठमाडौँले' बिर्तामोडमा खोल्यो आठौँ शाखा
-
रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता
-
रास्वपाका नेतृत्वमाथि मुकुलको निरन्तर प्रश्न
-
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : मन्त्री अधिकारी
-
गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर
-
कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु