मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

उद्योगमा विदेशी लगानी दुई गुणाले वृद्धि : प्रदेश ३ मा आकर्षण, ७ नम्बर ओझेलमा

सोमबार, १४ जेठ २०७५, १२ : ४८
सोमबार, १४ जेठ २०७५

काठमाडौँ । नेपालमा वैदेशिक लगानीका जति पनि उद्योग दर्ता भएका छन् त्यसको अधिकांश हिस्सा प्रदेश नम्बर ३ मा देखिएको छ । यो प्रदेश विदेशीहरूले लगानी गर्ने आकर्षणको केन्द्र बनेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४÷७५ ले पनि विदेशीहरू उद्योगका लागि प्रदेश नम्बर ३ मै लगानी गर्न आकर्षित भएको देखाएको छ । 

चालु आर्थिक वर्ष (२०७४/७५) को आठ महिनासम्ममा उद्योगमा विदेशी लगानीको हिस्सा कुल लगानीको १५.८ प्रतिशत छ । त्यसमा पनि विदेशी लगानीको ८० प्रतिशत उद्योग प्रदेश नम्बर ३ मै छन् । यद्यपि, लगानी रकमको हिसाबले भने ५५ प्रतिशत लगानी प्रदेश ३ मा छ । प्रदेश नम्बर ७ मा भने सबैभन्दा कम विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।
नेपालको दुई पक्षीय लगानी प्रवद्र्धन तथा लगानी सम्झौता (बिप्पा) भएको देशबाट १ हजार एक सय ३ उद्योगमा ४० प्रतिशत लगानी सम्झौता आएको छ । यसमध्ये छिमेकी मुलुक भारतको हिस्सा अधिक छ । नेपालले फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्यान्ड र भारत गरी ६ देशसँग बिप्पा सम्झौता गरेको छ । 

प्रदेशअनुसार विदेशी लगानीको उद्योग

स्रोत : उद्योग विभाग

भारतलाई पछाडि पार्दै चीन

चालु आर्थिक वर्षमा विदेशी लगानी दोब्बर वृद्धि भएको छ । तीनै तहको सरकार बनेर स्थिर सरकार आएपछि वैदेशिक लगानी बढ्न थालेको हो । विगतमा सबैभन्दा बढी विदेशी लगानीमा भारत मात्र रहँदै आएकोमा स्थिर सरकारको आगमनसँगै सो परम्परा पनि तोडिएको छ । अहिले ८ महिनासम्म विदेशी लगानीका लागि स्वीकृत पाएका उद्योग सङ्ख्यामा चीनको २८.७ प्रतिशत हिस्सा छ । भारतको भने १६.९ प्रतिशत अंश रहेको आर्थिक सर्वेक्षणले भनेको छ । यस्तै संयुक्त राज्य अमेरिकाको हिस्सा भने ८.८ प्रतिशत रहेको छ । पछिल्लो समय विदेशी लगानी बढ्दै गएको छ । आव २०७०÷७१ देखिको पाँच वर्षको आँकडालाई हेर्ने हो भने वैदेशिक लगानी बढ्दै गएको देखिन्छ । यद्यपि गत वर्ष भने लगानी घटेको छ । सबैभन्दा बढी लगानी आव ०७१÷७२ मा देखिएको छ ।

उद्योग व्यवसाय सञ्चालन गर्न सार्कमा नेपाल तेस्रो सहज गन्तव्य

उद्योग व्यवसाय सञ्चालनमा सहजताको हिसाबले नेपाल विश्वमा १०५आँै नम्बरमा छ । सन् २०१८ को ‘डुइङ बिजनेस रिपोर्ट’ अनुसार नेपाल १९० देशमा १०५आँै स्थानमा परेको छ । गत वर्ष १०७औँ स्थानमा थियो । यो रिपोर्टले कुन देशमा उद्योग व्यवसाय सञ्चालन गर्न कति सहज छ भनेर देखाउँछ । सन् २०१८ मा १०० पूर्णाङ्कमा ५९.९५ अङ्क पाएर सार्कमा भने व्यवसाय सञ्चालन सहजतामा नेपाल तेस्रो नम्बरमा परेको हो । सार्कमा पहिलो भुटान र दोस्रो भारत हो । भुटान विश्वमा ७५औँ स्थानमा छ भने भारत सयौँ स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप