आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान

आइतबार, ०६ माघ २०८१, १४ : ०५
आइतबार, ०६ माघ २०८१

काठमाडौँ । पछिल्लो समय भारतीय टोलीले टेस्ट क्रिकेटमा एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको छ । केही समयअघि टेस्ट शृंखलामा न्युजिल्यान्डले भारतलाई उसैको घरमा हरायो । त्यसपछि भारतीय टोली बोर्डर–गावस्कर टेस्ट शृंखलामा पनि अस्ट्रेलियासँग नराम्ररी पराजित भयो ।

यी दुई हारपछि भारतीय समर्थकहरू निकै रुष्ट बनेका छन् । भारतीय खेलाडीको व्यापक आलोचना पनि भइरहेको छ । अहिले आएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय टोलीका सिनियर खेलाडीहरुलाई समेत घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्न निर्देशन दिएको छ । 

समाचारमा जनाइए अनुसार, भारतीय टोलीका पाँचजना प्रभावशाली खेलाडीले घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्नु पर्ने भएको छ । रणजी ट्रफीको अघिल्लो चरण जनवरी २३ तारिखदेखि सुरु हुने कार्यक्रम छ । 

भारतीय टोलीका कप्तान रोहित शर्माले पनि रणजी ट्रफी खेल्ने समाचारमा जनाइएको छ । यसका अतिरिक्त युवा ओपनर यशस्वी जैसवाल, शुभमन गिल, अलराउन्डर रविन्द्र जडेजा र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि रणजी ट्रफी खेल्नेछन् । 

विराट कोहली र केएल राहुलले भने रणजी ट्रफी खेल्ने छैनन् । स्वास्थ्य समस्याका कारण यी दुवै खेलाडीले रणजी ट्रफी नखेल्ने बताइएको छ । विराट घाँटीको र केएल राहुल कुहिनोको समस्याबाट पीडित रहेको समाचारमा जनाइएको छ । 

कप्तान रोहित शर्माले रणजी ट्रफीका लागि मैदानमा ओर्लिएलगत्तै एउटा कीर्तिमान बनाउने छन् । खासमा, पछिल्लो १७ वर्षयता भारतीय टोलीका कुनै पनि कप्तानले रणजी ट्रफी खेलेका छैनन् । त्यसैले उनी १७ वर्षपछि रणजी ट्रफी खेल्ने भारतीय टोलीका कप्तान बन्नेछन् । 

निरन्तरको निराशाजनक प्रदर्शनका कारण उनी घरेलु प्रतियोगितामा फर्कन बाध्य भएका हुन् । अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर शृंखलामा पराजित भएलगत्तै उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिने चर्चा पनि चलेको थियो । तर, उनले कम्तीमा आगामी आईसीसी च्याम्पियन्स ट्रफीसम्म सन्न्यास नलिने पक्का भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप