बागमती प्रदेशमाथि कोशी प्रदेशको रोमाञ्चक जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा खेलिएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको हो ।
प्रतिकूल मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएकाले खेल १३–१३ ओभरमा झारिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ६३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १२.१ ओभरमा अलआउट हुनुअघि ५३ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
ओपनर सविका यादवले २० रनको योगदान गरिन् । उनले ३२ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । विपिसा शाहीले अविजित १२ रन बनाइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी उनले १२ बलमा एक चौका हिर्काइन् । कप्तान कञ्चन श्रेष्ठ पाँच र हेलिसा गुरुङ तीन रनमा पेभेलियन फर्किए ।
यशोदा बिष्ट एक रनभन्दा अगाडि बढ्न सकिनन् । यशु पाण्डे पनि दुई रनमै आउट भइन् । बागमती प्रदेशले अतिरिक्त रुपमा आठ रन पायो । कोशी प्रदेशका बलर ज्योति दनवार, रुविना क्षेत्री र संगिता राईले दुई–दुई विकेट लिए । निशा शाहले पनि एक विकेट हात पारिन् ।
त्यसअघि, पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि पनि दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । ओपनर रुविना क्षेत्रीले १५ रन बनाइन् । टोलीकी कप्तानसमेत रहेकी रुविनाले १३ बलको सामना गरी तीन चौका पनि हिर्काइन् ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी विमला मलहाले पनि टोलीको खातामा अविजित १९ रन थपिन् । उनले २३ बलको सामना गरी दुई चौका हिर्काइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनर काजल श्रेष्ठ तीन र लकिता राजवंशी सात रनमा आउट भए ।
स्मृति कटुवाल, टिका शाह, सानु राजवंशी र भवानी कामतीले खाता खोल्न सकेनन् । संगिता राईले पाँच रन बनाइन् । कोशी प्रदेशले अतिरिक्त रुपमा १४ रन पाएको थियो । बागमती प्रदेशकी बलर मनिषा उपाध्यायले चार विकेट लिइन् । मनिषाले तीन ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिइन् । पूजा साउद, विपिसा शाही र संस्कृति फुयालले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सैफमाथि हमला गर्नेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
लुम्बिनी प्रदेश सभा बैठकमा वित्तीय उत्तरदायित्व विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
-
संघमा ढिलाइ, प्रदेशहरूमा धमाधम हिउँदे अधिवेशन
-
पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
-
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी