रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो
बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो ।
पूरक अभियोजन अन्तर्गत २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलले रातोपाटीलाई बताए । ‘भर्खर १७ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि पठाएका छौँ, अब अदालतमा रुजु गर्दा कति समय लाग्ने हो, त्यो भन्न सकिन्नन्’ उनले भने ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।
सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले सबै कागज हेर्दा केही घण्टा लाग्ने बताए । उनले भने, ‘उताबाट अझै आएको छैन आएपछि पनि यहाँ सबै कागजपत्र अध्ययन गर्नुपर्छ, त्यो गर्न २, ३ घण्टा पनि लाग्छ सक्छ एक दिन पनि लाग्न सक्छ।’
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सैफमाथि हमला गर्नेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
लुम्बिनी प्रदेश सभा बैठकमा वित्तीय उत्तरदायित्व विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
-
संघमा ढिलाइ, प्रदेशहरूमा धमाधम हिउँदे अधिवेशन
-
पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
-
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्री नआएको भन्दै समितिको ध्यानाकर्षण