आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी

आइतबार, ०६ माघ २०८१, १२ : १७
आइतबार, ०६ माघ २०८१

धनगढी । नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उनको आरोप छ ।  रातोपाटीसँग उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्न भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’

उनले अगाडि भने, ‘ यदि त्यसो गरिन्छ भने म त्यसको घोर भर्त्सना गर्दछु । म भेट्न गएको हो । कुनै पार्टीमा गएको होइन । म त अहिलेसम्म एमालेमै छु । निकालिएको बारे कसैले जानकारी पनि दिएको छैन ।’

एमाले जिल्ला सचिवालय बैठकले तपाई बाबुछोरालाई पार्टीबाट निष्कासनको लागि उपल्लो तहलाई सिफारिस नै गरिसकेको छ नि भन्ने जिज्ञासामा पूर्वमन्त्री सुवेदीले त्यसलाई एमालेको स्वेच्छाचारिता र निरंकुशताको पराकाष्ठाको संज्ञा दिए । 

भीम रावलको पक्षपोषण गर्दै उनले अगाडि थपे, ‘भीम रावलले के अपराध गरेको छ र त्यस्तो ? देशद्रोही, राज्यद्रोही होइन । के गरेका छन् र उनले ? उनलाई भेट्नै नहुने ? उहाँ एउटा राष्ट्रवादी, असल, स्वच्छ छविको नेता हो । उहाँ सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता हो । उनलाई भेट्दैमा कारबाही गरिन्छ भने, ठिक छ । उनीहरू नै पार्टी चलाउन् ।’

सुवेदीले आफूलाई जबरजस्ती गरिएकै हो भने भीम रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने समेत बताए । 

‘भीम रावललाई भेट्दैमा उतै लागेको आरोप लगाइन्छ भने, समाचारमा आए जस्तो कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो । उहाँको अभियानलाई समर्थन नै हो । उहाँकै पक्षमा उभिन्छु’, उनले भने, ‘त्यस्तो गलत प्रवृत्तिको विरुद्ध हिजो पनि बोलेको हुँ । आज पनि बोल्छु । भोलि पनि बोलिरहन्छ । भेट्दैमा कारबाही गरिन्छ भने, कारबाही भोग्न पनि तयार छु । के कारबाही गर्छन् र उनीहरूले ? मेरो के पद जाने हो र ? मेरो ३० वर्षको सङ्गठित सदस्यता खोसेर खान्छन् भने मेरो केही आपत्ति छैन ।’  

एमाले कैलालीको शनिवार बसेको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप