महोत्सव पुगेर फिल्म प्रचार गर्दै सलोन र दुर्गेश
काठमाडौँ । सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ लगायतका मुख्य भूमिका रहेको फिल्म हो ‘रंगी’ । आगामी फागुन २ गतेबाट रिलिज हुने सो फिल्मले बाबुछोरीको कथा भन्छ । फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेत हुन् ।
फिल्मको प्रचारका लागि सलोन र ‘छ भने माया’ गीतका गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरूले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट पुगेर फिलमको प्रचार गरेका छन् ।
सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाचेका थिए । उनले आफू पहिलो पटक निर्माताका रूपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्ला फिल्महरू जस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे ।
‘महोत्सवमा सयौँ दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्न पाउँदा निकै खुसी लाग्दो रहेछ । दर्शकले हाम्रो फिल्मलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा सलोन, नम्रता र आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।