‘सम्पूर्ण तयारी पूरा गरेरमात्र राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्छ’
सिक्टा सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यसको अधिकांश क्षेत्र बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (१) मा पर्छ ।
२०६१ सालदेखि सुरु भएको उक्त आयोजना अहिलेसम्म आधा पनि पूरा भएको छैन । सिक्टा सिँचाइ आयोजनालाई सुरुदेखि नजिकबाट हेरिरहेकी उक्त क्षेत्रकी प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसीसँग निर्माण कार्यमा भइरहेको ढिलाइ लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ ।
प्रस्तुत छ, रातोपाटीका लागि तेजेन्द्र केसीले पूर्वमन्त्री कृष्णा केसीसँग गरेको कुराकानीको सम्पादित अंश–
- तपाईंको निर्वाचन क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको अधिकांश हिस्सा पर्दछ । यस आयोजनालाई तपाईंले कसरी हेर्नु भएको छ ?
सिक्टा सिँचाइ बहुआयामिक राष्ट्रिय गौरवको आयोजना हो । बाँके जिल्लाको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले अघि सारिएको यो आयोजनामा सुरुदेखि नै मेरो साथ छ ।
प्रदेश सभा सदस्यका रूपमा म दोस्रो कार्यकालमा छु । यो आयोजना ढिला गर्नु हुँदैन भनेर हामीले निरन्तर पहल गरिरहेका छौँ । राप्ती नदीको पानी किसानको खेत पुर्याएर सिँचाइ सुविधा उपलब्ध गराउने र कृषि उत्पादन वृद्धि गर्ने यो आयोजनाको उद्देश्य हो । यस अन्तर्गत पश्चिमी नहरमा धेरै काम भइसकेको छ । धेरै किसानको खेतमा पानी पुगेको अवस्था पनि छ । पश्चिमी नहरको पानी प्रयोग गर्ने एउटा परिवारको मान्छे म पनि हो । मेरो खेतमा अहिले यही नहरको पानी पुगेको छ ।
पश्चिम नहरको पानीले मात्रै नपुग्ने भएपछि केही वर्ष अगाडिबाट पूर्वी नहरको काम सुरु भएको छ । पूर्वी नहरको समग्र आयोजना आर्थिक वर्ष २०८९/०९० सम्म पूरा गर्ने लक्ष्य छ । तर आयोजनामा विभिन्न कारणले ढिलाइ पनि भएको छ । त्यो ढिलाइ नहुने गरी काम गर्नुपर्छ भनेर मैले यहाँ जनप्रतिनिधि, स्थानीय बासिन्दा एवं उक्त नहरको उपभोक्तासमेत रहेकाले सुरुदेखि चासो राख्दै आएकी छु ।
मैले अस्तिमात्र पनि सिक्टा आयोजना प्रमुखलाई भेट्न खोजेकी थिएँ । उहाँ काठमाडौँ जानुभएको रहेछ । सिक्टा आयोजना पूरा गर्नका लागि सुरुदेखि चासो र आवश्यक समन्वय गरिरहेको छु ।
- आयोजना सम्पन्न हुन किन ढिलाइ भयो ?
हामीले सिक्टा आयोजनाको सुरुवात गर्दा पश्चिम नहरको रूपमा सुरुवात गरियो । पश्चिम नहरको काम लगभग सम्पन्न भए पनि सबै जनताको खेतमा पानी पुगेको अवस्था छैन । पूर्वी नहरको ९ हजार हेक्टरमा सिँचाइ विस्तार गर्नुपर्ने अवस्था आयो । केही भौगोलिक कारण र केही इन्जिनियरिङ कारणले पनि आयोजना संशोधन गर्नुपर्ने अवस्था भएको हो । हामीले सुरुमा पूर्वी नहरतिरका किसानलाई समेट्ने गरी योजना अघि बढाउन ध्यान दिन सकेनौँ । अर्कोतिर पश्चिम नहर निर्माण भए पनि विभिन्न समस्या आयो ।
पूर्वी नहरमा पनि केही ठाउँमा मुआब्जा विवाद हुँदा ढिलाइ भएको हो । किसानहरूले खेत नदिने, जङ्गलबाट नहर लैजानुपर्ने भयो । लामो कसरतपछि ती समस्या समाधान भए । अहिले धेरै ठाउँमा मुआब्जा दिने काम सकिएको छ ।
गुणस्तरका विषयमा छानबिन गर्दा सिँचाइ आयोजनाका कर्मचारी, निर्माण कम्पनीबिचको केही टसलले पनि काममा ढिलाइ भएको देखिन्छ । यस्तै, संघीय सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरे पनि आवश्यक बजेट र जनशक्तिमा ध्यान नदिँदा लामो समयसम्म निर्माण सम्पन्न हुन सकेन ।
यो आयोजना समयमै निर्माण सम्पन्न गर्न हामीजस्ता प्रदेश सभा सदस्यले मात्रै जोड गरेर हुँदैन । यसमा संघ सरकारले बढी ध्यान दिनुपर्छ । आवश्यक मात्रामा बजेट विनियोजन नभएको हुँदा पनि काम गर्न कठिन देखिन्छ ।
- तपाईं यस क्षेत्रबाट दुई पटक प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य पनि हो । तपाईंले खासमा के–कस्ता पहल गर्नुभयो ?
म सुरुदेखि यो सिक्टा सिँचाइ समयमै सम्पन्न हुनुपर्छ भन्ने पक्षमा थिएँ । बाँके जिल्लाका किसानको खेतमा बाह्रैमास सिँचाइ पुर्याउँदा कृषि उत्पादन वृद्धि हुन्छ र यसले देशको अर्थतन्त्रमा टेवा पुग्छ । कृषि पेसालाई थप व्यावसायिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरेको मान्छे हो म ।
म आफैँ यो सिँचाइ आयोजनाको उपभोक्ता पनि हो । यहाँका किसानका समस्या मलाई राम्रोसँग थाहा छ । त्यस कारण सिक्टा सिँचाइ आयोजना पूरा गर्न निरन्तर लागेको छु । तर म प्रदेश सांसद हो । यो आयोजना संघीय सरकार अन्तर्गत छ । हामीले जति पहल गरे पनि संघ सरकारले चासो नदेखाएसम्म हाम्रो पहलको अर्थ रहँदैन ।
आयोजना निर्माणमा ढिलाइ भएकोबारे संघबाट बेलाबखत अनुगमन भइरहेको छ । केही दिन अगाडि संघबाट संसदीय समितिका माननीयहरू पनि आउनु भएको थियो । उहाँहरू पनि यो आयोजना चाँडै निर्माण हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ । तर व्यावहारिक रूपमा काममा भइरहेका अड्चन हटाउन नसकेसम्म अनुगमनले मात्र नतिजा दिन सक्दैन । त्यसका संघ सरकारले नै तदारुकता देखाउनुपर्ने हो । त्यो भएको अनुभूति गर्न सकिएको छैन ।
आयोजना प्रमुख तथा अन्य ठाउँमा समन्वय गर्ने काम मेरो पक्षबाट भएको छ । सिँचाइ विभाग, मन्त्रीलाई भेट्न तथा अन्य माथिल्लो निकायमा पटक–पटक गएर आयोजना समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराइरहेकी छु । म दैनिकजसो आयोजनाका लागि खटिरहेको मान्छे हो । मुआब्जाको विवादमा पनि समन्वय गरेको छु । छिटो निर्माण हुनुपर्छ र गुणस्तरीय बन्नुपर्छ भन्नेमा केन्द्रित छु ।
- संघीय सरकारको आयोजना भएकाले तपाईंहरूको बोली पनि सुनिएन ?
बोली सुन्ने/नसुन्नेभन्दा पनि म प्रदेशमा दुई पटक सांसद भएँ । सिक्टा सिँचाइको उपभोक्तासमेत रहेको नाताले सुरुदेखि लागेँ । केही न केही उपलब्धि त भएको छ, तर जति हुनुपर्ने थियो, त्यो अनुसार हुन सकेको छैन ।
संघीय सरकारको आयोजना भएकाले स्थानीय तह, प्रदेशका जनप्रतिनिधिसँगै संघीय सांसदको पनि उस्तै चासो भइदिए अलि सहज हुने थियो भन्ने जनताले महसुस गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनामा बजेट ल्याउँदादेखि अन्य हिसाबले संघबाट जति पहल हुनुपर्ने हो, त्यो हुन सकेको छैन । कम्तीमा सिक्टा आयोजना यहाँसम्म आयो । ढिलाइ भएको छ, तर यसलाई अब समयमै सम्पन्न गर्न थप दबाब तथा सहकार्य दुवै गरेर अगाडि जाने हो । त्यसका लागि म लागिरहेकै छु । सिँचाइ विभाग, मन्त्रालय लगायतका निकायमा म पटकपटक आयोजनाको विषयलाई लिएर धाइरहेको छु ।
- तपाईं लुम्बिनी प्रदेशको जलस्रोत तथा सिँचाइमन्त्री समेत बन्नुभयो । त्योबेला के–कस्तो भूमिका निर्वाह गर्नुभयो ?
मैले लुम्बिनी प्रदेशको ऊर्जा तथा सिँचाइमन्त्री बन्ने अवसर पनि पाएँ । तर निकै छोटो समय मन्त्री रहेँ । त्यो बेला बजेट निर्माण हुनुभन्दा ५ दिन अगाडि र निर्माण भएपछि १० दिन उक्त मन्त्रालय सम्हालेँ ।
मन्त्रालयमा जति दिन बस्न सकिन्छ, त्यति दिन काम गर्ने हो । तर सिक्टा सिँचाइ आयोजनाले नछोएको ठाउँमा र नहर पुग्न ढिलाइ हुने ठाउँमा मैले आफू मन्त्री हुँदा लिफ्ट र सानो ट्युबवेलबाट भए पनि सिँचाइ पुर्याउने गरी केही काम गरेको थिएँ । तर छोटो समय मन्त्री भएका कारण धेरै काम गर्न सकिएन । अहिले मन्त्री नभए पनि सिक्टा आयोजना पूरा गर्न आफ्नो तर्फबाट काम गरिरहेको छु । मन्त्री नभए पनि प्रदेश सांसदको हैतियतमा यहाँका जनताको काम गरिरहेको छु ।
- तपाईंलाई मतदाताले सिँचाइ आयोजनाबारे प्रश्न गर्दैनन् ?
बाँके जिल्लाको भूमि अत्यन्तै चक्लाबन्दी भएको उर्वर भूमि हो । यसलाई सक्दो सदुपयोग गर्न सिक्टा सिँचाइ आयोजना निकै महत्त्वपूर्ण हुन्छ । कृषिका माध्यमबाट यो जिल्लाको उत्पादकत्व बढाउन राज्यले जति गर्नुपर्ने थियो, त्यो गर्न नसकेको गुनासो छ ।
सिँचाइ सुविधा उपलब्ध हुँदा यहाँको कृषि उत्पादन उल्लेख्य वृद्धि हुने र देशकै अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले नै यो सिँचाइ आयोजना अघि बढाइएको हो । तर लामो समयसम्म आयोजना सम्पन्न नहुँदा मानिसमा स्वाभाविक रूपमा चिन्ता बढेको छ । अनि हामीजस्ता जनप्रतिनिधिलाई जनताले आयोजना कहिले सम्पन्न हुन्छ, किन ढिलाइ भयो जस्ता प्रश्न गर्छन् नै ।
यो आयोजनाले मेरो निर्वाचन क्षेत्रका धेरै किसानलाई समेटेको छ । त्यस कारण आयोजना पूरा गरेर किसानको खेतमा पानी पुर्याउने विषयमा मेरो पनि केही न केही जिम्मेवारी हुन्छ । मतदाताले पनि सोही ढंगबाट मलाई सोध्ने गर्दछन् ।
- बाँके जिल्लामा अन्य पनि गौरवका आयोजना छन्, यस्ता आयोजनाको काम किन सुस्त हुन्छ ?
बाँके जिल्ला सिक्टा सिँचाइसगै अन्य गौरवको आयोजना पनि निर्माणका क्रममा छन् । चाहे संघ अन्तर्गत होस्, चाहे प्रदेश अन्तर्गत कै आयोजना किन नहुन्, हरेक आयोजनाको आफ्नो महत्त्व हुन्छ ।
आयोजाना घोषणा गरेपछि सम्पन्न भइहाल्छ नि भन्ने मानसिकता छ । आयोजना सम्पन्न गर्न जसरी तदारुकता देखाउनुपर्ने हो, त्यो नहुँदा ढिलाइ हुने गरेको छ । बजेट, मुआब्जा लगायतका विषयलाई समयमै सल्टाउने र ठेकदारलाई समयमै निर्माण सम्पन्न गर्न दबाब बढाउन आवश्यक हुन्छ । आयोजना सुरुवातसँगै त्यसको स्रोत–साधन, अन्य चुनौतीहरूको विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
सिक्टा आयोजना सुरु भएको २० वर्ष बितेको छ । यति लामो समयसम्म सिँचाइ आयोजना लम्बिँदा त्यसको लागत वृद्धिदेखि अन्य धेरै कुरामा असर पर्छ । अर्कोतिर दुई दशक लगाए एउटा आयोजना निर्माण गर्दा त्यस प्रकारका आयोजनाको उपादेयता के भन्ने प्रश्न पनि कुनै दिन उठ्न सक्छ ।
निश्चित वर्ष तोकिएका आयोजनाहरू तोकिएको मितिमा सक्ने गरी काम गर्न राज्यले सोही अनुसार संयन्त्र निर्माण गर्नुपर्ने हुन्छ । हतारमा होइन, सम्पूर्ण तयारी गरेर आयोजना निर्माण गर्नेतिर लाग्नुपर्छ । आयोजनाको काम तोकिएको समयमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ । एकले अर्को पक्षलाई दोष लगाउने, समस्या देखाउने भन्दा पनि ती समस्या आउन सक्ने पहिले नै आकलन गरेर पूर्वतयारीका साथ आयोजना थालनी गर्नुपर्ने हुन्छ । गौरवका आयोजनाको विषय गम्भीर छलफल गरेरमात्रै घोषणा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका १० सहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’
-
सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक
-
निर्माण उद्योगको समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ
-
सात दिनभित्र विद्यार्थी नेताहरूको व्यवस्थापनसम्बन्धी सुझाव पेस गर्न माओवादीको निर्देशन
-
भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी
-
टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु