आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : सिक्टा सिँचाइ आयोजना

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति २० वर्षमा ४१ प्रतिशतमात्र

लागत अनुमान ७ गुणा बढ्यो, कहिले पूरा होला ?
आइतबार, ०६ माघ २०८१, ०९ : ३२
आइतबार, ०६ माघ २०८१

बुटवल । बाँकेको सिक्टा सिँचाइ आयोजनाको प्रगति निराशाजनक छ । राष्ट्रिय गौरवको आयोजना भएर पनि विभिन्न कारणले यसको निर्माण अवधि लम्बिँदै गएको छ ।

दुई दशक अघि आयोजना निर्माण सुरु भएको हो । त्यतिबेलाको तुलनामा यसको लागत अनुमान सात गुणा बढिसकेको छ । यद्यपि, अझै यो आयोजना सम्पन्न हुने टुङ्गो छैन ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका, अगैयास्थित राप्ती नदीमा ३१७ मिटरको ब्यारेज निर्माण गरी कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका सहित ६ वटा गाउँपालिकाका ४२ हजार ७६६ हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । यो आयोजना आर्थिक वर्ष ०६१/०६२ मा निर्माण सुरु भएको हो । तर दुई दशक बित्दा भौतिक प्रगति भने जम्मा ४१ प्रतिशतमात्र छ ।

कृषि उब्जनी वृद्धि गर्न यो आयोजना महत्त्वपूर्ण हुने अपेक्षा गरिए पनि कहिलेसम्ममा निर्माण सम्पन्न हुने हो भन्ने टुङ्गो नभएको सिक्टा जलाधार उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले रातोपाटीलाई बताए ।

उनले सिक्टा सिँचाइलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि समयमा सम्पन्न गर्न ध्यान नदिँदा लागतसमेत बढ्दै गएको बताए ।

डाँगीले भने, ‘सिक्टा सिँचाइ आयोजनालाई गौरवको आयोजना घोषणा गरे पनि भौतिक प्रगति गौरव गर्न लायक बनाउन सकिएन । यसको महत्त्व राज्यले नबुझेको हो कि जस्तो छ ।’

सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजनाको काम सुरु गरेपछि पटक–पटक योजना संशोधन गर्दा भौतिक प्रगति कम हुनका साथै लागत वृद्धि भएको रातोपाटीलाई बताए ।

हालसम्म यो आयोजनाका लागि २१ अर्ब रुपैयाँ खर्च भएको छ । संशोधनमार्फत थपिएका काम पूरा गर्दै जाँदा स्वाभाविक रूपमा लागत वृद्धि हुने आचार्यको भनाइ छ ।

गुरुयोजना अनुसार पूर्वी नहरको ९ हजार हेक्टर सिँचाइका लागि थपिँदा ५२ अर्ब रुपैयाँ लागत पुग्ने देखिएको छ । उक्त गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/०९० मा यो आयोजना सम्पन्न हुने भनिएको छ । सरकारले चालु आर्थिक वर्ष यो आयोजनाका लागि १ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । तर वार्षिक यति बजेटले निर्धारित लक्ष्य अनुसार काम गर्न कठिन हुने आचार्य बताउँछन् ।

पछिल्लो गुरुयोजना अनुसार काम गर्न सरकारले एक आर्थिक वर्षमा कम्तीमा ३/४ अर्ब बजेट दिएमात्र काम गर्न सहज हुने उनको भनाइ छ ।

  • समय लम्बिँदै, लागत थपिँदै

सिक्टा सिँचाइ आयोजनाको काम सुरु गर्दाको तुलनामा अहिले अनुमानित लागतमा ७ गुणा वृद्धि भइसकेको छ । आर्थिक वर्ष २०६१/०६२ मा यसको अनुमानित लागत सात अर्ब ४५ करोड थियो । यो आयोजनाको तीन पटक लागत अनुमान संशोधित हुँदै अहिले ५२ अर्ब ८९ करोड पुगेको सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले बताए ।

विष्टका अनुसार २०६४ मंसिरमा पहिलो पटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड पुर्‍याइएको थियो । फेरि २०७१ मा लागत संशोधन गरी २५ अर्ब दुई करोड पुर्‍याइएको थियो भने २०७९ भदौमा फेरि संशोधन गर्दै आर्थिक वर्ष २०८९/०९० सम्म काम सम्पन्न हुने गरी ५२ अर्ब ८९ करोड खर्च हुने आकलन गरिएको विष्टले बताए ।

sikta_2

सुरुमा पूर्वी नहर तथा अन्य धेरै छुटेका ठाउँलाई पनि नहरले समेट्ने गरी गुरुयोजना बनाउँदा लागत वृद्धि भएको विष्टले प्रस्ट पारे ।

मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्ती सोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चार वटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा रहेको विष्टको भनाइ छ ।

  • पटक–पटक अध्ययन

राप्ती बहुउद्देश्यीय सिँचाइ आयोजनाको पटकपटक अध्ययन भएको छ । वर्षौंदेखि विभिन्न नाममा अध्ययन गर्दै लगानीकर्ता खोजी भए पनि नेपाल सरकारले गौरवको आयोजनामा राखेर सिक्टा सिँचाइ आयोजना अगाडि बढाएको हो । राप्ती बहुउद्देश्यीय आयोजनाका लागि सन् १९७५ (वि.सं.२०३२)मा भएको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा सिक्टा सिँचाइ आयोजनाको अवधारणा ल्याइएको हो ।

आयोजनाको सम्भाव्यता अध्ययन २०३२ मै सुरु भए पनि फेरि सिँचाइ मन्त्रालयले गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०६१/०६२ बाट यसको काम थालिएको हो । त्यो बेला आर्थिक वर्ष २०७६/०७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो ।

आर्थिक वर्ष २०८०/०८१ सम्ममा २१ अर्ब खर्च भएको आयोजनामा ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।

  • कतै निर्माण हुँदै, कतै जीर्ण हुँदै

सिक्टा सिँचाइ आयोजना अन्तर्गत कतै निर्माणको काम भइरहेको छ भने अर्कोतर्फ सुरुमा निर्माण भएका संरचना जीर्ण हुँदै गएका छन् ।

नहरको पुलमा लगाएका रेलिङ चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका काम पनि बेलाबेला हुने गरेका छन् । खासगरी सिक्टा नहरमा घुलनशील माटो भएका कारण नहरको संरचना भत्किने गरेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका–८ बुधनापुरका ३७ वर्षीय जौभव खान व्यावसायिक रूपमा तरकारी खेती गर्छन् । अरूको खेतसमेत भाडामा लिएर उनले बेमौसमी तरकारी खेती गर्न थालेको ६ वर्ष भयो ।

तरकारी खेतीका लागि सिँचाइ सुविधा नहुँदा लगानी र मेहनत अनुसार प्रतिफल हासिल गर्न नसकेको खानको गुनासो छ । सिक्टा सिँचाइ आयोजना अन्तर्गत नहरको पानी प्रयोग गर्ने वर्षौंदेखिको सपना साकार हुन नसकेको उनको गुनासो छ ।

खानले मोटरमार्फत तालको पानी तानेर खेतमा सिँचाइ गर्दै आएका छन् । जसोतसो सिँचाइ गरेर खुर्सानी, काँक्रो, टमाटर लगायतका तरकारी उत्पादन गरिरहेको खानले बताए । मोटरले तालको पानी तानेर सिँचाइ गर्दा वर्षमा ६० हजार रुपैयाँ जति अतिरिक्त खर्च हुने उनको भनाइ छ ।

WhatsApp Image 2025-01-12 at 1.09.23 PM (1)

खानको खेतभन्दा केही किलोमिटर पर सिक्टा सिँचाइ आयोजनाको नहर बन्दै गरेको छ । खानजस्ता बाँकेका सयौँ किसान त्यो नहर निर्माण भएमा सिँचाइ सुविधा पाइन्थ्यो कि भन्ने अपेक्षामा छन् । तर यस्तो अपेक्षा गरेको वर्षौं भइसके पनि अवस्था जस्ताको तस्तै छ ।

राप्ती सोनारी गाउँपालिका–६, मोहनपुर बस्ने चमेली मगरले बनिसकेका नहर मर्मतमा ध्यान नदिएको रातोपाटीलाई बताइन् । उनले मुसाले पारेका प्वाल टाल्ने तथा अन्य मर्मतको काम पर्याप्त हुन नसकेको बताइन् । वर्षाको बेला ‘ओभर फ्लो’ भएर धेरै पानी आउने र हिउँदका बेला कम पानी आउने गरेको उनको भनाइ छ ।

सिक्टा आयोजनाका शाखा तथा प्रशाखाहरू मर्मत गर्दै हिउँदमा पनि किसानले चाहे जति पानी पाउनुपर्ने मगरले बताइन् ।

सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको थियो । २०६३ सालदेखि सुरु भएको सिक्टाको पश्चिम मूल नहर परीक्षणका क्रममा ढकेरीस्थित चङाई नाला छेउमा २०७५ सालमा भत्किएर ठुलो क्षति पुर्‍याएको थियो । यसअघि २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला छेउमा मूल नहर भत्किएको थियो ।

पटक–पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठेको छ । आयोजना प्रमुख राजु आचार्यले त्यो माटो र अन्य प्राविधिक कारणले भएको दाबी गरे ।

  • कामभन्दा हाकिम फेरबदलमा ध्यान

सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ वटा कार्यालय प्रमुख आएका छन् । सामान्यतया यस्ता परियोजनामा कम्तीमा २ वर्षसम्म कार्यालय प्रमुख बस्नुपर्ने हो । तर ६/७ महिनामै कार्यालय प्रमुख फेरबदलका लागि चलखेल हुने गरेको सिक्टा जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले रातोपाटीलाई बताए ।

उनले भने, ‘एउटा हाकिमलाई आयोजना बुझ्नकै लागि ३/४ महिना लाग्छ । त्यसपछि बल्ल काम सुरु गर्न थालेको हुन्छ । फेरि ६/८ महिनामा हाकिम परिवर्तन हुन्छन् । यसले गर्दा धेरै समस्या परेको छ ।’

sikta_3

सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना प्रमुख ल्याउने, ठेकदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टा सिँचाइमा लामो समयदेखि रहेको विकासका लागि नागरिक समाज संयोजक बाँकेका कृष्णप्रसाद श्रेष्ठले बताए ।

कार्यालय प्रमुखसमेत नेपालगन्जमा भन्दा बढी मन्त्रालय र विभागतिर बस्ने गर्दा फिल्डमा भएका कामबारे चासो नदिने प्रवृत्ति छ । सिक्टा आयोजनाको काम, अनुगमन र निर्देशनभन्दा पनि आफ्नो सरुवा थमौती गर्ने र शक्ति केन्द्र रिझाउनमै कार्यालय प्रमुखको ध्यान केन्द्रित हुने गरेको स्थानीयको आरोप छ ।

हालका कार्यालय प्रमुख राजु अधिकारी यो आयोजनाका १५ औँ हाकिम हुन् ।

  • पानी छिटो पाउनुपर्ने किसानको माग

बाँकेको खजुरा गाउँपालिका–७, सोनामपुरका वडा अध्यक्ष राम गोपाल यादव सिक्टा नहर बन्नेमा आशावादी छन् । नहरको उपशाखाबाट सोनामपुरमा पानी आउँदा धेरै किसानले फाइदा लिन सक्ने भनेर जग्गा प्रदान गरेको उनको भनाइ छ ।

किसानको अपेक्षा अनुसार पानी उपलब्ध गराउन ध्यान दिनुपर्ने यादवले बताए ।

राप्ती सोनारी गाउँपालिकाका धेरै किसान सिँचाइको पानी आएमा बेमौसमी तरकारी तथा अन्य बालीको उत्पादन वृद्धि हुने अपेक्षामा रहेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

उनले अहिले केही वडामा किसानहरूले राम्रो मकै उत्पादन गरेको उदाहरण दिँदै सिँचाइ उपलब्ध हुँदा बेमौसमी तरकारी तथा फलफूलबाट राम्रो आम्दानी लिन सकिने प्रस्ट पारे ।

  • मुआब्जाको अवस्था के छ ?

सिक्टा गुरुयोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिकासहित आसपासका कुल ४४० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने छ । त्यसमध्ये हालसम्म १७२ हेक्टर जग्गा अधिग्रहण भएको छ । अझै २६८ हेक्टर जग्गाको मुआब्जा दिन बाँकी छ । हालसम्म १ अर्ब ६७ करोड रुपैयाँ मुआब्जा प्रदान गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको अधिकांश वडा यो सिँचाइ आयोजनाबाट लाभान्वित हुनेछ ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै स्थानीयले लिन नमानेपछि बिचको बाटो अवलम्बन गरिएको बताए ।

उनका अनुसार अहिले सिक्टा सिँचाइ योजनाले उक्त ठाउँमा डेढ मिटरको आरसीसी गर्ने तर जग्गा तीन मिटर लिने गरी मुआब्जाको सूचना जारी गरेको छ ।

मुआब्जा बापतको रकम अभाव हुँदा एकातिर किसानको माग सम्बोधन गर्न नसकिएको, अर्कोतिर आयोजनाको काम पनि द्रुत गतिमा अगाडि बढाउन नसकिएको यहाँका कर्मचारी बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावको समस्याले मुआब्जा रकम वितरणको काम प्रभावित भएको छ । अर्कोतिर विभिन्न ठाउँका किसानले धेरै रकम माग गरेर व्यवधान खडा गरिरहेको आयोजना स्रोत बताउँछ ।

खजुरा गाउँपालिकाको घियाका सपारी खान यस क्षेत्रमा ठुला किसानमध्ये एक मानिन्छन् । करिब ११ बिघा जग्गामा खेती गर्ने खानको खेतसम्म अझै सिक्टा सिँचाइको पानी पुगेको छैन । अहिले घियामा ताल बनाएर गत वर्षदेखि खानले गहुँ तथा धान लगाएका छन् । उनले पानी भए पनि उत्पादन पनि वृद्धि हुने बताए । अर्को सालसम्म सिक्टाको नहरको पानी आइपुग्ने आशा गरेको खान बताउँछन् ।

  • पछिल्लो पाँच वर्षमा खर्चको अवस्था के छ ?

सिक्टा सिँचाइ आयोजनामा पछिल्लो पाँच वर्षमा ८ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरेको छ । तर हरेक आर्थिक वर्ष विनियोजित बजेटको ५० देखि ७७ प्रतिशतसम्म खर्च भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ५२ करोड ३० लाख रुपैयाँ विनियोजन भएकोमा ६९ प्रतिशत वित्तीय प्रगति र ७५ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ५६ करोड ४ लाख रुपैयाँ विनियोजन भएकोमा ६८ प्रतिशत वित्तीय प्रगति र ९९ प्रतिशत भौतिक प्रगति भएको सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले बताए ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा एक अर्ब १९ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ७७ प्रतिशत वित्तीय प्रगति र ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ५० प्रतिशत वित्तीय र ५२ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८८ करोड बजेट विनियोजन भएकोमा वित्तीय प्रगति ९९ प्रतिशत र भौतिक प्रगति १२० प्रतिशत भएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्ष सरकारले एक अर्ब ६० करोड ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म वित्तीय प्रगति १६ प्रतिशत र भौतिक प्रगति १७ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

  • आयोजनाको अवस्था के छ ?

सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहे पनि अहिले २३ हजार हेक्टरमा सिँचाइ उपलब्ध भएको छ । पूर्वी नहर र पश्चिम नहर गरी दुई खण्डका विभाजित गरी काम भइरहेको छ । पश्चिमतर्फ १८ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने पूर्वी नहरमा ५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टा सिँचाइ परियोजनाका इन्जिनियर विकास विष्टले रातोपाटीलाई बताए ।

सिक्टा आयोजना प्रमुख राजु आचार्यले राष्ट्रिय गौरवको आयोजना भए पनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु जस्ता कारणले काममा ढिलाइ भएको रातोपाटीलाई बताए ।

सुरुमा जग्गा अधिग्रहण प्रक्रियामा विवाद आउने गरेको र वन तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवाको आपूर्तिमा कठिनाइ हुने गरेकोजस्ता समस्या रहेको उनले सुनाए । पछिल्लो डीपीआर अनुसार वर्षमा ३/४ अर्ब बजेट आवश्यक भए पनि सरकारले १ अर्ब ६० करोड विनियोजन गरेकाले पर्याप्त काम गर्न समस्या पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप