यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
‘ए तिमी कुन देशबाट आएको रे ?’
म निकै आश्चर्य र कुतूहलतापूर्वक ‘बेबिलोनका दुष्टात्मा भगाउने प्राचीन मन्त्र पात्रहरू’ नियालिरहेको थिएँ । अचानक हाम्रो समूहको नेतृत्व गर्दै आएकी मार्गदर्शकको प्रश्नले झस्किएँ ।
हठात् मैले भनेँ, ‘नेपाल ।’
‘म त अघिदेखि सोचिरहेकी थिएँ, सायद तिमी भारतीय हौ । तिम्रो देश नेपालको बारेमा त थाहा भएन । दक्षिण भारतको कोची सहरबाट ल्याइएका केही दुर्लभ चित्र र हस्तलिपिहरू यहाँ हामीसँग छन् ।’ यसो भन्दै उसले शताब्दियौँ पुराना पाण्डुलिपि भएको हलतर्फ इसारा गरी ।
बाक्लो दाह्री, अग्लो शरीर र गहुँ गोरो वर्णको मेरो हुलियाले पनि उसलाई म भारतीय भएको भान भएको हुनुपर्छ । इजरायलमा नेपालीलाई भारतीयजस्तो भनेर झुक्किनु कुनै नौलो कुरा होइन । त्यसमाथि भारतसँग इजरायलको सामीप्यका कारण आउन–जान सहज भएकाले हामीमध्ये कतिपय नेपाली भएरै पनि भारतीय राहदानी बोकेर यहाँ प्रवेश गर्न बाध्य भएका थियौँ । त्यो भिन्न र पीडादायी कथाको चर्चा अरु कुनै समय गरौँला ।
‘तिमीले भनेको देशको छिमेकी हुँ म । भारत र चीन बिचमा छ नेपाल । तिमीले माउन्ट एभरेस्ट र गौतम बुद्धको नाम त सुनेकी छौ ?’
हामी ४० जनाको समूहमा थियौँ । प्रत्येकलाई अलग–अलग हेडफोन र मोबाइल आकारका अडियो डिभाइस दिइएको थियो । ताकि संवाद या श्रव्य सामग्री स्पष्ट सुन्न सकियोस् ।
पुस्तकालयको ठ्याक्कै अगाडि इजरायलको संसद् भवन थियो । के थाहा त्यहाँभित्र युद्ध र आक्रमणका ठुल्ठुला निर्णय भइरहेका छन् या शान्ति प्रक्रिया, बन्दीरिहाइ र युद्धविरामका सम्बन्धमा आशालाग्दा घनीभूत छलफल ! सम्भावना दुवै थिए । संसद् भवनतिर लम्किएका बाटोमा ‘उनीहरूलाई घर फर्काउ’ लेखिएका दबाबमूलक पोस्टरहरू टाँसिएकै थिए । ती पोस्टर पनि आम नागरिकका आवाजजस्तै मधुरा र थोत्रा भइसकेका थिए ।
शब्दहरूको खजाना
बाहिर झरी परिरहेको थियो, हामी जेरुसलेमको राष्ट्रिय पुस्तकालयभित्र ‘शब्दहरूको खजाना’ शीर्षक दिइएको विशेष प्रदर्शनी कक्षमा थियौँ । प्राचीनकालमा अक्षर ढुङ्गामा कुँदिएका हुन्थे । काठका फलेकहरू, माटोका प्लेटहरू या जङ्गली पातहरूमा पनि कोरिएका हुन्थे । इसारा, सङ्केत या चित्रका माध्यमबाट अभिव्यक्त हुने मानवीय भावना क्रमशः मानव सभ्यताको विकाससँगै अक्षर, शब्द हुँदै पुस्तकको आकारमा छापिन थाले ।
पहिलो शताब्दीदेखि दशौँ शताब्दीका बिचमा बेबिलोनमा यस्ता दुष्टात्मा भगाउने भाँडाहरू बनाइन्थे । कुनै यहुदी पण्डित या जादुगरले यसमा मन्त्र लेख्थे । ती बेबिलोनका जनताका घरका ढोका र आँगनमा उल्टो पारेर गाडिन्थे, ताकि ती जादुमयी भाँडामा शैतानी शक्तिहरू कैद होउन् । तिनका नकारात्मक ऊर्जा बाँधिउन् ।
पुस्तकालयको विशेष कक्षमा पुगेपछि हामीले यस्ता रहस्यमय माटोका प्लेटहरू देख्यौँ, जसको मध्य भागमा राक्षसजस्तो आकृति र वरिपरि वृत्ताकार परिधिमा अक्षरहरू कोरिएका थिए । जसमा लेखिएका मन्त्रहरूले शैतानी शक्ति, भूतप्रेत या दुष्ट आत्माहरूलाई नियन्त्रण गर्न या बाँध्न सक्थे भनेर विश्वास गरिन्थ्यो ।
पहिलो शताब्दीदेखि दशौँ शताब्दीका बिचमा बेबिलोनमा यस्ता दुष्टात्मा भगाउने भाँडाहरू बनाइन्थे । कुनै यहुदी पण्डित या जादुगरले यसमा मन्त्र लेख्थे । ती बेबिलोनका जनताका घरका ढोका र आँगनमा उल्टो पारेर गाडिन्थे, ताकि ती जादुमयी भाँडामा शैतानी शक्तिहरू कैद होउन् । तिनका नकारात्मक ऊर्जा बाँधिउन् ।
यस स्थायी प्रदर्शनीमा हामीले ढुङ्गा, माटो, धातु वा कागजमा कोरिएका हस्तलिखित अनेकौँ पाण्डुलिपि अवलोकन गर्यौँ । ती निकै सुन्दर, आकर्षक र चित्रात्मक थिए । अक्षरहरूमा जादु हुन्छ, तिनमा शक्ति हुन्छ । मार्गदर्शकले हामीलाई बारम्बार बताउँदै ‘शब्दहरूको खजाना’ विचरण गराइरहेकी थिइन् ।
यहाँ हस्तलिखित पाण्डुलिपि र पत्रहरू प्रशस्त थिए । हरेक यहुदी मन्दिरहरूमा आजसम्म पनि पवित्र ग्रन्थ ‘तोराह’ अनिवार्य रूपमा हस्तलिखित नै राखिएका हुन्छन् । क्रिस्चियन धर्मग्रन्थ बाइबल, यहुदी धर्मग्रन्थ तोराह र इस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरानजस्ता पुस्तकका अनेक हस्तलिखित संस्करण यहाँ सङ्ग्रहित छन् । इस्लाम धर्म र संस्कृतिको प्रभाव यस क्षेत्रमा कति धेरै रहेछ भन्ने तथ्य यहाँ भेटिएका कुरान, अरबी र फारसी साहित्यका दुर्लभ कृतिले उजागर गरिरहेका थिए ।
हस्तलिखित सामग्रीकै सेरोफेरोमा मैले कास्मिरबाट आयातीत एक अर्को मनमोहक चित्र–कथा देखेँ । जसमा कुरानका आयात कोरिएका थिए । सँगै थियो मनमोहक चित्र, जहाँ बुराक नामको एक वायुपंखी घोडामा सवार भई इस्लाम धर्मका प्रवर्तक नबी मोहम्मद जेरुसलेमको आकाशबाट स्वर्गतर्फ उडिरहनुभएको देखिन्थ्यो । उनको वरपर सात स्वर्ग दूतका चित्र कोरिएका थिए ।
भनिन्छ, वायुपंखी बुराक प्रकाशको गतिमा उड्न सक्थ्यो । उसको प्रत्येक पाइला क्षितिजसम्म पुग्थ्यो । नबी मुहम्मद एक दिन मक्काबाट बुराक चढेर टाढाको मस्जिद जेरुसलेमको ‘अल अक्सा’सम्म आए र यहीँबाट स्वर्ग प्रस्थान गरे । आज यही ‘अल अक्सा’को मस्जिदको विषयलाई लिएर निकै ठुलो विवाद बढेको थियो, युद्धको रूप नै लिइसकेको थियो ।
मैले सोचेँ, यी विविध धर्म र संस्कृतिका कृति र तिनका सन्देश यसरी एकै छानोमुनि यति सुन्दरताका साथ सजिन सक्छन् भने तिनलाई अँगालेर हिँड्ने मानिसमा किन यति विघ्न विभेद र घृणा विद्यमान छ ? किन बढिरहेको छ धर्म, संस्कृति र परम्पराको नाममा जातीय युद्ध र नरसंहार ?
लैला र मजनुको कथा
‘ल हेरौँ यहाँ प्रेमपत्रहरू, लभ स्टोरी या प्रेमग्रन्थहरू छन् । हस्तलिखित पाण्डुलिपिहरू,’ हेर्दै जाँदा प्रदर्शनीको अर्को कक्षमा पुगेपछि उनले भनिन् । यी यता हेर त यहाँ ‘होदु’ (भारतलाई इजरायलमा होदु भनिन्छ)का केतुबा पनि छन् । केतुबा भनेको हिन्दु धर्ममा बेहुलाबेहुलीले सात फेरा लिएजस्तै सम्बन्धमा गाँसिएपछि यहुदी दुलाहा र दुलहीले अपनाउनुपर्ने नियमहरू लेखिएको ‘अनुबन्ध पत्र’ रहेछ ।
यहाँ संसारभरबाट ल्याइएका निकै कलात्मक कृतिहरू र सुन्दर तोराहका पुस्तक, हागदाहरू थिए । धेरै वर्षपहिले यहुदीहरू संसारभर छरिएर रहेका थिए । वास्तवमा प्रवासमा रहेका नेपालीले बारम्बार लिने गरेको ‘डायस्पोरा’ शब्द यिनै यहुदीको विस्तारलाई जनाउने शब्द हो । इतिहासको कुनै कालखण्डमा यहुदी डायस्पोरा भारतीय उपमहाद्वीपसम्म फैलिएको तथ्य दक्षिण भारतको कोची सहरबाट आयातीत यी हस्तलिपिले दर्शाइरहेका थिए ।
आतङ्कको अव्यक्त पीडाले आक्रान्त भएका सयौँ नागरिकसँगै जब हमासको अपहरणमा परेका विपिन जोशीको तस्बिर स्क्रिनमा देखियो, अनि म एकाएक भावुक भएँ ।
‘शब्दहरूको खजाना’ शीर्षकको प्रदर्शनी कक्षमा पौराणिक हिब्रु साहित्यका महान् आख्यान र काव्यहरू मात्र होइन अङ्ग्रेजी, उर्दु, अरेबिक वा अन्य विभिन्न भाषामा लिपिबद्ध भएका दुर्लभ कृति पनि सङ्ग्रहित थिए । जसले सदियौँदेखि मानव सभ्यता, शब्दको शक्ति, प्रेम र साहित्यको महिमा उजागर गरिरहेका थिए ।
हस्तलिपिहरूकै लहरमा पारसी साहित्यको महान् ग्रन्थ लैला–मजनुले मेरो ध्यान खिच्यो । पश्चिमा साहित्यमा रोमियो–जुलियट वा हाम्रो नेपालमा मुनामदन भनेजस्तै पूर्वीय साहित्यका प्रेमकथामा यो लैला–मजनुको चर्चा नसुन्ने को होला र ?
१२औँ शताब्दीमा पर्सियन कवि निजामीद्वारा रचना गरिएको कृति लैला–मजनुका नौ प्रकारका अनेक संस्करण यहाँ राखिएका थिए, तीमध्ये मुल्लाह मिर अल उस्तादीले कोरेका हस्तलिखित पाण्डुलिपि मलाई असाध्य मन परे । सो पाण्डुलिपिमा लैला–मजनुका कविता र बिचबिचमा हातले कोरिएका सुन्दर चित्र थिए ।
सुन्दर आकृति र चित्रयुक्त ग्रन्थहरूको विशाल लहरले मलाई पुलकित बनायो । एउटा चित्रमा मजनु नीलो आँखा भएको एक हरिणलाई अँगालो हालिरहेका थिए, त्यो हरिण लैलाको प्रतीक थियो ।
यो पुस्तकालयमा करिब ४६ हजार वर्ग मिटरको विशाल क्षेत्रफलमा ५० लाख पुस्तकहरू र पुरातात्त्विक महत्त्वका विविध वस्तुहरू गरेर ८० लाख सामग्रीहरू सङ्ग्रहित छन् । धर्म, दर्शन, खोज–अनुसन्धान साहित्य लगायत अनेकन् विषयका ज्ञानको खजाना बोकेको यो पुस्तकालय साँच्चै नै विराट, अनुपम र भव्य थियो ।
११ तलाको उचाइमा रहेको यो भवन हेर्दा अपत्यारिलो देखिन्थ्यो । भित्र प्रवेश गरेपछि भने यो निकै भव्य थियो । मलाई किन–किन यसको संरचना पौराणिक कथाहरूमा वर्णित कुनै महलजस्तै रहस्यमय लाग्यो । जमिनमुनिको भूमिगत गुफाजस्तो संरचनामा यो विस्तारित भएको छ । यसको छानो र झ्यालहरूको वास्तु यसरी डिजाइन गरिएको छ, जहाँबाट छिर्ने सूर्यको किरण भुइँ र भित्ताहरूमा ठोकिँदा अक्षर बनेर झर्थे ।
पुस्तकहरूको अलग्गै संसार प्रतीत हुने जेरुसेलम राष्ट्रिय पुस्तकालय मलाई यति प्रिय लाग्छ कि जतिपटक आउँदा पनि कहिल्यै धीत मर्दैन ।
इजरायलमा गाडी कुर्ने बस स्टप, खेल मैदान तथा बगैँचा, मन्दिर कार्यालय जताततै पुस्तकालय छन् । रमाइलो त के भने सीसीटीभीको निगरानीबाहेक कुनै लाइब्रेरियन नभएका सडक र पार्कका ती पुस्तकालयबाट मन परेका पुस्तक जति पनि ल्याउन सकिने र चाहेको बेला फर्काउन सकिने ।
प्रविधि र श्रव्य–दृश्यको अत्यन्तै सुन्दर संयोजन भएको यस जेरुसेलम राष्ट्रिय पुस्तकालय केवल पुस्तकालय मात्र नभई पुरातात्त्विक महत्त्वको कुनै म्युजियम जस्तो पनि प्रतीत हुन्छ ।
दियो बाल्ने पर्व : हानुक्का
अङ्ग्रेजी नयाँ वर्षको आरम्भ हुँदै गर्दा इजरायलमा हानुक्का नामको आठ दिने चाड भर्खरै सकियो । जेरुसेलमको पवित्र स्थान पश्चिम पर्खाल र यहाँका हरेक घर–मन्दिर तथा कार्यालयहरूमा झिलिमिली दीप प्रज्ज्वलित भए, मैले घर सम्झिएँ, दीपावली र तिहार सम्झिएँ ।
हानुक्का दीपावली र उज्यालोको उत्सव हो, जब नेपालको कुनै गाउँघरमा तिहारमा देउसी–भैलो भट्याएजस्तै मन्त्र र गीतहरू फलाक्दै गरेको प्रार्थनाको ध्वनि जेरुसेलमका घरहरूमा गुन्जिए ।
भूत र रोबोट एकै ठाउँ
पुस्तकालयमा एकातिर दन्त्यकथामा वर्णित प्रेतात्मा र भूतका अनेक सामग्री, किस्सा र सङ्ग्रहहरू थिए भने सोही ठाउँमा अर्कोतर्फ प्रविधिको उच्चतम प्रयोग गरेर तिनको व्यवस्थापन अझ सटीक र छरितोसँग गरिएको थियो ।
पुस्तकालयमा मैले यस्तो पुस्तक भेटेँ, जसका पानाहरू सामान्य पुस्तकजस्तै छुन र पल्टाउन मिल्ने खालका थिए । ती पानाहरू आफैँमा इन्टर्याक्टिभ स्क्रिन थिए जसलाई टच स्क्रिन डिभाइसजस्तै छुन, क्लिक गर्न र आदेश दिन सकिन्थ्यो भने किताबजस्तै पल्टाएर हरेक पेज पढ्न पनि सकिन्थ्यो ।
नेपोलियन बोनापार्ट मध्यपूर्व विजय गर्ने क्रममा इजिप्ट हुँदै हालको इजरायलको जाफादेखि हाइफासम्म कसरी यात्रा गरेका थिए ? नक्सासहित यसको वृत्तान्त लेखिएको तस्बिर र स्लाइड भएको एक पुस्तक प्रविधिको उत्कृष्ट नमुनाको रूपमा छ ।
यी विविध धर्म र संस्कृतिका कृति र तिनका सन्देश यसरी एकै छानोमुनि यति सुन्दरताका साथ सजिन सक्छन् भने तिनलाई अँगालेर हिँड्ने मानिसमा किन यति विघ्न विभेद र घृणा विद्यमान छ ? किन बढिरहेको छ धर्म, संस्कृति र परम्पराको नाममा जातीय युद्ध र नरसंहार ?
यस पुस्तकालयको अर्को आकर्षण भनेको रोबोट कर्मचारी हुन् । पुस्तक निकाल्न र फिर्ता आएका पुस्तक उचित स्थानमा राख्न चारवटा रोबोट खटिइरहेका देखिए ।
अत्यन्त द्रूत गतिमा पुस्तकको भण्डारण र निकासी गर्ने यी रोबोटले पुस्तकालयको कार्य–सम्पादन चुस्त बनाएका छन् । माइनस तेस्रो तलामा रहेका सिसाको झ्यालबाट रोबोटका गतिविधि नियाल्न सकिन्थ्यो ।
प्राचीन युरोपेली शैलीमा डिजाइन गरिएको पुस्तकालयको गोलाकार अध्ययन कक्ष पनि निकै भव्य र आकर्षक छन्, जहाँ एकैपटक ६ सय मानिस बसेर अध्ययन गर्न सक्छन् । एकपटक बसेपछि घन्टौँ पढिरहुँ जस्तो लाग्ने शान्त र आनन्दमय वातावरण छ ।
युद्धको अनन्त शृंखला
इजरायलको उत्तरी सिमानामा पर्ने लेबनानमा रहेका इस्लामिक प्रतिरोधी समूह हिजबोल्लाहसँग युद्धविराम भएको थियो । अब यो प्रकरणको अन्त्य भइहाल्छ कि भन्ने झिनो आशा पलाएको थियो । कतै–कतै दक्षिणमा गाजातर्फ हमाससँग पनि युद्धविराम हुँदै छ भन्ने समाचार आइरहेका थिए ।
यस्ता समाचारले अलिकति आशाको सञ्चार गरेका थिए नै, तर युद्धरत दुवै पक्षले आ–आफ्ना अहंका अडान त्याग्न सकेका थिएनन् । जसले गर्दा सम्झौतामा पटक–पटक धोकाको पुनरावृत्ति भइरहेथ्यो र युद्ध अनन्त लम्बिइरहेको थियो । अब त हामीलाई साइरनका धुन सामान्य लाग्न थालेका थिए । रकेट र विस्फोटका आवाजसँग हामी भयभीत हुन पनि छाडिसकेका छौँ । युद्ध र आक्रमणका यी सबै घटनासँग हामी अभ्यस्त भइसकेका छौँ ।
पुस्तकालयमा एक विशेष कक्ष छ, जहाँ भित्ताभरि २० मिटर फराकिलो विशाल स्क्रिनमा श्रव्य–दृश्य सामाग्री प्रदर्शन गरिन्थे । अन्य विविध सिर्जनात्मक प्रस्तुतिसँगै हमास आक्रमणमा मारिएका र बन्दी बनाइएका अपहरितहरूको वृत्तचित्र र उनका सम्झनामा कोरिएका साहित्य क्रमशः भित्तामा पोखिन थाले । आतङ्कको अव्यक्त पीडाले आक्रान्त भएका सयौँ नागरिकसँगै जब हमासको अपहरणमा परेका विपिन जोशीको तस्बिर स्क्रिनमा देखियो, अनि म एकाएक भावुक भएँ ।
पछिल्ला वर्षहरूमा युद्धको कालो बादल अफगानिस्तानबाट हटेर युक्रेन र रसिया हुँदै मध्यपूर्वतिर मडारिन पुग्यो । यी वर्षहरू मध्यपूर्व युद्धको ठुलो भुमरीमा पर्यो, हजारौँले ज्यान गुमाए, लाखौँ अङ्गभङ्ग भए । यहाँको जनजीवन कहालीलाग्दो युद्धले आक्रान्त भयो । प्यालेस्टाइनको हमास, इराकी मिलिसिया, साउदी अरब र यमनमा सक्रिय हुथी, लेबनानका हिजबोल्लाहसहित मध्यपूर्वको शक्ति इरान समेत इजरायलसँग प्रत्यक्ष रणभूमिमा उत्रिए । विश्व सञ्चारमा जस्तो छवि स्थापित भए पनि अस्तित्वका लागि इजरायलले गरेको सङ्घर्ष शब्दमा अवर्णनीय रह्यो ।
विश्वमा धेरै विनाशकारी युद्धका शृंखलाहरू थपिए । सिरिया, म्यानमार, नाइजेरिया, मेक्सिको, ब्राजिल, सुडान, क्यामरुन तथा कोलम्बिया जस्ता देशमा पनि विभिन्न स्वरूपका युद्ध र घातक सङ्घर्षहरू भए । अबका वर्षहरूमा भने त्यस्तो नहोस् र युद्ध रोकियोस् । मानवीय सभ्यता नै लज्जित हुने गरी हाम्रो समयको आकाशमा मडारिएका युद्धका काला बादलहरू क्रमशः हट्दै जाउन् । हामीसँग केवल कामना र प्रार्थनाहरू मात्र बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्सव पुगेर फिल्म प्रचार गर्दै सलोन र दुर्गेश
-
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चले फैसला सुनाउँदै
-
इन्धनको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा ७० को मृत्यु
-
शपथ ग्रहण अघि अमेरिकामा ट्रम्पको विरोध
-
मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान
-
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित