आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
समाचार प्रभाव

कटहरियामा तीन महिना ढिलो गरी अर्धवार्षिक परीक्षा सुरु

आइतबार, ०६ माघ २०८१, ०९ : २१
आइतबार, ०६ माघ २०८१

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा तीन महिना ढिलो अर्धवार्षिक परीक्षा सुरु भएको छ। नगरपालिकाले समयमै व्यवस्थापन नगरेको कारण नगरक्षेत्र अन्तर्गतको सामुदायिक विद्यालयमा समयमा अर्धवार्षिक परीक्षा हुन सकेको थिएन । चौतर्फी विरोध भएपछि मेयर अजयप्रकाश जैसवालको निर्देशनमा नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा दुईदिन अघिदेखि अर्धवार्षिक परीक्षा सुरु भएको हो।

मेयर जैसवालको लापरबाहीको कारण नगर अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित भएको समाचार केही दिन अघि रातोपाटीबाट प्रशारण भएको थियो।

समाचार प्रसारण लगत्तै कटहरिया नगरक्षेत्र भित्र ५ वटा मावि,५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयमा कक्षा १ देखी १० सम्मको अर्धवार्षिक परीक्षा सुरु भएको हो। परीक्षामा कक्षा १ देखी १० सम्मको करिब १२ हजार  विद्यार्थी सहभागी भएको शिक्षकहरूले बताएका छन्।

यस आर्थिक वर्षमा नयाँ शैक्षिकसत्र गत वैशाखमा सुरु भएको थियो। शैक्षिकसत्रको हिसाबले गत कार्तिक मसान्त भित्र अर्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने थियो।

नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा बिद्यालय स्वयं आफ्नो स्रोत साधनले गराउने बाँकी अर्धवार्षिक र वार्षिक परीक्षा गराउन नगरपालिकाले व्यवस्था गर्दै आएको छ।

तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराएको कारण कटहरियाको सामुदायिक विद्यालयमा माघ ३ गतेदेखि मात्र अर्धवार्षिक परीक्षा सुरु भएको मावि भासेढवाका प्रधानाध्यापक राममंगल यादवले गुनासो गरे । 

मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर करोडौं रकम भ्रष्टाचार गर्ने षड्यन्त्र गरेकोभन्दै उपमेयर रिता देवीको नेतृत्वमा कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरूले गत पुस ९ गते तालाबन्दी गरेका थिए। तालाबन्दी हालसम्म पनि यथावत् रहेको छ।

इन्धन, डिपिआर, आर्थिक सहयोग, करार कर्मचारीको तलब लगायत मनपरी शीर्षकमा करोडौँ करोड रुपैयाँको बजेट चलाउने कटहरियाका मेयर अजय प्रकाश जैसावलले हजारौं विद्यार्थीको भविष्यसँग प्रत्यक्षरुपमा खेलवाड गरिरहेको चर्को गुनासो भएपछि बाध्य भएर अर्धवार्षिक परीक्षा सुरु गराएको अभिभावकहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप