आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
अनुवाद

एआईको युगमा सुखी जीवन

आइतबार, ०६ माघ २०८१, ०७ : १०
आइतबार, ०६ माघ २०८१
  • (क)

मानिसले कृत्रिम बौद्धिकता अर्थात् एआईप्रति देखाएको व्यवहार अनौठो छ । यसको ताजा उदाहरणका रूपमा जेनेरेटिभ एआई प्रयोग गर्ने ‘स्पोटिफाई र्‍याप्ड २०२४’विरुद्ध प्रयोगकर्ताले देखाएको निराशा र दिक्दारीलाई लिन सकिन्छ । गत वर्ष संगीतसम्बन्धी व्यवसायमा संलग्न कम्पनी स्पोटिफाईले श्रोतालाई वर्षभरि उनीहरूले रोजेको र सुनेको संगीतको आदतलाई आधार बनाएर प्रयोगकर्ताको व्यक्तित्वबारे सारांश उपलब्ध गरायो । अधिकांश उपयोगकर्तालाई यस प्रकारको ठम्याइ चित्त बुझेन । उनीहरूले यसको खिल्ली उडाए । 

धेरै प्रयोगकर्ताले सामाजिक सञ्जालमा एकसाथ स्पोटिफाई छाड्ने घोषणा गरे । एक जना प्रयोगकर्ताले एक्समा लेख्दै यतिसम्म भन्न भ्याए– ‘स्पोटिफाई र्‍याप्ड त मेरो वार्षिक मानसिक स्वास्थ्यको रिपोर्टजस्तो हुन थाल्यो । यो त प्रत्येक वर्ष झन्–झन् खराब हुँदै गइरहेको छ ।’

स्पोटिफाईले ‘पिंक पिलेट्स प्रिन्सेस’ र ‘इन्डी स्लिज क्याटवाक’जस्ता संगीत विधालाई प्रयोगकर्तासमक्ष ‘उनीहरूले धेरै मन पराएको’ भनेर देखाइदियो । यसलाई प्रयोगकर्ताले वाहियात भनिदिए । प्रयोगकर्ताले मौलिक रूपमा संगीतको आनन्द लिने कुरालाई आफूखुसी मौलिकजस्तो गरेर प्रस्तुत गर्ने एपको शैली उल्टै प्रत्युत्पादक भयो । प्रयोगकर्ताले र्‍याप्डलाई भद्रगोल र बनावटी भएकामा आलोचना मात्रै गरेनन्, यसलाई एआईको छलसमेत भने ।

यसरी स्पोटिफाईले आफ्नो प्रणालीमा एआईको प्रयोग गरेको यो पहिलो पटक थिएन । कम्पनीले सन् २०२३ डिसेम्बरमा १५ सय कामदारलाई निकालेको थियो । ती कार्मचारीलाई एआईले प्रतिस्थापन गरेको थियो । यसरी एआईमा बढ्दो निर्भरताले पनि प्रयोगकर्ताको लाचार रिसमा थप बल थपेको थियो ।

स्पोटिफाई र्‍याप्डविरुद्ध यसरी भइरहेको असन्तुष्टिले हामीलाई धेरै कुरा देखाइरहेको छ ।

सामान्यतः एआईले हामीलाई गलत रूपमा बुझेको वा गलत ढंगले प्रस्तुत गरेको साथै हाम्रा बारेमा बुझ्दा पक्षपाती भएकामा यसको आलोचना गर्ने गर्छौं । यसको अन्तर्यमा एआईले हामीलाई साँच्चै बुझोस् भन्ने पो चाहन्छौँ कि जस्तो देखिन्छ । विडम्बना नै भनौँ ! एकातर्फ एआईले हामीलाई राम्रोसँग बुझेन पनि भन्छौँ । अर्कातर्फ पूर्णरूपमा बुझ्ला वा प्रतिस्थापन गरिदेला भनेर पनि त्यति नै डराउँछौँ । हाम्रो खास डर यसैसँग सम्बन्धित छ । यो साँच्चै खतरा बन्ला भन्ने डर छ हामीमा । यस्तो खतरामा सशंकित पनि एकैसाथ भइरहेका हुन्छौँ । यसले एकैसाथ हामीलाई एआईको आवश्यकता र यसबाट उत्पन्न खतराबारे त्रासको गोलचक्करमा फसाइदिन्छ ।

एकातर्फ एआईले हामीलाई राम्रोसँग बुझेन पनि भन्छौँ । अर्कातर्फ पूर्णरूपमा बुझ्ला वा प्रतिस्थापन गरिदेला भनेर पनि त्यति नै डराउँछौँ । हाम्रो खास डर यसैसँग सम्बन्धित छ ।

यसो गर्दैगर्दा ख्याल गर्नुपर्ने विषय के हो भने एआईले हामीलाई राम्रोसँग बुझ्न नसक्नु वा हामी को हौँ भन्नेबारे ठीकसँग ठम्याउन नसक्नु नितान्त खराब कुरा पटक्कै होइन । एआईको यस्तै अक्षमताभित्र कतै मानवताको आशाको त्यान्द्रो झुन्डिएको छ । खासमा सामान्यजस्तो लाग्ने यही बुझाइको अपूर्णता वा त्रुटिले नै हामीलाई सबैभन्दा ठूलो खतराबाट जोगाउँछ । मान्छेलाई मेसिनले दास बनाउने वा वैश्विक एआईको दबदबा हुने ‘विश्व महामस्तिष्क’ले मान्छेलाई पूरै नियन्त्रण र सञ्चालन गर्नेजस्ता भविष्यको शक्तिशाली एआईको समयबारे अहिले चलिरहेका प्रलयकारी परिकल्पनाबाट जोगिन हामीलाई एआईका यस्तै कमजोरीले सघाउन सक्छन् ।

हामी संगीतको सन्दर्भबाटै यसबारे केही बुझ्न सक्छौँ । गहिरो व्यक्तिगत अनुभव, सम्झना र अचेतन सम्बन्धसँग बाँधिएको हुने हुँदा संगीतले हाम्रो भित्री जीवनलाई डेटा र एल्गोरिदमको पहुँचभन्दा बाहिरका तरिकाले प्रतिविम्बित गर्छ । प्रयोगकर्ताको गतिविधिको मापन वा ‘मेट्रिक्स’को विश्लेषण गर्न सीमित एआईले यो गहनतालाई पूर्णरूपमा बुझ्न सक्दैन । त्यसैले यसको असफलता अपरिहार्य देखाउँछ । 

artificial-intelligence-pixabay-1200x600

हाम्रा लागि संगीत खास चिज हो । यसको सम्बन्ध हाम्रा गहिरा व्यक्तिगत अनुभूति, स्मृति, अचेतन स्तरको साहचर्यसँग हुन्छ । यसले हाम्रो आन्तरिक जीवनलाई डाटा र अल्गोरिदमको पहुँचभन्दा पर बेग्लै तरिकाले प्रस्तुत गर्छ । प्रयोगकर्ताको गतिविधिको तथ्यांकको विश्लेषण गर्ने हदसम्म मात्रै सीमित रहने एआईले यस्तो गहिराइ समेट्न सक्दैन । यसले एआईको असफलता अपरिहार्य मात्रै नभएर अवश्यम्भावी पनि देखाउँछ । 

हाल चलिरहेको एआईलाई दिइँदै गरेको तालिमले यसमा निरन्तर सुधार गराइरहेको छ । यो हुबहु मान्छेजस्तै बन्ने बाटोमा अग्रसर छ । यसको अन्तिम लक्ष्य हामीलाई मान्छे बनाउने आधारभूत कुराको समेत नक्कल गरी त्यही स्तरको क्षमता हासिल गर्नु हो जस्तो भान हुन्छ । यसै क्रममा यसले हाम्रो जीवनको जटिल पाटोमा पहुँच पाएको छ । यो हाम्रो भित्री जीवनको जटिल परिदृश्यमा प्रवेश गर्दै छ ।

एआईको अन्तिम लक्ष्य हामीलाई मान्छे बनाउने आधारभूत विषयको समेत नक्कल गरेर त्यही स्तरको क्षमता हासिल गर्नु हो । यो हाम्रो भित्री जीवनको जटिल परिदृश्यमा प्रवेश गर्दै छ ।

हामी पछिल्लो समय सुन्दै छौँ, आजभोलि मेसिन लर्निङले मानिसमा विकास हुने गरेको आत्मरतिको सिर्जनामा मस्तिष्क भित्रका न्युरोनहरूको तौरतरिकाबारे भेउ पाउन थालेको दाबी गरिएको छ । यसले उत्ताउला सम्भावना बढाउँछ । उदाहरणका लागि तपाईं आत्मरतिले भरिएको आफ्नो जीवनसाथीलाई दयालु र सहानुभूतशील बनाउन चाहनुहुन्छ भने तपाईं एआई मनोचिकित्सकको सहयोग लिन सक्नुहुन्छ । यस्ता यान्त्रिक मनोचिकित्सकलाई अंग्रेजीमा ‘सिलिकन स्रिंक’ भन्ने गरिन्छ । हाम्रो स्वास्थ्य परीक्षणका नतिजाको विश्लेषण गर्ने एआई–चिकित्सकको तुलनामा यस्ता एआई–मनोचिकित्सक हाम्रो मनको भित्रसम्म पुग्न सक्छन् । यसरी गहिराइसम्म भएको पहुँचले मेसिनलाई मानिसको मस्तिष्क पूर्णरूपमा बुझ्नेतर्फ लैजान्छ ।

प्रविधि कम्पनी ‘एनभिडिया’का प्रमुख कार्यकारी अधिकृत जेनसेन हुआङजस्ता टेक गुरु तथा उद्यमीका अनुसार हामी संकलित तथ्यांक प्रयोग गर्दै व्यापक र ऐतिहासिक रूपमा बौद्धिकतामा संक्रमण गरिरहेका छौँ । ‘तथ्यांकदेखि एआईसम्म’ यस्तो अभूतपूर्व रूपान्तरण भइरहेको छ । अबका दिनमा एआई उत्पादनका लागि चाहिने महत्त्वपूर्ण कच्चा पदार्थ नै तथ्यांक अर्थात् डेटा हो ।

मेसिन बाँच्न मान्छे चाहिन्छ । सन् १९९९ मा आएको हलिउड चलचित्र ‘द म्याट्रिक्स’ले हामीलाई यसबारे केही विषय राम्रोसँग देखाएको छ । त्यस सिनेमामा हाम्रो दैनिक जीवन र संसारलाई कम्प्युटरद्वारा सञ्चालित प्रणाली अर्थात् एकप्रकार महाजाल (म्याट्रिक्स)का रूपमा देखाइएको छ । त्यो प्रणाली आवश्यक ऊर्जाका लागि भने मानिसमा निर्भर हुने गर्छ ।

अब हाम्रो प्रश्न आइपुग्छ । ‘डेटाका रूपमा परिणत गर्न नसकिने मानव जीवनमा के छ ? के हामी मेसिनको पकडमा कहिल्यै नआउने जीवन जिउन सक्छौँ ?’ सायद यसरी सोध्दै जाँदा हामी युगौँदेखि हाम्रो समाज र यसका चिन्तकले सोध्दै गरेको प्रश्नमा आइपुग्छौँः– असल जीवन के हो ? एरिस्टोटलको जवाफ थियो– ‘चिन्तनपूर्ण जीवन नै असल जीवन हो ।’ बुद्धको जवाफ थियो– ‘कर्मको बन्धनमुक्त जीवन नै असल जीवन हो ।’ यसैगरी नित्से भन्थे– ‘जहाँ हाम्रा अचेतन प्रवृत्ति र चेतनाको मिलन हुन्छ त्यहीँ असल जीवन हुन्छ ।’

के हाम्रो वास्तविक मानव स्वत्व परिवर्तन हुँदै छ ? हामीले आफूबाट अलग मेसिनको आफैँ नक्कल पो गर्दै छौँ कि ? के ‘शत्रु’ ठानिएको एआईको प्रभाव– हाम्रो जीवनमा सहज बन्दै गइरहेको छ ?

एआईको दायराभन्दा बाहिरको हाम्रो जीवनका मौलिकता वा भनौँ जीवनका मानवीय विशिष्टता फैलिँदै छन् कि खुम्चिँदै छन् भन्ने हामी विचार गर्न सक्छौँ । एआई र यसका खतरा अनि यसलाई नियन्त्रण गर्ने नीतिबारे सोच्नुको सट्टा हामी आफूले बाँचिरहेको जीवनबारे खोज्न वा विचार गर्न सक्छौँ । हाम्रो आन्तरिक तथा बाह्य जीवन कति समृद्ध छ भन्नेबारे खोज्न सक्छौँ । 

के हाम्रो वास्तविक मानव स्वत्व परिवर्तन हुँदै छ ? हामीले आफूबाट अलग मेसिनको हामी आफैँले नक्कल पो गर्दै छौँ कि ? के ‘शत्रु’ ठानिएको एआईको प्रभाव– हाम्रो जीवनमा सहज बन्दै गइरहेको छ ? 

  • (ख)

‘एआईको युग’ भनिएको आजको समयमा कयामतको दिन, ‘अन्तिम घडी’ वा महाप्रलयको चर्चाले मानिसको अधिक ध्यान तानिरहेको छ । विभिन्न मुलुकका सरकार, नीति–निर्माता तथा प्रविधि क्षेत्रका नवप्रवर्तकको छलफल मेसिनका सम्भावना र चुनौतीतर्फ केन्द्रित हुन थालेका छन् । उनीहरू अबका दिनमा मेसिनले मानिसलाई कसरी कब्जा गर्न सक्छन् वा कसरी समाजमा विघटनकारी हस्तक्षेप गर्न सक्छन् भन्नेबारे छलफल गर्न थालेका छन् । 

मेरी शेलीले सन् १८१८मा ‘फ््रयांकस्टाइन’ नामको गजब आख्यान लेखेकी छन् । जसमा मानिसले कसरी फ््रयांकनस्टाइनजस्तो राक्षस बनाउन पुग्छन् भन्ने कथा समावेश छ । शेलीको विचार अझै पनि विनाशकारी काल्पनिक कथाको दुनियाँमा चर्चाको विषयमा जीवित छ । आजको दिन यो कल्पनाको दुनियाँमा मात्रै पनि सीमित छैन । यो हाम्रो वास्तविक जीवनमा बढ्दो चिन्ताको विषय बन्दै जान थालेको छ । यसले आम–जीवनको डिजिटलाइजेसनले ल्याउने खतरा, ‘डिप–फेक’, साइबर अपराध, ‘डार्क क्रिप्टो’ तथा एआईलाई नियमन गर्नुपर्ने टड्कारो आवश्यकताजस्ता थप विषयबारे निरन्तर छलफललाई प्रेरित गराइरहेको छ ।

यो विषयलाई राम्रोसँग बुझ्न हामीले एउटा त्यस्तो दुनियाँको कल्पना गरेर हेर्न सक्छौँ जहाँ अब सबै कुरा खत्तम भइसक्यो भन्ने अवस्था हुन्छ । वा, हामी महाप्रलयको घडीमा पुगी नै सकेका छौँ भन्ने अवस्थाको कल्पनाले हामीलाई त्यसबारे विस्तृतमा बुझ्न सजिलो बनाउँछ ।

यसरी सोच्ने कुरा नितान्त नौलो पक्कै होइन । चलचित्र वा कमिक्सलगायत मनोरञ्जन उद्योगका विविध विधाले यस्ता महाप्रलयका कथा औधी मन पराउने गरेका छन् । तिनीहरूमा यस्ता कथा प्रशस्त प्रयोग भएका छन् ।

‘एआईको युग’मा महाप्रलयको चर्चाले मानिसको अधिक ध्यान तानिरहेको छ । विभिन्न मुलुकका सरकार, नीति–निर्माता तथा प्रविधि क्षेत्रका नवप्रवर्तकको छलफल मेसिनका सम्भावना र चुनौतीतर्फ केन्द्रित हुन थालेका छन् । उनीहरूले मानिसलाई मेसिनले कसरी कब्जा गर्न सक्छन् भन्नेबारे छलफल गर्न थालेका छन् । 

चर्चामा आएका चलचित्रहरू ‘डुन’ (सन् २०२१) वा ‘म्याड म्याक्स फ्युरी’ (सन् २०१५)कै कुरा गरौँ । जसको कथानक महाप्रलय पछिको परिवेशमा तयार गरिएका छन् । वा, भनौँ ‘पोस्ट–एपोकेलिप्टिक’ संसारहरूमा सेट गरिएका छन् । यी प्रस्तुति र कथाले प्रायः सबै कुरा नष्ट भएपछि साँचो स्वतन्त्रता आउँछ भन्नेजस्ता अभिव्यक्ति प्रस्तुत गरेका छन् । जस्तोः सन् १९९९ मा आएको चलचित्र ‘फाइट क्लब’कै यो संवाद हेरौँ । जसमा ‘हामीले सर्वस्व गुमाएपछि मात्रै हामी जेसुकै गर्न सक्ने हुन्छौँ’ भनिएको छ । महाप्रलय पछिको मोक्षको अवधारणा प्रस्तुत गरिएको छ ।

चलचित्रको अन्तिम दृश्यमा एक जना पात्र मार्ला र अनिद्राग्रस्त नायकले ठूलो विनाश देख्छन् । ऋणको अभिलेख सधैँका लागि मेटाउन बैंकका भवन नै विस्फोट गरिदिने वा उस्तै पर्दा संसारकै विनाशमार्फत मात्र आफ्नो उद्देश्य प्राप्त भएको देखिन्छ । 

  • (ग)

हाम्रा अगाडि जटिल प्रश्न आइपुग्छन् । के ‘स्किजोफ्रेनिक’ जीवन नै असल वा उत्तम हो ? के अब हामीले भ्रम र यथार्थबिच रुमलिएजस्तो लाग्ने त्यस्तै परिकल्पनाको जीवनलाई नै ‘असल जीवन वा सुखी जीवन’ ठान्नुपर्ने हो ?’

धेरै आयामबाट हेर्दा हामी यस्तो पाउछौँ, जब ‘सबै कुरा सकिँदै छ’ (प्रलय हुँदै छ) भन्ने अवस्था आइपुग्छ । मानिस साँच्चै स्वतन्त्र हुन्छन् । चलचित्र ‘फाइट क्लब’मा देखाइएअनुसार त्यो अवस्थामा मानिस बहुआयामिक वा स्किजोफ्रेनिकजस्तो लाग्ने तरिकाले व्यवहार गर्छन् । तिनीहरूको जीवनयापनको तौरतरिका र एकापसको सम्बन्ध त्यसैगरी चल्छ । 

Matrix

दार्शनिक गिल्स डेल्युजको सन् १९७२ मा प्रकाशित पुस्तक ‘एन्टी–इडिपसः क्यापिटालिजम एन्ड स्किजोफ्रेनिया’मा यस्तो प्रकारको मनोदशायुक्त ‘स्किजोफ्रेनिक जीवन’लाई विद्यमान सामाजिक व्यवस्थाको प्रतिवादका रूपमा परिभाषित गरेका छन् । यसलाई थप प्रकाश पार्दै परम्परागत मान्यतामा फस्नुको सट्टा संसारसँग अन्तक्र्रियामार्फत स्वतन्त्रतालाई जोड दिँदै उनी तर्क गर्छन्– ‘हिँड्नका लागि बाहिर निस्कने स्किजोफ्रेनिक व्यवहारवाला जीवन सोफामा सुतिरहेको न्युरोटिक र गफाडी जीवनभन्दा पक्कै पनि राम्रो हो ।’ 

उनले यस्तो स्किजोफ्रेनिक व्यक्तिलाई ‘होमो नेचुरा’ भनेका छन् । साथै आत्म–अनात्म तथा आन्तरिक–बाह्य भनिएका कुराबिच कुनै तात्त्विक भेद नभएको पनि बताएका छन् । एउटा पेट्टी–बुर्जुवा रोमान्टिक कविको निम्नानुसारको कविताः–

’जरुर साथी म पागल !

यस्तै छ मेरो हाल ।

म शब्दलाई देख्दछु !

दृश्यलाई सुन्दछु !

बास्नालाई स्वाद लिन्छु ।

आकाशभन्दा पातालका कुरालाई छुन्छु ।’

यो कविता पनि सिग्मन्ड फ्रायडको संकीर्ण मनोवैज्ञानिक विश्लेषणबमोजिम स्किजोफ्रेनियामा पर्छ होला । तर, आदिवासीहरूको प्रकृति र घरेलु, रसातली भगवान् सितको उल्लासित, लौकिक र मुक्त अन्तरसम्बन्ध नै स्किजोफ्रेनियाको सही बुझाइ मान्न सकिन्छ– बहुआयामिक, बहुध्रुवीय, प्रपञ्चरहित ।

हामीले यहाँ ख्याल गरिरहेको कुरा अर्थहीनता हो । वा, अर्को शैलीमा भन्दा जीवनका रूपमा शून्यता हो । यसले एककिसिम जीवनको अस्वीकृतिलाई जनाउँछ । यसले अभिव्यक्ति, प्रतिनिधित्व वा सञ्चारको प्रचुरतालाई प्राथमिकता दिने जीवनलाई अस्वीकार गर्ने कुरा गर्छ । अर्को शब्दमा यसले अर्थ व्यक्त गर्ने वा विचारहरूलाई अस्तित्वको केन्द्रका रूपमा व्यक्त गर्ने परम्परागत तरिकालाई चुनौती दिन्छ । 

विभिन्न प्रकारका तथ्यांकका ढाँचा, मापन वा अल्गोरिदमभन्दा बाहिर पनि जीवन छ भन्ने सबैलाई राम्रोसँग थाहा छ । 

बरु शून्यता वा अन्तर्निहित अर्थको अभावले जीवनको सारलाई परिभाषित गर्ने दृष्टिकोणलाई अँगाल्छ । यस्तो जीवन सहजै नक्कल गर्न सकिन्न । साथै, एआईको विभेद अनि असफलता यहीँबाट आरम्भ हुन थाल्छ । त्यसरी नै पुँजीको तमासाका लागि आवश्यक पर्ने चिज पनि यस्तो जीवनले प्रदान गर्दैन । पुँजीले आफ्नो वृद्धिका लागि चाहिने आहार तथा पोषण अब पाउँदैन ।

यसो हुँदा हामीले प्रश्न गर्नै पर्ने हुन्छः कसरी कसैले कुनै गतिविधिलाई तमासा सिर्जना नगरी सञ्चालन गर्न सक्छ त ? तपार्इं आफूलाई हरदिन आफैँले सिर्जना गरिरहेको संरचनाको प्रतिविम्ब हुनबाट कसरी जोगाउने हो ? हामी कस्तो जिन्दगी बाँचिरहेका छौँ ? 

आधुनिकताको यस्तो नियतिबारे आन्द्रेई तार्कोभ्स्की धेरै समझदार प्रतीत हुन्छन् । हामी यसबारे थाहा पाउन उनले सन् १९७९ मा बनाएको चलचित्र ‘स्टाल्कर’लाई नै लिन सक्छौँ । उनले त्यसमार्फत केही खास कुरा सुझाएका छन् । खासगरी त्यस चलचित्रमा देखाइएको ‘जोन’ भनिएको क्षेत्र र त्यसको केन्द्रमा भएको ‘रुम’ भनिएको कोठातर्फ गरिने यात्राले धेरै कुरा बताउन खोजेको छ ।

विभिन्न प्रकारका तथ्यांकका ढाँचा, मापन वा अल्गोरिदमभन्दा बाहिर पनि जीवन छ भन्ने सबैलाई राम्रोसँग थाहा छ । हामीले लेखको सुरुवातमा चर्चा गरेको स्पोटिफाईको र्‍याप्डका प्रयोगकर्ताले गुमाएको, अस्वीकृत भएको ठानेको तथा गलत सोचिएको/बुझेको कुराबारे तार्कोभ्स्कीले जीवन्त रूपमा परिकल्पना गरेका छन् ।

उनी चलचित्रमा एउटा यस्तो संसारको कल्पना गर्छन् जहाँ फ्रायडियन अचेतनता बाँकी रहँदैन । त्यसको ठाउँमा बाह्य अचेतनता आउँछ । यसलाई अचेतनको माक्र्सवादी–भौतिकवादी स्वरूप भन्न पनि सकिन्छ । जागृत हुँदाहुँदै पनि स्वप्नजस्तै भान हुने एउटा संसार बन्छ । जसमा हामी बाँचिरहेका छौँ र हिँडिरहेका छौँ । जसमा भित्री र बाहिरी जीवन एकापसमा घुलमेल हुन्छन् । 

‘एआईका खतराहरू’ गनेर कोलाहल मच्चाएर बसिरहन आवश्यक छैन । हामी इतिहासमा स्वचालित मेसिन तोडफोडमा उत्रेका लुडाइट भनिने आन्दोलनकारी कामदारजस्तो बन्नुहुँदैन । हामी हाम्रो न्यून मानवीय काम एआईलाई गराउन सक्छौँ ।

डेल्युजले उल्लेख गरेजस्तै बाह्य र आन्तरिक जीवन उस्तै भएको वा भनौँ भिन्नताको अर्थ नभएको अवस्था हुन्छ । यसरी प्रस्ट अनुभूति हुने जीवन्त जीवनले डेटा वा मेट्रिक्सलाई चुनौती दिन्छ । सबैभन्दा साहसी र रचनात्मक चुनौती भनेकै ‘स्टाल्कर’मा देखाइएजस्तै ‘जोन’मा आएर जीवनको सारलाई कैद गर्न एआईलाई आह्वान गर्नु हो ।

हामीले ‘एआईका खतराहरू’ भनेर यस्ता पार नलाग्ने खालका कोलाहल धेरै मच्चाएर बसिरहन आवश्यक छैन । यस्तो गन्थनभन्दा अघि जाने हिम्मत गर्नुपर्छ । सबैभन्दा पहिले आफ्नो जीवनलाई ठीक गर्नुपर्छ । आजको दिनमा मान्छे हुनु भनेको के हो भन्नेमा बढी ध्यान दिन आवश्यक छ । यसो गर्नाले यो सबै तमासा हाम्रो प्रतिविम्ब बन्न पाउँदैन ।

यसो गर्दा अहिले हाम्रो आन्तरिक जीवनले एआई र ‘विश्व मस्तिष्क’लाई हामीमाथि नियन्त्रण गर्ने प्रयासलाई निराश तुल्याउन सक्छ । यसैले गर्दा धेरै मानिस एआईसँग हरदम क्षुब्ध रहनेछन् । यी सबैका बाबजुद पनि हामीले एआईको प्रयोग गर्न सक्छौँ । र, प्रयोग गर्नु पनि पर्छ । हामी इतिहासमा स्वचालित मेसिन तोडफोडमा उत्रेका लुडाइट भनिने आन्दोलनकारी कामदारजस्तो बन्नुहँुदैन । हामी हाम्रो न्यून मानवीय काम यस्ता एआईहरूलाई गराउन सक्छौँ । 

अन्यथा नठान्नुहोला ! म त एआईसँग खेल्न मन पराउँछु ।

मैले भर्खरै मात्र एकदम मजा मान्दै ओपनएआई कम्पनीको सोरा नामक भिडियो उत्पादन गर्ने एआई टुलबाट एउटा भिडियो बनाएँ । त्यसलाई निर्देशनका रूपमा दिइएका वाक्य निम्नानुसार थिएः–

‘एउटा झकिझकाउ भव्य ऐतिहासिक हलमा विशाल ज्वारभाटाको छाल उठ्छ र बिस्तारै झोक्का दिन थाल्छ । दुई जना मान्छे त्यो अवस्थाको फाइदा उठाउँदै छालमाथि कुशलतापूर्वक पौडिन्छन् ।’

(गिरी दिल्ली विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् ।) 

(प्रस्तुत आलेख ‘द वायर’बाट अनुवाद गरिएको हो । साथै, अनुवादका क्रममा लेखक स्वयंले सम्पादनसहित केही प्रसंग थपेका छन् ।)

अनुवादः रोहित बास्तोला

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.सरोज गिरि
डा.सरोज गिरि
लेखकबाट थप