आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
इन्धन डिपो स्थानान्तरण

तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?

आइतबार, ०६ माघ २०८१, ०६ : २४
आइतबार, ०६ माघ २०८१

काठमाडौँ । नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् । सिनामंगलको त्रिभुवन विमानस्थलबाट उत्तर–पश्चिम गुह्येश्वरीतर्फ, लुम्बिनीको रूपन्देही भलवारीबाट रोहिणी नदी किनार र सुदूरपश्चिमको धनगढीबाट अत्तरियामा सार्न लागिएको हो । 

सुदूरपश्चिमको डिपो सार्न साढे तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ । लुम्बिनीको लागत तीन अर्ब २० करोड अनुमान गरिएको छ । सिनामंगलको भने यकिन भइसकेको छैन । यसअघि करिब ६ अर्ब लागत अनुमान गरिएकामा बढ्न सक्ने निगमका अधिकारी बताउँछन् । 

निगमले यी तीनमध्ये सिनामंगलको डिपो स्थानान्तरणको डीपीआर तयार गर्न पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको छ । लुम्बिनीका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । सुदूरपश्चिमका लागि पनि काठमाडौँ विश्वविद्यालयसँगै सम्झौता गर्ने तयारी भएको निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप यादव बताउँछन् । उनका अनुसार यी तीनै डिपो स्थानान्तरण कार्य २०८४ सालभित्र सम्पन्न गरिसक्ने योजना छ ।  

धनगढीबाट अत्तरिया सार्न साढे तीन अर्ब लाग्ने

परियोजना प्रमुख यादवका अनुसार सुदूरपश्चिम प्रादेशिक डिपो घना बस्तीसँगै भएको र व्यावसायिक मागसमेत धान्न नसक्ने भएर धनगढीबाट अत्तरियामा सार्न लागिएको हो । ‘डिपो सुरक्षाको मापदण्डभन्दा बाहिर परेका कारण बस्तीसमेत जोखिममा परेकाले सार्न लागिएको हो,’ उनी भन्छन् । 

उनका अनुसार निगमको आर्थिक वर्ष २०८१/८२ को बजेटमा सञ्चालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ’ भन्ने बुँदा समेटिएको छ । ‘त्यस बुँदालाई मनन गरी स्थानान्तरण थालिएको हो,’ यादव भन्छन् ।

कैलालीको गोदावरी नगरपालिका–८ अत्तरियास्थित पूर्व–पश्चिम राजमार्गनजिकै २० बिघा १६ कट्ठा आठ धुरमा नयाँ डिपो बनाउने तयारी थालिएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार उक्त जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ । 

यादवका अनुसार जग्गा प्राप्ति यही माघ १५ गतेभित्र मन्त्रिपरिषद्बाट स्वीकृत हुने अपेक्षा छ । आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न भई २०८२ वैशाख पहिलो साताभित्र शिलान्यास गर्ने तयारी छ । नयाँ स्मार्ट डिपो २०८४ वैशाखभित्र सञ्चालनमा ल्याइने भएको छ । यस परियोजनामा डीपीआर, डिपो निर्माण एवं जग्गा अधिग्रहणको कुल अनुमानित लागत साढे तीन अर्ब छ । 

धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ ।

उक्त स्थानमा ११ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण गरिने भएको छ । जसमध्ये पेट्रोल एक हजार ८००, डिजेल ६ हजार ६००, मट्टीतेल ५०० र पानी ट्यांकी तीन हजार किलोलिटर क्षमताको निर्माण गर्ने जनाइएको छ ।

यसअघि कञ्चनपुरको पुनर्वास–३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघामध्ये २२ बिघा माग गरिएको थियो । तर, स्थानीयवासीबाट विरोध आएको कारण देखाई पुनर्वास नगरपालिकाले जग्गा दिन इन्कार गरेपछि अर्को स्थान खोज्नुपरेको थियो । 

धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ । सात दिनको माग पुग्ने गरी ७६० किलोलिटरका दुइटा डिजेलको भर्टिकल ट्यांक छन् । ७६० किलोलिटरको एउटा पेट्रोल ट्यांक छ । ७०/७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टीतेलका तीनवटा अन्डरग्राउन्ड ट्यांक छन् । 

उक्त डिपोबाट सुदूरपश्चिमका नौ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन वितरण भइरहेको छ । २०३७ सालमा निर्माण भएको उक्त डिपो क्षेत्रमा त्यति बेला बस्ती थिएन । हाल वरिपरि बाक्लो बस्ती बसिसकेको छ । डिपोका कारण बस्तीमा त्रास बढेको गुनासो दैनिक रूपमा आएपछि धनगढी नगरपालिकाले सार्न निगमलाई आग्रह गरेको थियो ।

लुम्बिनी प्रादेशिकमा ३२० करोड लागत अनुमान 

निगमले लुम्बिनी प्रादेशिक इन्धन डिपो रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकास्थित रोहिणी नदी किनारमा सार्ने प्रक्रिया अघि बढाएको छ । त्यहाँ करिब २१ बिघामा अत्याधुनिक प्रविधियुक्त डिपो निर्माण गरिने भएको छ । काम थालेको तीन वर्षमा सक्ने योजना छ । यस परियोजनामा तीन अर्ब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

रोहिणी नदी किनारमा मंसिर १२ गते कार्यक्रम गरी डीपीआर तयार गर्न काठमाडौँ विश्वविद्यालयलाई जिम्मा दिइएको छ । एक करोड ९५ लाख ७६ हजार लागतमा ६ महिनाभित्र डीपीआर तयार गर्ने सम्झौता भएको छ ।  

जहाँ डिजेल भण्डारण गर्न तीन हजार किलोलिटर क्षमताका तीन ठूला भर्टिकल ट्यांक निर्माण गरिने भएको छ । पेट्रोल भण्डारण गर्न दुई हजार २८० किलोलिटर र मट्टीतेल भण्डारण गर्न ५०० किलोलिटरको ट्यांक बनाउने तयारी छ । डिपोमा कम्तीमा १५० वटा ट्रक तथा ट्यांक सजिलै आवतजावत गर्न सक्ने पार्किङ स्थल बनाइने भएको छ । अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डअनुसार निर्माण गरी नयाँ प्रविधिको सुरक्षा प्रणाली जडान गर्ने तयारी छ ।

रोहिणी नदी किनारमा मंसिर १२ गते कार्यक्रम गरी डीपीआर तयार गर्न काठमाडौँ विश्वविद्यालयलाई जिम्मा दिइएको छ । एक करोड ९५ लाख ७६ हजार लागतमा ६ महिनाभित्र डीपीआर तयार गर्ने सम्झौता भएको छ । 

परियोजना प्रमुख यादव २०८४ मंसिरसम्म सो स्थानमा स्थानान्तरण गरिसक्ने हिसाबले डिपो निर्माण गर्न लागिएको बताउँछन् । साथै इन्धनमा माग बढेसँगै साँघुरो स्थानमा डिपो रहेका कारण सुरक्षाको चुनौती बढेसँगै इन्धन डिपो स्थानान्तरण गर्नुपरेको यादवको भनाइ छ ।

भलवारीस्थित करिब साढे पाँच बिघा जमिनमा लुम्बिनी प्रादेशिक कार्यालयसहित इन्धन डिपो छ । जहाँ पेट्रोल ५१९, डिजेल तीन हजार ४० र  मट्टीतेल १४० किलोलिटर भण्डारण क्षमताका ट्यांक छन् । उक्त डिपोमा पेट्रोल भण्डारण क्षमताले दुई दिन र डिजेलको क्षमताले पाँच दिनको माग मात्रै धान्दै आएको थियो ।

खोला किनारमा जग्गा रहेकाले पानी आउन नदिन जग्गा सम्याउने र रिटेनिङ वाल लगाउने काम सकिएको छ । डीपीआर तयार गर्ने कार्य भइरहेको छ । 

सिनामंगलबाट गुह्येश्वरी सार्न लागत कति ?

हवाई इन्धन कार्यालय सिनामंगलको डिपो त्रिभुवन विमानस्थलको उत्तर–पश्चिमतर्फ गुह्येश्वरीमा स्थानान्तरणको कार्य अघि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरणले गुह्येश्वरी क्षेत्रमा उपलब्ध गराएको ५० रोपनी जग्गामा नयाँ डिपो निर्माण गर्न लागिएको हो । जुन १५ हजार किलोलिटर क्षमताको रहनेछ । 

त्रिभुवन विमानस्थलको दक्षिण–पश्चिमतर्फ रहेको डिपो साँघुरो छ । साथै विमानस्थल विस्तार गुरुयोजनाभित्र पनि परेकाले स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो । गुरुयोजनामा डिपो ‘ट्याक्सी वे’मा पर्ने भएपछि नागरिक उड्डयन प्राधिकरणले त्यसलाई सार्न दुई वर्षदेखि ताकेता गरिरहेको थियो ।

उक्त डिपोको डीपीआर तयार गर्न निगमको हवाई इन्धन कार्यालय सिनामंगल र पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभागबिच सम्झौता भएको छ । विभागले गत मंसिर ५ गते ६ महिनामा सम्पन्न गर्ने गरी एक करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ ७३ पैसा लागतमा काम अघि बढाएको छ । डिपो प्रमुखसमेत रहेका यादवका अनुसार २०८१/८२  भित्रै निर्माण सुरु गर्न टेन्डर आह्वान गर्ने गरी डीपीआर तयार हुनेछ । 

त्रिभुवन विमानस्थलको दक्षिण–पश्चिमतर्फ रहेको डिपो साँघुरो छ । साथै विमानस्थल विस्तार गुरुयोजनाभित्र पनि परेकाले स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो । गुरुयोजनामा डिपो ‘ट्याक्सी वे’मा पर्ने भएपछि नागरिक उड्डयन प्राधिकरणले त्यसलाई सार्न दुई वर्षदेखि ताकेता गरिरहेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्डविपरीत ‘ट्याक्सी वेन’जिकै सञ्चालित डिपोलाई सार्न प्राधिकरणले सचेत गराइरहेको थियो । मन्त्रिपरिषद्को गत साउन २८ गते बसेको बैठकले डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । त्यसैले विमानस्थल सञ्चालनमा देखिँदै आएको सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै डिपो सार्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएको प्रमुख यादवको भनाइ छ । 

सिनामंगल डिपोको भण्डारण क्षमता साढे ७ हजार किलोलिटर छ । जसमा एक हजार ६०० किलोलिटरका तीनवटा ट्यांक छन् । ७६० किलोलिटरका तीनवटा र ७० किलोलिटरका आठवटा ट्यांक छन् । उक्त डिपोबाट दैनिक ४०० किलोलिटर हवाई इन्धन खपत हुँदै आएको छ । 

प्राधिकरणले पाँच वर्षअघि गुह्येश्वरी क्षेत्रमा हवाई इन्धन डिपो सार्न उपयुक्त हुने देखिएको भन्दै प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनअनुसार ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, हाल लागत बढ्न सक्ने अनुमान छ । डीपीआर तयार भएपछि लागत यकिन हुने यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप