‘कविता आफैँमा एउटा विचार पनि हो’
सानैदेखि म लयले तानिन्थेँ । घरभित्र होस् वा बाहिर— काम गर्दा आमा प्रायः मुना–मदनका पङ्क्तिहरू, देवी भागवतका श्लोकहरू, लोकगीत आदि केही गुनगुनाइरहनुहुन्थ्यो । छिमेकी वा कोही आफन्तसँग कुराकानीकै क्रममा पनि प्रसङ्ग अनुसार लय मिलाएर ‘हातका मैला सुनका थैला के गर्नु धनले’ थेगोजस्तै मिलाएर भनिरहेको सुन्थेँ । अभावमा आमाभित्र कविताको भाव फुर्दाेरहेछ, सायद । सानोमा म अलि अन्तर्मुखी स्वभावकी थिएँ । कापीका पानामा आफ्नो मनका भावना व्यक्त गर्न सहज हुने भएकाले आफैँले थाहा नपाईकन मलाई कविताले तान्यो कि ? अहिले सम्झिँदा त्यस्तो पनि लाग्छ । कविता के हो ? भन्ने थाहा नपाईकन म कविताको निकट पुगिसकेको रहेछु, कविता मेरो बाल्यकालको साथीजस्तै थियो । त्यसैले मेरो लागि कविता सधैँ अपरिभाषित छ । मैले कक्षा ६ र ७ मा लेखेको थिएँ, प्रेममा आधारित सायद पहिलो कविता थियो यो—
आएको थियो पवन बनेर
चिठीसरि ढुकढुकी उडेर
टोलिए नयन शब्दै शब्दमा
तड्पियो यो दिल विवश परिवेशमा
देखिन्थे शब्दैपिच्छे देह प्रतिलिपिको छाया
सायद मुस्किलै थियो सजिन मायामा
नबदलियौँ तिमी न चुडायौँ बन्धन
केवल तिमीले सुकाइदियौ जीवन
फिर्ता गरिएका कसमहरूले रित्तिएछन् आशा
तर कमजोर नठान मलाई छैन म निराशा ।
त्यो कविता मलाई अहिलेसम्म अक्षरशः कण्ठ छ । त्यति सानो उमेरमा म कविताप्रति किन आकर्षित भएँछु ! सोच्दा लाग्छ, म मेरो वरिपरि सम्बन्धहरूको घाउ ज्यादा देख्थेँ सायद । दुखाइहरू मभित्र बस्न आइपुगेका हुन् । नबुझे पनि आफूभन्दा ठुला कक्षाका दिदी–दाइका नेपाली पुस्तकका कविता पढ्थेँ, त्यसको लयले मलाई भिन्नै आनन्द दिन्थ्यो । यी सबै कुराले म कवितातिर तानिएको जस्तो लाग्छ । कविता वास्तवमा आफूभित्र आफ्नै खोज पनि हो; रहस्य, अभाव र अतृप्तिहरूको समाधान पनि हो । कहिलेकाहीँ यो आफैँसँगको द्वन्द्व पनि हो । मेरो जमेको चेतनालाई कुनै कुराले छोएपछि म कवितामा पग्लिँदी रहेछु । कविताको मेरो बगाइ म स्वयंमा चेतनाको लहर ल्याउने माध्यम पनि हो ।
कवितामा कला कि विचार भन्ने विषयमा बहस चलिरहन्छन् । कलाविना पनि कविता बन्छ र ? प्रतिप्रश्न उठ्छ ममा । फेरि विचार नै भएन भने कवितामा के दिने ? कलाले बोक्ने गहिरा अर्थभित्र नै त गहिरा विचार आएका हुन्छन् । यी दुवै पक्षको सन्तुलन निकै महत्त्वपूर्ण छ भन्ने म सोच्छु । राजनीतिक विचारलाई मात्रै विचार भन्नुपर्छ भन्ने हाम्रो सोच छ भने त्यो सोच अपूर्ण छ । हुन त कलाबिना राजनीति हुन्छ भन्ने सोच पनि अपूर्ण छ । फेरि हामी नै कवितामा नारा आयो, विचार आएन भनेर भनिरहेका हुन्छौँ, तर कविता आफैँमा एउटा विचार पनि हो । चेतनाले उत्खनन गरेर अनुभूति र संवेदनाले छोएको विचार । कुनै कुराले नछोईकन, अनि विचार नब्युँझीकन कविता नै बन्दैन । सतही रूपमा दैनिक बोलीचालीको भाषामा भनेर त कविता हुँदैन । कहिलेकाहीँ कला शून्य भएका कवितासँग हामी ठोक्किरहेका हुन्छौँ । सायद यो बहस त्यस्तै कविता वा कृतिका लागि होलान् कि ! कहीँ–कहीँ विचार अलि बढी आएको हुन सक्ला, अनि कला छोपिएको होला, कहीँ कलाले अलि बढी उचाइ लिएर विचार कम आएको हुन सक्ला । राम्रा कवितामा भने यी दुवै तत्त्व सन्तुलित भएर आएका हुन्छन् । पाठकलाई कविताले कसरी प्रभाव पारिरहेको छ भन्ने कुराले पनि महत्त्व राख्छ । सुरुमा मलाई कविताले आकर्षित गर्नुको कारण पनि यसभित्रको कला नै थियो, तर विचार र कलालाई एक अर्कासँग अलग्याएर कविता बन्छ भनेर म पटक्कै भन्दिनँ ।
कवितामा कला कि विचार भन्ने विषयमा बहस चलिरहन्छन् । कलाविना पनि कविता बन्छ र ? प्रतिप्रश्न उठ्छ ममा । फेरि विचार नै भएन भने कवितामा के दिने ? कलाले बोक्ने गहिरा अर्थभित्र नै त गहिरा विचार आएका हुन्छन् । यी दुवै पक्षको सन्तुलन निकै महत्त्वपूर्ण छ भन्ने म सोच्छु ।
समाज जति–जति विकसित हुँदै जान्छ, त्यसको आवश्यकताको तह पनि फेरिँदै जान्छ । सुरु–सुरुमा छरिएर बसेका मान्छेलाई एकै ठाउँमा बटुल्न, केही कुरा सहज सम्प्रेषण गर्न कविता (लयात्मक भाषा) को प्रयोग गरिएको थियो होला । कवितामा व्यक्त गर्दा कुनै पनि कुराको प्रतिध्वनि टाढा–टाढासम्म पुग्ने र सम्झन पनि सजिलो हुने भएकाले कविता चाहिएको थियो होला । त्यतिबेला कवितालाई विचारहरूको माला नठानेर लयका रूपमा मात्रै हेरिन्थ्यो होला । वन, घाँस–दाउरा, खेतीपातीको समयमा शरीरलाई ताजगी दिने माध्यम वा संवेदनाका लागि कविता लेखिन्थ्यो होला ।
असारमा रोपाइँ गर्दा बेठी गाइन्थ्यो । कुनै काम गर्दा रमाइलो मान्दै मनोरञ्जनका साथमा थकाइ नमानीकन फत्ते गर्न गरेको कुरा कविता थियो होला । हाम्रो जनजीवन र संस्कृतिसँग गीत–कविता अछुता छैनन् । चाहे जुनसुकै जातजाति वा संस्कृति होस्, हरेकमा गीत–कविताको सम्मेलन छ, सहयात्रा छ । देउसी भैली हेर्नुस्, जाति विशेषका चाडपर्वका नाचगान हेर्नुस्, पाठपूजा हेर्नुस्, हरेक पक्षमा कविता भेटिन्छ । ब्रह्माण्डमा फैलिएको सारा चेतनाको प्रतिध्वनिको एउटा स्वरूप कविता हो कि जस्तो खास कविहरूलाई लाग्दो हो । कवितामा आउने सङ्गीतले त्यस्तो अनुभूति दिन्छ ।
- समकालीनता
समकालीनताको परिवेश विस्तृत भइसकेको छ । हामीले २०३६ सालयताको लामो समयलाई समकालीन भनिरहेका छौँ । विश्व परिवेश अनि प्रवृत्तिहरूलाई हेर्ने हो भने हामीले बाँचेको अहिलेको समयसँग जोडिएर आएको विगत १५ वर्षको समयलाई मात्रै समकालीन भन्नुपर्छ तर हामीकहाँ सडक कविता क्रान्तिपछिका कविताका प्रवृत्ति खासै फरक भएका छैनन्, फेरिएका छैनन् । त्यसैले ०३६ सालयता जस्तो खालको राजनीतिक परिस्थिति र परिवर्तन आए, नेपाली कविताले त्यो र त्यसयताका विद्रोहमा लगभग उस्तै प्रतिरोधी स्वर दिनुपरेको छ । त्यतिबेला कविताले क्रान्ति र परिवर्तनका लागि सबैले बुझ्ने खालको स्वर ल्याउनुपर्छ भन्ने थियो । त्यही उद्देश्यसहितका कविता आए । समकालीन कविताका प्रवृत्तिमा राजनीतिक स्वर, सामाजिक विसङ्गति, समानताका निम्ति विभेदका विरुद्ध कविता लेखिए । असमानताका विरुद्व आएका ती स्वर अहिले विविधताका जरासम्म पुग्ने कोसिस गरिरहेका छन् । लैङ्गिक चेतना, जातीय चेतना, वर्गीयताका विभिन्न स्वरूप पनि आजका कवितामा आउन थालेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, विदेशी भूमिमा पाएका दुःख र यसले निम्त्याएका सामाजिक समस्या आइरहेका छन् । देशमा सुशासनको अभाव, अस्थिर राजनीतिक अवस्था बेरोजगारीका कारण मान्छेले भोग्नुपरेका समस्या उसरी नै आइरहेका छन् । दलित त्यो पनि तराईका, तराईका दलितमा पनि अझ महिलासम्म पुग्दा विभेदको गहिरो खाडल कति बनेको छ, ती संवेदना, असमानताको र उत्पीडनको गहिराइबाट अहिले कविता सस्वर हुन थालेका छन् । समकालीन कविताको वर्तमान स्वर, विस्तृत स्वर हो । सँगसँगै पर्यावरण, प्रकृति, वैश्विक चेतनाका पनि कुरा आइरहेका छन् । वैश्विक हिसाबले हामी पुँजीवादी र उपभोक्तावादी ज्यादा बनेका छौँ । प्रकृतिप्रदत्त सारा सम्पत्तिमा मान्छेको एकाधिकार छ ।
चेतनाले उत्खनन गरेर अनुभूति र संवेदनाले छोएको विचार । कुनै कुराले नछोईकन, अनि विचार नब्युँझीकन कविता नै बन्दैन । सतही रूपमा दैनिक बोलीचालीको भाषामा भनेर त कविता हुँदैन । कहिलेकाहीँ कला शून्य भएका कवितासँग हामी ठोक्किरहेका हुन्छौँ ।
अरु जीव प्राणीहरूलाई बस्ने र बाँच्ने ठाउँ मान्छेले नदिएका विषयमा पनि कविता प्रशस्त आइरहेका छन् । जातीय, वर्गीय, लैंगिक असमानताको कुरा त आएका छन् नै, ०६२/६३ को जनआन्दोलनपछि पहिचानमुखी कविता बढी आइरहेका छन् । सांस्कृतिक रूपमा सशक्त स्वर आउन थालेका छन् । पहिला उदात्त मानिस वा महिलाका मात्र कुरा आउँथे भने अब महिलाभित्र पनि जाति, समाज वर्गको पनि भित्र पुगेर त्यहाँका विषय आउन थालेका छन् । नेपाली समाजको हिसाबले हेर्दा कविता चेतनाको धारिलो हतियार बन्दै गइरहेको छ । त्यसले प्रहार कहाँ गर्ने, कहाँ चोट र कहाँ मलम लगाउने, त्यसको परिणति कस्तो हुने भन्ने विषयान्तरले आफ्नो ठाउँमा छ । कविहरू अहिले निकै सचेततापूर्वक आइरहेका छन् ।
- महिला मुद्दा
पछिल्लो समय महिला र पुरुष दुवै समान रूपले कवितामा आएको पाउँछु । महिलाका ओझेलमा परेका विषयमाथि कविता सस्वर भएको देख्छु । पहिलाका नारी चेतनाका सशक्त कविता रचनामा र नयाँ पुस्तामा पनि त्यो निरन्तरता आएको छ । अहिले विषयगत हिसाबमा अलि धेरै विषय आएका छन् । पारिजात दिदीहरूको समयमा ५० को दशकसम्मै पनि सामाजिक विभेद, राजनीतिक दमन र महिलाहरूले भोग्नुपरेको असमानता, विभेद, शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने स्थिति, दाइजो परिवेशका कुरा कतै न कतै कवितामा सम्बोधन भएका थिए । अहिले पनि यस्ता समस्यामूलक विषय कवितामा आइरहेकै छन् ।
अहिले आएर महिलाहरूले भोग्नुपरेका समस्या प्रतिरोधको शैलीमा उजागर भइरहेका छन् । महिनावारी, गर्भधारण, प्रसूति जस्ता प्रकृतिले दिएका कुरालाई खुला भएर हेर्नुपर्छ र सांस्कृतिक परिवर्तन हुनुपर्छ भन्नेसम्म हाम्रो चेतना पुगेको छ । नेपाली कवितामा महिलाको विषयमा धेरै कुरा सम्बोधन भएका छन् । यिनै सम्बोधनले कानुनमा समेत परिवर्तन ल्याएका छन् । व्यावहारिक रूपमा कतिपय परिवर्तन हुनुपर्ने महत्त्वपूर्ण सोच अहिले पनि जड नै छ । कविताले भनेजस्तो गरी जीवन र समाजमा छिटो परिवर्तन हुँदैन रहेछ । आफू बाँचेको परिवेश, आफ्नो अन्तरबाह्य स्थितिको द्वन्द्व अर्थात् विद्रोहका रूपमा हामी कविता लेख्छौँ । आधुनिक कविताको चरणदेखि नै यस्ता कविता प्रशस्तै लेखिएका छन् । आवश्यकता र अवसर पाउनेबित्तिकै विद्रोही कविता लेखिन्छन् । तर यसले प्रवृत्तिगत फड्को दिन भने अझै समय लाग्ने देखिन्छ । महिलाका समस्या सम्बोधन नभएका होइनन्, धेरै भएका छन् । यतिबेला प्रश्न महिलाका कृति कतिको पढिन्छ वा समीक्षा वा समालोचना कति गरिन्छ भन्ने छ ।
हामी एकैपटक धेरै कविता पढिरहेका हुन्छौँ । सामाजिक सञ्जाल र अनलाइनको जमानामा एकैपटक धेरै कविलाई पछ्याइरहेका हुन्छौँ । दिनहुँजसो कविता पढिरहेकी छु । केही न केही कुराले ती कविता मन परिरहेको हुन्छ, छोइरहेको हुन्छ, तर भर्खरै पढेको कविता सङ्ग्रह भन्नुपर्दा ऋषि बस्ताकोटीको पानीको रङ, कुन्ता शर्माको युद्ध लडिरहेको म, बेञ्जु शर्माको कविता संग्रहको पाण्डुलिपि, टेकबहादुर जिरेलको कविता संग्रहको पाण्डुलिपि घनिभूत रूपमा पढेँ । यी कविताहरूमा काम गरेकाले अहिले पनि ममा ती संग्रहका कविताको प्रतिध्वनि, संवेदना र सचेत प्रतिध्वनि बाँकी छ ।
हाम्रो जनजीवन र संस्कृतिसँग गीत–कविता अछुता छैनन् । चाहे जुनसुकै जातजाति वा संस्कृति होस्, हरेकमा गीत–कविताको सम्मेलन छ, सहयात्रा छ । देउसी भैली हेर्नुस्, जाति विशेषका चाडपर्वका नाचगान हेर्नुस्, पाठपूजा हेर्नुस्, हरेक पक्षमा कविता भेटिन्छ ।
महिलाले आफ्ना सजातीय समस्यामा धेरै लेख्छन् भन्दैमा महिलाको समस्या मात्रै लेख्छन् भन्ने होइन । यो कुरा बुझ्न जरुरी छ । महिला कविहरूलाई एउटा समयमा समस्या लेख्न पाउनुमै समस्या छ । समयको सीमा छ, चेतनालाई कत्तिको उदाङ्गो पार्ने भन्नेमा पनि समस्या छ । अझ तराईका कतिपय समुदाय र स्थानमा महिलालाई कविता लेख्न र सुनाउन झनै गाह्रो छ । गाह्रो मान्छेबाट छ, घर समाजका सोचबाट छ ।
- कविताको सार्थकता
मान्छे कवि बन्दैन । ऊभित्रको चेतनाले उसलाई कवि बनाउँछ । सुरुमा कविता लेख्दा मभित्र विचार र विषयहरू निकै खेल्थे । लेखिसकेपछि सर्कसबाट बाहिर आएजस्तो महसुस हुन्थ्यो । त्यो अनुभूति त्यतिबेला र अहिले उस्तै छ । कविताबारे सोच्ने र लेखिसकेपछिको आनन्द पनि उस्तै छ, तर कविताको विषयलाई हेर्दा त्यतिबेला म आफ्नो दुखाइसँग अलि बढी नजिक थिएँ । आफ्नो दुःखमा घेरिएर बसेकी थिएँ । धेरैजसो त्यसैलाई विषय बनाउँथे, तर अहिले विषय साधारणीकरण भएका छन् । आफ्ना दुःख वा समस्याले धेरै छुँदैनन् । आफूभन्दा पर हेर्ने भएकी छु । मेरा स्त्रीमुखी समस्यासँगै मजस्तै समस्या भएका मानिसलाई हेर्न सक्ने, त्यहाँसम्म पुग्न सक्ने भएकी छु । पहिला लेखिएका विषयमा किन लेख्ने, नयाँ विषयमा लेख्नुपर्छ भन्ने सोच आइरहेका छन् । कविताले बनाएको चेतनाको फराकिलो दायरा, अध्ययनशीलता, राम्रा कविहरूसँगको सरसंगतले सिकाएको ज्ञान पनि होला । उमेरसँगै मान्छेको भोगाइ, विचारको वृद्धि फराकिलो हुँदै जान्छ । यसमा कविता र आत्माको सम्बन्ध पाउँछु म ।
कवि निकै ओजिलो शब्द हो । कवि शब्दमा ‘ता’ जोडिएपछि बन्ने कविता शब्दले कविताभित्रको अनन्त प्रकाशको बोध गराउँछ । कवि बन्नकै लागि कविता लेख्नु राम्रो कुरा हो । तर तपाईंको प्रश्नमा व्यङ्ग्य छ । कवि शब्दको गरिमा, उत्कर्ष थियो । तर अहिले यो अपकर्षतिर गइरहेको छ । यो गर्ने पनि हामी तथाकथित कवि नै हौँ । कवि हुने चाहनामा कवितालाई बिगारिरहेका छौँ । कवि हुनैका लागि मात्र कविता लेख्नु आफैँलाई धोका दिनु हो । आउने युग वा समयले त्यसको मूल्याङ्कन कसरी गर्ला ! त्यतिबेला कविताका निम्ति कविमाथि प्रश्न उठ्नेछ । त्यो कस्तो क्षण होला, जब प्रश्नको उत्तर आफ्ना सन्ततिले दिनुपर्नेछ वा कवित्वको तिर्खा बोकेको कविता आफ्नो रचनाकारप्रति खेद प्रकट गरिरहनेछ ।
(डा. त्रिपाठीसँग रातोपाटीकर्मी रमा सुवेदीले गरेको संवादमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म