आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

बिना थिङका तीन कविता

शनिबार, ०५ माघ २०८१, १६ : ४९
शनिबार, ०५ माघ २०८१

१) ब्ल्याकहोलमा मैच्याङ

चराहरूसँगै बिउँझनु
चराहरूसँगै गीत गाउनु
पानी पँधेरोको म्याराथुन दौडनु
आफ्नो भाग्यलाई जाँतोमा पिँध्नु
अथवा दुःखको ओखल एकहोरो कुटिरहनु
मैच्याङहरूको दैनिकी हो ।

भोको पेटमा मैच्याङहरू 
आफ्ना सन्तानलाई स्तनबाट दुध हैन रगत पिलाउँछन्
पुष्ट बनाउँछन् तिनका तिघ्रा
आफू भने सुक्दै सुक्दै जान्छन् 
र टाँगिदिन्छन् अस्थिपन्जर वर्षामासको घुममा
जसलाई ओढेर ती रोपाइँ गर्छन् आँसुको 
मानौँ आँसु दबदबा हिलो हो
आँसु धारिलो पनि छ
ती आँसुले नै घाँस काट्छन्, दाउरा ओसार्छन्
आँसु हत्केला हो
आँसुले नै सोहर्छन् जिन्दगीको भकारो
र सिनित्त पार्छन् मनको बह
सदियौँदेखि तिनीहरूले त्यही आँसुको आदिम लय झिकेर बजाइरहे डम्फु 
गाइरहे सेलो 
भरिरहे शरीरको हाट बजार
अनि निरन्तर निरन्तर हिँडिरहे उज्यालोको खोजीमा
आजपर्यन्त ती हिँडिरहे, हिँडिरहे 
यतिखेर सोध्न मन लागेको छ 
मैच्याङहरूको हस्तरेखामा किन देखिँदैन सम्पन्नताको धर्साे ?
किन देखिँदैन स्पष्ट रूपमा सुखको कुलेसो ?
ती आफ्नै हत्केलामा यसरी टुक्रिएका छन् 
मानौँ हिँड्दा हिँड्दै छुटिएका छन् आफन्तसँग 
र अड्कन पुगेका छन् कतै अक्करे भिरमा 
तिनीहरूको जिन्दगीमा हुर्कंदा हुर्कंदै पलाउँछ काभे, 
त्यही काभे जिन्दगीको फुर्काे समातेर मैच्याङहरू बनाउँछन् पासपोर्ट 
लगाइमाग्छन् भिसा 
र पुग्छन्, ब्ल्याक होलमा
जहाँ सधैँ–सधैँ उज्यालोको खेती गर्नेहरू पस्छन् र हराउँछन् ।

२) आगोको ठेगाना

चुल्ठोमा सिउरिएर आगोको ठेगाना
निकै अप्ठेरो बाटो हुँदै
म हिँडेकी छु आफैँलाई खोज्न
थाहा छैन
कति नजिक छ 
वा कति टाढा छ 
त्यो आगोको देश ?
आमाको गुन्युको न्यानो छाडेर 
दौडिरहेकी मलाई यति थाहा छ
गाउँमा आमाहरू 
पहेँलो आकाश हेरेर समय निल्छन् 
भोकको आगोमा सखरखण्ड पोल्छन् 
अनुहारको घाम पछ्यौराले ढाक्छन्
एक हातले फरिया पक्रन्छन्
अर्काेले पृथ्वी घुमाउँछन्
छोरीहरू बाबुको कमिज पक्रेर जिद्दी गर्छन् 
एउटा रोटीका लागि
र, सिङ्गै जीवन 
सम्झौताको सिरेटो ओढेर काँपिरहन्छन् ।  

आमाले भनेकी छन्—
आइमाई हुनु भनेको 
पँधेरोमा जम्नु मात्र होइन
सधैँ त्याग्नु मात्र होइन
घाँसको डोकोमा अल्झिनु मात्र होइन
दुःखका भारीहरूमा बल्झिनु मात्र होइन
भान्सामा पाक्नु मात्र होइन
देवी–देवता भाक्नु मात्र होइन
चुरासँगै बज्नु मात्र होइन
दुखेर शीतसँगै खस्नु मात्र होइन
जिन्दगीलाई हार्नु मात्र होइन
सम्बन्धको डुङ्गा खियाउनु मात्र होइन
धर्ती हुनु मात्र पनि होइन
आमाले भनेकी छन्—
आइमाई हुनु भनेको त, 
साहसको घोडामा काठी ठोक्नु पनि हो
पिठ्युँमा युग बोक्नु पनि हो
निर्भयको रथ हाँक्नु पनि हो
बन्धनको तगारो नाघ्नु पनि हो
आक्रोशको सीमारेखा कोर्नु पनि हो
विचारको आगो चोर्नु पनि हो
विभेदको पर्खाल फोर्नु पनि हो
चुल्ठोमा सिउरिएर आगोको ठेगाना
निकै अप्ठेरो बाटो हुँदै
म हिँडेकी छु आफैँलाई खोज्न... ।
०० 

३) एक मुर्दाको जिउँदो प्रश्न
 
उदास थियो आँगन
उस्तै उदास थिए दुईजोर आँखाहरू
आफ्नै मनको तगारो उघारेर जब म ठिक्क परेँ बादलसँगै उड्न
किन आमा आँखाबाट पोखिनुभयो ?
किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?
नैतिक शिक्षा पढाउने शिक्षक 
एकाबिहानै किन आइपुगे गोरेटोमा ?
बिहानै बास्नुपर्ने भाले किन झोँक्राइरह्यो ?
किन पल्ला घरकी माइली दिदी बार्दलीमा मौन–मौन उभिरहिन् ?
बतास यसरी बत्तियो कि मानौँ उडाइलानेछ हाम्रो घरको छानो 
मानौँ दज्र्यु टाँगिएको बाँस चिर्नेछ मध्यभागबाट
त्यस रात तेस्रो प्रहरमा देखिएको सपनामा
म फसेको ठुलो भँगालो
घोप्टिएको संविधानको किताब
अनि फड्फडाइरहेको देब्रे आँखाको तादात्म्यता के थियो ?
यी सब सबबाट बेखबर म
यहाँ आइपुगेको तीन वर्ष 
तीन महिना, तीन दिन तीन 
घण्टा तीन मिनेट, तीन सेकेन्डपछि
यो गुफाभित्र एक फाँको बतास पैँचो मागेर चलाउँदै छु फोक्सो
हिजोबाट शून्य यो चेतनाको घोडा ब्युँझाउँदै छु 
म छुट्ट्याउने क्रममा छु
बेस्सरी दुखेको घाउ हो कि यो मन ?
कोपरिएको यो शरीर हो कि मेरो विचार ?
बगेको यो रगत हो कि घृणाको भल ?
फाटिएका यी टाङ हुन् कि म उभिएको धर्ती ?
म झिनोसँग सम्झिदै छु 
— ट्युसन सकेर फर्किंदै गरेको अघिल्लो साँझ
— आफ्नै सहपाठीले थुनिदिएको मेरो स्वर
— बाँधिदिएका यी हातहरू
— छोपिदिएका यी आँखाहरू
— घिसार्दै लगेको गोरेटो
यतिखेर कोठामा बजिरहेको छ थोत्रो रेडियो
— एक महिनामा आठवटा बलात्कारका घटना घटेको छ
— बलात्कारपछिको हत्या भएको छ
— अपराधीको तीव्र खोजी हुँदै छ
— प्लेकार्ड बोकेर महिलाहरू सडकमा उत्रिए (मात्र महिला !)
म मुर्दा लडिरहेछु
र जिउँदो सोधिरहेछु 
— कहिलेसम्म मिडियामा बजिरहनेछ यावत् खबरहरू ?
— कहिलेसम्म सामाजिक सञ्जालमा भाइरल भइरहनेछ हाम्रा अर्धनग्न तस्बिरहरू ?
कहिलेसम्म घरबाट छोरीहरू निस्कने समयमा आमाहरू आँखाबाट पोखिनुपर्ने हो ?
अनि कहिलेसम्म बाहरूले छातीमा लहरे खोकी चलाइरहनुपर्ने हो ?
सुन्नमा आएको छ
यी तमाम प्रश्नको सिरान हालेर
बालुवाटारमा लोकतन्त्र भर्खरै निदाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिना थिङ
बिना थिङ
लेखकबाट थप