आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
कवितामा विम्बविधान

‘नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ’

शनिबार, ०५ माघ २०८१, १८ : ००
शनिबार, ०५ माघ २०८१

प्रा.डा. लक्ष्मणप्रसाद गौतमसँग कवितामा विम्बविधानका सम्बन्धमा ध्रुवसत्य परियारले गरेको संवाद : 

  • हाम्रो पूर्वीय साहित्य र दर्शनमा शब्दशक्ति र अलङ्कार (अनुप्रास, उपमा, रूपक, अनन्वय, यमक, श्लेष, उत्प्रेक्षा, सन्देह, अतिशयोक्ति, वक्रोक्ति आदि) छँदै थिए । पश्चिममा विम्बवादी कुरा उठे अनि हामी पनि कवितामा विम्बका कुरा गर्न थाल्यौँ । के शब्दशक्ति र अलङ्कारकै ज्ञान र दर्शनबाट हामीले कविता लेख्न, समालोचना गर्न र कविताको परिभाषा गर्न सक्दैनौँ ? 

कविता यति व्यापक विषय हो, जसलाई सामान्य परिभाषामा बाँध्न सकिँदैन । यहाँले पूर्वीय सन्दर्भ जोड्नुभएको हुनाले म वैदिक साहित्यतिर जान्छु, विश्वकै सर्वप्राचीन कृति हो ऋग्वेद । त्यसमा ‘कविर्मनीषी परिभू स्वयंभू’ भनेर सुरुमै कविताको परिभाषा गरिएको छ । त्यो कविको परिभाषा होइन, कविताको परिभाषा हो । स्वयंभू भनेको आफैँ सिर्जित अर्थात् अन्तःप्रेरणाबाट आफैँ आएको, परिभू अर्थात् विश्वब्रह्माण्डलाई वहन गर्न सक्छ भन्ने हो, यस्तो विधा नै कविता हो । 

त्यहाँदेखि यता कविताको परिभाषा गर्न पूर्वीय साहित्य चिन्तकमध्ये कसैले शब्दलाई महत्त्व दिएका छन्, कसैले अर्थलाई महत्त्व दिएका छन्, कसैले शब्द र अर्थ दुवैलाई महत्त्व दिएका छन् । यसरी हेर्दा कविता समग्रमा भाव सौन्दर्य अर्थात् अर्थ र शिल्पसौन्दर्य अर्थात् शब्द हो । भावसौन्दर्य र अर्थसौन्दर्य दुवैको सुन्दर संंयोजन हो कविता । त्यसबाट अलग रहेर कवितालाई परिभाषित गर्न मिल्दैन । 

  • पूर्वीय साहित्यमा शब्दशक्ति अर्थात् अभिधा, लक्षणा र व्यञ्जनाका कुरा छन् । अर्कोतिर अलङ्कारमा पनि रूपक, उपमा लगायत छन्; यिनीहरू विम्ब र प्रतीककै अर्थमा आउँछन्, यस अर्थमा... । 

(प्रश्न पूरा हुन नपाउँदै) तपाईंले अन्त्यन्तै राम्रो कुरा उठाउनुभयो, मैले बुझेँ, तपाईङ्को आशय पनि बुझेँ । हामी पूर्वका हौँ, पूर्वीय साहित्य हाम्र्रो हो । हाम्रा साहित्य र हाम्रा सिद्धान्त सम्पन्न हुँदाहुँदै किन हामी पश्चिमतिर मात्रै !  म पनि त्यो मान्यता राख्ने मान्छे हुँ । म आफैँले एमफिल पीएचडीलाई पूर्वीय दर्शन र पाश्चात्य दर्शन दुवै पढाउँछु । पाश्चात्य समालोचनाका सिद्धान्त पनि पढाउँछु । 

हाम्रा ऋषिमुनिहरू, जसले प्राचीन समयमा साहित्य लेखे, उनीहरूले सुरुमा ‘शब्दानाम अनेकार्था’ भने, जसको अर्थ हो शब्दका अनेक अर्थ हुन्छन् । अर्थात् कुनै एउटा शब्द साहित्य पनि हो, वाक्य पनि हो, अभिव्यक्ति पनि हो, एउटा सिङ्गो सङ्कथन वा विश्वकोश पनि हो । यसरी शब्दको एउटै अर्थ हुँदैन है भनेर आजभन्दा तीन हजार वर्षअगाडि भनिएको थियो । एक हजार वा दुई हजार वर्षअगाडि पनि यही भनिएको थियो । अहिले हामी शब्दका अनेक अर्थ हुन्छन् भन्नेतिर लागेनौँ, तर डेरिडाले भनेको मल्टी–मिनिङका कुरा उठायौँ । हामीले भन्दै हिँड्यौँ— बहुल अर्थको सम्भावनाका कुरा ल्याउने डेरिडा हुन् । मैले पनि उत्तरआधुनिकताको किताब लेखेको छु । अब हामीले के बुझ्नुपर्छ भने, यी कुरा कहिले र कहाँबाट उठे ? हामीकहाँ त भरतमुनिदेखि १६औँ शताब्दीका विश्वनाथसम्म आइपुग्दा सबैले यही कुरा (शब्दका अनेक अर्थ) उठाउँदै आएका छन् । डेरिडाले हिजो उठाएको ‘मल्टी–मिनिङ’को कुरा हामीकहाँ उहिल्यैदेखि आएको हो । शब्दशक्तिले यही कुरा भन्छ । 

यो कप (आफूले चिया पिइरहेको कप उठाउँदै) लाई मैले उठाएर फेरि राखेँ, ट्वाक्क आवाज आयो र सकियो । प्रतीक यस्तै हुन्छन् तर विम्ब भनेको ठुलो घन्ट बजाएजस्तै हो, रालोले ठोकेपछि घननन घन्किरहन्छ । अर्थात् विम्बले अर्थ ध्वनित गरिसकेपछि पनि त्यसले धेरै समयसम्म प्रभाव छाड्छ ।

शब्दशक्ति भनेको अर्थको तह हो । सर्वसाधारणका लागि सामान्य अर्थ हो, अभिधा । त्यही कुरालाई थोरै गहिरिएर बुझाउनका लागि लक्षणा र अझ गहिराइबाट बुझ्नका लागि व्यञ्जनाको प्रयोग हुन्छ । यसभन्दा पनि गहिरिएर बुझ्नका लागि ध्वनिका कुरा छन् । त्यसभन्दा पनि गहिराइमा जानका लागि स्फोट आउँछ । यसले यो देखाउँछ कि हरेक रचनाका अर्थका तह हुँदा रहेछन् । यो तहको कुरो हाम्रो पूर्वीय साहित्यमा जति सम्पन्न छ, पश्चिममा त्यति सम्पन्न छैन । 

उत्तरआधुनिक नेपाली साहित्यको समालोचनाको पहिलो पुस्तक मैले नै लेखेको छु । विम्बमा त अहिलेसम्म मैलेबाहेक अरुले लेखेका छैनन् । पूर्व र पश्चिम दुवैतिरका साहित्यका बारेमा मैले पढाउँछु । यस कारण मैले उता र यताको तुलना गरेर हेरेको छु । पूर्वीय साहित्य र यसको सिद्धान्त निकै समृद्ध छ । यसबारे हामीले बुझाउन सकिरहेका छैनौँ । 

शब्दशक्तिले बहुल अर्थको सम्भावना वा अर्थका तहहरूको खोजी गर्छ । साहित्यमा विशेषतः अर्थहरूको तह नै हेरिन्छ । अर्थको अन्तिम गहिरो तहलाई अप्रकटित अर्थ भनिन्छ ।  अप्रकटित अर्थलाई खोज्ने काम भावकबाट हुन्छ । पूर्वीय साहित्य सिद्धान्तले साहित्य यसरी पढ्नुपर्छ र बुझ्नुपर्छ भन्ने एउटा दृष्टिकोण दिएको छ । 

laxman gautam (2)

  • यहाँले विम्बसम्बन्धी पुस्तक (समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण) निकाल्नुभएको छ, जसमा विम्बका प्रकार उल्लेख छन् । विम्ब र प्रतीक बुझ्न वा छुट्ट्याउन त्यति सहज छैन, कतिपय अवस्थामा एउटै वाक्यांशले पनि विम्ब र प्रतीक दुवै प्रकट गरेजस्तो लाग्छ । पहिले भनिदिनुस् कि विम्ब र प्रतीक भनेका के हुन् ? 

विम्ब र प्रतीक कसरी टाढा छन् र कसरी फरक हुन् भने अर्थ ध्वनित गरिसकेपछि प्रतीकको काम त्यहीँ सकिन्छ, विम्बको हकमा अर्थ ध्वनित भइसकेपछि पनि त्यसको प्रभाव रहिरहन्छ । 

(आफ्नो पुस्तक ‘समकालीन नेपाली कविताका प्रवृत्ति (२०८०)’ पल्टाउँदै, पृष्ठ ६६८ मा पुगेपछि) प्रह्लाद पोखरेलको एउटा कविता छ— 

रुख ढल्यो गर्ल्याम्म/घर ढल्यो गर्ल्याम्म 

पर्खाल भत्क्यो गर्ल्याम्म

त्यो ऐजेरुको रुख ढल्नैपर्ने थियो ढल्यो 

त्यो ढल्दा कसैलाई चिन्ता लागेन

त्यो भूतबङ्गला पनि लड्नैपर्ने थियो लड्यो

यहाँ आएका ऐजेरुको रुख, घर, पर्खाल, भूतबङ्गला— यी सबै प्रतीक हुन् । त्यतिखेर पञ्चायती व्यवस्था ढल्यो भन्ने अर्थमा यी प्रतीक आएका छन् । यिनले यसबाहेक अरु केही अर्थ दिँदैनन् । ट्याक्क अर्थ ध्वनित गर्‍यो, त्यसको काम सकियो । अर्थ ध्वनित गरेपछि प्रतीकको काम सकिन्छ ।

  • रुख गर्ल्याम्म ढलेको इमेज (विम्ब) हाम्रो दिमागमा आउँछ त ?

रुख गर्लाम्म ढलेको हाम्रो दिमागमा इमेज आउँछ, यो प्रतीकात्मक विम्ब हो । यस्तो सबै ठाउँमा हुँदैन । अर्थात् सबै प्रतीकमा विम्ब पाइँदैन । विम्बमा प्रतीक हुन सक्छ, तर प्रतीक भएका सबै ठाउँमा विम्ब नआउन सक्छन् । 

जस्तो, भागवत आचार्यको कविता छ—

हिटरले खोजिरह्यो सम्मान तर पाएन कहिल्यै

नीरोले खोजिरह्यो सम्मान 

अग्निको प्रचण्ड विध्वंशमा बाँसुरी बजाएर ।

यसमा हिटलर र निरो शासकका प्रतीक हुन् । तर यी पंक्तिमा विम्ब छैनन् । म एउटा उदाहरण दिन्छु— जस्तो, यो कप (आफूले चिया पिइरहेको कप उठाउँदै) लाई मैले उठाएर फेरि राखेँ, ट्वाक्क आवाज आयो र सकियो । प्रतीक यस्तै हुन्छन् तर विम्ब भनेको ठुलो घन्ट बजाएजस्तै हो, रालोले ठोकेपछि घननन घन्किरहन्छ । अर्थात् विम्बले अर्थ ध्वनित गरिसकेपछि पनि त्यसले धेरै समयसम्म प्रभाव छाड्छ । प्रभाव छाड्नका लागि चित्रात्मकता सिर्जना गर्नुपर्छ । विम्ब भनेको मेन्टल पिक्चर हो । स्रष्टाको मानसपटलमा रहेको एउटा चित्रात्मक भाषा हो विम्ब ।  

ईश्वर वल्लभको एउटा कविता छ—

उनिएर अग्ला सुइराहरूमा 

गुथेर तारका झिना धागाहरूमा 

ती पोल्ने मासु लिएर 

सबैले उत्साहसित र मनोयोगसित

मेरो भूमिमा माला बनाउँदछन् । 

यो कविता पढ्नेबित्तिकै वा सुन्नेबित्तिकै ती सुइरामा मासु उनेर सेकुवा पसलमा सेकाइरहेको विम्ब आउँछ । यसले यस्तो अर्थ ध्वनित गरिरहेको छ कि जुन हाम्रो दिमागमा रहिरहन्छ । कविता पढ्ने पाठकलाई धेरैबेरसम्म त्यो सेकुवा पसलको विम्बले छाड्दैन । अर्कोतिर यसमा वर्णन र विम्ब मात्रै होइन, गहिरो अर्थ लुकेको छ । वर्णन मात्रै विम्ब होइन, वर्णनबाट मात्रै मानसिक तस्बिर आयो भने त्यो विम्ब हुन सक्दैन । यस्तो हुने हो भने आख्यानमा कति विम्ब आउँछन् आउँछन् । आख्यान पढ्दा पनि फिल्म हेरेजस्तो गरी दृश्यचित्र आउँछन् । त्यसैले विम्बले लुकेको अर्थ प्रकट गर्नुपर्छ । 

माथिको आएको विम्बमा गहिरो अर्थ लुकेको छ । सेकुवा पसलमा पोल्ने मासुको जस्तै आजको मान्छेको जीवनको मूल्य छैन है भन्ने अर्थ कविताले दिन खोजेको छ ।

  • यहाँले जसरी प्रतीक (सिम्बोल)को कुरा गरिरहनुभएको छ, त्यो प्रतीक र हाम्रो अलङ्कारमा आउने रूपकमा कति भिन्नता छ ? वा, एउटै होइन ? 

एउटै चाहिँ होइन । प्रतीक रूपकको नजिक छ, उपमाको केही नजिक छ । सबै अलङ्कार प्रतीकको नजिक छैनन् । रूपक किन प्रतीकको नजिक छ भने, रूपकमा कुनै वस्तुसँग त्यसलाई आरोपण गर्नुपर्छ । उपमा किन नजिक छ, कुनै एउटा वस्तुलाई देखाउन अर्को वस्तुको उपस्थापन गर्नुपर्छ । जस्तो ः युवतीलाई चन्द्रमाको उपमा दिइन्छ । अर्थात् तत्कालको अवस्थामा अनुपस्थित कुनै वस्तुलाई ल्याएर त्यसको उपस्थिति देखाइन्छ । त्यस्तो उपस्थिति देखाइयो भने त्यो प्रतीकको नजिकझैँ हुन्छ । 

नेपाली सन्दर्भमा भने आधुनिकता र उत्तरआधुनिकताको प्रवेश अलि फरक छ । हामीकहाँ कतिपय सन्दर्भमा अहिले पनि पूर्ण रूपमा आधुनिकता नआइसकेको अवस्था छ । अहिले पनि भानुभक्त र मोतीराम शैलीका लेखिँदैनन् र ? लेखिन्छन् ।
  • प्रतीक भनेर हामीले सिम्बोलकै अनुवादमा ल्याएका हौँ नि ! प्रतीक भनेर हाम्रो पूर्वीय कुनै साहित्य सिद्धान्तमा छ कि छैन ?

पश्चिमबाट आएको सिम्बोलकै अनुवादका रूपमा हामीकहाँ प्रतीक शब्दलाई प्रयोग गरिएको हो । ‘प्रतीक’ शब्दको प्रयोग हाम्रो पूर्वीय साहित्य सिद्धान्तमा छैन । तर सिम्बोल (प्रतीक)कै नजिक नजिक अलङ्कारका रूपक, उपमा र उत्प्रेक्षा छन् । 

सिम्बोल (प्रतीक)को गहिराइमा पुगेर अध्ययन गर्दा जे जे आउँछन्, ती सबै उपमा र रूपकभित्रै पर्छन्, मेरो आजसम्मको अध्ययनले यही देखेको छ । उपमा अलङ्कारका मात्रै १५१ वटा भेद छन् । अब भन्नुस्, हाम्रा सिद्धान्तबाटै हामीले सूक्ष्मभन्दा सूक्ष्म तहमा पुगेर अर्थ खोज्न सक्नुपर्नेछ । 

  • प्रतीकका के कति प्रकार छन् त ? 

स्रष्टाले आफ्ना भाव व्यक्त गर्नका लागि जुनसुकै क्षेत्रबाट पनि प्रतीकलाई लिन सक्छन् । विम्बझैँ प्रतीक पनि यति प्रकारका भन्ने हुँदैन । विम्बका बारेमा पश्चिमाहरूले बनाएको सिद्धान्त अनुसार पाँचवटा ऐन्द्रिक विम्ब छन् । मैले आफ्नो पुस्तकमा ३० वटाभन्दा बढी विम्बका प्रकार दिएको छु । यी विम्बका प्रकार मैले किन दिएँ भने, नेपाली साहित्यमै विम्बको पुस्तक मेरो नै पहिलो हो । विषयगत रूपमा विम्बलाई बुझाउनका लागि मैले बढी विम्बका प्रकार दिएको छु । ती सबै विम्बका प्रकार पाँचवटा ऐन्द्रिक विम्ब वा हाम्रा पाँचवटा इन्द्रियसँग सम्बन्धित छन् । जस्तो ः स्पर्श विम्ब, शब्दविम्ब, घ्राणविम्ब, यौनविम्ब इत्यादि । ऐन्द्रिक विम्बभित्र मात्रै राखेर हेर्दा पाठक अलमलिने ठानेर मैले विम्बलाई विषयका आधारमा मौलिक ढङ्गले वर्गीकरण गरेको छु । 

  • विम्बका हिसाबले नेपाली कविता के कस्ता छन् ? 

विम्बवादका प्रवर्तक एज्रा पाउन्डले एउटा वाक्य भनेका छन्, ‘पूरै जिन्दगी लगाएर सयौँ कविताको रचना गर्न भन्दा कवितामा एउटा शक्तिशाली विम्ब प्रयोग गर्नु धेरै श्रेयष्कर छ ।’

पछिल्लो समय नारी चेतना, दलित चेतना मुखर भएर आए । कुन्ता शर्माले पोथी बास्नु हुँदैन भन्ने कविता लेख्न पनि २०४६ यताकै समय कुर्नुपर्‍यो । अभिव्यक्ति स्वतन्त्रताले धेरै कुरा दिने रहेछ । अझ गणतन्त्र आएसँगै धेरैले आफ्नो अस्तित्व र पहिचान खोज्न थाले । हिजो राज्यले, उच्च भनेको वर्गले कसैको अस्तित्व त खोसेको रहेछ, त्यो अस्तित्व चेतना पहिचानसँग जोडिएर पछिल्लो समय सशक्त भएर आएका छन् ।

यो भनाइ मलाई अति सशक्त लाग्छ । विम्ब सिर्जना गर्न भयङ्कर कठिन हुन्छ । त्यसैले हामीकहाँ विम्ब सिर्जना गरेर लेख्ने कविको सङ्ख्या कम छ । प्रयोगवादी कविहरूले विम्ब सिर्जना गरे । त्यतिबेला आवश्यक पनि थियो । किनभने पञ्चायत काल सुरु भएपछि कविहरूले सिधै लेख्ने वा भन्ने अवस्था थिएन, यसो गरे थुनिने डर हुन्थ्यो । जे भन्ने हो, त्यसलाई विम्बात्मक ढङ्गले वा प्रतीकहरूको सहारा लिएर भन्नुपथ्र्यो । त्यतिबेला देवकोटापछि कविको ठुलो रिक्तता महसुस भयो, कविताको धार समेत परिवर्तन भयो र प्रयोगवादी कविता जन्मेको थियो । 

पछिल्लो समय, खासगरी २०४६ यताका कविको कुरा गर्दा— विम्बको प्रयोग गरेर लेख्ने कविहरू, जो केही प्रयोगशील छन्, ती कविमा विम्बप्रति सचेतता बढी देखिएको छ । उनीहरूले विम्बको सिर्जना गरेर कविता लेखेका छन् । विम्बको प्रयोग हुँदैन, सिर्जना हुन्छ । प्रतीक भने प्रयोग हो । स्थापित कुनै चिजलाई कवितामा ल्याइयो भने त्यो प्रयोग हुन्छ । 

पछिल्लो समय हामीकहाँ विम्ब सिर्जना गरेर लेख्ने कविहरूको सङ्ख्या मैले केही कम नै देखेको छु । केही कविले भने ज्यादै सशक्त र जीवन्त विम्बको सिर्जना गरेका छन् ।  

पछिल्लो समय धेरै कविले विम्ब सिर्जना गरेका छन्, तर कविताका लागि विम्ब सिर्जना हो कि विम्बका लागि कविता सिर्जना हो भन्ने बुझ्नुपर्छ । कविताका लागि विम्ब सिर्जना भइदियो भने त्यो कृत्रिम देखिँदैन, सहज र स्वाभाविक देखिन्छ । तर यो स्थिति पछिल्लो समयका कवितामा कम छन् । केही कवितामा जबर्जस्ती भरमार विम्ब ल्याएको पनि देखिन्छ, यान्त्रिक रूपमा । जसले गर्दा कविता र विम्बको समानान्तर गति देखिँदैन, कहिले कविता अगाडि कुदेको हुन्छ विम्ब पछाडि हुन्छ, कहिले विम्ब अगाडि कुदेको हुन्छ कविता पछाडि हुन्छ । अर्थात् कविताका लागि विम्ब सिर्जना नभएर विम्ब सिर्जनाका लागि विम्ब आएको वा कविता लेखेको देखिन्छ । विम्ब सिर्जनाका लागि कविता लेखेपछि अस्वाभाविक हुनु स्वाभाविकै हो । यस दृष्टिले पछिल्लो समय हामीकहाँ स्वाभाविक रूपमा विम्ब सिर्जना गर्ने कवि कमै छन् । 

  • आधुनिकता र उत्तरआधुनिकताको आधार के हो ? यसको ऐनामा नेपाली कविता के कस्तो देखिन्छ ? 

पाश्चात्य सन्दर्भमा भन्ने हो भने आधुनिकता पछि उत्तरआधुनिकता आयो । प्रथम विश्वयुद्धको परिणाम स्वरूप आधुनिकता सबल भएर आएको थियो । दोस्रो विश्वयुद्धको परिणति स्वरूप उत्तरआधुनिकता आयो । पश्चिममा आधुनिकताबाट विच्छेद भएर त्योभन्दा उत्कर्ष भएर उत्तरआधुनिकता आएको थियो । पुराना मूल्य–मान्यता सबै भत्काउने, सिर्जनामा अराजक ढङ्गले प्रस्तुत हुने किसिमले उत्तरआधुनिकता आएको थियो । 

नेपाली सन्दर्भमा भने आधुनिकता र उत्तरआधुनिकताको प्रवेश अलि फरक छ । हामीकहाँ कतिपय सन्दर्भमा अहिले पनि पूर्ण रूपमा आधुनिकता नआइसकेको अवस्था छ । अहिले पनि भानुभक्त र मोतीराम शैलीका लेखिँदैनन् र ? लेखिन्छन् । भीमनिधि तिवारी, लेखनाथ पौड्याल शैलीका कविता अहिले पनि लेखिएका छन् । कतिपय सन्दर्भमा नेपाली साहित्यले उत्तरआधुनिक युगमा प्रवेश गरिसकेको अवस्था छैन । अन्य मुलुकको तुलनामा विभिन्न क्षेत्रको विकासका हिसाबले हाम्रोजस्तो कमजोर मुलुकमा उत्तरआधुनिकता एउटा प्रवृत्ति वा वादका रूपमा आएको छ । विश्व साहित्यमा विकसित भएका जति पनि नवीन धारा र प्रवृत्ति छन्, अहिलेको समयमा तत्काल विश्वव्यापी हुन पुग्छन् । विश्वमा आएका विभिन्न नयाँ धारा वा प्रवृत्तिलाई हामीकहाँ पनि कतिपयले प्रयोग गरेका छन् । पश्चिममा क्रान्तिकै रूपमा आएको आधुनिकता हामीकहाँ प्रयोगका रूपमा भित्रियो । अहिले हामीकहाँ विभिन्न प्रवृत्ति देखिन्छन्— पहिचान, सीमान्तीयता, जनजातीयता, दलित चेतना आदि । यिनैको समष्टि प्रवृत्तिका रूपमा एउटा प्रवृत्ति बनेर उत्तरआधुनिकता आयो, जसले बहुलवादी दृष्टिकोण अवलम्बन गर्‍यो । नेपाली साहित्यको धार प्रायः एकलवादी प्रवृत्तिको थियो । स्वच्छन्दवादको समयमा स्वच्छन्दवादी कविता मात्रै राम्रा थिए, अरु नराम्रा नभनौँ ठिकै थिए । प्रयोगवादी र परिष्कारवादी युगमा पनि त्यस्तै भयो ।  

प्रतीक रूपकको नजिक छ, उपमाको केही नजिक छ । सबै अलङ्कार प्रतीकको नजिक छैनन् । रूपक किन प्रतीकको नजिक छ भने, रूपकमा कुनै वस्तुसँग त्यसलाई आरोपण गर्नुपर्छ । उपमा किन नजिक छ, कुनै एउटा वस्तुलाई देखाउन अर्को वस्तुको उपस्थापन गर्नुपर्छ ।

पछिल्लो समय जब उत्तरआधुनिक चेतना आयो, कुनै एउटा धार वा विचार मात्रै अन्तिम सत्य रहेन । त्यसले समाज, संस्कृति, साहित्य आदि बहुसत्यमा आधारित भएको देखायो । त्यस कारण नेपाली समाज र साहित्यमा उत्तरआधुनिकता बढी चर्चित बन्यो । अर्कोतिर नेपाली समाज हिजो जस्तो एकलवादी प्रवृत्तिको थियो, त्यो अहिले भत्किएको अवस्था थियो । त्यो बहुलता वा बहुलवादी चेतनालाई लिएर आएका हुनाले नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ भन्नु म । 

उत्तरआधुनिकता भनेको छाता सिद्धान्त हो, त्यसभित्र यति धेरै सिद्धान्त छन्, ती सबै सिद्धान्तका आधारमा हेर्ने हो भने नेपाली समकालीन कविताको मूल प्रवृत्ति उत्तरआधुनिकता नै देखिन्छ । डायस्पोरा, नारीवाद, सीमान्तीयता, विनिर्माण, नवमार्क्सवाद, उत्तरमार्क्सवाद आदि सबै उत्तरआधुनिकताभित्र पर्छन् । यिनै विभिन्न वाद नै अहिले नेपाली कविता साहित्यमा देखिएका छन् ।  

  • प्रगतिवादीहरू भन्छन् कि उत्तरआधुनिकतावादले प्रगतिवादलाई समेट्दैन, त्यसैले नेपाली कविता तथा साहित्यको मूल धार खासगरी प्रगतिवादी नै छ ! 

यहाँले मिठो कुरा निकाल्नुभयो । यस विषयमा मैले पटकपटक बोल्ने गरेको छु । यहाँनेर एउटा सन्दर्भ जोड्न चाहन्छु । आजभन्दा १०–११ वर्षअघि प्रगतिशील लेखक संघले एउटा कार्यक्रम राखेको थियो । जसमा वक्ता थियौँ— चैतन्य, मोहनवैद्य किरण, प्रदीप ज्ञवाली र म । 

त्यतिबेला प्रगतिशील, प्रगतिवाद र उत्तरआधुनिकतावादमाथि निकै बहस भएको थियो । मैले त्यहाँ भनेको थिएँ— सबैभन्दा पहिले प्रगतिवाद र प्रगतिशीलबारे बुझ्नुपर्छ । प्रगतिवादी हुन मार्क्सवादी हुनैपर्छ । प्रगतिशील हुन मार्क्सवादी हुनुपर्दैन । कवि तथा लेखक प्रगतिशील नै हुन्छ । सत्ताको स्तुति गाउने चाहिँ प्रगतिशील नहोला । अरु जुनसुकै कवि, जसले परिवर्तन र प्रगति चाहन्छ भने ऊ प्रगतिशील कवि हुन्छ नै, तर ऊ मार्क्सवादी नहुन सक्छ । 

उत्तरआधुनिकताले प्रगतिवादलाई समेट्दैन भन्ने प्रगतिवादीहरूको आलोचना छ । उत्तरआधुनिकताका सन्दर्भमा यसको विरोध, समर्थन र तेस्रो दृष्टिकोण पाउन सकिन्छ । मार्क्सवादको विरोधमा नवमार्क्सवाद आयो, नवमार्क्सवादको पनि विरोधमा उत्तरमार्क्सवाद आयो । उत्तरआधुनिकताका अधिकांश चिन्तक वामपन्थी छन् । यता वामपन्थीहरूले नै उत्तरआधुनिकतालाई पुँजीवादी संस्कृतिको उपज हो भनेर आलोचना गरेका छन्, पुँजीवादीहरूले उत्तरआधुनिकताका प्रवर्तक जति सबै वामपन्थी छन् भन्छन् । यसरी अन्तर्विरोध छ । यहाँनेर एउटा प्रश्न गरौँ— के मार्क्सवादी कुरा गर्नेहरूको जीवनशैली उत्तरआधुनिक प्रवृत्तिको छैन ? उनीहरूमध्ये कतिपयको जीवनशैली पुँजीवादीकै जस्तो छ । त्यसैले उत्तरआधुनिकतालाई समर्थन र विरोध गर्ने दुवैका केन्द्रीयताबाट हेर्नुपर्छ ।     

  • यहाँले समकालीन कविताका प्रवृत्ति लेख्नुभएको छ । आधुनिकता सुरु भएपछि समकालीन भन्ने शब्द सधैँ प्रयोग गर्न मिल्छ । समकालीन वा समकालीनताको सैद्धान्तिक आधार के हो ? 

समकालीनता भनेको अस्थिर वा चलायमान सिद्धान्त र मान्यता हो । यो पछाडि सर्दै जान्छ । मेरो आफ्नो सुरुवाती अध्ययनमा २०३६ यताका कवितालाई समकालीन मानेको थिएँ । अहिले म आफैँले विश्वविद्यालयमा पढाउँदा २०३६ यतालाई समकालीन भन्दिनँ, २०४६ यतालाई मान्छु । २०४६ मा एकतन्त्रात्मक शासनका ठाउँमा एक किसिमले बहुदलीय शासन प्रणाली आयो । राजनीतिक परिवर्तनले कहिलेकाहीँ समाज, संस्कृति साहित्य, कला सबैमा प्रभाव पार्छ । सांस्कृतिक परिवर्तन आयो भने त्यसले झ्याप्प साहित्य र राजनीतिलाई छुँदैन । 

२०४६ को परिवर्तनले अभिव्यक्ति स्वतन्त्रता दियो । बोल्नै नपाइने अवस्थामा कविहरू वाचाल भए । समकालीनताले खासगरी परिवर्तनलाई आत्मसात गर्छ । परिवर्तनलाई आत्मसात गर्ने सबैभन्दा ठुलो अभि–लक्षण २०४६ सालमै देखियो । म त भन्छु, २०६२/६३ को अभिलक्षण चाहिँ २०४६ कै उत्कर्ष मात्रै हो । मैले पछिल्लो समय समकालीनलाई उत्तरवर्ती नाम दिएको छु र २०६२/६३ यता आएको छु ।  

हामीकहाँ समकालीनले ३० वर्ष हाराहारीको समय ओगटेको छ । समकालीनको अवधि विभिन्न देशमा फरक फरक मानिन्छ । अमेरिकामा दशक–दशकको कवितालाई मात्रै समकालीन मानिन्छ । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनले समाजको चेतनालाई प्रभाव पार्छ ।  

laxman gautam (1)

  • समकालीन नेपाली कविता खासगरी २०६२/६३ यताका कविताको प्रवृत्ति के कस्तो पाउनुहुन्छ ? 

प्रवृत्तिहरू असाध्यै बहुलमुखी भएर आएका छन् । यस्ता लुकेका स्वरहरू बाहिर प्रकट हुनु २०६२/६३ यताका कविताको सबैभन्दा ठुलो विशेषता हो । पछिल्लो समय नारी चेतना, दलित चेतना मुखर भएर आए । कुन्ता शर्माले पोथी बास्नु हुँदैन भन्ने कविता लेख्न पनि २०४६ यताकै समय कुर्नुपर्‍यो । अभिव्यक्ति स्वतन्त्रताले धेरै कुरा दिने रहेछ । अझ गणतन्त्र आएसँगै धेरैले आफ्नो अस्तित्व र पहिचान खोज्न थाले । हिजो राज्यले, उच्च भनेको वर्गले कसैको अस्तित्व त खोसेको रहेछ, त्यो अस्तित्व चेतना पहिचानसँग जोडिएर पछिल्लो समय सशक्त भएर आएका छन् । जातीय पहिचान, लैंगिक पहिचान हुँदा हुँदा क्षेत्रीय पहिचानका समेत कुरा आएका छन् ।  अहिलेको कविता बहुलवादी प्रवृत्तिका छन् । बहुलवाद भनेकै उत्तरआधुनिकताको प्रवृत्ति हो । 

  • काव्यभाषा र तर्कभाषाको कुरा छन् । आन्दोलन, अधिकार र परिवर्तनका नाममा कवितामा तर्क भाषा छिर्‍यो भनिन्छ । समकालीन कवितामा काव्यभाषामा भाव मात्रै भयो र तर्क भाषामा विचार मात्रै भयो भनिन्छ । यसै सन्दर्भमा दृष्टिबिन्दुका हिसाबले नेपाली समकालीन कविता के कस्ता छन् ?

 साहित्यमा दुइटा कुरा हुन्छन्— सौन्दर्य (काव्यभाषा) तह र आग्रह (तर्कभाषा) को तह । कवितामा यी दुई तह समान स्थितिमा भएको एकदमै कम पाइन्छ । जहाँ आग्रहको ग्राफ माथि जान्छ सौन्दर्यको तह तल पर्छ, सौन्दर्यको तहमाथि जानेबित्तिकै आग्रहको तह तल पर्छ । काव्यभाषाले मात्रै पनि कविता बन्दैन । कविता भनेको विचार, चिन्तन र दृष्टिकोण पनि हो । अनि, तर्कभाषा मात्रै पनि कविता होइन, किनभने तर्कभाषा हुनेबित्तिकै काव्यभाषाको सौन्दर्यात्मक मूल्य स्वतः क्षय हुन्छ । त्यसैले यी दुवै (काव्यभाषा र तर्कभाषा)को सन्तुलित संयोजनबाट जसले कविता लेख्छ, त्यो कविता साँच्चै शाश्वत र शक्तिशाली हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप