कस्ता छन् समकालीन नेपाली कविता ?
समकालीन नेपाली कविता कस्ता छन् ? सानो आलेखमा यस प्रश्नको उत्तर दिन सजिलो छैन । यस विषयमा बाक्लै चर्चा–परिचर्चा भएका छन् । धेरै लेखिएको र विभिन्न प्रवृत्ति भएका कारण यसले विस्तृत चर्चाको अपेक्षा गर्छ । कतिले सजिलैसँग समकालीन नेपाली कविता कमजोर छन्, यिनले आफ्नो निजता र विशिष्टता स्थापित गर्न सकेका छैनन् भन्छन्, कतिले प्रंशसा गर्छन् । निराशा व्यक्त गर्नेहरू पनि छन् । अलि बढी उत्साहित भएर टिप्पणी गर्नेहरू पनि छन् । यी विभिन्न धारणाका बिचमा प्रश्नको उत्तर सन्तुलित रूपमा खोजिनुपर्छ । समकालीन कविताका सबल र दुर्बल पक्षहरूको विश्लेषण र मूल्याङ्कन वस्तुगत र सन्तुलित रूपमा गरिनुपर्छ । समकालीन कविताबारे गरिने यथार्थपरक विश्लेषण र मूल्याङ्कनबाटै यसमाथि न्याय हुन सक्छ ।
समकालीनता समकालीन हुनुको प्रमुख अभिलक्षण हो । समकालीनता भएन भने समकालीन समयमा लेखिए पनि कविता समकालीन हुँदैनन् । यसै कारण समकालीन समयमा लेखिएका कैयौँ कवितालाई समकालीन मानिदैन । भारतीय समालोचक रोहिताश्व समकालीन कवितालाई वैविध्यमय जीवनका प्रति आत्मचेतस व्यक्तिको भाषागत संवेदनात्मक प्रतिक्रियाका रूपमा उल्लेख गर्छन् । उनी यो समाजसापेक्ष रूपमा रचित सामाजिक, नैतिक, बौद्धिक, सांस्कृतिक प्रतिक्रियाका साथै सौन्दर्यबोधयुक्त पनि हुनुपर्छ भन्छन् । अर्का भारतीय साहित्य चिन्न्तक विश्वम्भरनाथ उपाध्याय समकालीन कविता आफ्नो समयको मुख्य अन्तर्विरोधको कविता हो भन्दै यो जीवन अनुभवबाट आफूलाई बुझ्दै र अन्तर्विरोधहरूलाई ठम्याउँदै सङ्घर्षको सङ्कल्प हो भन्छन् । उनका विचारमा समकालीन कविता वर्तमानमा जे हुँदै छ, त्यसको सोझो अभिव्यक्ति हो, जसलाई पढेर वर्तमान कालको बोध हुन्छ र सङ्घर्ष गर्दै गरेका, अनेकन् हन्डर र ठक्कर खाएका, हिँड्दै र लड्दै्, रुँदै र कराउँदै र यी सबैमाथि विचार गर्दै गरेका मानिसहरूको परिदृश्य अगाडि आउँछ । आजको कवितामा काल आफ्नो गत्यात्मक रूपमा रोकिएको देखिन्छ तर यो ‘रोकिएको क्षण’ वा ‘क्षणांश’ रूपमा होइन भने विचार उपाध्यायको छ । निष्कर्षमा उनले समकालीन कवितालाई काल–क्षणको कविता नभनेर काल–प्रवाहमाथि आघात र विस्फोटको कविता भनेका छन् । उनका विचारमा समकालीन कवितामा मनुष्यको प्रतिमा स्थिर, जड, निष्क्रिय र दार्शनिकको जस्तो छैन र हुँदैन ।
समकालीन समयलाई धेरै तन्काउनु उचित हुँदैन । एक–दुई दशकको कालखण्डलाई समकालीन कालखण्ड मान्नु उपयुक्त मानिन्छ । समकालीन समयको अभिलक्षणमा चाँडो–चाँडो परिवर्तन आउने भएकाले कालखण्डको समयसीमालाई धेरै तन्काउन उचित हुँदैन भनिएको हो । समकालीन कविता लेखनको आरम्भ २०३० को दशकदेखि भए पनि यसको समय पछि पछि सर्दै आउनुको कारण यही हो ।
आफ्नो समयसँगको सोझो र विशिष्ट संवादकै कारण समकालीन कविता आफूभन्दा अघिका कविताबाट छुट्टिन्छन् । जुनसुकै कालखण्डको कवितामा पनि आफ्नो समयको प्रभाव र छाप हुन्छ तर समकालीन कविताको स्तर र प्रकृतिमा होइन । आलोचनात्मक चेतनासहित आफ्नो समयको कुरूप यथार्थसँग मुठभेटमा ओर्लनु र परिवर्तनको स्वप्न देख्नु समकालीन कविताको एक महत्त्वपूर्ण विशेषता हो । समकालीन कविता आफ्नो युग जीवनप्रतिको न विसङ्गत प्रतिक्रिया हो न त निराशाको अभिव्यक्ति नै; न अर्थहीनताको अनुभूति हो न त रहस्यात्मकताको कलात्मक अभिव्यञ्जना नै । न कुण्ठा र वैयक्तिक पीडाको उराठलाग्दो अनुभूति हुने उच्छ्वास नै हो न त आम जनमन र तिनको संवेदना एवं स्वप्नसँग बेखबर कलात्मक अभिव्यञ्जना नै । समकालीन कविता आफ्नो समयप्रति सार्थक काव्यात्मक सरोकार र हस्तक्षेप हो । सद्यः वर्तमानको अभिव्यक्ति भनेर मात्र कवितामा समकालीनताको अभिप्रायः स्पष्ट हुन्न । कवितामा समकालीनता आफ्नो समयको समस्या र चुनौतीहरूको प्रतिरोध हो; अग्रगामिताको वरण र अघिल्तिर प्रस्थान हो; शिल्पगत सरलता, सरसता, नवीनता र सम्प्रेषणीयता हो । समकालीन नेपाली कवितालाई यसै अनुसार हेरिनुपर्छ ।
समकालीन समयलाई धेरै तन्काउनु उचित हुँदैन । एक–दुई दशकको कालखण्डलाई समकालीन कालखण्ड मान्नु उपयुक्त मानिन्छ । समकालीन समयको अभिलक्षणमा चाँडो–चाँडो परिवर्तन आउने भएकाले कालखण्डको समयसीमालाई धेरै तन्काउन उचित हुँदैन भनिएको हो । समकालीन कविता लेखनको आरम्भ २०३० को दशकदेखि भए पनि यसको समय पछि–पछि सर्दै आउनुको कारण यही हो । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको कालखण्डमा लेखिएका नेपाली कवितालाई समकालीन कविताका रूपमा उल्लेख गरिन्छ । यस समयका खास अभिलक्षण र तिनको काव्यात्मक अभिव्यक्तिका कारण यस अवधिमा लेखिएका कविता यसअघि लेखिएका कविताबाट छुट्टिन्छन् । यद्यपि कविताका कतिपय प्रवृत्तिमा समानता पाइन्छ, कतिपय अभिलक्षणहरू उही रूपमा अलि लामै समय रहन सक्छन् । यसै आधारमा समकालीन समयको सीमालाई लब्याउन उचित हुन्छ भन्नेहरू पनि छन् । अलि लामै अवधिलाई ‘समकालीन’ मान्ने दृष्टिकोण वैश्विक रूपमै पाइन्छ ।
समकालीन कविताका वैचारिक विन्दु समान छैनन् । विभिन्न विचारमा अडिएर कविता लेखिएका छन् । जुनसुकै विचारविन्दुमा अडिएर लेखे पनि कवितामा समकालीनता आवश्यक हुन्छ । समकालीन कवितालाई विचार, विषयवस्तु, भाव र शिल्पका दृष्टिले एउटै डालोमा हालेर हेर्न सकिँदैन । यसो गर्नु उचित हुँदैन । समकालीन नेपाली कविताको विश्लेषण एवं मूल्याङ्कन समकालीन कविताका विभिन्न विचारविन्दु र प्रवृत्तिका आधारमा गरिनुपर्छ । सबै समकालीन कविताको सरोकार समकालीन यथार्थप्रति रहे पनि त्यसलाई हेर्ने दृष्टिकोण, यथार्थको प्रतिविम्बन र त्यसको कलात्मक अभिव्यञ्जनामा भिन्नता छन् । समकालीन नेपाली कविताको चर्चा गर्दा कैयौँमा यस यथार्थलाई बिर्सने प्रवृत्ति पाइन्छ । मोटोरूपमा समकालीनताका अभिलक्षण निर्धारण गर्ने र त्यस अनुरूप कविताको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन्छ । समकालीन नेपाली कवितामा आलोचनात्मक यथार्थवादी, प्रगतिवादी, उत्तरआधुनिकतावादी आदि दृष्टिकोण तथा प्रवृत्ति पाइन्छन् ।
लेखनका अरु पनि विचारविन्दु छन् । समकालीन नेपाली कविताको चर्चा गर्दा यस यथार्थलाई ध्यान दिइनुपर्छ । समकालीन कविता भनेपछि पुग्छ, अरु कुराको उल्लेख गर्नुपर्दैन भन्ने होइन । यसो गर्नु उचित हुँदैन । विचारलाई पर पन्छाएर समकालीन नेपाली कविताको चर्चा हुन सक्दैन । कविता सिर्जनामा सक्रिय स्रष्टाका स्वरमा देखिने भिन्नता यही यथार्थसँग सम्बन्धित छ । समकालीन यथार्थलाई हेर्ने र त्यसलाई कलात्मक अभिव्यञ्जना दिने उनीहरूका आ–आफ्ना दृष्टिकोण छन् । कोही वर्तमानको नकारात्मक तस्बिर मात्र देख्छन् र त्यसलाई काव्यात्मक अभिव्यक्ति दिन्छन्, कोही कुरूप वर्तमानप्रति तिखो व्यङ्ग्य गर्दै त्यस विरुद्धको सङ्घर्ष र स्वप्नलाई अभिव्यक्ति दिन्छन् । कोही यथार्थको प्रतिविम्बनमा सीमित रहन्छन्, कोही त्यसभन्दा पर पुग्दै नयाँ संसार निर्माणको गीत गाउँछन् । कोही ज्याँ पाल सात्र्रले भनेजस्तै कवितालाई कारबाहीको स्तरमा ओराल्छन्, कोही कवितालाई दर्पणमा सीमित गर्दै मौन रहन्छन् ।
समकालीन नेपाली कविले सरल, सरस भाषाशैली, विम्ब–प्रतीक र अलङ्कारको प्रयोग गरेका छन् । उनीहरूका कवितामा शिल्पगत नवीनता पाइन्छ । व्यङ्ग्य आजका कविताको एक महत्त्वपूर्ण विशेषता हो । समकालीन नेपाली कविता अमूर्त, जटिल र दुर्बोध्य छैनन् । बुझ्न नसकिने विम्ब र प्रतीकहरूको प्रयोग पाइँदैन भन्दा हुन्छ ।
समकालीन नेपाली कविताको विषयवस्तुको फलक विस्तृत छ । समकालीन यथार्थका विविध पक्षलाई स्रष्टाले कवितामा अभिव्यक्ति दिएका छन् । कविहरू मुलुकको यथार्थप्रति मात्र गम्भीर र संवेदनशील छैनन्, वैश्विक यथार्थप्रति पनि उत्तिकै गम्भीर र संवेदनशील छन् । समकालीन नेपाली कविहरूले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक जीवनका साथै समकालीन विश्वलाई पनि कवितामा अभिव्यक्ति दिएका छन् । राजनीतिक विसङ्गति र विकृतिको आलोचना; आर्थिक विषमता र उत्पीडनको प्रतिवाद; मानवीय मूल्यमा आएको ह्रासको विरोध; सशस्त्र द्वन्द्व र त्यसबाट उत्पन्न परिस्थितिको अभिव्यक्ति; जनयुद्धको समर्थन र विरोध; मूल्य विघटनप्रति क्षोभ; यथास्थितिको विरोध र परिवर्तनको आकांक्षा; क्रान्तिचेत र नयाँ नेपाल निर्माणको स्वप्न; मुलुकको बिग्रँदो आर्थिक स्थिति, युवाहरूको विदेश पलायन र कष्टकर जीवनको अभिव्यञ्जना; राष्ट्रिय स्वाधीनतामाथि हुने हस्तक्षेपको विरोध; असमान सन्धि–सम्झौताको आलोचना; देशभक्तिको भावना; जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक एवं सांस्कृतिक विभेद र उत्पीडनको विरोध; वर्गीय असमानता र शोषणको प्रतिवाद; समकालीन परिस्थितिबाट उत्पन्न निराशा, विसङ्गति, संवेदनहीनता, मूल्यहीनता आदिको अभिव्यक्ति समकालीन नेपाली कवितामा पाइन्छन् ।
समकालीन नेपाली कवितामा भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादको आलोचना; उत्तरआधुनिकतावादी, बहुलवादी अवधारणाहरूको अभिव्यक्ति; अन्तर्राष्ट्रियतावादी भावनाको समर्थन; पुँजीवाद, साम्राज्यवाद एवं नवऔपनिवेशिक उत्पीडनको विरोध; पर्यावरण, जलवायु परिवर्तन, आप्रवासन, पहिचान, प्रविधिको उच्च विकासको मानव जीवनमा परेको प्रभाव; आभासीय यथार्थ आदिको पनि अभिव्यक्ति पाइन्छ । बजारको वर्चस्व, मानिसको वस्तुकरण र लोकप्रियतावादको आलोचना; मोहभङ्ग, अस्वीकार र आक्रोशले पनि आजका कवितामा अभिव्यक्ति पाएका छन् । समकालीन नेपाली कविताका प्रवृत्तिहरूको निर्माण यिनै विषयबाट भएको छ । माथि उल्लिखित कुराले समकालीन नेपाली कविताको विषयवस्तुको विस्तृत फलकलाई देखाउँछन् । यथार्थको आभ्यान्तरीकरणसहित स्रष्टाहरू त्यसको काव्यात्मक अभिव्यञ्जनामा सक्रिय छन् ।
समकालीन नेपाली कविताका विविध स्वर रहे पनि सङ्घर्ष चेतना; परिवर्तनको चाहना; भविष्यप्रतिको गहिरो आशा एवं विश्वास; सत्यं, शिवम् र सुन्दरम्को आग्रह; भूमण्डलीकरण र नवऔपनिवेशिक उत्पीडनको विरोध; व्यक्तिवाद र उपभोक्तावादको आलोचना; दलित, महिला एवं अन्य सीमान्तकृत समुदायमाथिको उत्पीडनको प्रतिवाद; वर्गीय विभेद एवं उत्पीडनको विरोध आदिले कवितामा बढी अभिव्यक्ति पाएका छन् । सङ्घर्ष, परिवर्तन र नयाँ निर्माणको स्वप्न समकालीन नेपाली कविताको प्रमुख स्वर रहेको पाइन्छ । नेपाली समालोचकहरूमा यस विषयमा समान धारणा नभए पनि साक्ष्यहरूले यसै यथार्थलाई पुष्टि गर्छन् । समकालीन नेपाली कविताको प्रमुख स्वर अग्रगामी छ र यो यथास्थितिबाट अघि बढ्न चाहन्छ । कवितामा समकालीन यथार्थलाई अघिल्तिर प्रथानको आग्रहसहित अभिव्यक्ति दिइएको छ ।
आफ्नो समयसँगको सोझो र विशिष्ट संवादकै कारण समकालीन कविता आफूभन्दा अघिका कविताबाट छुट्टिन्छन् । जुनसुकै कालखण्डको कवितामा पनि आफ्नो समयको प्रभाव र छाप हुन्छ तर समकालीन कविताको स्तर र प्रकृतिमा होइन ।
समकालीन नेपाली कविताको स्तर कस्तो छ भन्ने प्रश्नको उत्तर सापेक्ष रूपमै खोजिनुपर्छ । समकालीन नेपाली कविता स्तरीय पनि छन्, कमजोर पनि छन् । वर्तमान समयमा कविता सिर्जनामा सक्रिय स्रष्टाहरूको सङ्ख्या साहित्यका अन्य विधाका तुलनामा निकै धेरै छ । यो सङ्ख्या विगतको तुलनामा पनि धेरै छ । कविताका कृति पनि निकै प्रकाशित छन् । कविता धेरै लेखिँदै गरेका बेला सापेक्षताको प्रश्न अझ महत्त्वपूर्ण बन्छ । लेखिएका जति सबै कविता राम्रा हुँदैनन्, हुन सम्भव हुँदैन । कविता धेरै लेखिँदै गरेका बेला धेरै कविता औसत र कमजोर रहने सम्भावना रहन्छ । समकालीन नेपाली कविताको स्थिति यस्तै रहेको छ । यस अवधिमा स्तरीय कविता पनि प्रशस्त लेखिएका छन् । स्तरीय कविताका दर्जनौँ कृति प्रकाशित छन् । त्यस्ता रचना कलात्मक मूल्यका दृष्टिले महत्त्वपूर्ण छन् । समर्थ कविहरूले उच्च काव्यात्मक सामथ्र्यसहित विषयवस्तुलाई अभिव्यक्ति दिएका छन् । उच्च काव्यात्मक सामथ्र्यको तात्पर्य विषयवस्तुलाई कलात्मक रूपमा सजीव ढङ्गले प्रस्तुत गर्ने क्षमता हो । कलात्मक मूल्य कमजोर भएका कविताले मनुष्यको हृदयसँग संवाद गर्न सक्दैनन् । त्यस्ता रचनाहरू सम्प्रेषणीय हुँदैनन् ।
समकालीन नेपाली कविहरूले सरल, सरस भाषाशैली, विम्ब–प्रतीक र अलङ्कारको प्रयोग गरेका छन् । उनीहरूका कवितामा शिल्पगत नवीनता पाइन्छ । व्यङ्ग्य आजका कविताको एक महत्त्वपूर्ण विशेषता हो । समकालीन नेपाली कविता अमूर्त, जटिल र दुर्बोध्य छैनन् । बुझ्न नसकिने विम्ब र प्रतीकहरूको प्रयोग पाइँदैन भन्दा हुन्छ । विषयगत नवीनताका कारण नयाँ–नयाँ विम्ब र प्रतीकहरू कवितामा भित्रिएका छन् । आधुनिक नेपाली कविताका प्रमुख हस्ती र तिनका कवितालाई अघि सारेर समकालीन नेपाली कवितामा त्यस्ता हस्ती र कविता पाइँदैनन् भन्न सकिएला तर २०३० को दशकपछि पनि महत्त्वपूर्ण कविहरू कविताका क्षेत्रमा सक्रिय छन् । उनीहरूका कविताको आफ्नो निजता र वैशिष्ट्य छ । उनीहरूले आफ्नै काव्य संसारको निर्माण गरेका छन्, बरु तिनको यथोचित मूल्याङ्कन हुन सकेको छैन ।
भारतीय समालोचक परमानन्द श्रीवास्तव समकालीन कविको मूल्याङ्कन सरल छैन भन्छन् र यसका पछि समकालीन परिदृश्य र समकालीनहरूमा रहने आग्रह, पूर्वाग्रह, ईष्र्या आदि जस्ता कुराले काम गर्ने उल्लेख गर्छन् । यो स्थिति हामीकहाँ पनि देखिन्छ । आफ्नो समयलाई सशक्त काव्यात्मक अभिव्यञ्जना दिएका कविहरूको विस्तृत मूल्याङ्कनमा ध्यान दिनुपर्ने समय हो यो । समकालीन नेपाली कवितालाई अझ स्तरीय कसरी बनाउन सकिन्छ, यसको विषय क्षेत्रलाई अझ फराकिलो कसरी तुल्याउन सकिन्छ र समकालीन यथार्थसँग यसलाई अझ गहिरो गरी कसरी जोड्न सकिन्छ भनेर गम्भीर विमर्श गर्न आज अझ आवश्यक छ । यसले प्राप्त गरेको उपलब्धिको संयक् मूल्याङ्कन पनि जरुरी छ । रचनात्मक विश्लेषण एवं मूल्याङ्कनबाटै समकालीन नेपाली कवितालाई अझ स्तरीय बनाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सहिद परिवारका सदस्यहरूलाई सम्मान
-
विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको हो : मन्त्री पाण्डे
-
तस्बिरमा हेर्नुहोस् नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी
-
‘नेपाली समाजमा उत्तरआधुनिकता बढी चर्चित वा पछिल्लो समयको एउटा मूल प्रवृत्ति बनेको छ’
-
भक्तपुरमा मनाइयो चिनियाँ नयाँ वर्ष, तस्बिरहरू
-
प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा मुख्य आरोपी सञ्जय रोय दोषी ठहर