शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
कविता बहस

‘मदारीले भालु नचाएजस्तो होइन कविता’

कविता कस्तो हुनुपर्छ भन्ने भन्दा पनि कवि कस्तो हुनुपर्छ भन्नेमा बहस केन्द्रित हुनुपर्छ : सरिता तिवारी
शनिबार, ०५ माघ २०८१, १४ : ००
शनिबार, ०५ माघ २०८१

कवि, स्तम्भकार र कानुन व्यवसायी सरिता तिवारीका तीनवटा कविता कृति प्रकाशित छन्— बुद्ध र लाभाहरू (२०५७), अस्तित्वको घोषणापत्र (२०६७) र प्रश्नहरूको कारखाना (२०७२) ।  

प्रज्ञा प्रतिष्ठानबाट २०७० सालमा प्रकाशित ‘नेपाली कवितामा महिलालेखन’ पुस्तकमा लीला लुइटेलले कवि तिवारीबारे लेखेकी छन्, ‘वर्तमान युगीन पीडाबोध, अभाव, गरिबी, मानवीय कठोरता एवं दुरवस्थाको चित्रण गरिएका यिनका कवितामा भविष्यप्रतिको आशावादिता, परिवर्तनगामितासम्बन्धी विचारको प्रस्तुति पाइन्छ ।’

कवि तिवारीलाई रातोपाटीकर्मी ध्रुवसत्य परियारले समकालीन नेपाली कविताका बारेमा केही प्रश्न इमेल गरेका थिए । कवि तिवारीले लेखेर पठाएको जवाफ : 

  • कवितामा काव्यभाषा र तर्कभाषाका कुरा छन् । विभेदका जालझेललाई तर्कले काट्न खोजेर होस् वा दलको नियुक्ति खाने नियतले होस्, वा जेसुकै कारणले होस्— कतै कविता ‘नारा’ बन्यो’, कतै कविता ‘भाषण’ बन्यो भनेको पनि आकलझुकल सुनिन्छ । यसो पनि भन्न सकियो, कविता विचाराभिव्यक्तिमा फस्यो । अर्काेतिर लाउन–खान पुगेका र समाजमा सानोतिनो ‘अभि’ तहको इज्जत भएकाहरू— जसले काव्यभाषाका नाममा भोका पेटहरूलाई बिर्सेर, विभेद र दमनको राजनीतिलाई बिर्सेर फूलको पीडा र प्रशंसातिर लागेको (विम्ब र प्रतीकका रूपमा पनि होला) जस्तो पनि देखिन्छ । यसो पनि भन्न सकियो, कविता भावाभिव्यक्तिको चक्रमा फस्यो । यो पृष्ठभूमिमा कविता के हो र कस्तो हुनुपर्ने हो ? 

कविता यही हो भन्ने एक रेखीय कुरा अलि अलोकतान्त्रिक पनि सुनिन्छ कि भन्ने लाग्छ । मुख्य कुरा, कविताले पहिले नसुनिएको र आकर्षक अभिव्यक्तिको शैलीबाट जीवन अनुभवका, समाजका या कविले जे विषय छनोट गर्छ त्यसको शक्तिशाली ‘रिफ्लेक्सन’ गर्ने अपेक्षा हुन्छ । यसलाई कविताको रूप (फर्म) र विषयको परम्परागत सैद्धान्तिक झगडाबाट नहेरी साधारण र विवेकसम्मत आँखाले हेरिनु उचित हुन्छ । कवितामा अधिकांश कुरा उच्च प्राज्ञिक समालोचनाले भन्दा पनि आम विवेक र चेतले हेर्दा पुग्छ । 

समालोचनाको आफ्नै पद्धति र महत्त्व छ तर मलाई के लाग्छ भने जति लामो बहस गरे पनि आखिर कविताले सबभन्दा पहिले त स्वयं कविको सोच र वैचारिक उभ्याइ के हो भन्ने दिग्दर्शन नै दिने हो, कम्तीमा के लेख्दै छु भन्नेमा कवि स्पष्ट छ भने । त्यस्तो स्पष्टता छैन भने अघिल्लो र पछिल्लो कवितामा मात्रै होइन एकै कवितामै समेत माथिल्लो र तल्लो अनुच्छेदमै कवि चिप्लिन्छ । भावनाको अभिव्यक्तिलाई प्रधान बनाएर शिल्पको बुनोटमा घुम्दै कवि आफैँ बेवकुफ र पाठक/दर्शक पनि मूर्ख बनिरहेका कैयौँ कविता छन् र कहिलेकाहीँ यस्तै कविता लोकप्रिय पनि भइदिन्छन् । मेरो स्पष्ट कुरा छ, यो कविताको दुर्घटनाभन्दा बढी केही होइन । यस खालका कविताबारे छुट्टै छलफल गरौँला । 

यहाँको प्रश्नले कवितामा कविको ‘नियत’माथि नै गम्भीर परीक्षण र सन्देहको कुरा गरेको छ । यहाँ धेरैका लागि कविता एक प्रकारको ‘विलास’ बनिरहेको देख्छु । आफूलाई प्रगतिशील र माक्र्सवादी/प्रगतिवादी भन्न रुचाउनेहरूकै पनि ठुलो संख्या कविताको नाउँमा शब्द–विलास गरेर बसिरहेको छ । यीमध्ये धेरै त विचार र व्यवहारमा बिल्कुलै विपरीत छन् । यसको भयावह र गहिरो अनुभव गरेरै यसो भन्दै छु । कविता त्यति मात्रै होइन जति भनिन्छ, लेखिन्छ । कविता त्यो समेत हो जे बाँचिन्छ र त्यो पनि उज्यालोमा मात्रै होइन अँध्यारोमा समेत । सहजमा मात्रै होइन असुविधा र अप्ठेरो नैतिक प्रश्नका अघिल्तिर समेत । हामीले कवितालाई पाठ (टेक्स्ट) मात्रै हो भन्ने भ्रममा कविताकारी गरेजस्तो लाग्छ मलाई त ।

मिडिया र श्रव्य–दृश्य बजारमा तर्क–बुद्धिभन्दा कच्चा भावुकताको बढी माग होला रे, अनि कविहरूले भोटर खुसी पारेर भावुकता मात्रै उनेर, अभिनय गर्दै रमाउने ? यसरी कविताको शक्ति र यसले लिने दायित्व दुवै खिइन्छ ।

कविता लेखिरहेकामध्ये नगन्य र झन्डै शून्य बराबर मानिसहरू होलान् जसले आफ्ना कवितालाई बिकाउ बनाएनन् । पैसाको कुरा मात्रै होइन, यसमा धेरै कुरा पर्छन् । कवितालाई जब विवेक र नैतिक ढलानभन्दा माथि पद, स्पेस र प्रतिष्ठानहरूमा ढलीमली गर्ने पाउदानी बनाइन्छ र त्यहाँ पुगेर पनि आफ्नै कविताले स्थापित गर्न चाहेको विचार र मूल्यविरुद्ध हस्ताक्षरको दुरुपयोग गरिन्छ भने त्यो नैतिक ठगी हो । त्यो कवि साहित्यका नामबाट ठगीधन्धा गर्ने अपराधी हो ।

कविता या साहित्यका अन्य विधाहरू यसरी दुरुपयोग भएका असंख्य उदाहरण छन् । तपाईंले कविता लेख्नुको प्रयोजन उदात्त र समतामय जीवनको कल्पना हो भने तपाईं त्यसको भावनात्मक उत्पादनको जिम्मेवार ‘एजेन्सी’ हो । तपाईंको त्यो ‘एजेन्सी’ले अरु कसैप्रति होइन आफ्नै भविता (बिइङ) प्रतिको दायित्व बोक्नुपर्छ । तर यहाँ नामी भनिएका अघिल्लो पुस्ताका बलिया–बलिया ठानिएका कविहरूले नै बौद्धिक बेइमानी गरिरहेका छन् । त्यसैले मलाई त अब बहस कविता कस्तो हुनुपर्छ भन्ने भन्दा पनि कवि कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित हुनुपर्ने लाग्छ । हामीले लेख्ने वा लेखेका कुरामा हाम्रो विश्वास कति थियो वा त्यसमाथि हामी आफैँ कति विवेक र नैतिक बलले उभिएका छौँ, उभिनेवाला छौँ ? यो कुरामा व्यक्तिगत र सामूहिक दुवै स्तरमा कविहरू आफैँले आफैँलाई प्रश्न सोध्नुपर्छ । अन्यथा, आज लगानी गरेर भोलि फाइदा उठाउने काम त किसानहरूले, व्यापारीहरूले गरिरहेकै छन् । किन कविता लेख्नुपर्‍यो ? मिसावट नगरी किसानी गर्नुस् या राज्यलाई नछली शुद्ध व्यापार गर्नुस् न तपाईं, त्यो ठिक भयो नि । सार्वजनिक चेतनालाई प्रभाव पार्ने शब्द, कला या विचार तपाईंको ‘लगानी’ होइन जसलाई समय आएपछि ठाउँ–कुठाउँ दैला–दैलामा बोकेर लेनदेन गरियोस् ।

  • मानिसहरू कविताको शक्तिको कुरा गर्छन् । कवितामा के शक्ति छ त्यस्तो ?

कवितालाई कविको चेतनाको सम्पन्नताले बलियो बनाउने हो, त्यसले बोक्ने समकालीनता पनि हो । कविताको शक्ति सुरुमा अभिव्यक्तिको विचित्रता, विम्ब प्रयोगमा नयाँपन, भावको सुगठित संयोजन र शब्दको उत्कर्ष व्यवस्थापनमा रहन्छ । उक्त कविताले सार्वजनिक विचार निर्माणमा समेत प्रभाव पार्न सक्छ, अर्थात् त्यस्तो कविताले दिने अर्थको तरङ्ग फैलँदै र गहिरिँदै जान्छ । 

तपाईं कुनै पनि भाषाको कविता टिप्नुस्, त्यो लामो या छोटो, अलि बढी क्लिष्ट या सरल जस्तोसुकै होस्— पढ्ने वा सुन्ने व्यक्ति त्यो कविताको तरङ्ग (वेभ)मा तानियो भने कविताले शक्ति उत्पादन गरेको मान्न सकियो । कविता एकछिनको भावुक कुरा मात्र होइन, मानस र अनुभवजन्य चेतनामा ठोक्किएर प्रचलित सोचाइ र मूल्यपद्धतिको परम्पराभन्दा अर्कै तरिकाले सोच्न सक्ने बनाउने कुरा पनि हो । कविताले मानिसको अन्तरतम् चेतनालाई बाटो दिन्छ । कविता कहिलेकाहीँ औषधीतूल्य पनि हुन सक्छ, आशा र उत्साहको क्याप्सुल भइदिन सक्छ । तर सँगसँगै कहिलेकाहीँ विषाद र आत्मघातको उद्दीपक (दुरुत्साहन दिने) पनि हुन सक्छ । पाब्लो नेरुदाले सुरुको चरणमा लेखेका कतिपय कविताले मानिसहरूलाई आत्महत्यातर्फ उन्मुख गरेको तथ्यले उनलाई जीवन र क्रान्तिको कविता लेख्ने बाटोतिर ल्याएको कुरा उनले आफ्नो आत्मसंस्मरण ‘मेमोयर्स’मा लेखेका छन् ।

जति कविताहरू पढ्यो त्यति मलाई लाग्ने गरेको छ, कवितालाई शक्ति भर्ने भनेको कविको चेतनाले नै रहेछ ।

कवितामा कति शक्ति हुने रहेछ भन्ने मापन एउटै कविता कसरी हृदयको साझा वाणी र सिङ्गै युगको ध्वनि बन्छ भन्ने साधारण परीक्षणबाटै थाहा हुन्छ । यसरी उदाहरण दिन सकिने अनेकौँ कविता छन् । यसरी कुरा गर्दा भर्खरै मेरो दिमागमा रबर्ट फ्रस्टको ‘माइल्स टु गो बिफोर आई स्लिप’, जोन लेननको कवितात्मक गीत ‘इम्याजिन’ वा माया एन्जेलोको ‘स्टिल आई राइज’ स्मरण भयो । नेपाली कवितामा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र भूपि शेरचनका, पारिजात र कुन्ता शर्माका कविता याद आए । आज कविता लेखिरहेका केही कविका प्रखर कविता याद आए जसले आफ्नो समयका थुप्रै सन्तति कविता पनि जन्माए । निकट अतितकै कुरा गर्दा एउटा कविता छ, ‘बिसे नगर्चीको बयान’ । यो आन्दोलनको कविता मात्रै होइन प्रबोधनको ध्वनि प्रतिनिधित्व गर्ने साझा चेतनाको कविता पनि बन्यो । उदाहरण दिन सजिलो भएकाले मैले यो कविता उल्लेख गरेँ । 

जति कविताहरू पढ्यो त्यति मलाई लाग्ने गरेको छ, कवितालाई शक्ति भर्ने भनेको कविको चेतनाले नै रहेछ । छिपछिपे चेतनाले लेखिएका कविताले भावुकताको उद्वेलन त ल्याउलान् तर तिनबाट चिन्तनको तरङ्ग र प्रभाव जन्मन असम्भव हुने रहेछ ।

  • कवितालाई अभिव्यक्तिको उच्चता भनिन्छ । कविहरूलाई ब्रह्मज्ञान (ब्रह्माण्डकै ज्ञानको अर्थमा पनि) हुन्छ भनिन्छ वा सर्वज्ञ समाख्याता मानिन्छ । आज ज्ञानका आयाम धेरै छन् र सर्वज्ञ हुनलाई सम्भव नहोला । वास्तवमा कवि हुनलाई के कस्तो ज्ञान वा के चाहिने होला ?

भन्न त ‘कविर्मनीषी परिभू स्वयंभू’ भनिन्छ तर कविसँग सर्वज्ञताको अपेक्षा गरिनु कति सही हुन्छ ? विचार गर्नुपर्छ । जीवनको लय समातेर गीत, गजल वा सायरी लेख्ने सबै कवि नै हुन् । खोलाटोला, रनवनमा गीतका फाँक उरेल्दै गाउने पनि कवि हुन् । जनबोलीका हरफ उनेर कलेजा चिरिने गीत बनाउने ती अज्ञात भाखाका रचियितालाई कवि होइनन् कसरी भन्न सकिन्छ ? तर प्राज्ञिक अर्थमा हामी जुन कविताको कुरा गर्दै छौँ, त्यहाँ केही फरक अपेक्षा हुन्छन् । कुनै असाधारण गुणको वा विलक्षण व्यक्ति नै कवि हुने भन्ने होइन तर उसले सोच्ने तरिका र विचारको साध्य साधारणभन्दा माथि हुनुपर्छ । कविमा समाज र विश्वको समेत आधारभूत इतिहासबोध र समकालीनताबोध भएन भने, आफू उभिएकै समाज र त्यहाँका मानिसहरूको आँसु र उल्लास चिन्ने भावनात्मक मानस (इमोसनल इन्टेलिजेन्स) भएन भने, एउटा राजनीतिक एकाइका रूपमा व्यक्तिको मूल्य र उसले बाँच्ने समाजको अन्तर्विरोधहरू के हुन् भन्ने प्रश्न सोध्ने साहस र उत्तर खोज्ने विवेक पुगेन भने त्यस्तो कविबाट जन्मने कविताले के दिन्छ भनेर कल्पना गर्ने ? कवि बन्ने निर्णय गर्नुअघि यसमा गम्भीर हुनुपर्छ भन्ने लाग्छ । किनभने कवि बन्ने कुरा ‘प्यार होता नहीँ हो जाती है’ जस्तो कुरा त बिल्कुलै होइन, जहाँ कवि बनिने होइन यत्तिकै भइजाने कुरा हो भन्ने मानियोस् ।

  • दृष्टिबिन्दु वा दृष्टिकोणका हिसाबले नेपाली समकालीन कविताको प्रवृत्ति कस्तो पाउनुहुन्छ ? 

सबभन्दा पहिले त समकालीनताकै विषयमा मेरो कुरा राखौँ है । हाम्रोमा समकालीनता कतिदेखि कति बिचको समयलाई मान्ने भन्ने कुरामै अचम्मलाग्दो अस्पष्टता छ । अहिले पनि २०३६ साललाई साँध मानेर समकालीनताको चर्चा गरिन्छ, कतिपय २०४६ साललाई साँध मान्छन् । म चाहिँ २०६२/०६३ यताका कविता नै अब समकालीन हुन् भन्छु । किनभने यतिखेरका कविताले नै समकालीनताको मर्म बोक्छन्, त्यसभन्दा अगाडिका कविताको समकालीनता भिन्दै छ, तिनको चरित्र र भङ्गिमा फरक छ । स्वर फरक छ, स्वाद पनि फरक छ । यस हिसाबले समकालीन कविताले पनि झन्डै दुई दशक समय लिँदै छ ।

केही कविहरू गहिरा दर्शन र विचारका इनारमा फाल हाल्ने गरी लेखिएका छन् । ती पनि कविका स्वान्त–सुख वा केही सीमित भावकका मनोसाधनामा बढी उपयोगी हुने देख्छु ।

अहिले म सबभन्दा पछिल्लो समयमा लेखिएका विगत चार–पाँच वर्षयता छापिएका कवितामै केन्द्रित भएर कुरा गर्न चाहन्छु । यी कविता माथि भनिएजस्तै ‘बिसे नगर्चीको बयान’ मार्का कविताकै रूप र ढर्रामा बढी छन् । पहिले सीमान्त भनिने स्वर अहिले केन्द्रीय स्वर बनेको छ । पहिचान, राजनीतिक चेतना र विद्रोहका कविताको प्रभाव ज्यादा छ । त्यस्तै कविता पढिएका र रुचाइएका छन् । केही भावुकताको नदी बगाइदिने कविताहरू पनि नलेखिएका होइनन् । तिनको त ‘बजार माग’ पनि देखिन्छ । कन्सर्ट चल्ने, कविले राम्रो पैसा असुल गरेर कविता सुनाउने पनि भएकै छन् । तर कारण, तर्क र विवेकको कसीमा हेर्दा ती कविताले चेतनाकै तहमा प्रगतिशील र क्रान्तिकारी रूपान्तर गर्ने स्थिति छैन । एकादुई कविको आर्थिक अवस्थामा टेवा दिने तर कविताले मानिसको चेतनाभित्र पसेर गर्नुपर्ने प्रश्न र उत्तरको ‘इकोसिस्टम’ नबनाउने यी कविताप्रति म उत्साहित छैन ।

केही कविहरू गहिरा दर्शन र विचारका इनारमा फाल हाल्ने गरी लेखिएका छन् । ती पनि कविका स्वान्त–सुख वा केही सीमित भावकका मनोसाधनामा बढी उपयोगी हुने देख्छु । बरु ठुलो संख्यामा लेखिएका राजनीतिक कविताले नै मलाई प्रभावित गरिरहेका छन् । यद्यपि यी कविहरूमा पनि भाषाको नवीन आविष्कार र विम्ब कौशल/अभिव्यक्तिको चमत्कार भने अपेक्षा गरेजस्तो देखिन्न । यी कवितामा दृष्टिकोणको कुरा गर्दा भने इतिहास र समाजको चेतनाले राम्रैसँग दिशाबोध गराएको महसुस हुन्छ । 

तपाईंले हेर्नु भो भने पछिल्लो पुस्ताका कविहरूमा कवितामा के विचार दिने हो भन्ने द्विविधा र शब्द–विलासको मोह कम देखिन्छ । यसले कवितालाई रूप/कलाको जालझेल र जिब्रो चपाउने खेलबाट मुक्त बनाउने बाटोतिर लैजान्छ । मलाई यस्तै कविताहरूले आकर्षित गर्छन् ।

  • विज्ञानले फड्को नमार्दासम्म ईश्वर वा अलौकिक शक्ति र शासकको गाथा गाउन, प्रार्थना गर्न, कृतज्ञता व्यक्त गर्न वा आफ्नो इतिहास वा वंशको विवरण सम्झन पद्य कविता जन्म्यो । विज्ञानको विकास, न्याय र अन्यायप्रतिको मानिसको तार्किक क्षमताको विकास, फरक ढंगले भाव वा विचार अभिव्यक्त गर्ने कोसिस आदिका कारण कविताका विभिन्न विधा जन्मिए । यही सेरोफेरोमा हामीकहाँ पनि ‘पर्फम्यान्स वा स्लाम पोइट्री’ भित्रिएको छ । यस्ता कवितालाई टेलिभिजनतिर र युट्युबतिर हेर्दा कविता कम र ‘नाटक’ मात्रै बेसी भएको जस्तो पनि देखिन्छ । त्यसैलाई कविता भनेर नयाँ पुस्ता बहकिएको समेत देखिन्छ । यो चिन्ताको विषय हो वा कविताका श्रोता वा पाठक बढेकामा खुसीको विषय हो ?

हामी विकास क्रमको बाटो हिँडेरै नाङ्गो वनमान्छेबाट आजको स्वरूपमा आएका हौँ । यहाँले माथि बताएका विकास क्रमलाई प्रगतिशील नै मान्नुपर्छ । 

कविताले जनजीवनको अलेख्य–श्रुति रूपबाट लेख्य–अभिलेख्य रूप लिनुमा राजाहरूका प्रशस्ति र युद्धका सेनापति र लडाकुहरूको वीरगाथा लेख्ने परम्पराको योगदान छ । ती कति सही र कति गलत थिए त्यसको लेखाजोखा भएकै छन् । तर कविताले लगातार भावक–पाठक र हालसम्म आउँदा भर्चुअल दर्शकसँग संवाद गरिरहेकै छ । 

कविता एकोहोरो प्रकृतिको विधा होइन यसले श्रोता या दर्शकको उपस्थिति सकेसम्म अपेक्षा गर्छ । साधारणतया हामी कवि गोष्ठीहरूको आयोजना गरेर कवि स्वयंले कविता पाठ गर्ने कुरामा आनन्दित हुन्छौँ । त्यसरी सुनाइएका कविताको बान्की र रस बढी जीवन्त महसुस गर्छौं । त्यसैले कविताले ‘प्रस्तुति–कला’को रूप लिनु कुनै अनौठो कुरा होइन । अब आएर कविता जन–जनमा पुग्ने बाटो यदि ‘पफर्मेन्स पोइट्री’ हुने हो भने पनि यो समस्याको कुरा होइन तर खास मलाई लाग्ने के हो भने कविता मदारीले भालु नचाएजस्तो चिज होइन । कविता भोट/मतले जितिने विषय हुनु कति ठिक भयो ? यो कुरामा पनि मेरो सम्मति छैन । मिडिया र श्रव्य–दृश्य बजारमा तर्क–बुद्धिभन्दा कच्चा भावुकताको बढी माग होला रे, अनि कविहरूले भोटर खुसी पारेर भावुकता मात्रै उनेर, अभिनय गर्दै रमाउने ? यसरी कविताको शक्ति र यसले लिने दायित्व दुवै खिइन्छ । यसले विधागत रूपमा कविताको अस्तित्वलाई नै बनावटी र कमजोर बनाइदिने खतरा देख्छु । हामीले छापामार युद्ध चलिरहँदा पनि शक्तिशाली कविता लेखिएको समय देख्यौँ । प्रेममा त मानिसहरू सबैभन्दा बढी कविता लेख्छन् र केहीले प्रेमको सार्वभौम सत्त्व भेटिने कविता लेखे, लेखिरहेका पनि छन् । विषयको छनोट या प्रस्तुति कलाले फरक पर्छ भन्ने मलाई लागेको होइन । कविता जेसुकै विषयमा लेखियोस्, तर प्रस्तुतिमा कविता अनावश्यक शब्दखेल, अति–भावुकता र नाटकीयता समेतको जेलेमेले कुराबाट मुक्त बौद्धिक अभ्यास बन्नुपर्छ ।

  • समकालीन कवितामा महिला अधिकारका विषय के कति आइरहेका छन् र कसरी आउनुपर्ने हो ? 

नेपाली कविताको मूल धारामा महिला कविहरूको हस्तक्षेप बढेसँगै अधिकार र विद्रोहको ध्वनि विस्तारित हुँदै आएको हो । यसमा पनि ०६२/०६३ यताको राजनीतिक परिवेशलाई जस दिनुपर्छ । तर २०६२/६३ कतै आकाशबाट झरेको समय होइन । यसको पृष्ठभूमि र प्रसव २०५२/२०६२ को जनयुद्धमा छ भन्ने तथ्यमाथि न्यायोचित दृष्टि स्थापित हुनुपर्छ । यसपछिको बदलिँदो चेतनाले पारिजात र कुन्ता शर्माका कविताका स्वरलाई न्याय गर्ने वातावरण दियो । चालीस–पचासको दशकमा लेखिएका ‘मानुषी’ र ‘पोथी बास्नु हुँदैन’ जस्ता कविताले एउटा ‘इपोक’को ध्वनि बोकेका थिए, तिनलाई सम्झने विवेक पछिल्ला दुई दशकमा आएर बल्ल देखियो । हुन त आमाको गाथा लेख्ने अनेक कविहरू आए । पत्नी–प्रशंसामा फूलबुट्टे कविता पनि लेखिए तर ती सबभन्दा झुट र बेइमान कुरा थिए भन्ने आजको पुस्ताको कविले बुझेको छ । यो रोचक कुरा लाग्छ मलाई । मैले आफूले कविता लेखेको समय हेरेर मेरै समकालीनहरूले लेखेका कविताको कुरा गर्दा मात्रै पनि केही उल्लेख्य प्रखर कविताहरू देख्छु । महिला मात्र नभई पुरुष कविमा पनि स्त्री मुद्दामा सरोकार र उदार लेखनको रुचि देख्छु । पछिल्लो समय कृतिको रूपमा छापिएका वा फुटकर लेखिरहेका महिला कविहरू अझ मुखर छन् । 


बुझ्दै जाँदा थाहा पाइयो, संसारभरिका धेरैजसो समाजमा पुरुष अधीनस्थताको इतिहास र परम्परा असाध्यै जब्बर रहेछ । तपाईं विकसित युरोप भन्नुस् या अमेरिका; मध्य पूर्व वा चीन भन्नुस् या अफ्रिका; भारत र नेपालजस्तो कुनै पनि मुलुकको समाज हेर्नुस्— पितृसत्ता जहीँ–तहीँ दमनकारी छ ।


प्रेमको बराबरी वा स्वतन्त्र अस्तित्वको कल्पनादेखि सौन्दर्यमूल्यका मानक भत्काउने जीवन अनुभव, यौन–विवाह, कानुनी वा पहिचान, नागरिकता, अंश–वंशका अधिकारका मुद्दा लगायत अनेकौँ विषयमा महिला कविहरूको कलमको प्रखरता बढेको देख्छु । तर नेपाली कविताको मात्रै होइन, समग्र साहित्यको र गैरसाहित्यकै लेखनमा पनि महिला भनेको ‘स्त्री लेखन’को एउटा सानो हाँगोको विषय मात्र ठान्ने र विशिष्ट सरोकारको साझा विषय नमान्ने प्रचलन अहिले पनि कायम छ । कवितामै पनि ‘महिलाको मुद्दा’ कसरी उठान गर्ने, कसरी परम्पराभन्दा नयाँ कुरा लेख्ने भन्ने द्विविधा र अस्पष्टता कायमै देखिन्छ ।

  • प्रकृतिमा विभिन्न भाले जातिले पोथीलाई आकर्षित गर्न विभिन्न आवाज निकाल्नेदेखि विभिन्न क्रियाकलाप गर्छन् । कतिपय पशुपन्छीले पोथीलाई भोग्न ठुलै लडाइँ लड्छन् । मानवको हकमा— स्त्रीहरूमाथि शासक र सामन्तहरूकै प्रभुत्व रहेका बेला जब स्त्री पाउन युद्धहरूले काम नगर्ने अवस्था आयो अनि उनीहरूबिच नै स्त्रीलाई आफूतिर आकर्षित गर्न केही न केही प्रदर्शन गर्नुपर्ने भयो । वा त्यस समाजको कमजोर भनिएको पुरुषले उच्च कुलकी स्त्रीलाई आकर्षित गर्नुपर्ने भयो । त्यसैले शृंगार रसका साहित्य जन्मिए । सामन्तवाददेखि पुँजीवादसम्म पुरुषवादी चिन्तनका सिर्जना उही स्त्रीका आँखा, ओठ, कम्मर, छाला, छाती, चालढाल, आकार, आकृति, उचाइ आदिमै केन्द्रित छ । विशेषतः आजसम्मका साहित्यमा स्त्रीकै रूपको चर्चा बढी पाइन्छन्, पुरुषको कमै पाइन्छ । चर्चा भयो भने पनि बलिष्ठ र साहसी पुरुष भनेको पाइन्छ । वास्तवमा स्त्रीले आफ्ना भावना दबाएर हो वा के भएर हो, खुलेर पुरुषको प्रशंसा गरेका सिर्जना किन आएनन् ? अथवा, आजको दिनमा महिलाहरूले स्वच्छ प्रशंसा गर्ने पुरुष नै जन्मेको छैन ?

बुझ्दै जाँदा थाहा पाइयो, संसारभरिका धेरैजसो समाजमा पुरुष अधीनस्थताको इतिहास र परम्परा असाध्यै जब्बर रहेछ । तपाईं विकसित युरोप भन्नुस् या अमेरिका; मध्य पूर्व वा चीन भन्नुस् या अफ्रिका; भारत र नेपालजस्तो कुनै पनि मुलुकको समाज हेर्नुस्— पितृसत्ता जहीँ–तहीँ दमनकारी छ । लोकतन्त्र र समाजवादको भव्य विकास भएको भनिएका मुलुकमा पनि स्त्रीको दोयम स्पेस कायम छ । पुरुष श्रेष्ठताको यो अभ्यासको प्रसार यसरी भयो कि कताकति भेटिने मातृसत्तात्मक अभ्यास हुने समाजहरूमा पनि वैश्वीकरणको प्रभावले, सांस्कृतिक प्रभुत्व विस्तारको कारणले महिलामाथि हिंसा र दमन स्वीकार्य हुन थालेको भेटिन्छ । 

पितृसत्ता कति बलियो रहेछ भनेर हेर्दा सौन्दर्यको मानकीकरण र व्याख्यामा पुरुषवादी दृष्टिको सामान्यीकरण ज्यानको छाला र नसाभित्रको रगत जसरी अविच्छेद्य बन्न पुगेको रहेछ । यो जन्मजात बोकेर आएजसरी दिमागका भित्ताहरूमा टाँसिएर जाम परेर बसेको हुँदो रहेछ । संस्कृति, भाषा र परम्पराको नाउँबाट हामी जतिसुकै गर्व गरौँ, यिनै कुरा नै महिलाको अस्तित्व र मर्यादापूर्ण जीवनका अवरोध रहेछन् । यस्तो पृष्ठभूमिमा पुरुषले स्त्रीको नङ–शिरदेखि बर्कत्–गाथासम्मका कुरा कुँदेर साहित्य लेखेजसरी महिलाले किन सिर्जना रचेनन् ? महिला सर्जकलाई कुनै पुरुषको प्रशंसामा कविता लेख्ने मन किन भएन वा त्यसरी लेख्ने विचार आएरै पनि लेख्न सकेनन् कि ? उसरी किन सकेनन् ? यसका पछाडि परिवार, समाज, राज्य हरेक ठाउँमा महिलाको स्पेस कहाँ छ ? तिनमा त्यसरी खुलेर लेख्ने बोल्ने सुविधा छ कि छैन ? हेर्नुपर्छ । पुरुष कविले काव्यभाषामा ढालेर, विम्बको सहाराले लेख्ने कुरामा मात्रै होइन सिधासिधा अन्तर्वार्ताहरूमै मैले विवाहअघि यति जनासँग यौन सम्बन्ध बनाएँ भन्दा पनि सजिलै पचाइदिने आम मनोविज्ञानले कुनै स्त्री कविले यौन, प्रेम र पुरुषको रूपवर्णन जस्ता विषयमा कल्पना गरेरै लेख्न समेत असंख्य प्रश्नको सामना गर्न तयार हुनुपर्ने अवस्था आज पनि छ । जहाँसम्म पुरुष कविले नै पनि किन पुरुषको बलिष्ठता र बहादुरीबाहेक शरीर–वर्णनमा रुचि लिएनन् होला भन्ने कुरा छ, नारीलाई सौन्दर्यको वस्तु बनाइने भएपछि त्यसको ग्राहक/भोक्ता पुरुष त शुरवीर, पराक्रमी भए पुगिहाल्यो भन्ने ठानिने भयो । सात वर्षकी गोमालाई ७० वर्षको शिव शर्मासँग जोडी बाँधेको कथा पढेरै दुई–चार शताब्दी बिताएको नेपाली समाजमा पुरुष भनेको जस्तोसुकै पनि ग्राह्य हो भन्ने मान्यता नै सामान्य बन्न असजिलो भएन । तर परम्पराको यो ‘चेन’ अब छिटै तोडिनेछ । हामी अपेक्षा गरौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप