शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

बीपी–गिरिजालाई जन्माउने दिव्या कोइरालाको संघर्षको कथा

शनिबार, ०५ माघ २०८१

काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको सातौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । सातौँ एपिसोड महिलाको हक, हितका निम्ति राणाशासकलाई उत्प्रेरित गर्ने र ‘महिला समिति’ गठन गराई त्यसको सचिव समेत भई काम गर्ने प्रथम नेपाली महिला दिव्या कोइरालाका सम्बन्धमा छ ।

परिचय

  • नाम : दिव्या कोइराला
  • जन्ममिति : वि.सं. १९५२
  • जन्मस्थान : डुक्रिनेपानी, बालाजु, काठमाडौँ
  • निधन : वि.सं. २०३३ भाद्रकृष्ण नवमी
  • माता : कृष्णकुमारी
  • पिता : रामानन्द आचार्य

श्री ३ चन्द्रशमशेरका पालामा दिव्याका पति राष्ट्रका विभिन्न समस्या औँल्याउँदै चन्द्रशमशेरलाई समाधानका उपाय पनि पत्रमार्फत सुझाउने गर्दथे । यसलाई दरबारबाट पनि सकारात्मक रूपमै लिइएको थियो ।

आफ्ना पतिले यसरी सुझाउ पठाउने गरेको र त्यसको सुनुवाइ पनि भएको देखेर उत्साहित बनेकी थिइन् दिव्या । उनले पिछडिएका महिलाको अवस्था दर्साउँदै तिनको उद्धारका लागि ‘महिला समिति’ अति आवश्यक रहेको जनाएकी थिइन् ।

यसमा बडामहारानी स्वयंबाट अध्यक्षता अथवा संरक्षकत्व ग्रहण हुनु महत्त्वपूर्ण ठहरिने ब्यहोराको पत्र पठाएकी थिइन् । यसरी महिला सङ्गठनको आवश्यकता र औचित्य प्रस्ट्याउँदै विराटनगरबाट दिव्याले पठाएको पत्र अनुसार त्यतिखेर बडामहारानी बालकुमारीको अध्यक्षतामा ‘महिला समिति’ गठन भएको थियो ।

यसको सचिवको भूमिका दिव्या कोइरालाले निर्वाह गरिन् । लामो समय नटिकेको भए तापनि सङ्गठनका हिसाबमा तथा महिला जागृतिका दिशामा यस कदमलाई क्रान्तिकारी महत्वको मानिन्छ ।

सामाजिक सङ्गठनका दृष्टिले पुरुषलाई महिलाले उछिनेको उदाहरण यो ‘समिति’ बन्न पुगेको छ । दिव्या कोइराला ‘पिताजी’ अथवा ‘खर्दारबाजे’ का नाममा बहुचर्चित समाजसेवी कृष्णप्रसाद कोइरालाकी पत्नी हुन् । पचलीघाटमा केटी (दिव्या) देखाउने काम पूरा भई उनको विवाह भएको हो । कृष्णप्रसाद कोइरालाका तीन पत्नीमध्ये दिव्या कान्छी पत्नी हुन् ।

प्रसव वेदनाका बखत प्रथमपत्नी रुक्मिणीदेवीको देहान्त भएको थियो । कृष्णप्रसादले वीरगञ्जकी मोहनकुमारीसँग दोस्रो विवाह गरे लगत्तै काठमाडौँकी दिव्याकुमारीसँग विवाह गरेका हुन् ।

मोहनकुमारीबाट मातृकाप्रसाद, नलिनी, इन्दिरा र शौरी (सौभाग्यसुन्दरी) को जन्म भएको थियो । दिव्या कोइरालाबाट विश्वेश्वर (बीपी), हरिहर, केशव, तारिणी, गिरिजा र वुनु (विजय) जन्मिएका हुन् ।

जेठीपत्नी रुक्मिणीदेवीको प्रसूति व्यथाका कारण मृत्यु भएकाले कृष्णप्रसाद चिन्तित थिए । त्यसैले, सर्वप्रथम आफ्नी आमालाई बनारस पुर्‍याएर उनको सेवाका लागि भनी दिव्याकुमारीलाई उतै लगे ।

कृष्णप्रसादले दिव्याकुमारीलाई बनारस लानु बुद्धिमानी ठहरियो । शल्यक्रिया विना बच्चा नहुने भयो । बनारसमा कुनै गाह्रो भएन तर नेपालमा भए के हुन्थ्यो, के हुन्थ्यो ! त्यतिखेर जन्मिएका हुन्, विश्वेश्वरप्रसाद कोइराला । न्वारनको नाम चूडामणि हो ।  

विश्वनाथको भूमि काशीमा जन्म भएकाले ठूलाबा कालीदास कोइरालाले विश्वेश्वरप्रसाद नाम जुराएका हुन् । ‘आमाको अप्रेसन नगरेको भए मैले प्रकाश नै देख्न पाउने थिइन ।

आमा पनि जीवित रहनुहुने थिएन । ममाथि त्यस दिन बल प्रयोग गरिएकाले होला, म जीवनभर विद्रोही रहें ।’

यो विश्वेश्वरप्रसादको भनाइ दिव्याकुमारीकी नातिनी सुजाता कोइरालाले जनाएकी छिन् । विश्वेश्वरका सन्तान प्रकाश, श्रीहर्ष, शशाङ्क र चेतना दिव्यादेवीका नातिनातिना हुन् ।  

केशवप्रसादबाट शेखर कोइराला जन्मिए । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता हुन् ।

तत्कालीन हिन्दुस्थान अशान्त थियो । ब्रिटिश शासकविरुद्ध ‘भारत छोडो’ आन्दोलन चर्किएको थियो । तिनताक नौवर्षे मातृका र सातवर्षे विश्वेश्वरका मनमस्तिष्कमा महात्मा गान्धीको गहिरो छाप परेको थियो ।

यस आन्दोलनलाई दिव्याकुमारीले पनि सहयोग गरेकी थिइन् । निरङ्कुश राणाशासन तथा  निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध शङ्खघोष गर्दै क्रान्तिको हुँकार गर्ने आफ्ना छोराहरूप्रति उनी अत्यन्त गर्व गर्थिन् ।

कीर्तिकै कुरो गर्ने हो भने उनी त्यस्ती नेपालीनारी बनेकी छिन्, जसका तीनछोरा प्रधानमन्त्री बन्नपुगे– मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला ।

दिव्याकुमारीको जन्मस्थल डुक्रिनेपानी, बालाजु हो । वि.सं. १९५२ मा जन्मिएकी दिव्याकी माता कृष्णकुमारी र पिता रामानन्द आचार्य हुन् ।

रामानन्द पहिले सरकारी जागिरे थिए । छोरीलाई विवाह गराई विराटनगर पठाएपछि उनी पनि सपरिवार त्यतै लागे ।

कर्णेल गङ्गाबहादुर बस्नेतका खलकमा आचार्यका सन्तान आफन्तसरह मानिन्थे । श्री ३ चन्द्रशमशेरका पालामा गङ्गाबहादुरको ठूलो नाम थियो । ‘गङ्गाबहादुरको न्याय’ भनाइ यसै कहलिएको होइन । दिव्याकुमारीको कन्यादान गङ्गाबहादुरको घरबाट भएको हो ।

दिव्याकुमारीका काका मेदिनीप्रसाद गङ्गाबहादुरका दीक्षागुरु हुन् । मेदिनीप्रसादको स्थायी बसोबास चाहिं डुक्रिनेपानीमै रह्यो । दिव्याकुमारीका छोरा, छोरी पछिसम्मै मामाघर बालाजु जाने चलन थियो । माइतीतिर दिव्याकुमारीलाई ‘दिव्या’ वा ‘मैयाँदेवी’ भनिन्थ्यो । दिव्याकुमारीलाई दिव्यकुमारी पनि भनिएको पाइन्छ ।

उनकी बहिनी कुमुदिनीको विवाह चाहिं बोधप्रसाद कोइरालासँग भयो । पूर्वप्रधानमन्त्री सुशील कोइराला उनका छोरा हुन् ।

विराटनगर सहर बसाउन होस् वा त्यहाँको शिक्षा, स्वास्थ्य आदि समाजसुधारका काममा होस्, उनी सधैँ आफ्ना पति कृष्णप्रसादलाई हौँस्याउने गर्थिन् । कृष्णप्रसाद कोइरालाले उतिबेला नेपालभरिका भन्सारको ठेक्का पाएका थिए । कृष्णप्रसादको व्यापार पनि कोलकाता आदि ठाउँमा फस्टाउँदै गएको थियो ।

गरिबको अवस्था देख्दा उनलाई दुःख लाग्थ्यो । एकदिन, चन्द्रगञ्जबाट गरिवका लुगाफाटाको पार्सल पठाई श्री ३ महाराज चन्द्रशमशेरलाई आमनागरिकको हैसियतसँग आफ्नो तुलना गरी गरिबका लागि आवश्यक कदम चाल्न आग्रह गरे ।

त्यसबाट क्रुद्ध बनेका चन्द्रशमशेरले भन्सारको ठेक्का छुटाई सर्वस्वहरण समेत गरिदिए । अनि, कृष्णप्रसादले परिवारसहित विदेशिनुपर्‍यो ।

संसारभरिको हन्डर खान विवश भए पनि दिव्याकुमारीले कहिल्यै हिम्मत हारिनन् । अभावै अभावले घेरिएको बेलामा पनि वनारसमा आफ्नी सासू राज्यलक्ष्मीको सेवा गरिरहिन् ।

उनले पैँतालीस जनाको परिवार सम्हालेर बस्ने धैर्य कहिल्यै गुमाइनन् । दुईछाक भात त परै जाओस्, भिजाएको चना समेत पुग्ने अवस्था थिएन ।

लालाबालालाई खुवाएर मात्रै उनी तृप्तिको सास लिन्थिन् । छोरा विश्वेश्वरलाई घाउ हुँदा बेहोस गराएर ओखती गर्ने पैसा समेत नहुँदा उनको मुटु कत्ति निचोरियो होला ? अनुमान लगाउन सकिन्छ ।

पतिले कोलकाता गई जीउभरि मालसामान बोकेर बेच्न निस्कँदा पनि केही खर्च पठाउनसकिरहेका थिएनन् । घरमा छोराहरू चाहिं महात्मा गान्धीको आदर्श र समाजवादतर्फ लम्किरहेका थिए ।

पछि, वनारस होस् अथवा टेढी, भागलपुर वा बेतिया सबैतिरको बसाइमा पति र छोराहरूको आदर्शको बाटो र अभावका दिन मात्रै उनले बेहोरिन् ।

बेतियामा उपचारको अभावमा हैजाले गर्दा छोरा हरिहरको मृत्यु हुनपुग्यो । एउटी नेपाली केटी त्यहीँको केटासँग बिहे गरेर बसेकी थिई, उसैलाई दिव्याले गुहारेकी हुन्, नत्र कात्रो किन्ने समेत पैसा थिएन ।

तिनीहरूको सम्बन्ध कोल्हापुरको राजपरिवारसँग रहेछ । दिव्यालाई छोरा बितेको ठाउँमा बस्न मन लागेन ।

उनीहरूले नै खर्च दिई कोल्हापुर पठाए । कोल्हापुरमा ‘सैल्युट’ मारेर सत्कार गर्थे । दरबारमा निकै राम्रो व्यवस्था थियो । त्यत्रो सत्कार देख्दा आश्चर्य पनि लाग्थ्यो ।

छोरीबेटी भएको मान्छेलाई त्यहाँ नानाशङ्का पनि उब्जियो । कृष्णप्रसाद र दिव्याले सल्लाह गरी बम्बई हुँदै फेरि बनारस फर्किए ।

यसरी विदेशमा ठाउँ फेरी, फेरी जीवन चलाउनुपरेको थियो । चन्द्रशमशेरको मृत्युपछि श्री ३ महाराज भीमशमशेरका पालामा नेपाल आउने अवसर प्राप्त भयो ।

यहाँ आफ्नो कुनै सम्पत्ति थिएन । कृष्णप्रसादका स्वर्गीय दाजु सुब्बा नारायणप्रसाद कोइरालाकी पत्नी सुब्बिनी मानकुमारीकहाँ बसोबास भयो ।

६८ वर्ष लागेपछि मानकुमारी काशी जाने भइन् । निःसन्तान उनले आफूसित भएका जग्गा मोहनकुमारी र दिव्याकुमारीका नाममा बकसपत्र गरिदिइन् ।

सो जग्गा अंशबण्डाका बखत विभिन्न कोइराला परिवारमा बाँडिनपुगेको भनाइ पनि छ । दिव्या कोइरालालाई शिक्षाको महत्त्व थाहा थियो । नारी शिक्षाको विकासका लागि उनले जोड लगाएकी थिइन् ।

यसबारे उनले कलम पनि चलाएकी छिन् । भारतको देहरादूनबाट प्रकाशित हुने ‘गोरखा संसार’ पत्रिकाको १९८३ मङ्सिर १५ गतेको अङ्कमा उनको ‘स्त्री शिक्षाको आवश्यकता’ शीर्षकको लेख छापिएको छ ।  

भारतको स्वतन्त्रता सङ्ग्राममा छोरा विश्वेश्वर पटक–पटक जेल पर्दा आमाको हृदयमा पर्ने असर पक्कै कम थिएन । नेपालमै पनि जुद्धशमशेरको पालामा होस्, चाहे मोहनशमशेरका पालामा विश्वेश्वरले जेलमा पाएको दुःख र बागदरबारको जेलमा अनसन बस्दाको संवेदनशीलता  हृदय विदारक बनेको छ ।

छोराको अवस्था देखेर मोहनशमशेरसँग ठाडठाडै बाझेको क्षणमा उनी बाघकी आमा बघिनीतुल्य देखा पर्थिन् । विराटनगरको मजदुर आन्दोलनमा छोराहरू पक्राउ परे । उनी पनि आफ्ना छोरीहरूसहित समातिई ६ महिना जति धनकुटा जेलमा परेकी थिइन् ।

२००७ सालको क्रान्ति सफल भएपछि उनी गृहमन्त्री बनेका छोरा विश्वेश्वरसँगै बस्नथालिन् । त्यहाँ बबरशमशेरका मान्छेले सांघातिक हमला गर्दा गणेशमान सिंहले उनलाई बाथरूममा लुकाएका थिए ।

यस हमलापछि केही अवधि नारायणहिटी दरबारमा छोरासँगै बसिन् । नेपालको राजनीतिका तमाम महत्त्वपूर्ण घडीहरूमा उनले साक्षी बनेर हेर्ने मौका पाइन् ।

राजा महेन्द्र र छोराहरूका सम्बन्ध तथा २०१७ सालको ‘कु’ पछि छोराहरूका जेलबसाइले उनलाई निस्सन्देह कम पीडा दिएन । अभावै अभाव र पीडै पीडामा हेलिँदै आएकीले उनी नीडर, प्रष्टवक्ता तथा धैर्यशाली थिइन् ।

उनलाई आफ्ना छोराहरूको गन्तव्य एकदिन पक्कै प्राप्त हुने विश्वास थियो । नेपाल फर्किएपछि उनका पतिको समाजसेवा गर्ने चाहना उर्लिएको थियो ।

विराटनगरमा आदर्श विद्यालय तथा अस्पताल स्थापना गरिए । जुद्धशमशेरका पालामा वि.सं. १९९९ मा राणाशासनविरुद्ध सक्रिय रहेको जनाई दिव्याकुमारीका पति कृष्णप्रसाद बन्दी बनाइए ।

२००१ माघ १४ गते थुनामै उनको निधन भयो । त्यतिखेर छोरा विश्वेश्वर पनि भारतमा राजनीतिक वन्दी बनाइएका थिए ।

पतिशोकमा परेकी दिव्याकुमारीको अन्तिमकाल पनि सङ्घर्षपूर्ण नै रह्यो । उनी निकै अस्वस्थ हुनपुगिन् । उनलाई पक्षघात भएको थियो ।

वि.सं.१९५२ मा जन्मिएकी दिव्याकुमारीको २०३३ सालको भाद्र कृष्णनवमीका दिन देहान्त भयो । छ महिनाजति सकसमै बिताई उनले प्राण त्यागेको जानकारी दिव्याकी छोरी इन्दिरा आचार्य (नेतृ शैलजाकी आमा) ले दिएकी हुन् ।

इन्दिरा आचार्यका अनुसार उनमा मातृवात्सल्य प्रचुर थियो । सौताका छोराछोरी भन्ने भावना उनमा कहिल्यै देखिएन । इन्दिराले आठवर्षकी हुँदा मात्रै आफ्नी साक्खै आमा  मोहनकुमारी पो हो भन्ने थाहा पाएकी हुन् ।

यस प्रसङ्गबाट पनि दिव्याको हार्दिक विशालता बुझ्न सकिन्छ । दिव्या कोइरालाका सम्बन्धमा ‘मेदिनीस्मृति’ तथा ‘अग्रणी महिला’ आदि कृतिमा केही प्रकाश पारिएको छ ।

कृष्णप्रसाद कोइरालाको निर्वासनका बखत धैर्य, संयम, आँट, उत्साह बढाउन दिव्याले गहन भूमिका खेलेकी छिन् । चन्द्रशमशेरसित माफी मागिएको भए पहिल्यै नेपाल फर्कने अवसर जुट्न सक्थ्यो ।

तर दिव्याले त्यस्ता शासकसँग नझुक्न आफ्ना पतिलाई उत्प्रेरित तुल्याइरहिन् । विश्वेश्वरप्रसाद जेलमा भोक हडतालमा रहँदाखेरिको एउटा प्रसङ्ग स्मरणीय छ ।मोहन शमशेरले दिव्यालाई दरबारमा बोलाई विश्वेश्वरको ज्यान यताउता भए तिम्रो जिम्मेवारी हुने भनी कुर्लिएका थिए । त्यसबखत दिव्याले कडा शब्दमा ‘त्यो मेरो होइन, सरकारको जिम्मेवारीको विषय हो’ भनेकी थिइन् । यस्तो अदम्य व्यक्तित्वकी धनी दिव्या कोइराला हाम्रानिम्ति अविस्मरणीय बनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया