शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

के हो बाथ रोग ? कुन बेला अस्पताल जाने ? (भिडियो)

शनिबार, ०५ माघ २०८१

काठमाडौँ । शरीरमा विभिन्न प्रकारका रोगले समय–समयमा आक्रमण गर्छन् । यिनैमध्ये एक हो– बाथ रोग ।

बाथ विशेषतः हाडजोर्नी दुखाइसँग सम्बन्धित रोग भनेर बुझिन्छ । तर यो रोग शरीरका विभिन्न अङ्गमा पनि हुनसक्ने चिकित्सक बताउँछन् ।

बाथ रोगका सन्दर्भमा नेशनल बाथ रोग सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग कुराकानी गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • बाथ कस्तोखालको रोग हो ?

बाथ कुनै एउटामात्रै नभइ धेरै वटा रोगको सङ्कलन हो । बाथ रोगभित्र १०० भन्दा बढी रोग पर्छन् । अधिकांश बाथ रोग ‘अटो इम्युन डिजिज’मा पर्छ । हाम्रो शरीरको रोग प्रतिरोध क्षमतामा गडबडी भयो भने बाहिरी जीवाणु, बाहिरी रोगसँग लड्नुपर्ने कोषिकाले आफ्नै शरीरको अंग जोर्नी, मुटु, मिर्गौला, मस्तिष्कलाई खराब गर्न थाल्छ । यसरी बाथ रोगको ‘अटो इम्युन डिजिज’ उत्पत्ति हुन्छ ।

डाइबिटीज पनि ‘अटो इम्युन डिजिज’ हो । त्यस्तै केही बाथ रोग पनि ‘अटो इम्युन डिजिज’ हुन् । अरु प्रकारका बाथ रोग, युरिक एसिडको बाथ, भिटामिन–डी डिफेसेन्सी यो मेटा बोलिक बोन डिजिजमा पर्छ । जुन सिधै खानपिनसँग सम्बन्धित हुन्छ ।

उमेर ढल्दै जाँदा कुरकुरे हड्डी खिइँदै जान्छ । बिस्तारै हड्डी मक्किँदै जान्छ । कम्मरको हड्डी खिइँदै जान्छ । हातखुट्टाका जोर्नी खिइँदै जान्छ । यसलाई डिजेरेटिक बोन डिजिज भन्छौँ । समग्रमा धेरै प्रकारका बाथ रोगमध्ये प्राथमिकतामा ‘अटो इम्युन डिजिज’ हो, जुन मुख्य बाथ रोगमा पर्छ ।

dr shweta nakarmi (2)

  • बाथ रोगका लक्षण के के हुन ?

एक सय प्रकारका बाथ रोग छन् भने लक्षण पनि फरक–फरक भइ नै हाल्छ । ९० प्रतिशत बाथ रोगमा जोर्नी दुखाइको समस्या हुन्छ । विशेषतः हातखुट्टाका साना जोर्नी दुख्ने, सुन्निने हुन्छ । मेरुदण्डको बाथमा कम्मर दुख्ने हुन्छ । राति सुतिसकेपछि कम्मर ज्यादा दुख्छ । कोल्टे फेर्न गाह्रो हुन्छ । बिहान उठेपछि दुखाइ बढेको हुन्छ । काम गर्दै गएपछि जिउ खुल्दै जाने, बिस्तारै दुखाइ कम हुँदै जाने हुन्छ । त्यस्तै, कुरकुरे हड्डी खिइने बाथ रोगमा घुँडा दुख्ने, हड्डीबाट आवाज आउने, भर्‍याङ तलमाथि गर्दा वा उकालो ओरालो गर्दा दुख्ने हुन्छ । मांसपेशी बाथमा शरीरको मांसपेशी दुख्ने हुन्छ । यसमा गर्दन, कम्मर, हातखुट्टाको मांसपेशी जाम हुने र दुख्ने हुन्छ । युरिक एसिडको बाथमा खुट्टाको बुढीऔँला, गोलीगाँठा अथवा घुँडा रातो भएर सुन्निएर दुख्ने हुन्छ । ५/६ दिन दुख्ने र पछि आफैँ निको भएर जान्छ । यसरी दुख्ने, छोड्ने हुँदा युरिक एसिडको बाथ भनिन्छ ।

अरु बाथका लक्षणमा छालामा विभिन्न खालका डाबर देखा पर्ने हुन्छ । गालामा पुतली अकारको डाबर आउने । खुट्टामा रातो, निलो रङको डाबर आउने हुन्छ । मुखमा, गुप्ताङ्गमा बारम्बार घाउ आउने हुन्छ । चिसो पानी चलाउँदा हातको रङ सेतो वा निलो हुने पनि बाथ रोगको मुख्य लक्षण हो ।

आँखा सुक्खा हुने, बिझाउने, मुख सुक्ने, मुखमा थुक नआउने हुन्छ । यस्तै, आँखा रातो भएर बारम्बार दुख्ने हुन्छ । बाथ रोगले भित्री अङ्ग समातेको खण्डमा रगतको कमी हुने, फोक्सोमा भएमा स्वाँ–स्वाँ हुन्छ । धड्कन बढ्छ ।

किड्नीमा समातेमा पिसाब पोल्ने, नशामा समातेमा हातखुट्टा झमझमाउने, लाटो हुने, पोल्ने, लुलो हुने समस्या आउँछ । मस्तिष्कमा भएमा टाउको दुख्ने हुन्छ । आन्द्रामा भएमा दिशा बारम्बार पातलो जाने, कहिले कब्जियत हुने, कहिले पातलो दिशा जाने लक्षण हुन्छ ।

यसैगरी बाथ रोग विभिन्न अंगमा हुने भएकाले लक्षण पनि भिन्नभिन्न प्रकारका हुन्छन् । दुखाइ बाथ रोगको प्रमुख लक्षण हो ।

  • बाथ हुन सक्छ भनेर कसरी शंका गर्ने ?

मैले भनेका लक्षणहरू आफूलाई देखिएको छ र शरीरका जोर्नी एकदमै दुख्छ, छालामा डाबर आउँछ, सुक्खापन छ, रगत कम छ र बारम्बार गर्भ नष्ट हुने समस्या छ भने एक पटक परीक्षण गराउनुपर्छ ।

  • कसरी उपचार गर्न सकिन्छ ?

उपचार गर्नुअघि कुन प्रकारको बाथ हो भनेर पहिचान गर्नुपर्ने हुन्छ । त्यो बाथ दीर्घकालीन जाने वाला छ वा छैन, भित्री अङ्ग बिगार्ने खालको हो वा होइन भन्ने हेर्नुपर्ने हुन्छ ।

बाथ रोगका कारण कुनकुन अङ्ग समातिएको छ, सो अनुसार फरक–फरक उपचार हुन्छ । यदि बाहिरी अङ्ग जस्तैः छाला, जोर्नीमा मात्रै समातिएको छ भने उपचार सहज हुन्छ । भित्री अङ्ग जस्तैः नशा, रगत, मुटु, कलेजो, मिर्गौला, दिमागमा छ भने उपचार जटिल हुन्छ ।  

dr shweta nakarmi (1)

  • बाथ रोग कुन उमेर समूहलाई हुन्छ ?

बाथ रोग सबै उमेरमा देखिन्छ । तर कुनै बाथ वयस्कलाई बढी हुन्छ । बाथ रोग जन्मेको बच्चादेखि लिएर वृद्धवृद्धासम्म जुनसुकै उमेरमा देखिन सक्छ । महिला–पुरुष जसलाई पनि बाथ रोगले सताउन सक्छ ।

  • निको हुने सम्भावना कति ?

बाथ रोग दीर्घकालीन रोगको वर्गमा पर्छ । त्यही अनुसार औषधि पनि लामो समयसम्म चल्छ । तर जीवनभर औषधि चल्ने होइन । बाथ रोगको अवस्था हेरेर औषधि चलाइन्छ । तथ्यांक अनुसार लक्षण भएको पहिलो तीन महिनामा राम्रो उपचार सुरु गर्न सक्यो भने रोग नियन्त्रणमा ल्याउन सकिन्छ । तर नेपालको सन्दर्भमा पहिलो तीन महिनामै उपचारका लागि आउने बिरामीको संख्या कमै छ । हाम्रोमा पुगुन्जेल रोग लागेको २ वा ३ वर्ष कटिसकेको हुन्छ । यस्ता बिरामीलाई दीर्घकालीन औषधि चलाउन सकिन्छ । औषधिको प्रयोगले पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ । यसबाट जटिल अवस्था आउनबाट जोगिन सकिन्छ ।

  • नेपालमा बाथ रोगीको अवस्था कस्तो छ ?

एउटा सर्भे अनुसार २६ प्रतिशतलाई कुनै–कुनै प्रकारको हाडजोर्नी तथ मांसपेशीको समस्या पाइएको छ । त्यो भनेको यदि ३ करोडको जनसंख्या लिइयो भने ८० देखि ९० लाख जनसंख्यालाई बाथ रोग छ भन्न सकिन्छ ।

  • बाथ रोगबाट बच्न कस्ता सावधानी अपनाउनु पर्छ ?

वातावरणीय, वंशाणुगत वा शरीरमा रोग प्रतिरोध क्षमतामा गडबड हुँदा बाथ रोग उत्पन्न हुने हो । त्यसकारण यही कुरा रोक्यो भने बाथ रोग निको हुन्छ भन्न सक्ने अवस्था छैन ।

काम गर्ने समय मिलाउने, बस्ने–खाने तरिका मिलाउनु पर्ने हुन्छ । व्यायाम हुनु पर्छ । हाड र मांसपेशीको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया