शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी यू–१९ महिला टी–२० विश्वकप

बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

शनिबार, ०५ माघ २०८१, १२ : ०२
शनिबार, ०५ माघ २०८१

काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु भएको छ । यसपटक प्रतियोगितामा नेपालसहित १६ वटा टोली ४ रंगशालामा ४१ खेलहरू खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो दिनको खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । प्रतियोगिताको चौथो खेलमा यूकेएम वाईएसडी ओभलमा खेल नेपाली समयअनुसार १२: १५ बजे सुरु हुनेछ । खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यसको अर्थ नेपाली टोली पहिले ब्याटिङमा उत्रनेछ ।

नेपाल समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ । नेपाल एसिया रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएका हुन् । नेपालले पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसा कुमारी यादव रहेका छन् ।

यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप