शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

नेपालकै समूहमा रहेको अस्ट्रेलियाले सजिलै हरायो स्कटल्याण्डलाई

शनिबार, ०५ माघ २०८१, १० : ५८
शनिबार, ०५ माघ २०८१

काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करणको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डमाथि सहज जित हात पारेको छ । शनिबार मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा अस्ट्रेलिया ९ विकेटले विजयी बनेको हो ।

४९ रनको लक्ष्य अस्ट्रेलियाले ६.४ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि केट पेलेले सर्वाधिक २९ रन बनाइन् । १८ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरिन् । अस्ट्रेलियाले एक मात्र विकेटका रूपमा इनेस म्याकेअनलाई गुमायो । उनले २० बलमा १२ रन जोडिन् । उनले १ चौका र १ छक्का हिर्काइन् । कप्तान लुसी ह्यामिल्टन ३ रन बनाउँदै नटआउट रहिन् । स्कटल्याण्डका लागि एक मात्र विकेट नायमा शेखले लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १५.१ ओभरमा अलआउट हुँदै ४८ रन मात्र बनाउन सक्यो । टोलीका लागि ओपनर एमा वाल्सिङहमले सर्वाधिक १२ रनको योगदान दिइन् । उनले २ चौका प्रहार गरिन् ।

त्यस्तै, चार्लोट नेभार्डले १४ बलमा १० रन जोडिन् । उनले एक चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्याण्डलाई सस्तोमा समेट्न एलानोर लारोसा र काओमे ब्रेले ३–३ विकेट लिए । एलानोले ३ ओभरमा मात्र ७ रन खर्चिइन् भने काओमेले ३.१ ओभरमा १ रन मात्र दिइन् । हर्षत गिलले २ तथा टेगन विलियमसन र जुलियट मोर्टनले १–१ विकेट हात पारे ।

अस्ट्रेलिया र स्कटल्याण्ड नेपालसँगै समूह डीमा रहेको छ । यस समूहको अन्य टोली बंगलादेश हो । नेपालले आज नै बंगलादेशको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप