हालान्डले सिटीसँग गरे प्रिमियर लिगकै सबैभन्दा लामो अवधिको करार सम्झौता
इतिहाद । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हलान्डले क्लबसँग नयाँ करार सम्झौता गरेका छन् । सम्झौता अनुसार उनी सन् २०३४ सम्म क्लबमा रहनेछन् ।
नर्वेजियन खेलाडी सन् २०२२ मा डर्टमण्डबाट सिटी आइपुगेका थिए । उनले क्लबका लागि १ सय २६ खेलमा १ सय ११ गोल गरिसकेका छन् । हालान्ड र क्लबबिचको पछिल्लो करार सन् २०२७ मा समाप्त हुँदै थियो ।
नयाँ करारसँगै उनी थप साढे नौ वर्ष क्लबमा रहनेछन् । यदि पूरा समय उनी क्लबमा रहेन उनको उमेर ३४ वर्षको हुनेछ ।
प्रियिमर लिगमा कुनै पनि खेलाडीसँग गरिएको यो सबैभन्दा लामो करार सम्झौता हो । यसअघि चेल्सीले कोल पाल्मरसँग ९ वर्षको करार सम्झौता गरेको थियो ।
‘नयाँ करार सम्झौतामा हस्ताक्षर गरेकोमा म धेरै खुसी छु र यो उत्कृष्ट क्लबसँग अझै धेरै समय बिताउनका लागि उत्साहित छु,’ हालान्डले भने । यता, म्यानेजर पेप ग्वार्डिओलले हालान्डले नयाँ करार सम्झौता गर्नु भनेको उनको क्लब प्रतिको विश्वास भएको बताएका छन् ।