सैफ अली खानमाथि हमला : अहिलेसम्म भेटिएन यी प्रश्नहरूको जवाफ
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको दुई दिन बितिसक्दा पनि मुम्बई प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन ।
बिहीबार बिहानै बान्द्रास्थित घरमा एक अज्ञात व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेका थिए, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। मुम्बईको बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको छ।
यस हमलामा सैफको मेरुदण्ड र घाँटीमा गहिरो घाउ सहित ६ स्थानमा चोट लागेको छ । डाक्टरहरूले सैफको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् । शुक्रबार दिउँसो डाक्टरहरूले मिडियालाई सैफ हिँडडुल गर्न सक्षम रहेको तर उनलाई पूर्ण आराम गर्न सल्लाह दिइएको छ।
समाचार एजेन्सी पीटीआईले संयुक्त आयुक्त (कानुन र व्यवस्था) सत्यनारायण चौधरीलाई उद्धृत गर्दै बिहीबार भने कि मुम्बई पुलिसले आक्रमणकारीलाई पक्रन २० टोली गठन गरेको छ।
बुधबार र बिहीबार राति करिब २.३० बजे सैफ अलि खानमाथि यो हमला भएको थियो । त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
बिहीबार नै उनको टोलीले एक विज्ञप्ति जारी गर्दै शल्यक्रियापछि सैफ खतरामुक्त रहेको बताएको थियो ।
प्रहरी उपायुक्त दीक्षित गेडामले भने, ‘घटना बिहान १.३० देखि २.३० बजेको बिचमा भएको हो। एक अभियुक्तको पहिचान भइसकेको छ। कुनै हतियार बरामद गरिएको छैन। सैफको घरेलु कामदारको बयान दर्ता भएको छ भने २५-३० सीसीटीभी फुटेज जाँच भइरहेको छ।’
उनले भने, ‘आरोपी आगलागीबाट भाग्न बनाइएको सिँढीबाट घरमा पुगेका थिए। उनी घरको ढोका कसरी खुले र भित्र कसरी पुगे भन्ने अनुसन्धान जारी छ। अभियुक्त घरभित्र चोरीको उद्देश्यले पसेको प्रारम्भिक अनुमान छ।’
सामाजिक सञ्जालमा एउटा फुटेज भाइरल भएको छ, जुन सैफको भवनको रहेको बताइएको छ । यसमा, टी-सर्ट र स्कार्फ लगाएको व्यक्ति देखिन्छ । ती व्यक्ति हतारमा सिँढीबाट ओर्लिरहेको देखिन्छ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार सैफबाहेक उनको घरमा उपस्थित ५६ वर्षीया नर्स इलियामा फिलिप्सलाई पनि चोट लागेको थियो । उनी यस मुद्दामा उजुरीकर्ता पनि हुन् ।
अहिलेसम्म के थाहा छ ?
समाचार एजेन्सी पीटीआईका अनुसार इल्यामा फिलिप्सले प्रहरीलाई दिएको उजुरीमा आक्रमणकारीले १ करोड रुपैयाँ मागेको बताएकी छन् । घुसपैठकर्ता पहिले सैफ र करीनाको कान्छो छोरा जेहको कोठामा प्रवेश गरेको उजुरीलाई उद्धृत गर्दै पीटीआईले रिपोर्ट गरेको छ ।
नर्सले प्रहरीलाई बताए अनुसार राति करिब २ बजे उनले जेहको कोठाबाट आवाज सुनिन् र बाथरुमको बत्ती पनि बलेको देखिन् । नर्सले भनिन्, ‘म बाथरुममा को छ भनी हेर्न उठेँ, तब मैले एक पातलो मानिस जेहको ओछ्यानतिर हिँडिरहेको देखेँ। यो मानिसको देब्रे हातमा लट्ठी र दाहिने हातमा धारिलो चक्कु थियो।’
‘उसले मलाई चक्कुले प्रहार गर्यो र मेरो हातमा चोट लाग्यो,’ उनले भनिन्, ‘मैले के चाहन्छौँ भनेर सोध्दा उसले एक करोड रुपैयाँ चाहिन्छ भने।’
त्यसपछि सैफ र करीना पनि हलमा आए । नर्सले प्रहरीलाई भनिन्, ‘घुसपैठ गर्नेले सैफमाथि आक्रमण गरे। त्यसपछि घरमा उपस्थित अन्य कर्मचारी पनि आए ।’
बयानका अनुसार घुसपैठकर्ताले सैफलाई आक्रमण घरेपछि मुख्य ढोका खोलेर घुसपैठ गर्ने व्यक्ति फरार भएका थिए । उजुरीका अनुसार आक्रमणकारीको उमेर ३५ देखि ४० वर्षको बिचमा थियो।
यी प्रश्नहरू अझै अनुत्तरित
मुम्बईको एक उच्च सुरक्षा भएको आवासीय क्षेत्रमा यस्तो घटना भएपछि, धेरै प्रश्नहरू उठेका छन् जसको जवाफ आउन अझै बाँकी छ।
१. घुसपैठ गर्ने व्यक्तिले आगलागी हुँदा प्रयोग गरिने सिँढी प्रयोग गरेको प्रहरीले जनाएको छ । यसको सीसीटीभी फुटेज पनि आइसकेको छ । तर, यो अज्ञात व्यक्ति कसरी घरभित्र पसेर बालबालिकाको कोठामा पुग्यो भन्ने खुल्न सकेको छैन ।
२. प्रहरीले यस मामिलामा सैफ अलि खानका केही कर्मचारीसँग सोधपुछ गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार अनुसन्धानकर्ता हरूले यस घटनामा कोही परिचित व्यक्तिको संलग्नता थियो वा थिएन भनेर पनि पत्ता लगाउन प्रयास गरिरहेको छ, जसको सहयोगमा आक्रमणकारी सजिलै घरभित्र पसेका थिए।
३. घुसपैठ गर्ने व्यक्ति सीसीटीभीमा देखिए पनि मुख्य गेटमा जडान गरिएको क्यामेरासहित घरबाहिर जडान गरिएका अन्य क्यामेराबाट कसरी बचेर भागे भन्ने पनि अनुसन्धान भइरहेको छ ।
सैफको स्वास्थ्यबारे के भने डाक्टरले ?
शुक्रबार सैफको शल्यक्रिया गरेका चिकित्सक नितिन डांगेले पत्रकार सम्मेलनमा उनको स्वास्थ्य पूर्णरुपमा ठिक रहेको र हिँडडुलमा कुनै समस्या नभएको बताए । अब चिकित्सकको टोलीले सैफलाई विशेष वार्डमा सारिएको बताएको छ ।
डाक्टरहरूले सैफ भाग्यमानी पनि भएको बताए किनभने यदि चक्कु दुई मिलिमिटर गहिराइमा गएको भए उनको मेरुदण्डमा क्षति पुग्ने थियो। यसअघि लिलावती अस्पतालका प्रमुख अपरेटिङ अफिसर (सीओओ) डा नीरज उत्तमानीले शल्यक्रियामार्फत सैफको मेरुदण्डबाट साढे दुई इन्चको चक्कु निकालिएको सञ्चारमाध्यमलाई बताए ।
उनले सैफको शरीरमा दुईवटा गहिरो घाउ रहेको पनि बताए । उनले सैफको देब्रे हात र घाँटीको दाहिने भागमा गहिरो घाउ रहेको र त्यसलाई ठिक गर्न प्लास्टिक सर्जरी गरिएको बताए ।
शल्यक्रियापछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो । सैफलाई बेड रेस्ट आवश्यक रहेको र दुई–तीन दिनमा डिस्चार्ज हुने चिकित्सक डांगेले बताए ।