आजदेखि यू–१९ महिला टी–२० विश्वकप : नेपालको सामना बंगलादेशसँग
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु हुँदैछ । यसपटक प्रतियोगितामा नेपालसहित १६ वटा टोली ४ रंगशालामा ४१ खेलहरू खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो दिन ६ वटा खेलहरू हुँदैछन् । पहिलो दिनको खेलमा नेपाल पनि प्रतिस्पर्धामा उत्रनेछ । नेपालले प्रतियोगिताको चौथो खेलमा यूकेएम वाईएसडी ओभलमा नेपाली समयअनुसार १२ :१५ बजे बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डको सामना गर्नेछ भने दोस्रो खेलमा इंग्ल्याण्डले आयरल्याण्डसँग खेल्नेछ । तेस्रो खेल नाइजेरिया र समोआबिच तथा पाँचौँ खेल पाकिस्तान र अमेरिकाबिच हुनेछ । पहिलो दिनको अन्तिम तथा छैटौँ खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबिच खेलाइनेछ ।
प्रतियोगिता सुरु हुनअघि एकपटक प्रतियोगिताको बारेमा जानकारी लिऔँ । प्रतियोगितामा सहभागी १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । जुन निम्न प्रकार रहेको छ:
- समूह ए : भारत, मलेसिया, श्रीलंका, वेस्ट इन्डिज
- समूह बी : इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान, अमेरिका
- समूह सी : न्युजिल्याण्ड, नाइजेरिया, समोआ, दक्षिण अप्रिका
- सूमह डी : अस्ट्रेलिया, बंगलादेश, नेपाल, स्कटल्याण्ड
नेपाल (एसिया), अमेरिका (अमेरिकाज), नाइजेरिया (अफ्रिका), समोआ (एसिया प्यासिफक) र स्कटल्याण्ड (युरोप) रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएका हुन् । समोआको पुरुष या महिला टोलीले कुनै पनि आईसीसी प्रतियोगिता खेलेको यो पहिलोपटक हो । त्यस्तै, आयोजक मलेसिया, नेपाल र नाइजेरियाले पनि पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेका हुन् ।
अघिल्लोपटक सहभागी रुवान्डा, जिम्बाब्वे, यूएई र इन्डोनेसिया यसपटक प्रतियोगितामा छनोट हुन सकेनन् । रुवान्डा सन् २०२३ को प्रतियोगिताको पहिलो संस्करणमा जिम्बाब्वेलाई उछिन्दै शीर्ष ८ मा पर्न सफल भएको थियो ।
फर्म्याट
१६ वटा टोलीले राउन्ड रोबिन आधारमा खेलाइने समूह चरणमा आफ्नो समूहमा रहेका हरेक टोलीसँग एक–एक वटा खेल खेल्नेछन् ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । समूह चरणमा हासिल गरेको अङ्क सुपर सिक्समा पनि गणना हुनेछ ।
सुपर सिक्समा दुईवटा समूह बनाइनेछ । समूह एबाट सुपर सिक्समा पुगेका टोलीहरूले समूह डीबाट प्रवेश पाएका टोलीहरूसँग खेल्नेछन् । त्यस्तै, समूह बी र समूह सीबाट सुपर सिक्समा पुगेका टोलीहरू एक आपसमा भिड्नेछन् ।
यहाँ एक टोलीले दुईवटा खेलहरू खेल्नेछ । एउटा टोलीले अर्को समूहबाट फरक स्थानमा यो चरणमा प्रवेश गरेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
दुई वटा सुपर सिक्स समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल जनवरी ३१, २०२५ तथा फाइनल खेल फेब्रुअरी २, २०२५ मा खेलाइनेछ ।
पहिलो संस्करण
पहिलो संस्करण सन् २०२३ मा दक्षिण अफ्रिकामा खेलाइएको थियो । सेनवेस पार्कमा खेलिएको लो स्कोरिङ फाइनल खेलमा सेफाली वर्माको नेतृत्वमा रहेको भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले सात खेलमा २९३ रन बनाउनुका साथै ९ विकेट पनि लिन सफल भएकी थिइन् ।
आयोजकबारे
सुरुमा यो प्रतियोगिता मलेसिया र थाइल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने भनिएको थियो । तर, थाइल्याण्डको रंगशाला तयार नभएको भन्दै आईसीसीले सबै प्रतियोगिता मलेसियामा मात्र गर्ने निर्णय गर्यो ।
प्रतियोगिता सेलानगोरमा रहेको बायुमास ओभल र यूकेएम वाईएसडी ओभल, जोहोरमा रहेको जेसीए ओभल र सारावाकमा रहेको बोरेनो क्रिकेट मैदानमा खेलाइनेछ ।
नेपालको टोली
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसा कुमारी यादव रहेका छन् ।
यसैगरी, विश्वकपका लागि घोषित टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायतले पनि स्थान पाएका छन् । प्रतियोगिताका लागि नेपालले भरतपुरमा तयारी गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छ : मुख्यमन्त्री कार्की
-
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
-
बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ? (तस्बिरहरू)
-
६ महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट १९ प्रतिशतमात्र खर्च
-
विराटनगरमा हुस्सु छिचोल्दै प्रचण्डको मनिङ्वाक (तस्बिरहरू)
-
बेलायतको २३ औँ नेपाली राजदूतको रूपमा घिमिरेले सम्हाले पदभार