‘अवैध प्रक्रियाबाट जन्मेकाले नैतिकताको कुरा गर्नु हास्यास्पद’

काठमाडौँ । सरकार निरंकुश र स्वेच्छाचारी भएको भन्दै सात विपक्षी राजनीतिक दलले संसद्लाई छलेर गम्भीर प्रकृतिका अध्यादेश ल्याएको भन्दै सरकारमाथि नैतिक प्रश्न उठाएका छन् । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ७ विपक्षी राजनीतिक दलको बैठकपछि पत्रकार सम्मेलन गरेर ती दलका नेताहरूले सरकारले ल्याएको अध्यादेशलगायतका कामकारबाहीलाई लिएर औचित्यमाथि नै प्रश्न उठाउँदै कडा शब्दमा विरोध गरेका हुन् ।
‘संघीय संसद्को नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्ता समेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सात दलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ ।’
सरकारमाथि विपक्षी दलले लगाएको आरोपलाई सत्तापक्षका नेताहरूले भने अवैध प्रक्रियाबाट जन्मेकाहरूले नैतिकताको कुरा गर्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँहरू के नैतिकताको कुरा गर्दै हुनुहुन्छ ? जसले २०७८ साल भदौ १ गते चलिरहेको संसद् रातारात बन्द गरी एमाले विभाजन गर्न अध्यादेश ल्याउनुभयो ।’
उनले त्यस्तो अवैध प्रक्रियाबाट जन्मेकाहरूले नैतिकताका कुरा गर्नु हास्यास्पद भएको बताए । ज्ञवालीले रातोपाटीसँग भने, ‘अहिले उनीहरुले सरकारले ल्याएको अध्यादेशलाई जोडेर सरकारको आयुसँग जोड्नुको कुनै सम्बन्ध छैन । कांग्रेस र एमालेबिच दुरी बढाएर सत्ता पाउन सकिन्छ कि भन्ने निराशाको अभिव्यक्ति हो । यसको कुनै जवाफ दिनुपर्ने आवश्यकता छैन ।’
यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ताबाट बाहिरिँदाको छटपटीका कारण विपक्षी दलहरूले सरकारलाई अनावश्यक आक्षेप लगाएको टिप्पणी गरे । ‘हामी जनताको काममा निरन्तर अगाडि बढिरहेका छौँ । संसद् नचलिरहेको बेला सरकारले अध्यादेश ल्याएको हो । संसद् अधिवेशन चल्नेवित्तिकै पेस गर्नेछौँ’, परियारले भने, ‘पहिलो कुरा अध्यादेश ल्यायो भन्दा पनि त्यसमा विषयवस्तु कस्ता छन् अध्ययन गर्नुपर्यो । विपक्षी दलहरूको जुन अभिव्यक्ति आएको छ, सत्ताबाट बाहिरिँदा छटपटी हो । र, सत्तामा कसरी जाने भन्ने उद्देश्यबाट अभिव्यक्ति आएको छ ।’