शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

यो देश हाम्रो होइन भनिदियोस्, हामी अलग हुन्छौँ : महन्थ ठाकुर

शुक्रबार, ०४ माघ २०८१, १६ : १६
शुक्रबार, ०४ माघ २०८१

मधेस आन्दोलनले १८ वर्ष पूरा गरेको छ । मधेसवादी दलहरूले विभिन्न मागसहित निरन्तर संघर्ष जारी राखे । सत्ता र सरकारमा समेत सहकार्य गरे पनि मधेसको माग पूरा नभएको भन्दै उनीहरू फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।

२०६३ देखि ०७२÷०७३ सम्म तीन चरणमा उनीहरूले आन्दोलन गरेका थिए । त्यस क्रममा राज्यसँग विभिन्न सम्झौता गरे । तिनै माग पूरा गर्न भन्दै सरकारमा सहभागी भए पनि अझै माग पूरा नभएको भनिरहेका छन् ।

मधेसवादी दलको के छ माग, त्यो माग किन पूरा भएन, माग कसरी पूरा हुन्छ लगायतका विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, अध्यक्ष ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • मधेस आन्दोलन सुरु भएको १८ वर्ष पूरा भएको छ, यो बिचको अवधिलाई तपाईं कसरी समीक्षा गर्नुहुन्छ ?

–यो १८ वर्षको अवधि निकै उतारचढावपूर्ण रह्यो । राज्यसँग जहिले पनि हाम्रो माग र मुद्दालाई लिएर टसल रह्यो । कहिले सरकारमा जाने, कहिले बाहिर आउने, कहिले सदन, कहिले सडकमा संघर्ष जारी नै रह्यो । अहिले पनि हामी त्यही गरिरहेका छौँ ।

यो अवधिमा कुनै पनि माग पूरा भएन भन्ने पनि होइन । केही माग पूरा पनि भएका छन् । पहिलो कुरा, मधेसले आफ्नो पहिचान पाएको छ । आठ जिल्लाको मात्र भए पनि मधेस प्रदेशले आफ्नो पहिचान पाएको छ । त्यसलाई एउटा ठुलो उपलब्धि मान्नुपर्छ । यो पहिचानका लागि हामीले ठुलो संघर्ष गर्नुपरेको थियो ।

अब संवैधानिक रूपमा नै मधेसले मान्यता पाएको छ । संघीय लोकतन्त्रिक गणतन्त्रको स्थापना पनि सोही क्रममा भएको छ । संघीयताका लागि पनि हामीले लामो लडाइँ लडिरहेका थियौँ । त्यो पनि प्राप्त भएको छ । त्यसलाई पनि उपलब्धि नै मान्नुपर्छ । समानुपातिक समावेशीको व्यवस्था पनि गरिएको छ । यद्यपि त्यसलाई इमानदारीपूर्वक लागु गरिएको छैन, तर कार्यान्वयनमा आएको छ ।

मधेसी, आदिवासी जनजाति, महिला, खस लगायतले आरक्षण पाएका छन्, तर त्यसले मात्र पुग्दैन । राज्यको हरेक निकायमा समानुपातिक हिसाबले हाम्रो प्रतिनिधित्व हुनुपर्छ । एउटा कुरा भन्छु, तपाईंले मान्नुहुन्छ, सबैले मानेको छ । नेपाल अहिलेसम्म राष्ट्र नै बनेको छैन । यो विजेताहरूको देश हो । पहिला गोपालवंशीहरूले शासन गरे । त्यसपछि किराँत आयो, त्यसलाई हटाएर लिच्छिवी आयो, लिच्छिवीलाई हटाएर मल्लहरू आए, मल्ललाई हटाएर गोर्खालीहरू आए । यसरी एक अर्कालाई हटाएर शासकहरू आए भने राष्ट्र बन्यो कुन बेला ? एउटा भूगोल बनाइदियो अर्थात् एउटा कङ्काल खडा गरिदियो तर त्यसमा रगत, मासु केही भरिदिएन । तैपनि हामीले यो नेपाल राष्ट्र हो भनेर मानिरहेका छौँ । तर अहिलेसम्म राष्ट्र नै बनेको छैन । त्यही कारणले हामी त्रसित हुन्छौँ कि कोही आएर हामीलाई हुत्याइदिन्छन् कि !

  • अहिलेसम्म नेपाल राष्ट्र बन्न नसक्नुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?

–मैले अघि नै भनेँ कि यो विजेताहरूको देश हो । जसले पनि लडेर एकलाई अर्कोले हटाएर शासन गरेका छन् । जो आएका छन्, आफ्नो कानुन, शासन लागु गरेका हुन्छन् । अहिलेसम्म त्यही भइरहेको छ । राणाहरूमा पनि त्यही भएको थियो । शाहवंशमा पनि त्यही भयो । अहिले गणतन्त्रमा पनि त्यही भइरहेको छ । अनि राष्ट्र कहिले बन्छ त ? यसरी कहिल्यै पनि राष्ट्र बन्दैन ।

  • अघि तपाईंले मधेस आन्दोलनबाट केही प्राप्त भएका छन् भन्नुभयो, अहिले फेरि आन्दोलनका लागि गठबन्धन बनाउँदै हुनुहुन्छ । अब लिन के के बाँकी छन् त ?

–नागरिकता भनेको राज्यसँग जोड्ने अर्थात् कनेक्सन गर्ने चिज हो । नागरिकताले राज्यसँग जोड्ने काम गर्छ । राज्यको हरेक निकायमा उसको सम्बन्ध हुन जान्छ, एउटा पहिचान प्राप्त हुन्छ । तर नेपालमा त्यसैमा बेइमानी भइरहेको छ । पहिचानबाट, परिचयबाट नेपालीलाई बञ्चित गर्ने काम यहाँ गरिरहेको छ । कानुनमा व्यवस्था भए पनि मधेसीलाई नागरिकता दिन मानिरहेका छैनन् । अहिले पनि मधेसी जनताले सहज तरिकाले नागरिकता प्राप्त गर्न सकिरहेका छैनन् । विभिन्न जालझेल, खोजबिन गरेर अल्झाइरहेका हुन्छन् । त्यसलाई सहज गर्न हामीले वर्षौंदेखि कुरा उठाइरहेका छौँ । मधेसीलाई राजनीतिक आइडेन्टीटी पनि दिइरहेको छैन । ‘ह्वाइ वनली नेपाली वर्ड युज फर गोर्खाली ?’ नेपालीका लागि मात्र गोर्खाली शब्द किन प्रयोग हुन्छ ? पूरै नेपालीका लागि किन हुँदैन ? मधेसी आदिवासी जनजातिलाई गोर्खाली किन भन्दैनन् । यो देशमा अझै असमानता छ । समान व्यवहार, मान–सम्मान हामीलाई चाहियो, हामीले मागेको त्यत्ति हो । पोलिटिकली आइडेन्टीटी समान भयो भने मात्र नेपाल एक राष्ट्र हुन्छ, एक राष्ट्र बन्छ ।

दोस्रो कुरा, हाम्रो माग स्वायत्तताको छ । अधिकार सम्पन्न प्रदेश चाहिएको छ । त्यो दिनका लागि राज्य डराइरहेको छ । स्वयत्तता सहितको अधिकार सम्पन्न प्रदेश दियो भने भागिहाल्छ, अलग भइहाल्छ कि भन्ने डर शासक वर्गलाई छ । तर उनीहरूलाई यो थाहा छैन कि नदिएपछि पनि भाग्न सक्छ, अलग हुनसक्छ । राज्यले यसको जोखिम अहिलेसम्म बुझेको छैन ।

शासकको हातमा सबै कुरा छन् । देशमा हतियारले जनयुद्ध भयो । उनीहरू अहिले शासन गरिरहेका छन् तर मधेसीहरूले शान्तिपूर्ण आन्दोलन गरे, अहिले उनीहरू जेलमा छन् । विश्वमा यस्तो असमानता, विभेद कतै देख्नु भएको छ ? हतियारले आन्दोलन गर्नेहरू शासक भए । जसले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरे, ती अपराधी भए । यो विभेदले कसैलाई फाइदा गर्दैन ।

  • यो १८ वर्षको अवधिमा २२ बुँदे र ८ बुँदे बाहेक पनि दर्जनौँ सम्झौतापत्रमा राज्यसँग तपाईंहरूले हस्ताक्षर गर्नुभएको छ, तैपनि माग पूरा भएन भन्नुहुन्छ । यसको दोषी राज्य मात्र हो कि तपाईंहरू पनि हुनुहुन्छ ?

–विभिन्न सम्झौता भए । त्यसमध्ये केही माग पूरा भएका छन् । केही कार्यान्वयनमा आएका छन्, केही आएका छैनन् । केही सहिद घोषणा भए, केहीको जरिवाना फिर्ता लियो, केही जेलबाट रिहा भए, केही अदालतमा हाजिर भएका थिएनन्, तिनलाई पनि हाजिर नहुने गरी बनाइएको छ । केही यस्ता माग पूरा भएका छन् तर अझै थुप्रै माग पूरा हुन बाँकी छन् । अझै आन्दोलनकारीहरू जेलमा छन् । विस्थापित भएका छन् । मुद्दा खेपिरहेका छन् । ती सबै समाधान हुनुपर्छ भनेका छौँ ।

मधेसी, आदिवासी जनजातिहरूलाई अधिकार सम्पन्न बनाउनका लागि संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनको माग हामीले सुरुदेखि नै उठाउँदै आएका हौँ । हामीले पटक–पटक माग उठाएका छौँ तर राज्यले सुनवाइ गरेको छैन । राज्य हामीप्रति झन् पूर्वाग्रही भएको छ । हामी माग्छौँ तर उनीहरू दिँदैनन् । हामी अब के गरौँ त ? कति लडौँ ? अब गर्न केही बाँकी छैन । तैपनि हामी संघर्षमै छौँ, राज्यमाथि दबाव बढाइरहेका छौँ ।

  • मधेसवादी दलहरूको क्रियाकलापका कारणले पनि मधेसका मागहरू पूरा हुन समस्या भएको भनिन्छ नि, यसमा के भन्नुहुन्छ ?

–हामीले केही काम ग¥यौँ भने त्यो साम्प्रदायिक भयो । उनीहरूले त्यही काम गरे भने देशको लागि भयो, साम्प्रदायिक भएन । उनीहरूले आफ्नो भाषाको लागि कुरा गरे भने त्यो राष्ट्रिय भाषाका लागि भयो । हामीले आफ्नो भाषाको कुरा उठाउँदा विदेशीको लागि भयो, कसरी ? हामीले कुनै क्रियाकलाप गर्दा विभिन्न आरोप लगाउने, विदेशीका लागि भयो, साम्प्रदायिक भयो । यस्तो हुनुहुँदैन थियो, त्यस्तो हुनुहुँदैन्थ्यो भन्छन् । तर उनीहरूले जे गर्दा पनि ठिक ! हामीले आन्दोलन गर्दा क्षेत्रीयतावादी, उनीहरूले आन्दोलन गर्दा जनआन्दोलन वा राष्ट्रिय आन्दोलन कसरी ? हामीमाथि विभिन्न आरोप लाग्ने गरेको छ । त्यो पनि विभेद नै हो, हामीमाथिको अन्याय नै हो ।

  • सत्ताका कारण मधेसवादी दल बिग्रियो भन्छन्, यसमा तपाईंको बुझाइ के छ ?

–के यो देशमाथि हाम्रो हक छैन । हक छैन भने भनिदियोस् न, हामी अलग रहन्छौँ । के हामी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्न पाउदैनौँ ? हामी सरकारमा जान पाउँदैनौँ ? हामी सत्ताको हकदार होइनौँ ? हामीमाथि जुन सत्ताको आरोप लागिरहेको छ, त्यो आरोप कांग्रेस, एमाले, माओवादीलाई किन लाग्दैन ? हामी त कहिलेकाहीँ सरकारमा जान्छौँ, उनीहरू त जीवनभर सरकार चलाइरहेका छन् । उनीहरूलाई किन सत्तालिप्सा भनिँदैन ? हाम्रो पार्टीबाट एक–दुई जना मन्त्री बन्छन् । उनीहरूको पार्टीबाट प्रधानमन्त्रीदेखि लिएर मन्त्री बनेका हुन्छन् । के नेपाल राष्ट्र, यो देश, यो सरकार, यो सत्ता उनीहरूको मात्र हो त ? हामी पनि यो देशका नागरिक हौँ । यो देशमा उनीहरूको जति अधिकार छ, त्यति अधिकार हाम्रो पनि छ । हामी पनि सरकार बनाउँछौँ । हामी पनि सरकारमा जान्छौँ । सरकारमा गएर कसको पार्टी विभाजन भएको छैन ? काँग्रेस कति पटक विभाजन भएको छ, त्यसको हिसाब किताब गर्नुभएको छ ? एमाले कतिपटक विभाजन भयो ? माओवादी कति पटक विभाजन भयो ? सबै छर्लङ्ग छ नि । ती दलहरू पनि कतै न कतै सरकारकै कारण, सत्ताकै लागि विभाजन भएका हुन् । हामीलाई लगाउने आरोप उनीहरूलाई तपाईंहरूले लगाउनु हुन्न । सरकारमा गएर उनीहरू के के गर्छन् भन्ने सबै कुरा बाहिर छर्लङ्ग छ । हाम्रो पार्टीबाट गएकाहरूले के गरेका छन् ? केही गरेका छैनन् । आफ्नो काम इमानदारीपूर्वक जनताका लागि गरेका छन् । विभिन्न काण्ड त उनीहरूले नै गरेका छन् तर बदनामा मधेसवादी दलकालाई गरिरहेका छन्, जुन गलत हो । देश हाम्रो हो भने सुरक्षामा हाम्रो प्रतिनिधित्व किन छैन ? न्यायालयमा हाम्रो प्रतिनिधित्व किन छैन ? हुनुप¥यो नि ! हामी पनि आफ्नो सम्मानका लागि लडिरहेका छौँ ।

  • त्यही लडाइँका लागि फेरि मोर्चा बनाउन लाग्नु भएको हो त ?

–प्रयास हाम्रो जारी छ । साथीहरूको बिचमा कुराकानी चलिरहेको छ । अहिले केही कुरा फाइनल भएको छैन । पहिला पनि प्रयास भएको थियो, अहिले पनि त्यही प्रयास भइरहेको छ ।

  • अब मधेस विद्रोहको सम्भावना कति देख्नु भएको छ ?

–भोकाएको मान्छे जतिखेर पनि विद्रोह गर्न सक्छ । त्यसको कुनै टाइम सेड्युल हुँदैन । जसरी आँधीबेहरी, भूकम्पको कुनै टाइम सेड्युल छैन । जुनसुकै बेला आउन सक्छ । विद्रोह पनि त्यस्तै हो । जनतामा उकुसमुकुस छ । कुनैबेला पनि विस्फोट हुनसक्छ । अधिकारविहीन आफ्नो अधिकारका लागि जुनबेला पनि उठ्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप