शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय
एकतामा अलमल

माधव र वामदेवको एकतामा नेता ‘व्यवस्थापन’ बाधक

गौतमको निष्कर्ष– म लतारिएर किन जाने ?
शुक्रबार, ०४ माघ २०८१, १९ : ००
शुक्रबार, ०४ माघ २०८१

काठमाडौँ । नेताहरूको व्यवस्थापनमा कुरा मिल्न नसक्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच हुने भनिएको पार्टी एकीकरण प्रक्रियामा ‘ब्रेक’ लागेको छ ।

छलफलमा एकताका लागि नेता गौतमले आफूसहित १२ भन्दा बढी नेतालाई केन्द्रीय कमिटी सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, माधव नेपालले गौतमसहित तीन नेतालाई बाहेक तत्काल केन्द्रीय कमिटी सदस्य बनाउन नसकिने जवाफ दिएपछि एकता प्रक्रिया अवरुद्ध बन्न पुगेको हो ।

नेता गौतमले एकता प्रक्रिया जहाँको त्यहीँ रहेको बताए । ‘एकता प्रक्रियाबाट माधव नेपाल पछि हट्नुभयो । त्यसैले जहाँको त्यहीँ छ’, गौतमले भने ।

यसअघि गौतमले एकीकृत पार्टीमा कार्यकारी अधिकारसहितको वरिष्ठ नेताको पद मागेका थिए । गौतमको वरिष्ठ नेता पाउनुपर्ने प्रस्तावप्रति अध्यक्ष नेपाल सकारात्मक देखिए पनि कार्यकारी अधिकारका बारेमा छलफल गर्दै जान सकिने दुई नेताबिच समझदारी बनेको थियो ।

तर, बिहीबार अध्यक्ष नेपाल र गौतम नेतृत्वको अभियानका महासचिव डीबी कार्कीबिच भएको संवादमा अध्यक्ष नेपालले गौतमसहित तीन जना नेतालाई मात्र केन्द्रीय कमिटी सदस्य बनाउन सकिने भन्दै अन्यको जिम्मा लिन नसक्ने सन्देश दिएका थिए ।

‘समाजवादीसँगको एकता प्रक्रिया जहाँ थियो त्यहीँ छ भन्दा हुन्छ । अघि बढेको छैन’, गौतमले रातोपाटीसँग भने, ‘बरु एकताका लागि माधवजी पछि हट्नुभएको छ । उहाँ (माधव नेपाल) ले हाम्रो माहासचिव डीबी कार्कीलाई फोन गरेर वामदेव गौतम, तपाईं र तुलसी थापा गौतम केन्द्रीय कमिटी सदस्य हुनेभयो । त्यसपछि तपाईंहरू यहाँ आइसकेपछि क–कसलाई कहाँ राख्ने भन्ने छलफल हुनसक्छ । त्योभन्दा अर्को हुन सक्दैन भन्नुभएछ ।’

कार्कीसँगको कुराकानीमा नेपालले गौतमद्वारा अघि सारिएको सैद्धान्तिक, वैचारिक र सांगठनिक विषयहरूमा समेत सहमत हुन नसकिने जवाफ दिएका छन् ।

‘वामदेवले निर्माण गरेको विचार जनताका बिचमा लैजाने भन्ने कुरा ? हाहाहा....भन्दै हाँस्नुभएछ,’ गौतमले रातोपाटीसँग भने, ‘यस्तो पनि हुन्छ ? प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणाली बोकेर तलतल प्रचार गर्न जान्छ, त्यो होइन, हुनै सक्दैन’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै गौतमले रातोपाटीसँग भने ।

नेपालको यस्तो जवाफपछि आफू लतारिएर एकताका लागि नजाने निष्कर्षमा गौतम पुगेका छन् । ‘उहाँले यति भनेपछि अब म लतारिएर किन जाने ? जान्नँ बरु’,गौतमको भनाइ छ ।

पछिल्लो पटक गत पुस तेस्रो साता गौतम र नेपालसहितका नेताहरूबिच एकीकृत समाजवादीको पार्टी कार्यालयमा एकता प्रक्रिया अघि बढाउनेबारे छलफल भएको थियो ।

उक्त छलफलपछि गौतम पक्षले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक राखेर एकताको निर्णय लिने दुवै पक्षका नेताहरूले बताएका थिए । तर पुस २७ गते बसेको गौतम नेतृत्वको अभियानको बैठकले एकीकृत समाजवादीसहित एमाले र माओवादीसँग समेत एकताको पहल गर्ने निर्णय गरेको थियो । गौतम पक्षले यस्तो निर्णय गरेपछि एकीकृत समाजवादीका नेताहरूले गौतमको ‘बार्गेनिङ कार्ड’ मात्र हुनसक्ने आकलन गर्न पुगेका थिए । तर गौतमले भने तीन वटै पार्टीसँग एकताका लागि संवाद भइरहे पनि एकीकृत समाजवादीसँगको एकता प्रक्रिया धेरै अघि बढेको बताउने गरेका थिए ।

त्यहीबेला पुस तेस्रो साता बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले एमालेमा फर्कन चाहनेका लागि ढोका खुला गरेको थियो । यस्तो अवस्थामा एमालेका केही नेता–कार्यकर्ताले वामदेवलाई भड्काएर एमाले भित्र्याउने तयारी गरेको हुनसक्ने एकीकृत समाजवादीका केही नेताहरूको बुझाइ छ ।

‘बिहीबारबाट लगभग गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुने कुरामा ब्रेक लाग्यो भनेर बुझ्दा हुन्छ’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘उहाँ (वामदेव) ले आफ्नो समूहका १२÷१५ जनालाई केन्द्रीय कमिटीमा राखौँ भन्नुभएछ । त्यो सम्भव हुँदैन भनेर अध्यक्षले जवाफ दिनुभएछ ।’

नेकपा एकीकृत समाजवादीका ती नेताका अनुसार पार्टीको आन्तरिक छलफलमा गौतमसँग त्यति धेरै ठुलो जनशक्तिसमेत नभएकाले उनलाई धेरै ‘स्पेश’ दिन नसकिने निचोड निकालेर नै अध्यक्ष नेपालले कार्कीलाई तीन जनाभन्दा बढीलाई केन्द्रीय सदस्य बनाउन नसकिने जवाफ दिएका हुन् ।

‘वामदेवजीको पहिला जस्तो चार्म छैन, उहाँको डिमान्ड हाई देखियो । त्यसैले एकता नहुने भयो भनेर बुझ्दा उपयुक्त हुन्छ’, माधव नेपाल निकट एक नेताको भनाइ छ ।

तर एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा अहिले नै एकता प्रक्रियामै ब्रेक लागेको भनेर बुझ्न नहुने बताउँछन् ।

‘बुझाइमा कमजोरी रह्यो । उहाँको वैचारिक कुरा पार्टीको फोरममा राख्ने कुरामा सहमति थियो’, बाँस्कोटाले भने, ‘हामीले अहिले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री भनेका छैनौँ । उहाँले प्रत्यक्ष राष्ट्रपतिको अवधारणा ल्याउनुभयो । हामीले संविधान संशोधनको कार्यदलले निष्कर्ष निकाल्छ भन्यौँ ।’

गौतमलाई तेस्रो वरीयाताक्रम दिन पार्टीमा सहमति जुटे पनि अन्य विषयमा चाहिनेभन्दा बढी माग भएकाले तत्काल प्रक्रिया अघि नबढेको बाँस्कोटाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप