शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रविविरुद्ध आज दर्ता गर्ने भनिएको मुद्दा किन रोकियो ?

शुक्रबार, ०४ माघ २०८१, १३ : १६
शुक्रबार, ०४ माघ २०८१

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज गर्ने भनिएको मुद्दा दर्ता प्राविधिक कारणले रोकिएको छ ।

यस्तै पूर्व डीआइजी छविलाल जोशीविरुद्ध पनि आज मुद्दा दर्ता नहुने  जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख एवं न्यायाधीवक्ता प्रेमराज पौडेल रातोपाटीलाई जानकारी दिए ।

उनले अन्तिम तयारी रहे पनि केही प्राविधिक कारणले आज दिउँसो ३ बजेसम्म दर्ता गर्न सम्भव नभएको खुलाए । स्रोतका अनुसार पुरानो मुद्दाको मिसिल सर्वोच्च अदालतमा  पुगेको तर उक्त  मिसिल  नआएकाले प्रक्रिया पूरा गर्न ढिलाइ भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न आवश्यक कार्य गरिरहेको छ । 

रवि लामिछानेमाथि  व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ।

यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक  १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। प्रहरीले अनुसन्धान सकेर एक साताअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

 सरकारी वकिल कार्यालयले एक साता अध्ययन गरेर अभियोग पत्र तयार गरेको हो। यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो। 

लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए। त्यसलगत्तै लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर थुनछेक बहस हुँदा त्यहाँबाट पनि ६० लाख धरौटीमा रिहा भएका थिए । । तर, जोशी भने अझै काठमाडौँ अदालतमा उपस्थित भएका छैनन्। उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौँ प्रहरी वा अदालतमा उपस्थित हुने सर्तमा रिहा गरेको थियो।

रुपन्देहीमा अभियोग पत्र दायर भएपछि रवि त्यहाँ पनि आफैँ उपस्थित हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप